site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धमलालाई हमला
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
ऋषि धमलाको नाम सुन्नासाथ पाठक, दर्शक, स्रोता विभाजनको तहसम्म पुगिहाल्छन् । एकथरी ‘साह्रै मेहनती पत्रकार’ भन्छन् भने अर्काथरी ‘नामका लागि जे पनि गर्न तयार हुने व्यक्ति’ भनेर चित्रण गर्छन् ।
टेलिभिजन क्यामरामा देखिनैपर्ने, बुझे पनि नबुझे पनि प्रश्न सोधिहाल्नुपर्ने उनको विशेषता हो । यिनै विषयलाई लिएर उनको बेला–बेला आलोचना पनि भइरहन्छ । विवादमा पनि आइरहन्छन् । रातो गलबन्दी र मोबाइल उनका कहिल्यै नछुट्ने वस्तु हुन् । कसैलाई देखाउन मात्रै पनि उनी मोबाइल कानमा राख्छन् भनेर आलोचना गर्नेहरू पनि कम छैनन् ।
जनै पूर्णिमाको दिन बिहानै बाह्रखरीको कार्यालय बोलाएर उनै धमलालाई बलराम पाण्डेलेनिन बञ्जाडेले प्रश्नमार्फत हमला गरे । उनलाई सबैभन्दा पहिले सोधियो–
 
तपाईंले कति प्रतिशत सत्य बोल्नुहुन्छ ? कति प्रतिशत सही काम गर्नुहुन्छ ?
म शतप्रतिशत सत्य बोल्छु । सकेसम्म सही काम गर्ने प्रयास गर्छु । गर्दै जाँदा केही कमजोरी हुन सक्छन्, तपाईंले पनि समीक्षा गर्न सक्नुहुन्छ । सकेसम्म सही र सत्य गर्न चाहन्छु । सधैंभरि सही गरेको छु भनेर मात्रै पनि भन्दिनँ । आजसम्म मैले नकारात्मक काम पनि गरेको छैन । शतप्रतिशत सत्य भने बोल्नुपर्छ ।
मैले आजसम्म जनपत्रकारिता अँगालेको छु, त्यसैले जनतालाई सही सूचना दिनुपर्छ । यसैले म झुटो बोल्न मिल्दैन ।
 
तपाईंको सार्वजनिक जीवन देख्दा अधिकतम व्यस्त लाग्नुहुन्छ । के–के गर्न भ्याउनुहुन्छ ?
बिहान ४ बजे उठ्छु । १०–१५ मिनेट योग गर्छु । ३ गिलास पानी र ब्ल्याक कफी खाएपछि ‘नेपाल वाणी’मा कुरा हुन्छ । त्यहाँ आउने अतिथिको समय लिने विषयमा कुरा गर्छु । ६ बजे घरबाट निस्कन्छु । रेडियोमा ४५ मिनेटसम्म कार्यक्रम चलाउँछु । त्यसपछि रिपोर्टर्स क्लब जान्छु । धादिङको विकास कामलाई पनि मैले बढी प्राथमिकता दिने गरेको छु । त्यहाँका विकास–निर्माणका कुरा हुन्छन् । कति जनता भेट्न आउनुहुन्छ ।
भेटवार्ता सकिएपछि आधा घण्टा ब्याडमिन्टन खेल्छु । दिनभरि क्लबमा बोलाउने अतिथिहरूसँग कुरा गर्छु । दिनभर क–कसलाई भेट्ने भनेर कार्यतालिका बनाउँछु । उद्योगी, व्यवसायी, नेता, मन्त्रीलाई भेट्ने कार्यतालिका बनाएपछि साढे १० बजे घर पुग्छु । खाना खाएर १० मिनेट आराम गरेपछि निस्कन्छु । त्यो बीचमा पत्रपत्रिका र टेलिभिजन पनि हेरिसक्छु । घरबाट निस्केपछि एकदम व्यस्त जीवन बित्छ । कहिलेकाहीँ प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायत शीर्ष नेताहरूलाई एकैदिन भेट्छु । मन्त्रालय पुगेर विकासका काममा भएको प्रगतिबारे पनि बुझ्छु । कहिलेकाहीँ क्लबमा ३–४ वटा कार्यक्रम हुन्छन् । वक्तालाई बोलाएर, कार्यक्रम गरेर, समाचार बनाएर सबै मिडियालाई पठाइदिन्छु । फेरि भेटवार्तालाई निरन्तरता दिन्छु । 
म चाँडोमा राति साढे ९ बजे घर पुग्छु, नभए १०–११ बज्छ । धेरैका फोन आउँछन् । कसैले यो विषयमा छलफल गराउनुप¥यो भन्छन्, कसैले अर्को विषयमा । म दैनिक १८ घण्टा काम गर्छु ।
 
तपाईंलाई सधैं क्यामराको पछाडि देखिनैपर्ने चाहिँ किन ? यो कुरालाई लिएर कति धेरैले तपाईंको कुरा काट्छन्, थाहा छ ?
यो देशमा कसलाई उडाउँदैनन् ? केपी शर्मा ओलीलाई उडाएनन् र ? उनले कस्ता–कस्ता विकासका परियोजना ल्याएका थिए । हावाबाट बिजुली निकाल्छु भन्दा कतिले उडाए । हाम्रो देशमा राम्रो काम गर्ने मान्छको सधैं आलोचना हुन्छ । मैले २४ मा १८ घण्टा हरपल जनतालाई सूचना दिने काम गर्छु । आजको दिनमा यसको समीक्षा हुनु पर्दैन ? पत्रकारिताको विकास र विस्तारका लागि ऋषि धमलाले कति काम गरिरहेको छ भनेर अरुले सोच्नुपर्दैन ? म एकजना यस्तो सञ्चारकर्मी हुँ, जो रेडियो, अनलाइन, टिभी र पत्रिकामा काम गर्छ । दिनमा १०–१२ जनासँग अन्तर्वार्ता लिन्छ । त्यो अन्तर्वार्ता अरुले लिए भइगो नि त ! कुरा गर्न सजिलो छ हजुर ! काम गर्न गाह्रो छ । आलोचना गर्न सजिलो छ । अरूले पनि मैलेजस्तो काम गरे भइहाल्यो नि ! 
भित्र दलहरूको बैठक भइरहेका बेला त्यहाँसम्म पुगेर नेतालाई बोलाई हात समाएर के भयो ? भनेर कति पत्रकारले सोध्छन् ? त्यो नदेख्ने अनि ऋषि धमला क्यामरामा आयोमात्रै भन्ने ? मलाई क्यामराको मोह छैन । मैले ४ वटा टिभीमा ‘टक शो’ चलाउँछु । यो मेरो पेसाप्रतिको आफ्नो सम्मान हो, पत्रकारिताप्रतिको मोह हो । म जीवनभर रिपोर्टर भएर बस्न सक्ने मान्छे हो । म काम गर्छु, काममा विश्वास गर्छु । म मेहनती छु ।
 
तपाईंको भनाइअनुसार दिनमा १८ घण्टा काम गर्नुहुन्छ । बाँकी ६ घण्टा सुत्नु परिहाल्यो । यति साह्रै व्यस्तताले सानी छोरीको सामाजिकीकरणसँगै सिंगो परिवारको मनोविज्ञानमा कस्तो पारेको छ, कहिल्यै ख्याल गर्नुभएको छ ?
हो । श्रीमतीलाई समय दिन सकेको छैन । तर, उनी ‘कन्भिन्स्ड’ छिन् । मैले श्रीमतीलाई विवाहपूर्व नै यो कुरामा सहमत गराएको थिएँ । ‘तिमीले सोचेजस्तो समय दिन नसकुँला’ भनेको थिएँ । ‘विवाहलाई दिगो, भरपर्दो र स्थायी बनाउने आधार छ भनेमात्रै विवाह गर्छु’ भनेको हुँ ।
मैले १४ वर्ष उमेरमा पत्रकारिता थालें । मेरो पहिलो विवाह पत्रकारितासँग भएको हो । उनले मेरो पेसालाई सम्मान गरिन् र हामी विवाहका लागि राजी भयौं ।
मेरा सासू–ससुरा क्यानडामा हुनुहुन्छ । उहाँहरूले फोन गर्दा पनि कहिलेकाहीँ उठाउन पाउँदिनँ । जनै पूर्णिमाको दिन मलाई छोरीसँग बसेर उनलाई खेलाउन मन थियो । तर, पनि पाइनँ, तपाईंहरूले बोलाउनुभयो । कहिलेकाहीँ साँझ घर पुग्दा छोरी सुतिसकेकी हुन्छिन् । कहिलेकाहीँ हप्ता दिनसम्म पनि भेट्न पाउँदिनँ ।
त्यसले छोरीको मनोविज्ञानमा असर पर्न सक्छ । मैले यसको समीक्षा गर्नुपर्छ । अब हप्ताको एक दिन परिवारलाई समय दिने सोचमा छु ।
मैले ‘वाणी बहस’ चलाएको ६ वर्ष भइसक्यो, एकदिन पनि बन्द भएको छैन । म अमेरिका, क्यानडा, भारत जहाँ हुँदा पनि चलाएकै छु । विवाहको दिनमा पनि कार्यक्रम चलाउन गएको हुँ ।
 
छोरीको पास्नीमा ठूलो खर्च गर्नुभयो । सयौं मान्छे बोलाउनुभयो । कानुनअनुसार भोजमा ५१ जनाभन्दा बढी बोलाउन पाइँदैन । कानुन तोडेर त्यति धेरैलाई भोज खुवाउने पैसा एकजना पत्रकारले कहाँबाट पायो ?
मेरो विवाहमा ५ हजार पाहुना आएका थिए । सबैलाई सादा दालभात खुवाएर पठाएँ । यति त मैले गर्न सक्छु नि ! छोरीको पास्नीमा पनि दालभात खुवाएर पठाएँ । साधारण तरिकाले पार्टी गरेको हो । त्यो तडकभडक थिएन ।
 
तपाईं विवाहको मण्डपमा बस्दा पनि मोबाइलमै व्यस्त हुनुहुन्थ्यो । अरु बेला पनि फोनमै झुन्डिएको देखिनुहुन्छ । कहिलेकाहीँ तपाईंको कानमा मोबाइल हुँदा पनि घण्टी बज्छ भनेर उडाउँछन् मान्छेले । हो र ?
म सूचनाको पहँुच र प्रभावमा छु । सबैले फोन गर्छन्, उठाउनैपर्छ । एकदिन फोन उठाइएन भने पानीबिनाको माछा र नुन नहालेको तरकारी जस्तो हुन्छ यो ऋषि धमला ।
 
अँ साँच्चि । तपाईंले कतिपय पत्रकारलाई महिनैपिच्छे र कतिपयलाई दसैँमा पैसा दिनुहुन्छ रे ! कति जनालाई दिनुहुन्छ ? त्यत्रो पैसा तपाईंलाई कहाँबाट आउँछ ?
यो गलत कुरा हो । पत्रकारिता गर्दा पारदर्शी हुनुपर्छ । तपाईंको आरोपलाई म खण्डन गर्छु । दुःखमा परेकालाई म सहयोग गर्छु । कोही साथी अप्ठ्यारोमा पर्दा मैले आफ्नो तलबबाट दिन्छु । त्यो मेरो दायित्व हो ।
धेरै पत्रकार छन्, जसले काम गरेर पनि पैसा पाउँदैनन् । म कसैको दुःख देख्न सक्दिनँ । त्यस्ताका लागि मैले थोरै सहयोग गरेँ भने त्यो राम्रो हो । त्योबाहेक पैसा दिन म उद्योगी–व्यवसायी होइन ।
 
‘धमलाको हमला’ कार्यक्रममा पाहुना बोलाएर तलबबारे सोध्नुहुन्छ । तपाईंले चाहिँ महिनामा कति कमाउनुहुन्छ ?
त्यो अहिले म खुलाउन सक्दिनँ । म पारदर्शी भने हुनुपर्छ ।
 
तपाईंले कतिपय विषयवस्तु नै नबुझी कार्यक्रम चलाउनुहुन्छ भन्ने आरोप लागिरहन्छ । सत्य भएरै धेरैले कुरा गरेका होलान् है ?
मैले कुनै पनि कार्यक्रम रिसर्च नगरी चलाएको छैन । त्यो त तपाईंहरुले समीक्षा गनुपर्ने हो । सबै कार्यक्रम लाइभ हुन्छ । कार्यक्रमको तयारी गर्नुपर्छ, म अपडेट भइरहेको हुन्छु । कतिपय अवस्थामा साथीहरूसँग पनि सल्लाह गर्छु ।
 
तपाईंले नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्कालाई ‘विश्वकप कहिले जित्नहुन्छ ? ५ वर्ष, १० वर्ष, २० वर्ष ? कति ?’ भनेर सोध्नुभयो । हेर्ने दर्शकहरूले तपाईंको खिल्ली उडाए । सामाजिक सञ्जालमा तपाईं जोकको पात्र हुनुभो । गल्ती गरेछु जस्तो लाग्दैन ?
मैले सही प्रश्न नै गरें जस्तो लाग्छ । वल्र्डकपमा नेपालको सहभागिता हुनुपर्छ भन्ने मेरो मान्यता छ । काम गर्ने क्रममा कहिलेकाहीँ गल्ती भयो होला । यसमा मेरो अलि अध्ययन पुगेन होला । फेरि त्यो अन्तर्वार्ता लिन समय लिँदा उहाँले १० मिनेटभित्र आउन भन्नुभयो ।  तयारी गर्न पाइनँ । तर, मैले फेस गर्नैपर्ने थियो । प्रश्न गर्दा कहीँ कतै गल्ती भयो होला ।
तपाईंले चलाउने कार्यक्रममा पाहुनाभन्दा आफैँ धेरै बोलेर वाक्क पार्नुहुन्छ, किन ?
यसमा धेरै दर्शक र स्रोताको कमेन्ट पनि आउँछ । राम्रो भन्ने पनि हुनुहुन्छ । नेता खुलामञ्चमा भाषण गर्छन् । त्यहाँ कुनै समय तोकिएको हुँदैन । तर, रेडियो र टेलिभिजनमा समय तोकिएको हुन्छ । यो समयमा उनीहरू बोलिहाल्नुपर्छ ।
रेडियो वा टिभी भाषण गर्ने ठाउँ होइनन् । जनतालाई चाहिएको सूचना दिने काम मेरो हो । जति बेलासम्म चाहिएको सूचना आउँदैन, त्यति बेलासम्म मैले खोतलिरहन्छु । पत्रकार कहिले पनि लजाउनु हुँदैन । मलाई भारतका एकजना पत्रकारले भन्नुभएको थियो– पत्रकारिता गर्दा लाज मान्नु हँुदैन । जसलाई लाज लाग्छ, उसले पत्रकारिता गर्नै सक्दैन । पत्रकारिता भनेको आर्यघाटमा नजाँदासम्म सिकिरहनुपर्ने कुरा हो । उहाँकै प्रेरणाले हो– मैले आज पनि पत्रकारिता सिकिरहेकै छु ।
 
तपाईँ बेला–बेला राजनीतिमा आउँछु भनिरहनुहुन्छ । एकपटक तपाईंकी श्रीमती एलिजा गौतमले एउटा टिभी कार्यक्रममा फ्याट्टै ‘ऋषि धमला राष्ट्रपति हुनुपर्ने मान्छे हो’ भनिदिनुभयो । अब तपाईं नै भनिदिनुस्– तपाईं कति वर्षमा सांसद, मन्त्री र राष्ट्रपति बन्नुहुन्छ ? ५ वर्ष, १० वर्ष, २० वर्ष ? कति ? जनता जान्न चाहन्छन् !
म यो कुरा ‘बाह्रखरी’बाटै खुलासा गर्न चाहन्छु । अबको २ वर्षपछि म राजनीतिमा जान्छु । ०७४ माघ ७ गतेसम्म देशमा संघीय संसद्को चुनाव हुन्छ । म त्यो चुनावमा धादिङबाट लड्छु । त्यसको तयारीमा छु । मलाई गिरिजाप्रसाद कोइरालाले पनि ०६४ सालमा धादिङबाट चुनाव लड्न भन्नुभएको थियो । तर, मैले मानिनँ । म जनताको मन जितेर राजनीतिमा जान चाहन्छु । जनताले चाहे भनेमात्रै म राजनीति गर्छु, नत्र गर्दिनँ । दुइटा डुंगामा खुट्टा राखेर म काम गर्दिनँ । अहिले म पत्रकारिता गरिरहेको छु, यसैमा रहन्छु । राजनीतिमा गएँ भने पत्रकारिता गर्दिनँ । त्यो मेरो ‘इथिक्स’ले पनि दिँदैन । 
 
तपार्इंले पत्रकारिताको सुरूवातमा नेताको ढोका चहारेर, अनशनै बसेर अन्तर्वार्ता लिनुहुन्थ्यो रे ! अहिले नेताहरू तपाईंकहाँ त्यसैगरी आउँछन् रे ! हो ?
०५४ सालको कुरा हो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो । वामदेव गौतम गृहमन्त्री । माधवकुमार नेपाल एमाले महासचिव हुनुहुन्थ्यो । साढे ११ बजे माधवकुमार नेपालको घरमा लोकेन्द्रबहादुर चन्द र एमालेका शीर्ष नेताहरूको बैठक हँुदैछ भन्ने सूचना पाएँ । ‘घटना र विचार’मा काम गर्थें । मंगलबारको दिन थियो । बुधबार पत्रिका निस्कन्थ्यो । लोकेन्द्रबहादुर चन्दकै सरकार बचाउने विषयमा बैठक बसिरहेको थियो ।
त्यसैले माधवकुमार नेपालको घरको बैठक निकै महत्वपूर्ण थियो । म त्यहाँ राति १२ बजे पुगें । बाहिर एक्लै थिएँ । त्यहीबेला मुसलधारे पानी पर्यो ।
म रुखको फेदमा उभिएरै बसेँ । बैठक सकिँदा साढे १ बजिसकेको थियो । सबै बाहिर आए । मैले सबैलाई सोधें तर कसैले भन्न चाहेनन् । म त्यसबेलासम्म निथु्रक्कै भिजेको थिएँ । सबै नेताहरू मेरो मतलब नगरी आ–आफ्नो घरतर्फ लागे ।
तर, मलाई समाचार नभई भएको थिएन । म केहीबेर त्यहीँ उभिएँ । सबै हिँडेपछि नेता नेपालले घरको झ्यालको पर्दा खोलेर बाहिर हेर्दा मलाई देख्नुभयो । अनि उहाँले मलाई बोलाउनुभयो र सोध्नुभयो, “यति राति तिमी किन यहाँ आएको ?”
म भिजेको थिएँ । पुछ्ने रुमाल दिनुभयो ।
मैले भनेँ, “तपाईंहरूको बैठकको समाचार लिन आएको ।”
मैले आज बैठकमा के–के भयो भनेर सोधेँ । उहाँले गोप्य बैठक कसरी थाहा पाउनुभयो ? भनेर सोध्नुभयो । 
लोकेन्द्रबहादुर चन्दको सरकारलाई बचाउने बैठक बसेको जानकारी दिनुभयो ।
अनि मैले भोलिपल्ट त्यो समाचार छापेँ ।
माधव नेपालकहाँ बैठक भएको भोलिपल्ट एमालेले बल्खुमा पत्रकार सम्मेलन गर्यो ।
त्यसबेला पत्रकारले वामदेव गौतमलाई त्यो बैठकका बारेमा प्रश्न गरे । उहाँले भन्नुभयो, “बैठकमा के भयो भन्नेबारे ऋषि धमलालाई सोध्नू ।”
त्यतिबेला हरिहर विरहीले मलाई राति पनि अन्तर्वार्ता लिन पठाउनुहुन्थ्यो । किसुनजीकहाँ पनि त्यसैगरी पठाउनुहुन्थ्यो । एकदिन पूर्णबहादुर खड्काले हरिहर दाइलाई सोध्नुभयो, “तपाईँ सधैं किन किसुनजीको अन्तर्वार्ता लिन ऋषिलाई मात्रै पठाउनुहुन्छ ?”
उहाँको जवाफ थियो, “किसुनजी पनि ऋषिसँग बाहेक हामीसँग कुरै गर्न चाहनुहुन्न ।”
 
तपाईंले झुक्याएर अन्तर्वार्ता लिने, नबोलेको कुरा पनि छाप्ने गर्नुहुन्छ रे ! केही अघि मोडल स्मिता थापाले बोल्दै नबोलेको कुरा तपाईंले छापेपछि हंगामा मच्चियो । उनले नभने पनि ‘मलाई ह्विस्की खाएर सेक्स गर्न मजा आउँछ’ भन्ने शीर्षक राखेर समाचार छाप्नुभयो । त्यसले ठूलै विवाद निम्त्यायो । थापाले तपाईंलाई साइबर अपराधअन्तर्गत मुद्दा हाल्छु भनिन् । त्यो विवाद मिल्यो कि तपाईं मुद्दा खेप्न तयार भएर बस्नुभएको छ ?
झुक्याएर होइन । त्यो कुरा सबै मिलिसक्यो । यो कुरा ‘धमलाको हमला’मा भएको हो । अहिले पनि युट्युबमा छ । मैले स्मिता थापाको अन्तर्वार्ता लिएको हो । उहाँलाई मैले तपाईंले के–के पिउनुहुन्छ भनेर सोधेको हुँ । उहाँले भोड्का, वाइन जति पनि पिउन सक्छु भन्नुभयो । अनि मैले ‘त्यो खाएर तपाईं के गर्नुहुन्छ ?’ भनेर सोधें । उहाँले भन्नुभयो, “भोड्का, वाइन खाएपछि मैले मजा लिन्छु ।”
तर, अनलाइनमा मजाको अर्थ सेक्स लगाएर समाचार प्रकाशित भयो । भएको विवाद यही हो । यसमा गल्ती भएको हो । पछि हामीले अनलाइनबाट त्यो समाचार हटायौं । अहिले त्यो कुरा मिलिसक्यो । पत्रकारले सकेसम्म धेरै प्रश्न गर्नु उसको धर्म हो नि !
 
तपाईं व्यक्तिगत प्रश्नहरू किन धेरै गर्नुहुन्छ ? कार्यक्रममा बोलाएर अभिनेतृलाई ‘तपाईंले विवाहअघि नै सेक्स गर्नुभयो ?’ भनेर किन ¥याख¥याख्ती पार्नुहुन्छ ? यो पत्रकारको आचारसंहिताभित्र पर्छ ?
यो ऋचा शर्मासँगको अन्तर्वार्ताको कुरा हो । यो बहसमा आइसकेको विषय हो । मैले उहाँलाई ब्वाइफ्रेन्ड भए÷नभएको सोधें । उहाँले भएको बताउनुभयो । अनि मैले ‘कति वर्ष भयो ?’ भनेर सोधें । उहाँले ‘७ वर्ष भयो’ भन्नुभयो । अनि मैले ‘७ वर्षसम्म सँगै रहँदा तपाईंले विवाहपछि गर्ने काम पनि गर्नुभयो कि गर्नुभएन ?’ भनेर सोधेको हुँ । त्यो प्रश्नलाई कसरी लिने भन्ने हो । जो मान्छे ७ वर्षसम्म सँगै बस्छ, हिँड्छ, उसलाई त्यो कुरा सोध्दा विवाद किन हुने ?
 
सैको बारेमा त्यसरी नितान्त व्यक्तिगत कुरा सोध्न मिल्छ र भन्या ? गोपनीयता चाहिँदैन ? उनीहरूको व्यक्तिगत जीवनको केही अर्थ छैन ?
उनीहरू सेलिबे्रटी हुन् नि त । मैले पत्रकारको नाताले जान्न खोजेको हुँ । उहाँले ‘भएको छैन’ पनि त भन्न सक्नुहुन्थ्यो नि ! तपाईंले मलाई प्रश्न सोध्दा जवाफ दिने कि नदिने अधिकार मसँग रहन्छ । पत्रकारको पनि सीमा हुन्छ । आचारसंहितामा बसेर प्रश्न गर्नुपर्छ । तर, पत्रकारले भित्र गहिराइमा पुगेर प्रश्न गर्न सक्नुपर्छ । मैले त्यही गर्छु ।
 
त्यतिमात्रै होइन, तपाईंले कतिपयलाई ‘किन मिनीस्कर्ट लगाएको ?’ भनेरसम्म सोधिदिनुहुन्छ । कसले के लगाउने, कसरी लगाउने, कसरी बोल्ने भनी निर्धारण गर्ने तपाईं को हो ?
मिनीस्कर्टको बारेमा रेखा थापालाई सोधेको हुँ । ‘तपाईं छोटो लुगा लगाउनुहुन्छ, खर्च कम हुन्छ हो ?’ भनेर सोधेको थिएँ । बजारमा रेखा थापाको चर्चा थियो । उहाँ मिनीस्कर्ट लगाउने हिरोइन भनेर चिनिनुहुन्थ्यो ।
तर, मैले नारीहरूलाई अपमान गरेर होच्याउन खोजेको होइन । त्यसरी हिँड्दा गाउँमा दिदीबहिनी र आमाले कसरी हेर्नुहोला भनेर चासो राखेको हुँ । बजारमा आएको कुरा मैले सोध्न पनि नपाउने त ?
रेखा थापालाई त्यो प्रश्न गरेर मैले दिदीबहिनीहरूलाई होच्याउन खोजेको कदापि होइन, यसरी बुझिदिनुभएन ।
 
ल ठीक छ । अर्को प्रसंगतिर जाऊँ । तपाईँ धेरैजसो प्रधानमन्त्रीको भ्रमण हुँदा दिल्ली जानुहुन्छ । त्यहाँ पुगेपछि तपाईंको रवाफ नै बेग्लै हुन्छ । भारत पुगेपछि आफूलाई मन्त्रीभन्दा ठूलोझैँ देखाउनुहुन्छ । खास रहस्य के हो ?
त्यहाँका सबै पार्टीका नेतासँग मेरो राम्रो सम्बन्ध छ । मुलायमसिंह यादवदेखि लालु यादव, लालकृष्ण आडवाडीदेखि शरद यादव, अमित शाहदेखि राजनाथ सिंह र मनमोहन सिंहसम्म मेरो राम्रो सम्बन्ध छ । भाजपाका सबैजसो नेताहरूसँग म नजिक छु ।
नेपालको राजनीतिमा भारतको सधैं चासो र रुचि रहन्छ । निकट गहिराइमा पुगेर कुरा हुन्छ । ‘बाह्रखरी’मार्फत बाहिर ल्याउने हो भने धेरै कुरा छन् । तर, म अहिले नै ती कुरा बोल्न चाहन्नँ ।
भारतीय नेताहरूले मलाई विश्वास पनि गर्छन् । कैयौं बैठकमा सँगै राख्छन् । ऋषि धमलाले योभन्दा बढी भन्दैन र लेख्दैन भन्ने विश्वास उनीहरूलाई छ । मसँग बोलेका कुराहरू चाहिने भन्दा बढी सम्पे्रषण हुँदैन भन्ने भरोसा छ उनीहरूमा ।
मैले अहिलेसम्म कसैको केही बिगारेको छैन । त्यसैले मलाई जसले जति आलोचना गरे पनि फरक पर्दैन । आलोचनाले म सुध्रिन्छु, म तिखारिन्छु । आलोचनाले मलाई फाइदा नै हुन्छ ।
 
भारतीय नेताले विश्वास गर्छन् भन्नुको अर्थ त तपाईंलाई उनीहरूले प्रयोग गरेको जस्तो भएन र ?
होइन, त्यो गलत हो । भारतले नेपाललाई नकारात्मक रूपमा सोचेको छैन । भारतले नेपाललाई सकारात्मक रूपमा सोच्दासोच्दै पनि यहीँकै कतिपय नेता मलाई प्रधानमन्त्री र मन्त्री बनाइदिनुप¥यो भनेर पुग्छन् । ती कुरा सबै मैले यहाँ भन्न चाहन्नँ । पहिले त हाम्रो घर बलियो बनाउनुप¥यो । हामी नेपाली सबै एक भएर राष्ट्रिय सहमतिसहित अगाडि जाने हो भने भारतले नेपालमा आफ्नो इन्टे«स्ट लाद्न सक्दैन । 
सबै राजनीतिक दलका बीचमा भारतलाई हेर्ने साझा दृष्टिकोण बनाए भारतले कुन नेतालाई प्रधानमन्त्री र मन्त्री बनाइदिने भन्छ त ? त्यसैले भारतलाई मात्र गाली गरेर हुँदैन । 
 
धेरैले ‘ऋषि धमला त भारतको मान्छे हुन्’ भन्छन् । यो कुरा तपाईंलाई थाहा छ कि छैन ? अनि तपाईंले भारतीय दूतावासबाट महिनैपिच्छे पैसा पनि बुझ्नुहुन्छ रे, हो ?
यो सबै गलत हो । एउटा प्रमाण देखाउनुस् । मैले भारत वा भारतीय दूतावासबाट पैसा लिएको प्रमाण कतै भेट्नुभयो भने म पत्रकारिता नै छाडिदिन्छु ।
हो, मैले भारतबाट सहयोग भने लिएको छु । विकास–निर्माण र गाउँमा एम्बुलेन्स लिएको छु । त्यो एम्बुलेन्सले अहिले गाउँ–गाउँबाट बिरामी बोक्छन् । तर, भारतीय दूतावासबाट पैसा लिएको छैन र लिने पनि छैन । म नेपाल र भारतबीचको सम्बन्ध राम्रो हुनुपर्छ भन्ने मान्छे हुँ । अरूले जस्तो मैले कसैसँग हात जोडेर पैसा माग्दिनँ ।
 
पत्रकारिता जीवनमा कसैसँग केही उपहार लिनुभएको छ कि छैन ? लिनुभएको छ भने कति र कोसँग लिनुभएको छ ? जनता जान्न चाहन्छन् ।
मैले अहिलेसम्म कसैसँग गिफ्ट लिएको छैन, बरु दिएको छु । यो आरोप निराधार हो ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७३  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC