काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायाधीश घुस प्रकरणले नागरिकको अन्तिम विश्वास रहेको न्यायपालिकाको छवि धुमिल पार्ने काम भएको भन्दै निन्दा गरेको छ । बारले आज विज्ञप्ति जारी गरी न्यायाधीश, कर्मचारी र कानुन व्यवसायीबाट भएको भनिएको त्यस्तो कार्यप्रति निन्दा गरेको हो ।
“न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको निम्ति यस एसोसिएसनले सदैव पहरेदारी गरी आएको सन्दर्भमा काठमाडौं जिल्ला अदालतका मा. न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेलबीचमा ई. इच्छाराज तामाङलाई धरौटीमा छुटाउनको लागि मोलमोलाई गरिएको अडियो भनी मिति २०७९/०३/०७ गते राति ‘सिधा कुरा जनतासँग’मा प्रशारित अडियो समाचारका सम्बन्धमा यस नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “नागरिकको आस्था र धरोहरको अन्तिम केन्द्रको रूपमा रहेको न्यायपालिकाको साख श्रीवृद्धिमा मुख्य भूमिका निर्वाह गर्ने न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूबाटै यस्ता किसिमका अवाञ्छित, अमर्यादित र अनुचित कार्यहरूको नेपाल बार एसोसिएसन घोर निन्दा गर्दछ ।”
बारले समाचारमा आएको अडियोका सन्दर्भमा आधिकारिकता छानबिन गर्न पनि माग गरेको छ । “उक्त सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्यतथ्य व्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदारलाई कानुनी दायरामा ल्याउनका लागि यस नेपाल बार एसोसिएसन सम्बन्धित नियमनकारी निकायहरूसँग जोडदार माग गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।