काठमाडौं । नेकपा (माओवादी केन्द्र)को वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ पक्का भएका छन् । पार्टी पदाधिकारीको टुंगो नलाग्दै वरिष्ठ उपाध्यक्षमा भने श्रेष्ठ पक्का भएका हुन् । माओवादी केन्द्रमा स्थायी कमिटीले पनि पूर्णता पाएको छैन ।
माअोवादी केन्द्रको विधानमा सातजना उपाध्यक्ष र एकजना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्था छ । गएको अधिवेशनबाट सिर्जित वरिष्ठ उपाध्यक्ष पद श्रेष्ठको भागमा परेको हो । माओवादी केन्द्रका अन्य पदाधिकारीको भने टुंगो लागेको छैन ।
माओवादी केन्द्रले महाधिवेशन गरेको सात महिनापछि बिहीबार पोलिब्युरो र स्थायी कमिटी गठन गर्यो । पोलिब्युरो सार्वजनिकसँगै भएको विवाद भएपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठक नै स्थगित गर्नुपरेको थियो । विवाद सल्टाएर पुन: बैठक बसेपछि प्रचण्डले स्थायी कमिटी ४१ सदस्यीय हुने बताए ।
उनले स्थायी कमिटीमा नेकपाकालीन १५ सदस्य रहने घोषणा गरेका छन् । त्यसबाहेक सात प्रदेशका इन्चार्ज र पार्टी कार्यलयका मुख्य सचिव पनि स्थायी कमिटीमा रहनेछन् । तर, पदाधिकारीको नाम भने आफूसँग तयार नै रहेपनि मातृका यादवले विरोध गर्ने भन्दै केही दिनमै सार्वजनिक गर्ने बताए ।
“पदाधिकारीको नाम म अहिले नै पठ्न सक्थेँ तर, मातृकाजीले विरोध गरीहाल्नुहुन्छ, त्यसैले प्लिज मलाई पढन नलाउनुहोस्,” बैठकमा प्रचण्डले भने, “दुईचार दिनभित्रै पदाधिकारी टुंगिन्छ । सबैको मुख उज्यालो हुनेगरी टुंगिन्छ ।”
तर, उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्न नरहेको संकेत गरे ।
“वरिष्ठ उपाध्यक्षमा त नारायणकाजी नै हो,” प्रचण्डले भने, “सबै पदाधिकारीको नाम दुईचार दिनमै सार्वजनिक हुने छ ।”