site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘हनी ट्रयाप’मा पारेर प्रहरी कार्यालयभित्रै ३० लाख असुल, इन्स्पेक्टरलाई निलम्बन सिफारिस
इन्स्पेक्टर बिनुकुमारी शाही । फाइल तस्बिर ।

काठमाडौं । समीर केसी (नाम परिवर्तत) युवा व्यवसायी हुन् । उनको भेट इटहरीकी सुष्मा विकसँग भयो । सुष्मासँग समीरको भेट सामाजिक सञ्जालमार्फत भएको हो, करिब दुई वर्षअघि ।

सामाजिक सञ्जालमार्फत भएको चिनजान प्रत्यक्ष भेटघाट हुँदै विस्तारै प्रेम सम्बन्धसम्म पुग्यो । समीरलाई लागेको थियो, सुष्माले मनबाट नै आफूलाई प्रेम गरिरहेकी छन् ।

व्यवसायबाट केही फुर्सद हुँदा समीर सुष्मालाई लिएर काठमाडौंका विभिन्न ठाउँमा गएर समय बिताउँथे । गएको सोमबार पनि सुष्माले समीरलाई भेट्न ललितपुरको भैँसेपाटीमा बोलाइन् ।

Dabur Nepal
NIC Asia

समीर सुष्मालाई भेट्न आफ्नो गाडीमा भैँसेपाटी पुगे । सुष्माको आग्रहमा समीर यसअघि पनि पटक–पटक उनलाई भेट्न गएका थिए । समीरलाई लागेको थियो, योपटक पनि त्यसैको निरन्तरता होला ।

तर, प्रेमिका भेट्न भैँसेपाटी पुगेका समीरको होसहवास त्यति बेला उड्यो, जब उनी प्रहरीको थुनामा जानुपर्‍यो । सुष्मालाई भेट्नासाथ उनकै छेउमा बसेका प्रहरीले समीरलाई प्रहरी कार्यालय पुर्‍याए ।

प्रहरीसामु समीरलाई सुष्माले भनिन्– मैले यहाँ बलात्कारको उजुरी दिएकी छु, त्यही भएर बोलाएकी हुँ । अब के गर्नुहुन्छ ?

समीर आकाशबाट एक्कासि धर्तीमा बजारिएजस्तै भए ।

सुष्मासँग विभिन्न ठाउँ घुमेका कारण उनी आफू बलात्कार आरोपमा फस्ने भयमा थिए । उनले सुष्मालाई आग्रह गरे– किन यस्तो गरेको ? बरु, मैले के गर्नुपर्छ गर्छु । प्लिज, यस्तो नगर – मेरो लाइफ डामाडोल हुन्छ ।

सुष्मा र समीरबीचको संवाद प्रहरी प्रभाग भैँसेपाटीकी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीले सुनिरहेकी थिइन् ।

समीरको गुनासोपछि सुष्माले भनिन्– ‘ल भन न त तिमी आफैँ, मैले उजुरी दिइसकेँ, अब के गर्ने ?

समीरले भने– कसरी हुन्छ सेटल गरौँ । उजुरी फिर्ता लिऊ, म तिम्रो लागि के गर्नुपर्छ गर्छु ।

प्रभागका प्रहरी प्रमुखको अगाडि भएको संवादपछि समीरले सुष्मालाई आर्थिक सहयोग गर्ने बताए । सुष्माले त्यसका निम्ति ६० लाख रुपैयाँ ‘डिमान्ड’ गरिन् ।

‘बार्गेनिङ’पछि समीर ३० लाख रुपैयाँ दिन मन्जुर भए । समीरले सुष्माको साथीको खातामा २० लाख रुपैयाँ ‘डिपोजिट’ गरिदिए । अर्को १० लाखको चेक समेत सुष्मालाई थमाइदिएपछि मात्र उनी प्रहरीको पन्जाबाट बाहिर निस्किए ।

कार्यालय परिसरमा पार्किङ गरिएको समीरको गाडी निकाल्न समेत प्रहरीले पैसा मागे । एक लाख ५० हजार रुपैयाँ प्रहरीलाई बुझाएर उनले गाडी बाहिर निकाले ।

‘हनी ट्रयापिङ’को समूहमा इन्स्पेक्टर समेत
भैँसेपाटी प्रहरी कार्यालयभित्र लगेर बलात्कारको उजुरी भन्दै पैसाको बार्गेनिङ हुन थालेपछि समीरले आफू ‘हनी ट्रयापिङ’मा परेको निष्कर्ष निकालिसकेका थिए । उनलाई त्यहाँबाट जसरी पनि उम्किनु थियो ।

त्यसैले उनी सुष्माले भनेबमोजिम पैसा दिन सहमत भए । पैसा दिएपछि भने साथीमार्फत उनले घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरलाई जानकारी गराए । लगत्तै परिसरको टोलीले सुष्मा र उनको केटा साथी ताज स्लामलाई ललितपुर प्रहरी कार्यालयमा बोलायो ।

उनीहरू दुवैजनामाथि सोधपुछ गर्दा हनी ट्रयापिङको खुलासा भयो । त्यसपछि दुवैजनालाई प्रहरीले थुनामा राखेर अनुसन्धान अगाडि बढाएको छ । उनीहरूमाथि प्रहरीले आपराधिक लाभ कसुरमा अनुसन्धान अघि बढाएको हो ।

प्रहरीले प्रहरी प्रभाग भैँसेपाटीकी प्रमुख एवं इन्स्पेक्टर शाहीमाथि समेत छानबिन थालेको छ । उनलाई जिम्मेवारीबाट हटाएर ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन सुरु गरिएको हो ।

शाहीलाई निलम्बन गरेर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयलाई सिफारिस गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी शेखर खनालले जानकारी दिए । निलम्बनका निम्ति प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गर्नुपर्ने हुन्छ ।

सुष्माले केही युवासँग मिलेर समीरलाई हनी ट्रयापमा फसाएर रकम लिने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उक्त हनी ट्रयाप समूहमा जोडिएका एकजना अझै फरार रहेका प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro