काठमाडौं । यातायात व्यवस्था विभागले डेढ महिनाभित्र अनिवार्य रूपमा सबै सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिसक्नुपर्ने गलत सूचना प्रवाह भएपछि यातायातमा भिडभाड बढेको छ । यतिबेला काठमाडौंका मुख्य दुई यातायात कार्यालयहरूमा इम्बोस्ड नम्बरप्लेटका सवारीधनीहरूको भिडभाड बढेको हो ।
साउन १ गतेसम्म अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गरिसक्नुपर्ने सूचना जारी भएपछि गुर्जधारा र एकान्तकुना यातायात कार्यालयमा यतिबेला बाक्लो भिडभाड बढेको देख्न सकिन्छ । यातायात व्यवस्था विभागले गत २० गते अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडानका लागि तोकिएको समयावधिमा जडान नगरे कारबाही गर्ने चेतावनी सहितको सूचना जारी भएपछि नम्बर प्लेट जडानका लागि यातायात कार्यालयमा भिडभाड बढेको हो ।
तर, सो सूचना ०७८ मंसिर १ गतेपछि दर्ता भएका सवारी साधनको हकमा मात्रै अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान लागु हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुले बाह्रखरीलाई बताए ।