site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रुटिन अफ नेपाल बन्द’लाई बालेनले एक करोड छुट्याएकै हुन् ? यस्तो छ तथ्य

काठमाडौं । पछिल्लो साता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विवादमा मुछिएका छन् । 

आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा विशेषगरी ई–स्पोर्टस आयोजना गर्नका लागि छुट्याइएको भनिएको एक करोड रुपैयाँले बालेनलाई विवादमा तानेको छ । सामाजिक सञ्जाल यसै विषयमा तातिएको छ ।

बालेन नेतृत्वको महानगरले असार ५ गते घोषणा गरेको बजेट भाषणमा ‘खेलकुद सम्बन्धी नीति’ को अन्तिम बुँदामा ‘ई–स्पोर्टस् प्रबर्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिनेछ,’ भनेर लेखिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यसपछि सार्वजनिक भएको बुँँदा शीर्षकको बजेटमा सामाजिक विकास विभाग अन्तर्गत ई–स्पोर्टस् प्रतियोगिता आयोजना गर्नका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो । 

र्‍यापर यम बुद्धको सालिक बनाउन महानगरले १५ लाख विनियोजन गरेको विवादमा तानिएका बालेनमाथि उल्लेखित बुँदाले थप विवादमा तानेको छ ।

जसको कारण बनेको छ रुटिन अफ नेपाल बन्द र यसका सञ्चालक भिक्टर पौडेल । भिक्टरले स्थानीय तहको निर्वाचनमा बालेन जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए  र भिक्टर ई–स्पोर्टस्सँग पनि जोडिएका छन् । 

भिक्टरको ई–स्पोर्टस् खेल्ने आफ्नै टिम ‘डीआरएस’ नामक टिम छ । डीआरएस (द रियल सोल्जर) पबजी टिम हो । 

भिक्टरको टिम डीआरएसले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।  त्यसकारण महानगरले छुट्याएको बजेटसँग भिक्टरको नाम जोडिएसँगै बालेनलाई विवादमा तानिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले पनि बालेनलाई लक्षित गर्दै ‘चुनाव जित्न रुटिन अफ नेपाल बन्दलाई कति पैसा दिएर हायर गरेको हो ?’ भनी प्रश्न गरेकी थिइन् । त्यसपछि बालेनले आफ्नो चुनाव अभियानमा कुल ३ लाख ९४ हजार ४८९ रुपैयाँ चुनावी खर्च विवरण सार्वजनिक गरेका थिए । 

चुनावी प्रचारप्रसारदेखि मेयर बन्ने बेलासम्म रुटिन अफ नेपाल बन्दले बालेनलाई प्रत्यक्ष सहयोग गरेको थियो । 

महानगरले ई–स्पोर्टस् प्रतियोगिता आयोजनाबाहेक खेलकुदस्थल स्थापना तथा व्यवस्थानका लागि ३ करोड ५० लाख र महानगर खेलकुद प्रतियोगिता आयोजनाका लागि ४० लाख बजेट विनियोजन गरेको छ । 

आरोपबारे के भन्छ महानगर ?

महानगर उच्च स्रोतका अनुसार १ करोड बजेट विनियोजन गरिए पनि सीधै रुटिन अफ नेपाल बन्दलाई दिन मिल्दैन ।

“प्रतियोगिता आयोजना गर्नका लागि भनेर बजेट विनियोजन गरिएको हो । विभिन्न विधामा प्रतियोगिता हुने हो । त्यो रकम त्यसै एउटा संस्थालाई दिन मिल्दैन । टेन्डर प्रक्रियामा जानुपर्छ । अनुदान कार्यविधि अनुसार सीधै अनुदान पनि दिन मिल्दैन,” स्रोतले भन्यो । 

रुटिन अफ नेपाल बन्दको स्पष्टीकरण

रुटिन अफ नेपाल बन्दले एक विज्ञप्ति जारी गर्दै आफूहरुलाई महानगरले बजेट नछुट्याएको स्पष्ट पारेको छ ।

“हामी एक मात्र ई–स्पोर्ट्स कम्पनी भन्ने दाबी गरेर काठमाडौँ महानगरले हाम्रो लागि १ करोड बजेट छुट्याएको भनिएको छ । सर्वप्रथम, रुटिन अफ नेपाल बन्द कुनै इ–स्पोर्ट्स कम्पनी होइन । यो संस्था कार्यक्रम आयोजना गर्ने कम्पनी पनि होइन ।  हाम्रो संस्था प्रेस काउन्सिलमा दर्ता भएको मिडिया हो । तथ्यका आधारमा भन्ने हो भने नेपालमा ई–स्पोर्ट्स खेलाउने, खेल्ने प्रयोजनका लागि दर्ता भएका कम्पनी धेरै छन् । साथै ई–स्पोर्टसको समूहमा पब्जीमात्रै पर्ने पनि होइन । बिना अनुसन्धान कुनै व्यक्ति÷कम्पनीको नाम लिएर झुटो आधारमा समाचार बनाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यस्तो कार्यप्रति हाम्रो संस्था खेद प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 

