site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरुवा गरेको ठाउँमा नजाने कर्मचारीलाई जागिर छाड्न बाध्यकारी कानुन बनाउनुपर्ने प्रस्ताव

काठमाडौं । सांसदहरूले कर्मचारीको सरुवा व्यवस्थित ढंगबाट गरिनुपर्नेमा जोड दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा राजनीतिक ‘सोर्सफोर्स’का आधारमा कर्मचारी काठमाडौं वरिपरि घुम्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधन प्रस्तावकर्तासँगको छलफलमा नेकपा (एकीकृत समाजवादी)का सांसद अम्बरबहादुर थापाले तोकेको ठाउँमा नजाने कर्मचारीले जागिर नै छाड्नुपर्ने कडा व्यवस्था राखिनुपर्ने प्रस्ताव राखेका हुन् ।

“नेपाल सरकारका जागिर खाइसकेका मान्छेले मुगु, हुम्ला जान्न भन्न पाइँदैन । जहाँ सरकारले तोकेको छ । त्यहाँ जाने वातावरण सिर्जना गर्नुपर्छ । अहिले पनि सबै स्थानीय तहमा कर्मचारी प्राप्त गरेका छैनौँ । काठमाडौंका वरिपरि घुम्ने अनि सेवा दिने ठाउँमा नजाने प्रवृत्तिले देश बर्बाद बनाएको छ,” थापाले भने, “कोही सिंहदरबारबाट जाने, कोही मुगु, हुम्लाबाटै रिटायर्ड हुनुपर्ने अवस्था सिर्जना गरिनुहुँदैन । चक्रिय प्रणालीबाट तोकिएका ठाउँमा अनिवार्य जानुनपर्ने व्यवस्था गर्नुपर्छ । नभए जागिरबाट हात धोएर जानुपर्छ ।”

उनले कर्मचारीतन्त्रलाई राजनीतिक हस्तक्षेप मुक्त गरिनुपर्ने बताए । शिक्षा समितिका सभापति समेत रहेका थापाले कर्मचारीलाई अधिकार क्षेत्र दिनुपर्ने र दण्डनीय व्यवस्था पनि राख्नुपर्नेमा जोड दिए । “क्षेत्राधिकार पनि दिनुपर्छ । यदि बदमासी गरे यतिवर्षसम्म जागिरबाट निलम्बन हुनुपर्ने, निलम्बन मात्रै होइन बर्खास्त हुनुपर्ने कडा दण्डनीय व्यवस्था गर्नसक्दैनौँ । यो दफा घटाउने र बढाउनेभन्दा पनि सुविधा खोज्ने प्रवृतिले देश बर्बाद बनाएको छ,” उनी भन्छन् ।

हुम्ला–१ बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद छिरिङ डम्डुल लामा भोटेले आफ्नो जिल्लामा जाने कर्मचारीलाई कारबाहीमा पारिएको भन्ने भाष्य अन्त्य गर्नुपर्ने बताए । “हाम्रोतिर कर्मचारीलाई गोर्खाली भन्छौँ । जुम्ला, हुम्लामा जाने कर्मचारी कारबाहीमा पारियो भन्ने चलन छ । यसको अन्त्य हुनुपर्छ,” उनले भने ।  

सांसद भोटेले दुर्गममा जाने कर्मचारीलाई पहिले नै बढुवा गरेर पठाउनुपर्ने प्रस्ताव पनि राखे । दुर्गममा गएर काम गरेकाले पनि शक्ति भएकाको मात्रै सुगममा सरुवा हुने गरेको उनको भनाइ थियो ।

“दुर्गममा जाने कर्मचारीलाई त्यहाँ बसेपछि बढुवा गर्नुभन्दा पहिले नै बढुवा गर्ने र निश्चित समय तोक्ने व्यवस्था गर्नुपर्छ,” उनको भनाइ छ ।

उनले बरु अमेरिका छिट्टै पुग्ने तर आफ्ना क्षेत्रमा कर्मचारी जान लामो समय कुर्नुपर्ने सुनाए । शीर्ष नेता, सचिव तहका कर्मचारी र ठेकेदारले देश बर्बाद बनाएको आरोप उनको छ ।  

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरुवा प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखे । “कर्मचारीको चेन अफ कमान्ड सिस्टमको पनि समस्या कहीँ न कहीँ छ । सरुवा प्रणालीमा पनि कहीँ न कहीँ हामीले संरचनामा सुधार गर्नैपर्छ,” उनले भने ।

मोदीले अहिलेकै परिस्थिति र संरचना कायम राख्ने भन्दै चीनका राष्ट्रपतिलाई ल्याए पनि  कस्तो कानुन बनाएको भन्दै ६ महिना नटिक्ने टिप्पणी समेत गरे । “यही परिस्थितिमा, संरचनामा, मानौँ अमेरिकाको कुनै सफल राष्ट्रपति वा भारतका सफल राष्ट्रपति ल्याऔँ । नेपालमा कोही अर्थमन्त्री, कोही गृहमन्त्री वा चीनबाट सी जिनपिङ नै ल्याऔँ र यही कानुन अनुसारको संरचनामा गयौँ भने ती मान्छेहरू पनि नेपालमा ६ महिनामा भाग्छन्,” उनको व्यङ्ग्य छ ।

अर्का संशोधनकर्ता नेपाली कांग्रेसका सांसद जीवन परियारले मुख्य सचिव र सचिवको कार्यकाल घटाउनुपर्ने प्रस्ताव राखे । “मुख्य सचिवको कार्यकाल तीन वर्षबाट घटाएर दुई वर्षको बनाऔँ । सचिवको पाँच वर्षबाट घटाएर तीन वर्ष बनाऔँ,” सांसद परियारले भने ।

सचिवको कार्यकाल पाँच वर्ष रहँदा कहाँ सरुवा हुन्छ भन्नेमा नै तनावमा बिताउनुपर्ने अवस्था रहेको बताए । “पाँच वर्षसम्म एउटा सचिव मन्त्रालय चाहरेको छ । काम गर्न मानसिक रूपमा तयार भएको हुँदैन । कहाँ सरुवा हुने हो भन्ने तनाव छ,” उनले भने ।

विधेयकको नामै फेर्ने प्रस्ताव
संशोधनकर्ता सांसदहरूले निजामती विधेयकको नाम नै परिवर्तन गर्नुपर्ने प्रस्ताव पनि गरेका छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका परियारले विधेयकको नाम फेरेर सार्वजनिक सेवा ऐन बनाउनुपर्ने सुनाए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पनि विधेयकको नाम सार्वजनिक सेवा ऐन राख्दा उपयुक्त हुने धारणा राखे ।

कांग्रेसकै सांसद राजन केसीले विधेयकमा धेरै संशोधन पर्नु नै पुनर्लेखन गरेजस्तो हुने टिप्पणी समेत गरे । “विधेयकको उत्पत्ति ठिक ढंगले भएन । संशोधन धेरै भयो । पुनर्लेखन गर्दा भयो । वाग्मती, विष्णुमती सुनिएको थियो । यही निजामती किन दोहोरिएर आएको छ । सार्वजनिक सेवा ऐन राख्दा भयो,” उनको टिप्पणी छ ।

उनले विधेयकको कमजोर मस्यौदामा आएको समेत बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro