site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एउटै परिवारले देशभर फैलाएको सहकारी ठगीको जालो, ‘ब्रिटिश गोर्खा’ कसरी जोडियो ? 
SkywellSkywell

काठमाडौं । दर्जबहादुर तामाङ– धेरैका लागि यो परिचित नाम होइन । उनी ब्रिटिश सैनिक (गोर्खा सैनिक) थिए । 

उनले ब्रिटिशको तर्फबाट दोस्रो विश्वयुद्ध लडेका थिए । 

ओखलढुङ्गाको साविक पात्ले गाउँ विकास समिति ( मोलुङ गाउँपालिका)मा जन्मिएका दर्जबहादुरका दुईजना श्रीमती थिए । जेठी बिबिमाया तामाङ र कान्छी आइतमाया तामाङ । 

KFC Island Ad
NIC Asia

जेठी श्रीमती बिबिमायाबाट ५ छोरा र २ छोरी भए । कान्छी श्रीमती आइतमायाबाट ४ छोरा र ५ छोरीको जन्म भयो । सबै गरेर दर्जबहादुरका १६ जना सन्तान थिए । 

बिबिमायाको कोखबाट उत्तरबहादुर तामाङ, पदमबहादुर तामाङ, रमेशबहादुर तामाङ, तेजबहादुर तामाङ, डम्बरबहादुर तामाङ (बम्जन), विष्णु तामाङ र हेमकुमारी तामाङको जन्म भएको थियो । 

Royal Enfield Island Ad

कान्छी श्रीमती आइतमायबाट खड्गबहादुर बम्जन, शेरबहादुर तामाङ, ज्ञानबहादुर तामाङ, खिलबहादुर तामाङ, नन्दा कुमारी बम्जन, निर कुमारी बम्जन, नेत्र कुमारी बम्जन, निशा भनिने भगवती बम्जन र रेश्मा बम्जनको जन्म भएको थियो ।

यिनै १६ दाजुभाइ, दिदी–बहिनी, सम्धी, सम्धिनी, माइती, ज्वाइँ प्रायः सहकारी वा नेटवर्किङ पेशामा जोडिए ।

यतिखेर अधिकांश सहकारी डीबी बम्जन र पछि ज्ञानबहादुर बम्जनसँग जोडिएकाहरूको संलग्नतामा खुलेका र सहकारीहरुमा उनीहरुको पारिवारिक जालो व्यापक रहेको देखिन्छ ।

सीमित परिवार सदस्यले सहकारी जालो विस्तार गरी कसरी ‘मोजमस्ती’ गरे भन्ने ‘विशेष छानबिन प्रतिवेदन, २०८१’ ले खुलस्त पारेको छ । 

उनीहरूले सहकारी ठगी के–कसरी गर्दै आए प्रतिवेदनमा स्पष्ट लेखिएको छ । 

यो परिवारले सर्वसाधारणको १६ अर्ब रुपैयाँभन्दा बढी बचत सङ्कलन, अपचलन, दुरूपयोग र ठगी गरेको किटान प्रतिवेदनमा गरिएको छ । गोर्खा मिडिया नेटवर्कका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तिनै परिवारको जालोमा परेका छन् । 

जुन सूचीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्गको नाम पनि थपिएको छ । सहकारीमा देखिएको मूल समस्या तामझाम र तडकभडकमा खुलेका र हेर्दा बैङ्कजस्ता लाग्ने ‘स्याटेलाइट’ सहकारीहरूमा छ । 

जुन सहकारीका सञ्चालकहरू त्यसक्षेत्रका होइनन्, साना र दैनिक बचतकर्ताहरू उनीहरूको लक्ष्य पनि होइनन् । केही अपवादबाहेक त्यस्ता सहकारी मूलतः समस्यामा छन् । 

“उनीहरूले सहकारीलाई सहकारीतामा आधारित आर्थिक व्यवसाय होइन बैङ्किङ्ग संस्था जस्तो बनाए । एक सहरको सहकारीको शाखा अर्को सहरमा रहने गरी देशव्यापी कार्यक्षेत्र बनाए । सहकारीलाई बचतकर्ताको बचत जम्मा गर्ने र निजी फाइदाका लागि उपयोग गरी ठगी गर्ने धन्दा बनाए,” विशेष छानबिन प्रतिवेदनमा भनिएको छ ।

लाखौँ सर्वसाधारणले सहकारी संस्थामा जम्मा गरेको ८७ अर्ब रुपैयाँभन्दा बढी बचत रकम सञ्चालकहरूद्वारा हिनामिना, दुरूपयोग, अपचलन गरी सर्वसाधारण बचतकर्तालाई बिचल्ली बनाउने यो परिघटनाको सुरूआत कहाँबाट भएको हो ? सहकारीमा समस्या कहाँबाट आएको हो ? यी सबै प्रश्नको जवाफ प्रतिवेदनमा भेटिन्छ । 

ब्रिटिश गोर्खा सैनिक परिवारलाई बेलायतले हङकङमा राख्ने व्यवस्था गरेको थियो ।  हङकङमा परिवार राखेर गोर्खा सैनिकहरूलाई बेलायत, ब्रुनाईलगायत देशमा ब्रिटिश सरकारले ड्युटी गर्न पठाउँथ्यो । हङकङलाई चीनले लिने भएपछि सन् १९९० को दशकदेखि ब्रिटिश गोर्खा परिवार नेपाल फर्किए । 

सन् १९९७ जुलाइ १ मा बेलायतले हङकङ छोड्ने निश्चित भएको थियो । हङकङमा हुर्के बढेका बालबच्चाको सुविधाका लागि जागिरबाट आएको रकम भएपछि भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूले गाउँ छाड्न थाले ।  मूलतः काठमाडौं उपत्यका (विशेषगरी ललितपुर), बुटवल, पोखरा र धरानमा ब्रिटिश गोर्खा सैनिकहरूले घडेरी किन्ने र घर बनाउन थाले ।

