site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
लेबनानमा नेपाली सुरक्षित, असहज अवस्था देखिँदैन : राजदूत लम्साल 
तस्बिर : रोयटर्स ।

काठमाडौं । इजिप्टका निम्ति नेपाली राजदूत सुशीलकुमार लम्सालले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएका छन् । लेबनान समेत हेर्ने जिम्मेवारी पाएका लम्सालले नेपाली रहेका स्थानमा हाल असहज अवस्था नरहेको बताए ।

“लेबनानमा रहेका नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ । उहाँहरू सबै सुरक्षित हुनुहुन्छ,” राजदूत लम्सालले बाह्रखरीसँग भने, “पछिल्ला दिनमा दक्षिणी लेबनानमा तनाव बढेको छ । अधिकांश नेपाली उक्त क्षेत्रमा हुनु हुन्न ।”

इजरायलले दक्षिण लेबनानस्थित हिजबुल्लाहका अखडाहरूमा आक्रमण गरिरहेको छ । इजरायलको आक्रमणमा परी लेबनानमा पछिल्लो दुई दिनमा ४९२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली हवाई आक्रमणमा परी लेबनानमा ज्यान गुमाउनेमा ३५ बालबालिका र ५८ महिला समेत छन् । इजरायलको आक्रमणबाट एक हजार ६०० जनाभन्दा बढी लेबनानी घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुई दिनमा इजरायलले हिजबुल्लाहका एक हजार ३०० अखडामा आक्रमण गरेको छ । लेबनानको दक्षिण भूभाग (इजरायलसँगको सीमा)लाई आधारक्षेत्र बनाएर बसेको हिजबुल्लाहले पनि इजरायलमा रकेट प्रहार गरिरहेको छ ।

राजदूत लम्सालका अनुसार, लेबनानमा एक हजारदेखि १२ सयसम्म नेपाली कार्यरत छन् । तीमध्ये सात/आठ सय घरेलु कामदार छन् । अरू नेपाली होटेल तथा रेस्टुरेन्ट र उत्पादन क्षेत्रमा कार्यरत छन् ।

“नेपालीहरू रहेको ठाउँमा असहज अवस्था देखिँदैन । हामीसँग कुरा गर्दा पनि उहाँहरूले आत्तिहाल्ने अवस्था नरहेको बताउनुभएको छ,” उनले भने ।

लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा हाल ९७७ नेपाली सैनिक खटिएका छन् । शान्ति स्थापनाका निम्ति उनीहरूलाई लेबनान–इजरायल सीमानजिक खटाइएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro