काठमाडौं । आठौँ महाधिवेशन सम्पन्न भएको ६ महिनापछि बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीलाई पूर्णता नदिएरै सकिएको छ । असार १९ गतेदेखि कमलादीस्थित प्रज्ञा भवनमा तीन दिन बसको बैठकले पोलिटब्युरो र स्थायी कमिटी सदस्यको पूर्ण नाम टुंग्याउन सकेन । त्यसैगरी पार्टीको पदाधिकारी पनि थाती नै राखेको छ ।
०७८ पुस ११ गतेदेखि १८ गतेसम्म चलेको पार्टीको आठौँ महाधिवेशनमा पदाधिकारी चयनको प्रक्रिया नै अघि बढेन । त्यसको भोलिपल्ट बसेको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पुनः अध्यक्ष चयन गरेको गरेको थियो । त्यसबाहेकका पदाधिकारी पछि छानिने भन्दै बैठक स्थगित भएको थियो ।
कोभिडको कारण देखाउँदै केन्द्रीय कमिटी बैठक पटक–पटक सारियो । त्यसपछि गएको फागुन २०–२३ गतेसम्म चलेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको थियो ।
भद्रगोल पोलिटब्युरो
अध्यक्ष प्रचण्डले १९ गते केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेका एजेन्डामा पार्टी पोलिटब्युरो, स्थायी कमिटी गठन र पदाधिकारीलाई पूर्णता दिने बताएका थिए । तर, ती संरचना अपूरै रहे ।
बिहीबारको बैठकमा पोलिटब्युरो गठनका क्रममा भद्रगोल नै भयो । अध्यक्ष प्रचण्डले १२५ सदस्यीय पोलिब्युरोको प्रस्ताव राखे । तर, पोलिटब्युरो सदस्यको नाम वाचनमा उनी निकै अल्मलिए ।
पहिलोपटक नाम वाचन गर्दा अपूर्णभएपछि उनले पुनः दोहोर्याएर नाम वाचन गरे । उनले राखेको संख्या हलले पारित गरे पनि नाम पारित भएन । प्रचण्डले राखेको नाममाथि केन्द्रीय सदस्यहरूले प्रश्न उठाए ।
उनीहरूले पोलिटब्युरो कमिटीको मापदण्डमा प्रश्न उठाए भने केही नेताहरू छुटेको भन्दै विरोध गरे । बैठकमा चर्को विरोध भएपछि बैठक एक घण्टाका लागि स्थगित गरियो । त्यसपछि शीर्ष नेताहरूको बैठकले वैकल्पिक पोलिटब्युरो गठन गर्ने निर्णय गर्यो । तर, एक घण्टापछि बसेको बैठकमा पनि प्रचण्डले सहमति जुटाउन सकेनन् । उनी नाम पढ्दा पुनः अलमलिए । केही नाम फेरि दोहोर्याएर सुनाए ।
बैठकमा केन्द्रीय सदस्यहरूले विरोधलाई निरन्तरता दिएपछि प्रचण्डले 'हिजो अर्को डायरीमा नाम लेखेको तर आज अर्को पढेको' भन्दै टार्नुपरेको बैठकमा सहभागी एक नेता बताउँछन् । सहमति नभएपछि सर्कुलर जारी गर्ने भन्दै उनले हललाई 'भद्रगोल' कमिटी पास गर्न लगाएका थिए ।
“समस्या बल्झाउने होइन, सक्नेतिर लागौँ । १२५ पोलिटब्युरोको संख्या पास गरौँ । तर, मैले त्यो भन्दा बढी नाम पढेँ । केन्द्रीय समितिमा वैकल्पिक राखेपछि पोलिटब्युरोमा पनि राख्न सकिन्छ । वैकल्पिकसहित १५६ को पोलिटब्युरो बनाऔँ,” प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भने, “मैले पढेका नाममा सिनियर नेताहरू १२५ र अरू तपाईंहरूले दिएको नामलाई वैकल्पिकमा राखौँला । यसलाई पास गरौँ । नाम सर्कुलर गरौँला ।"
स्थायी कमिटी सदस्यहरूको नाम लिएनन्
माओवादीले अपूर्ण स्थायी कमिटी पनि गठन गरेको छ । स्थायी कमिटीमा ४१ सदस्य रहने भनिएपनि १५ जना सदस्यहरूको नाममात्रै टुंगो लगाइएको छ । तर, प्रचण्डले ती स्थायी कमिटी सदस्यहरूको नामै पनि वाचन गरेनन् । तत्कालीन नेकपामा रहेका स्थायी कमिटी सदस्य अर्थात् पार्टीको पूर्वस्थायी कमिटी सदस्यहरू स्वतः कमिटीमा रहेको उनले बैठकलाई जानकारी गराए ।
बैठकपछि नेता गिरिराजमणि पोखरेलले स्थायी कमिटीमा ४१ सदस्य रहने जानकारी दिए । तर, बैठकले १५ जनाको नाम मात्रै टुंगो लगाएको छ ।
बैठकमा प्रचण्डले स्थायी कमिटीमा ४१ मध्ये २३ जनाको नाम नै नपढी हिसाब सुनाए ।
बैठकले उनको प्रस्ताव पारित गरेको छ ।
तत्कालीन नेकपाको स्थायी कमिटीमा प्रचण्डसहित नारायणणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, जनार्दन शर्मा, देव गुरुङ, देवेन्द्र पौडल, पम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, लिलामणि पोखरेल, शक्तिबहादुर बस्नेत र हरिबोल गजुरेल रहेका थिए ।
उनीहरू माओवादीको स्थायी कमिटी सदस्य भएका छन् । त्यसैगरी प्रचण्डले भनेअनुसार माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल पनि स्थायी कमिटी सदस्य हुनेछन् ।
उता पहिले स्थायी कमिटीमा नरहेका प्रदेश १ का इन्चार्ज राम कार्की, वाग्मतीका हितमान शाक्य, गण्डकी इन्चार्ज हितराज पाण्डे, कर्णाली इन्चार्ज कालीबहादुर मल्ल र सूदुरपश्चिका इन्चार्ज खगराज भट्ट पनि स्थायी कमिटी सदस्य बन्ने पक्का भएको छ ।
पदाधिकारी पनि टारे
केन्द्रीय समितिका नेताहरूले पार्टीको पदाधिकारी थाती रहने आशंका गरेका थिए । १९ गते र २० गते बसेको बैठकमा नेताहरूले पदाधिकारी छनोट गर्न चर्को दबाब दिएका थिए । अन्ततः पदाधिकारी पनि थाती नै राखेर बैठक सकिएको छ ।
प्रचण्डले बैठकमा पदाधिकारीको नाम पढ्न सक्ने तर नपढ्ने भन्दै हललाई अलमलमा पारे । अन्तिममा उनले 'होमवर्क' नपुगेको भन्दै केही दिनको समय मागेका छन् ।
उनले आफूसँग पदाधिकारीको नाम रहेको दाबी गरे । तर, पढ्न नलगाउन हलसँग आग्रह गरे ।
उनले घुमाउरो शैलीमा वरिष्ठ उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठलाई घोषणा गरे ।
“दुई–चार दिन दिनुस्, पदाधिकारी टुंगिन्छ । सबैको अनुहार उज्यालो हुनेगरी टुंगिन्छ,” उनले भने, “वरिष्ठ उपाध्यक्षमा नारायणकाजी बाहेक को हुन्छ र ? तर, मातृकाजीले विरोध गरिहाल्नुहुन्छ भन्नुहुन्छ कमरेडले । मसँग पदाधिकारीहरूको नाम पनि छ । पढ्न पनि सक्छु । तर, प्लिज अहिले मलाई पदाधिकारीको नाम पढ्न नलाउनुहोस् । ताली बजाउनुस् ।”
प्रचण्डले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातबारे छानबिनको प्रतिवेदन १५ दिनभित्र आउने र त्यसपछि मात्रै पदाधिकारी टुंग्याउने पनि बताएका छन् ।
“साथीहरूले अन्तरर्घात भयो, अन्तरर्घात भनेर सिनियर साथीहरूले नै भन्नुभएको छ । १५ दिनभित्र टंक राई नेतृत्वको कमिटीले छानबिन गरेर प्रतिवेदन ल्याउँछ । केही समय दिनुस् टुंगिन्छ ,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
नेता पोखरेलकाअनुसार सहमतिमा पार्टी कमिटीहरू गठन भएका छन् । उनले महाधिवेशनले नै सहमतिमा नेतृत्व छानेको भन्दै केही दिनमा टुंगिने पनि बताए ।
“अहिले सहमतिमै गएको हो । महाधिवेशनमा नेतृत्व सहमतिमै छानिएको हो । अहिले पनि सहमतिमै अध्यक्षले सबैलाई समेटेर लैजानुभएको हो,” उनी भन्छन्, “वरिष्ठ उपाध्यक्ष तोकिएको छ । अरू नाम छिट्टै आउँछ ।”
बैठकले पदाधिकारी टुंगो लगाउने जिम्मा प्रचण्डलाई नै सुम्पिएको छ । यही कमिटीले नै पदाधिकारी टुंगो लगाएको मानिने नेता पोखरेलले जानकारी दिए ।
“पदाधिकारीको टुंग्याउने जिम्मा अध्यक्षलाई दिएको छ । पूर्वस्थायी कमिटी सदस्यहरूले सघाउने भन्ने भएको छ,” उनले बैठकपछि सञ्चारकमीसँग भने, “यो केन्द्रीय समितिबाटै नै पदाधिकारी टुंगियो भन्ने बुझ्नुपर्छ । केही व्यक्तिहरू र कतिपय जिम्मेवारी मिलाउन बाँकी छ ।”
माओवादीमा विशेषगरी महासचिव चयनमा समस्या देखिएको छ । नेताहरू वर्षमान पुन र जनार्दन शर्माको दाबी भएकाले मिलाउन गाह्रो परेको नेताहरू बताउँछन् ।
पदाधिकारीमा सहमति जुट्न नसकेका कारण नै आज घोषणा नभएको केन्द्रीय सदस्य पेशल खतिवडाले बताए ।
“पोलिटब्युरो र स्थायी समितीमा केही नाम टुंगिन बाँकी हो । पदाधिकारी चयन चाहिँ बाँकी नै रह्यो,” उनले बाह्रखरीसँग भने, “पदाधिकारीका खास पदमा मिलाउन अप्ठ्यारो भएको होला भन्ने लाग्छ ।”
तस्बिरहरू : हरिशंग क्षेत्री/बाह्रखरी