“त्यसबेला उनीहरूको हातमा नगद र जीवनशैली नेपालमै बसेका कर्मचारी र सर्वसाधारण नेपालीभन्दा माथिल्लो स्तरको थियो,” प्रतिवेदनमा भनिएको छ । 

२०४६ पछि पुनःस्थापित प्रजातन्त्रको खुलापनमा भूतपूर्व ब्रिटिश गोर्खा सैनिक संगठित हुन थाले ।  २०५६ साल वरपर आइपुग्दा भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरू संगठित बने । 

त्यसपछि ब्रिटिश सरकारले आफ्ना पुर्खादेखि हालसम्म विभेद गरेको भनी गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को माग नेपाली र बेलायती सदनमा उठ्यो । गेसोको मागलाई सरकारले सम्बोधन गर्न बेलायतसँग कूटनीति पहल गर्ने प्रतिबद्धता जनायो ।

एकातिर गेसोले उठाएको मुद्दाले अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गर्न सफल भयो भने एक समूहले व्यापार, व्यवसायमा लगानी गर्ने सोचमा आर्थिक समृद्धिको योजना अघि सार्‍यो । त्यस किसिमको योजना इच्छाराज तामाङ र उनका ज्वाइँ डम्बरबहादुर (डीबी) बम्जनले बनाए । 

प्रतिवेदनमा भनिएको छ, “त्यही योजनामा स्वभावले इमान्दार (केही भुपूबाहेक अधिकांश) र सँगै पल्टनका साथीहरूले ल्याएको योजना लोभलाग्दो देखिएका कारण भुपू गोर्खा सैनिकहरूले पेन्सनको पैसा ब्रिटिश गोर्खा समूहद्वारा प्रवद्र्वित फाइनान्स, सहकारी र बैङ्कमा लगानी गर्न इच्छुक भए ।” 

भूतपूर्व ब्रिटिश गोर्खा सैनिकको इमान्दारिता र पूर्खाले आर्जेको ब्रिटिश गोर्खा ब्रान्ड एकाएक एक परिवारिक नाताबीच विस्तारित हुँदै अन्ततः यतिखेर सहकारीको बचत हिनामिना अपचलन, दुरुपयोग र ठगीको सबैभन्दा ठूलो र फैलिएको सञ्जालका रूपमा स्थापित भएको तथ्यहरूले देखाउँछन् ।

‘गोर्खा समूह’ र ‘ब्रिटिश गोर्खा समूह’ले कसरी सहकारी बचत हिनामिना गरे ? सहकारीको बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समितिलाई संघीय संसद्को प्रतिनिधिसभाको बैठकले छानबिनका लागि दिएको कार्यादेशको अनुसूची १ र २ मा रहेका २९ सहकारीको सूचीमध्ये अधिकांशमा संलग्नता गोर्खा सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लि.का संस्थापक अध्यक्ष सम्मरबहादुर तामाङ्गको देखिन्छ ।

त्यसपछि इच्छाराज तामाङ्ग र डम्बरबहादुर (डीबी) बम्जनका आफन्तजन एवम् उनीहरूबाट प्रेरित संस्था र व्यक्तिहरूको सञ्जाल रहेको तथ्य भेटिएका छन् । 

गोर्खा सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लि.बाट विभाजित, प्रेरित र योजनाबद्ध ढङ्गगबाट स्थापित एवं सञ्चालित सहकारीहरूबाट हालसम्ममा बचतकर्ताको ठूलो परिमाणमा बचत रकम अपचलन हुने स्थिति बनेको देखिन्छ ।

गोर्खा ग्रुप र ब्रिटिश गोर्खा ग्रुप

ब्रिटिशले गोर्खालीलाई सेनामा भर्ती गरेको इतिहास दुई सय वर्षदेखिको छ । प्रथम र दोस्रो विश्वयुद्धमा थुप्रै गोर्खालीले वीरगति प्राप्त गरेका छन् । 

दर्जबहादुर तामाङ दोस्रो विश्वयुद्धका एक योद्धा हुन् । बुबाको लय पछ्याउँदै डीबी बम्जन भनी चिनिने डम्बरबहादुर तामाङ ब्रिटिश सेनामा भर्ती भए । उनको पदस्थापन गोर्खा इन्जिनियरिङ डिपार्टमा भएको थियो ।

डीबी बम्जनको जन्म कोशी प्रदेश, ओखलढुङ्गा जिल्ला साविक पात्ले गाउँ विकास समिति परिवर्तित मोलुङ गाउँपालिका– ७ मा भएको थियो ।  हाल वाग्मती प्रदेश सिन्धुली जिल्ला दुधौली नगरपालिका– ७ मा बसाइँसराई गरी आएका डीबी बम्जनले ब्रिटिश गोर्खाबाट २०५१ सालमा अवकास पाएका थिए । 

इच्छाराज तामाङ ओखलढुङ्गाको साबिक केतुके गाउँ विकास समिति परिवर्तित मानेभञ्ज्याङ गाउँपालिकामा जन्मेका थिए । उनले पछि काठमाडौंको कीर्तिपुर नगरपालिका, ट्याङ्लाफाँटमा बसाइँसराई गरेका थिए ।
 
इच्छाराजका बहिनी ज्वाइँ डीबी बम्जन भएकाले पारिवारिक नातासँगै उनीहरूकै योजनामा वि.सं. २०५२ मा सम्मरबहादुर तामाङलाई अध्यक्ष बनाउँदै ललितपुरको सातदोबाटोमा ‘गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.’ खोलिएको थियो । जसले पछि एउटा ब्रिटिश गोर्खा समूह ब्रान्ड नै स्थापित गयो । 

नेपाल राष्ट्र बैङ्कको सहभागितामा २०६६ माघ १५ गतेदेखि २०६९ कात्तिक मसान्तसम्म स्थलगत निरीक्षण गरिएका १३२ वटा सहकारी संस्थाहरूको प्रतिवेदनमा यो तथ्य स्पष्ट रूपमा उल्लेख गरेको पाइन्छ । 

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको स्थलगत प्रतिवेदनमा त यतिसम्म भनिएको छ, “ब्रिटिश गोर्खा समूहद्वारा प्रवद्र्वित भनी संस्थाको साइनबोर्ड राखिएको पाइयो ।” 

यो समूहमा रहेका सहकारीले प्रकाशन गर्ने ब्रोसरमा पनि ‘ब्रिटिश गोर्खा समूहद्वारा प्रबर्द्धित’ भनी लेखिएको पाइन्छ ।

“२०६६ सालपछि डीबी बम्जन बैंकिङ्ग कसुरमा जेल परेपछि सहकारी सञ्चालन र विस्तारको जिम्मेवारी सुरुमा देशभित्रै रहँदासम्म उनकै भाइ ज्ञानबहादुर बम्जनले सम्हालेको देखिन्छ । उनैको नेतृत्व र योजनामा उक्त ब्रिटिश गोर्खा समूह बन्यो । त्यसैक्रममा सूर्यदर्शन सहकारी (पोखरा) मा गितेन्द्रबाबु राई ससुरालीले स्थापना गरेको सहकारीको कर्मचारीका रूपमा जिम्मेवारी सम्हाल्न पुगेका थिए,” प्रतिवेदनमा उल्लेख छ ।

समयक्रममा ज्ञानबहादुर बम्जनले अगुवाई गरेर इच्छाराज तामाङलाई गोर्खा सेभिङ्गबाट राजीनामा गराएपछि उपकार हाउजिङ्ग, उपकार सेभिङ्ग, कुमारी, कल्याण (काठमाडौ), सूर्यदर्शन (पोखरा), देवशर्शन (थानकोट, काठमाडौं) हुँदै स्वर्णलक्ष्मी (चितवन)सम्म ज्ञानबहादुर बम्जनको अगुवाई, प्रेरणा र नेतृत्वमा सहकारीको व्यापक बिस्तार भएको देखिन्छ ।

यस अभियानमा उनका ज्वाइँहरू लीलाबहादुर गुरुङ, कृष्ण लामा, दीपक लामा, जीबी राई, भाञ्जी संगीता तामाङ, संगीताका पति (भाञ्जी ज्वाइँ ) धनबहादुर तामाङ तथा सहपाठी सूर्यध्वज न्यौपाने, हितैषी साथी पेशलकुमार राई, श्रीमती पुष्पाकुमारी तामाङ लगायत सँगसँगै देखिन्छन् ।

गोर्खामा खटपट र विभाजन

गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. स्थापनाका सम्मरबहादुर तामाङ नाम मात्रका ‘डमी’ अध्यक्ष भएको प्रतिवेदनमा जनाइएको छ । त्यसपछि २०५४ सालबाट इच्छाराज तामाङ गोर्खा सेभिङ्गसको अध्यक्ष बने । २०५७ सम्म ज्वाइँ डीबी बम्जन र जेठान इच्छाराज तामाङको सम्बन्ध राम्रो थियो । 

त्यसैक्रममा इन्जिनियर भएकाले सम्पत्ति मूल्याङ्कन दस्तूर सदस्यसँग लिएर इच्छाराजले आफ्नो व्यक्तिगत खातामा राख्ने गरेको आरोप लाग्यो ।  ब्रिटिश भूतपूर्व गोर्खाको बाहुल्य भएको संस्थामा त्यो कुरा उनीहरूलाई मन परेको थिएन । 

त्यही मुद्दालाई उछालेर ज्वाइँ जेठानबीच मनमुटाव गराउन डीबी बम्जनका भाइ (कान्छी आमापट्टिको साइलो) ज्ञानबहादर बम्जनको मुख्य भूमिका रह्यो ।  ज्ञानबहादुर त्यसबेला गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. को मार्केटिङ्ग प्रमुख थिए । 

गोर्खा सेभिङ्गमा त्यतिञ्जेल इच्छाराज तामाङ अध्यक्ष र डीबी बम्जन प्रबन्धक थिए । इच्छाराजले छोडेपछि ज्ञानबहादुर सेभिङ्गसको प्रबन्धक बने ।

प्रतिवेदनमा भनिएको छ, “जेठान इच्छाराजलाई गोर्खा सेभिङ्ग्स छाड्न बाध्य पारिएको थियो । इच्छाराजले ब्रिटिश गोर्खा ब्राण्ड पाउन पुनरावेदन अदालतसम्म मुद्दा–मामिला पनि गरे । पछि गेसोकै कानुनी सल्लाहकारको परामर्शमा इच्छाराजलाई गोर्खा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लि.बाट पाखा लगाइयो । यसको मूल जड थियो, गोर्खा सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लि.मा ब्रिटिश भूतपूर्व गोर्खा सैनिकहरूको सेयर बढी हुनु ।”

ब्रिटिश भूतपूर्व गोर्खा सैनिकहरूको बहुमतका कारण आफू एक्लिएको महसुस गरी इच्छाराजले ‘इख’ साँध्न सिभिल सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लि. सञ्चालन गरेको देखिन्छ । 

उनले निजामती, प्रहरी र जङ्गी सेवाका उच्च पदस्थ र सेवानिवृत्त कर्मचारीहरूलाई लक्षित गरी सहकारीको नाम ‘सिभिल’ राखेको देखिन्छ ।  यसरी गोर्खाको साथसाथै सिभिल सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ अघि बढ्यो ।

त्यसबेला गोर्खा सेभिङ्गका तीनवटा शाखा थिए । जावलाखेल नाङ्लो बेकरी रहेको भवनको माथिल्लो तला, अर्को सुन्धारा बागदरबारमा र मुख्यालय ललितपुर चापागाउँ दोबाटोमा । 

२०५७ मा ‘ब्रिटिश भूतपूर्व गोर्खा समूह’बाट छुट्टिएर इच्छाराजले आफ्नो टिम लिएर २०५८ मा सोल्टीमोड कालीमाटी उकालोमा सिभिल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. सञ्चालन गरे । 

“यता ज्ञानबहादुर बम्जनलाई पनि गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.मा आफूले चाहेअनुसार काम गर्ने वातारण बनेन । दाइ डीबी बम्जन अध्यक्ष हुँदासम्म ज्ञानबहादुरले त्यहीको स्रोत प्रयोग गर्दै आफन्त र नातागोताको नाममा सहकारी खोल्दै गए । यसरी उनले विभिन्न ठाउँमा दुई दर्जनभन्दा बढी सहकारी संस्थाहरू खोले,” प्रतिवेदनमा उल्लेख गरिएको छ । 

इच्छाराजले छाडेपछि गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको डीबी बम्जन अध्यक्ष बने । डीबी र ज्ञानबहादुरको मिलेमतोमा आफन्त र गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभमा काम गर्ने कर्मचारीलाई नाम मात्रका ‘डमी’ पदाधिकारी बनाउँदै धमाधम सहकारी खोलियो । 

ती सहकारीहरूलाई ‘ब्रिटिश गोर्खा ग्रुपद्वारा प्रबद्र्वित’ नाराका साथ प्रचार गरियो ।  सबै ठाउँमा संलग्नता जनाई मासिक १०–१२ लाख रुपैयाँ तलब भत्ता लिन र आफूखुसी लगानीका लागि बचत रकम परिचालन गर्न थालियो । 

सहकारीको जालोसँगै २०६१ सालमा गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.कै सेयरधनीहरूको थप लगानी आकर्षण गर्न डीबी बम्जनले अगुवाई र नेतृत्व गरेर अर्को परियोजना अघि सारे ‘गोर्खा विकास बैंक’ । त्यसमा गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.को सेयर र थप ब्रिटिश भूतपूर्व गोर्खा सैनिक परिवारको पैसा समेत लगानी भयो ।

बम्जन परिवारको ‘सहकारी जालो’

दर्जबहादुर तामाङ ब्रिटिश सैनिकबाट दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए । उनकी जेठी र कान्छी श्रीमतीबाट १६ जना छोराछोरी जन्मिएका थिए । 

सात सन्तान जन्माएपछि जेठी श्रीमती बिबिमायाको डम्बरबहादुर (डीबी) २ वर्षको नाबालक हुँदा निधन भएको थियो ।  दर्जबहादुरले दोस्रो श्रीमतीका रूपमा विबिमायाकै भदैनी आइतमाया तामाङसँग विवाह गरेका थिए । 

“तिनै १६ दाजुभाइ, दिदी–बहिनीको विवाह, सम्धी, सम्धिनी, माइती, ज्वाइँ प्रायः सहकारी वा नेटवर्किङ पेशामा जोडिए,” प्रतिवेदनमा भनिएको छ, “त्यसमध्ये अधिकांश सहकारी डीबी बम्जन र पछि ज्ञानबहादुर बम्जनसँग जोडिएकाहरूको संलग्नतामा खुलेका र सहकारीहरूमा उनीहरूको पारिवारिक जालो व्यापक रहेको देखिन्छ ।”

गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभमा बजार प्रमुख हुँदै निर्देशक भएर निस्किएपछि डीबी बम्जनका कान्छी आमापट्टिका साइला भाइ ज्ञानबहादुर तामाङ बम्जनले संस्थापक अध्यक्ष भई ललितपुरमा उपकार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. सहकारी स्थापित गरेका थिए । 

चाबाहिलको कुमारी सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. सहकारीको पनि संस्थापक अध्यक्ष उनै ज्ञानबहादुर तामाङ थिए । उनीपछि उनकै श्रीमती पुष्पाकुमारी तामाङ हुँदै सहपाठी सूर्यध्वज न्यौपानेलाई अध्यक्ष बनाए । हाल सो संस्थामा ईश्वर किराँत राई अध्यक्ष रहेका छन् ।

ज्ञानबहादुर तामाङको तजबिजीमा भक्तपुरमा खोलिएको हिमाल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. मा ‘डमी’का रूपमा उपकारको कलेक्सनमा कार्यरत विज्ञान राईलाई अध्यक्ष बनाएर सञ्चालन गरिएको थियो । हाल उक्त सहकारी संस्थाको अध्यक्ष ईश्वर किरात रहेका छन् । यसको पनि संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जन नै रहेको देखिन्छ ।

बज्रयोगिनी सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. सहकारी ज्ञानबहादुरकै स्कूलका सहपाठी सूर्यध्वज न्यौपानेलाई नै अध्यक्ष बनाएर स्थापना गरियो । ताम्राकार कम्पलेक्स न्यूरोडमा सहकारीको कार्यालय छ । सूर्यध्वज सल्लाहकार र सूर्यध्वजकी श्रीमती सुनिता कार्की अध्यक्ष रहेकी छिन् ।

डीबी बम्जनकी श्रीमती कुमारी तामाङ संस्थापक अध्यक्ष रहेर नयाँ बजारमा लालीगुराँस सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. को कार्यालय राखी सञ्चालन गरिएको थियो । स्थापनाकालमा डीबी बम्जनका भाञ्जी ज्वाइँ धनबहादुर तामाङ प्रवन्ध निर्देशक थिए । डीबी बम्जनकी भाञ्जी संगीता तामाङ गोर्खा विकास बैङ्कको एचआर, एडमिन र प्रोक्युरमेन्टमा काम गर्थिन् । उनैमार्फत धनबहादुर तामाङ लालिगुराँसको अध्यक्ष बनेका थिए ।

यूनाइटेड गोर्खा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि.मा पनि डीबी बम्जनकी भान्जी संगीता तामाङ हाल पनि अध्यक्ष छिन् । उपकार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. मा ज्ञानबहादुर बम्जनले आफूले छोडेपछि भान्जी संगीताका बुवा नरेन्द्र बललाई अध्यक्ष बनाएका थिए । कल्याणसँग एकीकरण भई कल्याण उपकार बनेको छ र उनका अर्का ज्वाइँ लीलाबहादुर गुरुङ अध्यक्ष रहेका छन् ।

स्वर्णलक्ष्मी सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. लाई कालीमाटीमा यही समूहले जबरजस्ती कब्जा गरेको थियो । ज्ञानबहादुर बम्जनको टिमले हिमाल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. भक्तपुरको स्टाफ कल्पना श्रेष्ठलाई अध्यक्ष बनाइएको थियो । हाल उक्त सहकारी अन्य सहकारीसँग एकीकरण भई बहुउद्देश्यीय सहकारीका रूपमा क्रियाशील छ ।

ज्ञानबहादुर बम्जनकै योजनामा बालुवाटारमा मुकुल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. स्थापना गरिएको थियोे । यसको अध्यक्ष प्रतिमा गिरीलाई बनाइएको थियो ।

देवदर्शन सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. सहकारी थानकोटमा थानकोटामा स्थापना गरिएको थियो । “यसको अध्यक्ष डीबी बम्जनका भतिजा ईश्वरराज बम्जनको श्रीमती सावित्री तामाङ र उपाध्यक्ष ज्ञानबहादुर बम्जनको श्रीमती पुष्पाकुमारी तामाङलाई बनाइएको थियो । हाल उक्त सहकारीका अध्यक्ष रामनारायण घिमिरे रहेका छन्,” प्रतिवेदनमा भनिएको छ । 

ठिमीमा स्थापना गरिएको शिखर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. को  अध्यक्ष सुरूमा डीबी बम्जनका भान्जी ज्वाइँ धनबहादुर तामाङ रहेका थिए ।
 
गोर्खाद्वीप सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. मा तेजबहादुर तामाङ (डीबी बम्जनको काइँला दाइ) अध्यक्ष रहेका थिए । २०६६ सालसम्म गोर्खा विकास बैङ्कका अध्यक्ष डीबी बम्जन थिए । बैङ्क संकटग्रस्त हुने भएपछि शिखर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. र बागबजारस्थित गोर्खाद्वीप सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. को बचत समेत डुब्ने स्थिति सिर्जना भयो । अनि एकीकरण गरी शिखरद्विप बनाइएको थियो । शिवशिखर कृषि सहकारीसँग एकीकरण भएपछि हाल शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था भयो ।

जावलाखेलमा रहेको कल्याण सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.मा  डीबी बम्जनले बहिनी ज्वाइँ लिलाबहादुर गुरुङ (एलबी गुरुङ) लाई अध्यक्ष बनाएका थिए । एलबी हाल सहकारी ठगी मुद्दामा मुद्दा पुर्पक्षका लागि नख्खु कारागारमा छन् । गुरुङ गोर्खा विकास बैङ्कमा कानुन शाखामा कार्यरत हुँदा डीबी बम्जनसँग संगत भई पारिवारिक नातामा गाँसिएका थिए ।

नयाँ बानेश्वरमा रहेको कस्मिक सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.मा खिलाबहादुर बम्जन (ज्ञानबहादुर बम्जन पट्टीको कान्छो भाइ ) लाई अध्यक्ष बनाई खोलिएको थियो । यसमा पहिल्यै संकट देखिएको थियो ।

ज्ञानबहादुर बम्जनले भान्जा सन्तोष तामाङ्लाई पनि सहकारीमा आबद्ध गराएका थिए । भान्जी संगीताको भाइ सन्तोष कालिमाटीस्थित मनोकांक्षा बचत तथा ऋण सहकारी संस्था लि. मा कार्यरत रहेका थिए ।

जनमुक्ति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. जसको कार्यालय धुम्बाराहीमा रहेको थियो । जसको अध्यक्ष रमेश बम्जनलाई (डीबी बम्जन पट्टीको साइलो दाइ) राखिएको थियो । जनमुक्ति सहकारी पछि घेदुङ सहकारीसँग एकीकरण भयो । आइडियल यमुना हुँदै एकीकरणबाट आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. बनेको छ ।

सूर्यदर्शनबाट काठमाडौं उपत्यकाबाहिर प्रवेश

ज्ञानबहादुर बम्जन उपत्यकाका सहकारीमा मात्र सीमित रहेनन् । उनले आफ्नो सञ्जाल उपत्यका बाहिरसमेत बिस्तार गरे । “त्यही क्रममा उनी आफैँ अध्यक्ष रहेर २०६३ सालमा पोखरामा सूर्यदर्शन सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. सञ्चालनमा ल्याए । सूर्यदर्शन सहकारीमा सुरूवाती दिनमा भान्जी संगीता तामाङका काका दिनेश तामाङलाई प्रबन्धक बनाएर लगेका थिए,” प्रतिवेदनमा भनिएको छ । 

सूर्यदर्शन सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. मा जीबी राईको सम्बन्ध पछि मात्रै जोडिएको थियो । जीबी राईका दाइ अनन्तबाबु राईले बागबजारमा सिचुएसन ल्याङ्ग्वेज इन्स्टिच्युट सञ्चालन गरेका थिए । उक्त इन्स्टिच्युटको काउन्टरमा जीबी राईले दाइको सहयोगी भएर काम गर्दथे । 

सोही क्रममा निशा भनिने भगवती बम्जन (ज्ञानबहादुर बम्जनकी ठूलीकान्छी बहिनी) अंग्रेजी भाषा पढ्न सिक्न आइन् । त्यही इन्स्टिच्यूटमा भगवतीको जीबी राईसँग चिनजान हुँदै मायाप्रेम भई सम्बन्ध गाढा बन्दै गयो । सोही सम्बन्ध पछि भागी विवाहमा परिणत भयो । 

“बम्जन परिवारले जीबी र भगवतीको वैवाहिक सम्बन्धलाई लामो समयसम्म स्वीकार गर्न सकेन । जीबी ओखलढुङ्गामा पहिल्यै विवाहित थिए । उनका एक छोरा समेत थिए । भगवतीलाई वैधानिक बनाउन जीबी राईलाई हम्मे–हम्मे परेको थियो । विस्तारै उनको सम्बन्ध भगवतीले माइती खलकसँग जोड्दै लगिन् । ज्ञानबहादुर बम्जनले २०६७ सालमा जीबीलाई पोखराको सूर्यदर्शनको जिम्मा दिए,” प्रतिवेदनमा उल्लेख छ । 

त्यहीबेला जीबीको राजनीतिक हिमचिम माओवादीका डेपुटी कमाण्डर नन्दबहादुर पुन ‘पासाङ’ (दुई कार्यकाल उपराष्ट्रपति भएका) का कान्छा छोरा दिपेशकुमार पुनसँग भयो । प्रतिवेदनमा भनिएको छ, “उनकै सहयोगमा जीबी राईले वातावरण बनाई पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा जिते । र, हेलिकोप्टर चढेर जिल्ला सदरमुकाम ओखलढुङ्गामा दिपेश–जीबीसँगै पुगेका थिए ।” 

त्यतिबेला ३० लाख रुपैयाँ दिएर जेठी श्रीमतीलाई सम्बन्ध विच्छेद गरेको भन्ने हल्ला भए पनि १५ लाख पनि पूरा नदिएको जीबी राईको पहिलो श्रीमतीले बताउँदै कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । 

“उक्त मुद्दा जिताएवापत् ‘बक्सिस’ का रूपमा जीबीले दिपेशहरूको टोलीलाई पोखरास्थित फूलबारी रिसोर्टमा पार्टी दिएका थिए । १० लाख रुपैयाँ खर्चको सीमा दिइएको उक्त पार्टीमा ४ लाख ९० हजार रुपैयाँ खर्च भएको थियो,” प्रतिवेदनमा स्पष्ट भनिएको छ । 

जीबी र दिपेशको सम्बन्ध त्यतिमा मात्रै सीमित रहेन । प्रतिवेदनअनुसार उनी विस्तारै जीबीको व्यावसायिक साझेदार पनि बने । 

गिट्टी, बालुवा खानी उत्खनन् र क्रसर व्यवसायको साझेदार रहेका कैलाश दर्लामी मगरलाई पनि दिपेशले सहकारीमै ल्याए । आफू निकट मान्छे सहकारीहरूमा राख्न सुप्रिम सेभिङ्ग एन्ड क्रेडिट को–अपरेटिभ लि. बुटवलमा दिपेश आफैँ सचिव बनेका थिए ।

खासमा उनकी ठूलीआमाको छोरी बहिनी ज्वाइँ मनोज घर्तीमगरलाई पहिले सुप्रिम हेर्ने जिम्मा दिने निर्णय भएको थियो । 

तर बुवा पुन उपराष्ट्रपति भएपछि मनोजलाई प्रेस संयोजकमा नियुक्ति गरियो । अनि रामेछापका कैलाश दर्लामी मगरलाई पोखरा पुर्‍याएर सूर्यदर्शनको उपाध्यक्षमा राखिएको प्रतिवेदनमा जनाइएको छ ।

कैलाशको यतिसम्मको उच्च ‘हाइफाइ” थियो कि छोरीको अन्नप्रासन (भातखुवाइ) कार्यक्रमसमेत होटल ह्यात रेजेन्सीमा गरिएको थियो । जहाँ ठूला ठेकेदार, मन्त्री, भीआईपी र आफन्तहरूको ठूलो जमघट थियो । 
जीबी राईले जीबी ग्रुप अफ कम्पनीज प्रा. लि., गोर्खा ग्रुप अफ कम्पनी लि., नेचर हर्ब्स प्रा.लि, नेचर नेस्ट प्रा. लि., हर्बो इन्टरनेशनल प्रा.लि, गोर्खा आयुर्वेद प्रा.लि, गुप्ती टि इस्टेट प्रा. लि., गोर्खा मिडिया नेटवर्क प्रा.लि. लगायतका विभिन्न कम्पनी सञ्चालन गरिरहेका थिए । यीमध्ये केही नेटवर्किङमा आधारित थिए । त्यससँगै जीबीले विभिन्न सहकारी सञ्चालन गरेको देखिन्छ । 

“दिपेश पुनकै पहलमा गोर्खा मिडिया नेटवर्क प्रा.लि.बाट पहिलो पटक नागरिकखबरडटकम अनलाइन सञ्चालनमा ल्याइयो । त्यसमा पहिलोपटक सूर्यदर्शन सहकारी पोखराबाटै पैसा समेत हालिएको थियो । उक्त अनलाइनको कार्यालय बानेश्वरस्थित पहिले रेडियो अडियोको स्टेशन रहेको घरको चौथो तलामा हर्बो इन्टरनेशनल प्रा. लि. को कार्यालयले आधा फ्ल्याट दिई त्यसमै सञ्चालन गरिएको थियो,” प्रतिवेदनमा भनिएको छ । 

त्यहीबेला न्यूज–२४ मा रवि लामिछानेको कार्यक्रम सिधा कुरा जबर्जस्त स्थापित र लोकप्रिय थियो । 

२०७३ चैतबाट प्रसारण सुरू भएको एपिवान टेलिभिजनमा सुरूमा अन्नपूर्ण मिडिया नेटवर्क अध्यक्ष रामेश्वर थापासँग व्यावसायिक साझेदारीमा गितेन्द्रबाबु राई देखिएका थिए । 

“राई एपिवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडियो सार्वजनिक रूपमा उपलब्ध छ,” प्रतिवेदनमा भनिएको छ ।

त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि.बाट एपिवानमा कर्जा समेत प्रवाह भएको देखिन्छ । 

एपिवानमा कुरा नमिली सम्बन्धमा दरार आएपछि जीबी राई नयाँ टेलिभिजन खोल्ने उद्देश्यसहित न्युज २४ मा सिधा कुरा जनतासँग कार्यक्रममार्फत अलग छवि बनाइसकेका रवी लामिछानेसँग सम्पर्कमा पुगेका थिए ।

राईले एपिवानबाट जाने बेलामा त्यहाँका मार्केटिङ्ग प्रमुखलाई समेत ग्यालेक्सी फोरकेमा साथै लिएर गएका थिए ।  जीबीले ग्यालेक्सी फोरके सञ्चालनमा ल्याएको केही समयपछि नै नागरिकखबर डट कम सङ्कटमा परेको थियो । 
केही समय त्यसको अध्यक्ष कैलाश दर्लामी मगर नै रहे ।  उनै दर्लामीले नागरिकखबर डटकमको डोमेन राख्ने गरी जीबीकै दरबारमार्गमा रहेको अर्को कार्यालयमा सारेका थिए ।

“आफैँ अध्यक्ष र प्रमुख कार्यकारी रहेर ज्ञानबहादुर बम्जनले सूर्यदर्शन र सुप्रिम फाइनान्स कम्पनी खोलेका थिए । पछि एकीकरण भएर तिनीहरू एनसीसी बैङ्क हुँदै हाल कुमारी बैङ्कमा जोडिएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ । 
 
गोर्खा विकास बैङ्क 

गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. बाट करिब ८ करोड रुपैयाँ लिएर २०६१ मा गोर्खा विकास बैङ्क स्थापना गरिएको थियो । बैङ्कमा गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. मा जो–जो ब्रिटिश गोर्खा भूतपूर्व सैनिक थिए, उनीहरूले यसमा पनि ठूलो लगानी गरेको देखिन्छ । 

विकास बैङ्क सञ्चालन गर्न २०६१ मा ३२ करोड रुपैयाँ पुँजी रहेको राष्ट्र बैङ्कलाई देखाउनु पर्दथ्यो । जम्मा गर्नु पर्ने ७० प्रतिशत थियो । यसको अध्यक्ष डीबी बम्जन नै बने । त्यतिबेला बैङ्क र सहकारीमा एउटै व्यक्ति अध्यक्ष बन्न पाउने भएकाले डीबी बम्जन गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. को अध्यक्ष पनि रहिरहेका थिए ।

जब २०६६ को सुरुवातीका दिनदेखि गोर्खा विकास बैङ्कमा घोटाला मच्चियो, त्यसको मुख्य व्यक्ति डीबी बम्जन बने । गोर्खा विकास बैङ्क घोटालामा परेपछि गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.बाट डीबीले राजीनामा दिए । त्यसपछि गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि.का सचिव ईमानसिंह राई अध्यक्ष बने । हालसम्म उनै छन् । 

गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. समस्याग्रस्त घोषित भएको छ । डीबी बम्जनले लगेको ऋण करिब ५५ करोड र तेजबहादुर तामाङको ऋण ७८ करोड रुपैयाँ नदिएकाले गोर्खा सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लि. समस्याग्रस्त बनेर बचतकर्ताको रकम फिर्ता गर्न नसकेको अध्यक्ष इमानसिंह राईको भनाई छ ।

गोर्खा विकास बैङ्कको घोटालामा साढे ३ वर्ष बैङ्किङ्ग कसुर मुद्दामा जेल जीवन बिताएर डीबी छुटे । हाल ग्रेट गंगासागर सहकारीलाई आफ्नै श्रीमती कुमारी तामाङलाई अध्यक्ष बनाई सञ्चालन गरेका छन् । त्यस्तै ढल्कुमा भान्जी संगीता तामाङको नाममा गोर्खा हस्पिटल सञ्चालनमा रहेको छ ।

गोर्खा विकास बैंकमा निर्मल गुरुङको इन्ट्री

वैदेशिक रोजगार व्यवसायबाट मनग्य अर्थोपार्जन गरेका निर्मल गुरुङको सम्पत्तिमा डीबी बम्जनको नजर पर्यो । निर्मल गुरुङका अनुसार २०६५ सालतिर गोर्खा विकास बैङ्कको सञ्चालक समितिका बोर्ड अफ डाइरेक्टर र उनलाई मानवअधिकारवादी भन्ने मानबहादुर थापाले डीबी बम्जनसँग पहिलो पटक चिनजान गराएका थिए । 

चिनजानपछि डीबी बम्जनले निर्मल गुरुङलाई बैंकमा लगानी गर्न अनुनय गरे, तर उनले मानेनन् । निर्मल गुरुङका अन्य चिनजानका व्यक्तिले पनि पल्टनदेखि नै डीबीको आर्थिक मामिलामा आचरण ठीक नभएकाले शेयर नहाल्न सुझाएका थिए । तर बिहान, बेलुका गरी डीबीले निर्मल गुरुङको घरमा निरन्तर ८ महिनासम्म धाए । 

“एक दिन निर्मल गुरुङको मन पग्लियो र ६ करोड रुपैयाँ शेयर हाले । पछि पटक–पटक गरी १ करोड रुपैयाँ थप गरे र बैंकको बोर्ड अफ डाइरेक्टर पनि बने,” प्रतिवेदनमा उल्लेख छ ।

एक दिन एकाएक काठमाडौं ठमेलका पञ्चलाल महर्जन कार्यालय हुँदै सडकमा कराउन थाले । पञ्चलालको ठमेलमा रहेको जग्गा धितो राखेर अध्यक्ष डीबी बम्जनले साढे ४ करोड रुपैयाँभन्दा बढी रकम उनलाई नदिई जग्गा लिलाम गर्न लागेछन् । यो कुरा अन्य लगानीकर्ता निर्मल गुरुङ र राजेश अडुकियाले समेत थाहा पाए ।

त्यो व्यवहार मिलाउन सकिने भनेर पञ्चलाललाई निर्मल गुरुङले आफ्नो घरमा लिएर गए । समझदारी गरेर मिलाउने पहल हुँदाहुँदै डीबी कसैलाई नभनी बेलायततिर लागे ।

बैङ्कमा समस्या बनाएर डीबी बम्जन भागेपछि सञ्चालक समितिको बहुमतले निर्मल गुरुङलाई अध्यक्ष बन्न कर गर्यो । विशेषगरी पहिल्यै चिनजान र बढी हिमचिम भएका धनप्रसाद राईको जोडबलमा निर्मल गुरुङ अध्यक्ष बने ।
 
गुरुङ अध्यक्ष बनेको डेढ महिनापछि डीबी बेलायतबाट फर्किए । डीबी स्वदेश फर्किएसँगै नेपाल राष्ट्र बैङ्कका तत्कालीन गभर्नर डा. युवराज खतिवडा, निर्मल गुरुङ र राजेश अडुकियाविरुद्ध राजनीतिक शक्ति प्रयोग गर्ने कोसिस गरे । 

उनले गभर्नर खतिवडा, बैङ्क लगानीकर्ता अडुकियालाई राजनीतिक नेतृत्वमार्फत दबाब दिने कोशिस गरे । गुरुङलाई भने डीबीसँग मेलमिलाप गर्न सुझाव आउने गर्दथ्यो ।

त्यसपछि निर्मल गुरुङले नेपाल राष्ट्र बैङ्कमा निवेदन दिए । सोही निवेदनको आधारमा २०६७ चै ११ गते उक्त बैङ्क संकटग्रस्त घोषणा भयो ।  बैङ्क संकटग्रस्त घोषणासँगै डीबी बम्जनसहित कर्मचारीहरू कर्ण थापा, दीपक रानालगायत पक्राउ परे । 

निर्मल गुरुङलाई पनि पक्राउ पुर्जी जारी भयो । उनी बैङ्कको कालोसूचीमा परे, तर फरार रहे ।  बम्जन साढे तीन वर्ष जेल सजाय भोगेर निस्किए र निर्मल गुरुङ १४ वर्षपछि २०८० सालमा आएर बैङ्कको कालोसूचीबाट मुक्त भएका छन् । 

गोर्खा विकास बैंक संकटग्रस्त भएपछि गोर्खा फाइनान्सको रूपमा सुचारु छ । अनेक रोगका कारण घरमै आराम गरिरहेका निर्मल गुरुङ निकटवर्तीहरूसँग खुलेरै भन्ने गर्छन्, “डीबीको सङ्गतले मेरो सांसद, मन्त्री हुने दिन त गयो गयो, करिब २ अर्ब रुपैयाँ बराबरको जग्गा जमिन, परियोजना सबै स्वाहा भयो । एक वर्षदेखि बल्ल कालोसूचीबाट मुक्त भएको छु ।”

डीबी बम्जनले बेलायती सेनामा कार्यरत रहँदा त्यहाँको ‘ह्यालिफ्याक्स सोसाइटी’का बारेमा थाहा पाएका थिए । त्यसको विस्तारित रूप हाल ‘को–बैंक’का रूपमा स्थापित रहेको छ । आफ्नो तलबसमेत ह्यालिफ्याक्स सोसाइटीमा रहेको खातामा जम्मा हुने अनुभवको पृष्ठभूमिमा उनी अवकाशपछि नेपाल फर्केर विशेष गरी गोर्खाहरूलाई लक्षित गरी सहकारी सञ्चालनमा जुटेका थिए ।

नेपालमा सहकारी विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको छ । तर पछि उनी ‘सहकारीको बचत रकम बैंकमा र बैंकको निक्षेप सहकारीमा सार्ने’ कार्यमा चलाखीपूर्वक लागे । “व्यक्तिगत र पारिवारिक स्वार्थको जालो फिजाउन समेत उनको भूमिका प्रेरक रहेको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ । 

२०६६ सालतिर गोर्खा विकास बैंकमा संकट उत्पन्न भएर राष्ट्र बैंकले हस्तक्षेप गरेपछि उनले सजायँ भोग्नु पर्यो र बैंकिङ्ग कसुर मुद्दामा ३ वर्षभन्दा बढी जेलमा बस्नु परेको थियो । त्यसपछि उनी र उनका परिवारिक व्यक्तिहरू सहकारी सञ्चालनतर्फ बढी केन्द्रित भएका देखिन्छन् । 

डीबी बम्जनले गोर्खा ग्रुपका रूपमा सहकारीको बिस्तार र प्रवर्धन गर्न खोजे । अर्कोतिर गोर्खा ग्रुपद्वारा प्रवर्द्धित भनी भाई ज्ञानबहादुर बम्जनले अर्को समूह खडा गरे । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूले उनलाई प्रश्न गर्न थालेपछि कम्पनी नै दर्ता गरेर भूतपूर्व गोर्खा सैनिकहरूको बचत, सम्पत्ति र भावनालाई सहकारी सञ्चालनमा संगठित रूपमा नै जोड्न उद्यत रहे । 

“विभिन्न सहकारीहरूको अर्बौँ रकमसहित सपरिवार २०६६ सालतिरै अमेरिका पलायन भएका उनी हाल अमेरिकाको क्यालिफोर्नियामा बसेर नेपालमा ज्वाइँ जीबी राईमार्फत प्रमुख सहरहरूमा सहकारीको सञ्जाल निर्माण र सञ्चालनको मुख्य निर्देशकको भूमिकामा सक्रिय देखिन्छन्,” प्रतिवेदनमा स्पष्ट भनिएको छ । 

उनकै निर्देशनमा जीबी राईले सूर्यदर्शन (पोखरा), सानो पाइला (वीरगञ्ज), सहारा चितवन (चितवन), स्वर्णलक्ष्मी (काठमाडौं), सुप्रिम (बुटवल), समानता (नेपालगञ्ज) र हाम्रो नयाँ कृषि बहुउद्देश्यीय सहकारी संस्था (भक्तपुर) को संगठित, योजनाबद्ध र पारिवारिक स्वार्थकेन्द्र सञ्जाल सञ्चालन गरेको तथ्य उजागर भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro