काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा भएमात्रै विमानलाई उडान अनुमति दिने भएको छ । आइतबार तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडानको अनुमतिमा कडाइ गरेको हो ।
तारा एयरको बिमान दुर्घटनाको कारण प्रतिकूल मौसम रहेको हुनसक्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणको प्रवक्तासमेत रहेका निमित्त उपमहानिर्देशक देव चन्द्रलाल कर्णले अब प्रस्थान गर्ने र गन्तव्य विमानस्थलका साथै उक्त रुटमा पर्ने स्थानको पनि मौसम सफा भएमा मात्रै उडान अनुमति दिने निर्णय गरिएको जानकारी दिए ।
“पहिले उडान गर्ने विमानस्थल र गन्तव्य विमानस्थको मौसम हेरेर उडान अनुमति दिइँदै आएको थियो । अब प्रस्थान र गन्तव्य विमानस्थलको मात्रै मौसम सफा भएर हुँदैन । गन्तव्यको ‘इनरुट’मा गपर्ने स्थानको पनि मौसम ठिक छ कि छैन मौसम विभागबाट निश्चित भएपछि मात्रै उडान अनुमति दिइने छ,” बाह्रखरीसँग उनले भने ।
सोमबार नै प्राधिकरणले उक्त निर्णय गरेको र आजबाट नै कडाइका साथ लागु गरिएको उनले बताए ।