के हो ई–स्पोर्टस् 

ई–स्पोर्टस इलेक्ट्रोनिक माध्यमबाट खेलिने खेल हो । यस खेलमा कम्युटर, मोबाइल, ल्यापटप, प्ले स्टेसनलगायतका साधन प्रयोग गर्न सकिन्छ ।  भिडियो गेममार्फत टिममा र एकल रुपमा पनि प्रतिस्पर्धा गर्न सकिन्छ ।

पछिल्लो समय यसमा सहभागी हुनेहरुको जमात ठूलो छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले पनि अक्टोबर २०१७ मा ई–स्पोर्ट्सलाई मान्यता दिएको छ । नेपालले पनि दक्षिण एसियन गेम्स, एसियन गेम्स र वर्ल्ड च्याम्पियनसिप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएको छ । 

नेपालमा यसको आधिकारिक संस्था छ ?

नेपालमा पनि ई–स्पोर्ट्स खेलको आधिकारिक निकाय छ । नेपाल ई–स्पोर्ट्स एसोसिएन (नेसा) यस खेलको नेपालमा आधिकारिक संस्था हो । 

सुरज डंगोल नेसाका अध्यक्ष हुन् । २०१६ मा नेसाको स्थापना भएको थियो । त्यही वर्ष नेसाले नेपाल ओलम्पिक कमिटीमा पनि आफुलाई दर्ता गराइसकेको छ । राष्ट्रिय खेलकुद परिषद्मा भने यो दर्ताको प्रक्रियामा रहेको अध्यक्ष डंगोल बताउँछन् । 

नेपालको अन्तर्राष्ट्रिय सहभागिता 

नेसाले २०१८ मा भियतनाममा सम्पन्न एसियन गेम्समा प्रदर्शनी खेलका लागि नेपालको टिम पठाएको थियो । 

त्यस्तै २०१९ मा ताइवान, २०२० मा दक्षिण कोरिया,२०२१ मा इजराइलमा सम्पन्न वल्र्ड च्याम्पियनसिपमा पनि नेपालले सहभागिता जनाएको थियो ।

अब इन्डोनेसियाको बालीमा हुने प्रतियोगिताको लागि पनि नेसाले छनोट प्रतियोगिता सम्पन्न गरेको छ ।  नेसाका अध्यक्ष डंगोलका अनुसार नेपाली टिमले अब साउथ एसियन गेम्समा प्रतिस्पर्धा गरेर बालीमा प्रतिस्पर्धा गर्नेछ । 

रुटिन अफ नेपाल बन्दलाई एक करोड छुट्याइएको भन्ने विवादबारे के भन्छन् अध्यक्ष डंगोल ?

नेसाका अध्यक्ष डंगोलले बालेनको चुनावमा रुटिन अफ नेपाल बन्दसँगै भिक्टर  सक्रिय रुपमा लागेका कारण उनीहरुलाई नै टार्गेट गरिएको हुनसक्ने बताए । 

“अहिले भिक्टरसँग नाम जोडिएर धेरै चर्चा भएको छ । उहाँहरु बालेनको चुनावमा पनि सक्रिय रुपमा लाग्नु भएको हुनाले उहाँहरुलाई टार्गेट गरिएको हुनसक्छ । तर, मेरो विचारमा मेयर सा’ब नयाँ पुस्ताको हुनुहुन्छ,” उनले भने, “भारत, चीन र युरोपलगायतका देशले यस खेलमार्फत् थुप्रै फाइदा लिइरहेको छ । अहिले नेपालमा पनि यसको खेलको आकर्षण बढ्दो छ । त्यसकारण यसमा सम्भावना देखेर बजेट छुट्याइएको हो भन्ने लाग्छ ।” 

बजेटको सन्दर्भमा आफ्नोे टिमसँग पनि छलफल भएको अध्यक्ष डंगोल बताउँछन् । “भिक्टरजी आफैँको पनि एउटा टिम छ । उहाँले त्यो टिमलाई प्रमोट गर्नु हुन्छ । उहाँले पनि आफ्नोतर्फबाट पहल गर्नुभयो होला,” उनले भने, “त्यो आफ्नो ठाँउमा छ । तर, अब त्यो छुट्याइएको रकम चाँहिँ भौतिक पूर्वाधारमा खर्च गर्न पाइयो भने राम्रो हुन्छ ।” 

नेसाबाहेक नेपालमा अरु कसले ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्छ ?

नेपाल इ–स्पोर्टस् एसोसिएसनका अध्यक्ष डंगोलका अनुसार नेसा बाहेक पनि नेपालमा विभिन्न कम्युनिटीहरुले विभिन्न प्रतियोगिताहरु आयोजना गरिरहेका छन् । 

पछिल्लो समय आईटी कलेजहरुले यसको आयोजना गर्न थालेका छन् । ब्रिटिस कलेज, एपेक्स कलेजले पनि आयोजना गर्छन् । 
कम्प्युटर एसोसिएसन नेपाल (क्यान)ले पनि पछिल्ला वर्षहरुमा नियमित अयोजना गर्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro