विपश्यना ध्यानको बारेमा धेरैबाट सुनेको थिएँ । केही अनलाइन सामग्रीहरूबाट पनि जानकारी प्राप्त गरेको थिएँ । तर पनि आफैँले अनुभव नगरी जान्न र बुझ्न नसकिने राय सल्लाह साधना गरेका व्यक्तिहरूबाट पाएकाले शिविरको अनुभव बटुल्ने निश्चय गरेँ । त्यसैले २०८१ भाद्र १६ गते देखि २७ गतेसम्म नेपाल विपश्यना केन्द्र, धर्मशृङ्ग, मुहान पोखरीमा हुने विपश्यनाको दस दिने शिविरको लागि दुई महिना अगावै अनलाइनबाट फर्म भरेँ । शिविर सुरु हुनु पन्ध्र दिनअघि रिकन्फर्मेसनको लागि ईमेल प्राप्त भएकाले सोहीअनुरूप सरिक हुने जनाउ दिँदै समयभित्रै ईमेलको जवाफ पनि पठाएँ ।
दस दिने शिविर विपश्यना ध्यानको परिचयात्मक पाठ हो । यसमा प्रत्येक दिन अनुभवी आचार्यहरूबाट साधक/ साधिकाले तहगतरूपमा साधनाका आधारभूत तरिका सिक्ने र अभ्यास गर्ने गर्छन् । विपश्यना केन्द्रमा पुगेको पहिलो दिनको ४ बजेसम्म रजिष्ट्रेसन र त्यसपछिका दस दिनमा साधना गरी एघारौं दिनमा बिहानीको साधनापछि ०७:३० बजे शिविरको समापन गरिन्छ ।
रजिस्ट्रेसन गर्ने दिन आफूसँग सम्बन्धित विवरण भरी साथमा रहेका मूल्यवान सामान, इलेक्ट्रोनिक ग्याजेट, क्यामेरा, पैसा, पुस्तक, नोटबुक, कलम, र खाद्य सामग्री आदि केन्द्रमा जम्मा गरेपश्चात त्यसको भरपाइ दिइन्छ । पैसा दसौं दिनमा र अन्य सामग्री केन्द्र छोड्ने दिन बिहानमात्र फिर्ता पाइन्छ ।
साधनाको अवधिभर सबैले एक प्रकारको साधु जीवन व्यतित गर्छन् । पुरुष र महिलाको वासस्थान र ध्यान गर्ने स्थान अलग अलग हुन्छ । पूरै समय साधक साधिकाहरूले आफूलाई बाहिरी सांसारिक गतिविधिबाट अलग राख्छन् । अरूसँग बोल्ने, इलेक्ट्रोनिक ग्याजेटको प्रयोग गर्ने, लेखपढ गर्ने , संगीत सुन्ने, व्यायाम गर्ने, नसालु पदार्थको सेवन गर्ने र हात मिलाउने जस्ता कियाकलाप पूर्ण वर्जित छन् । केन्द्रभित्र एउटा निश्चित इलाका र बाटामा भने अरूलाई बाधा नपारी हिँड्न सकिन्छ । शाकाहारी खाना सबैले आफै थापेर खाने र खाइसकेपछि भाँडा माझेर राख्ने गरिन्छ ।
साधना केन्द्रमा बस्न, खान, नुहाउन र आवश्यक परेमा बन्दोबस्तीका अन्य सामान पनि उपलब्ध गराइन्छ । नेपाल विपश्यना केन्द्र, धर्मशृङ्ग, मुहान पोखरीमा साधना गर्न धेरै विदेशी पनि लालायित हुँदा रहेछन् । केही समयदेखि विपश्यनाको बढ्दो आकर्षणका कारण सत्तरी प्रतिशत स्थान नेपाली साधक/ साधिकालाई छुट्टयाई तीस प्रतिशतमा विदेशी साधक/ साधिकालाई समावेश गर्न थालिएको रहेछ ।
शिविर सञ्चालनको लागि खटिएका आचार्य, सहायक आचार्य, तथा धर्म सेवक/सेविका सबैले केही कुराको आशा नगरी नि:स्वार्थ धर्मसेवाको भावनाले आफ्नो श्रम र समय दान गर्छन् । यसले गर्दा अहंकारको भावना हटाउन सहयोग पुग्ने विश्वास गरिँदो रहेछ । पवित्र उद्देश्यले थुप्रै विदेशी पनि यस्ता कार्यमा आफुलाई संलग्न गराएको देखियो ।
शिविरमा उपलब्ध गराइने खानालगायतका सेवा सुविधामा लाग्ने सम्पूर्ण खर्च साधक/ साधिकाबाट स्वःस्फूर्तरूपमा गरिएको शुद्ध दानबाट बेहोरिने गरिन्छ । दस दिनको साधना सफलतापूर्वक सम्पन्न गरी आगामी दिनमा अरू पनि यसैगरी लाभान्वित हुन सकुन् भन्ने भावना जागृत भई उपलब्ध गराइने दानमात्र स्वीकार्य हुने रहेछ ।
पुगेकै दिनको साँझ ६ बजे आचार्यबाट दस दिने शिविरको परिचय दिने काभ भयो जसमा साधक/ साधिकाले गर्नुपर्ने र गर्न नहुने कुराको जानकारी गराइयो । शिविरको लागि खटिएका आचार्य, सहायक आचार्य, तथा धर्म सेवकहरूको परिचय दिइयो । दस दिनको अवधि भर आर्य मौनको पालना र कडा अनुशासनमा रहन निर्देशन भयो । आर्य मौन भन्नाले शरीर, वाणी र विचारबाट मौन भन्ने जनाउँछ र साधक/ साधिकाबीच हुने कुराकानी, इसारा र लिखित नोटहरू पूर्ण निषेध गरिन्छ ।
त्यसै साँझ ७ बजे ध्यान केन्द्रमा आफूलाई तोकिएको निश्चित स्थानमा बस्न लगाइयो । अबको दस दिनसम्म आचार्यको निर्देशनविना स्थान परिवर्तन गर्न वा आफूखुसी कुनै पनि कुरा गर्न निषेध गरिएको थियो । विपश्यना साधनाका बारेमा आचार्यबाट केही प्रारम्भिक जानकारी प्राप्त गरी साधनाको अभ्यासको थालियो । आँखा बन्द गरी सहज प्रकारले श्वासतान्दा भित्र आएको श्वासलाई चिन्ने र श्वास फ्याँक्दा बाहिर गएको श्वासलाई चिन्ने विपश्यनाचार्य सत्यनारायण गोयन्काको निर्देशनबाट नै ध्यानको प्रारम्भ गरियो ।
विपश्यना ध्यानमध्येको ज्यादै पुरानो ध्यान साधना हो । यसमा साधक/ साधिकाले आफूलाई चिन्ने र जस्तो चिज छ, त्यसलाई त्यसै रूपमा हेर्ने अभ्यास हो । यसलाई सिद्धार्थ गौतमले २५ सय वर्षअघि पुन: खोज गरेका हुन् । कालान्तर म्यानमारमा प्रचलनमा रहेको यस साधनालाई त्यहाँका नागरिक सयागी उ बा खिनबाट सत्य नारायण गोयन्काले सिकी उहाँकै निर्देशनमा भारत आई यसको अभ्यास, प्रयोग र प्रचार प्रसार गरेका हुन् ।
क्रमशः यसले व्यापकता पाउँदै गयो । यस साधनालाई स्वयं गोयन्काको अडियो र भिडियोको माध्यमबाट सिकाउने गरिन्छ । यद्यपि ध्यानको बारेमा स्पष्ट हुन र केही सोध्नुपरेमा शिविरका आचार्य र सहायक आचार्य तथा बन्दोबस्तीको लागि व्यवस्थापन टोलीसँग सम्पर्क गर्न सकिन्छ । तर, सकेसम्म थोरै र सानो आवाजमा बोलेर समस्या समाधानको प्रयत्न गरिन्छ ।
यस साधनाको मुख्य उद्देश्य आफूले आफैँलाई कसरी दु:खबाट मुक्त गर्ने भन्ने प्रश्न सोधी त्यसको जबाफ पनि प्राप्त गर्नु हो । यसको लागि स्वाभाविक श्वासप्रश्वासको अवलोकनबाट जागरुक हुँदै चित्तलाई एकाग्र बनाइन्छ र शरीर तथा चित्तमा आएको परिवर्तन र अनिश्चितताको सत्यता बोध गरिन्छ ।
विपश्यना प्रशिक्षणका महत्त्वपूर्ण तीन अंग - शील, समाधि र प्रज्ञा हुन् । शीलले सदाचारको पालना, समाधिले चित्तलाई एकाग्र बनाउने र प्रज्ञाले मनलाई निर्मल बनाउने भन्ने बुझ्नुपर्छ । अभ्यासको पहिलो आधारशिला शील हो भने शीलले समाधि र समाधिले प्रज्ञा प्राप्त गर्न मद्दत पुग्छ ।
विपश्यनाका साधक/ साधिकाले साधनाका दौरान पाँचवटा शीललाई पूर्णरूपमा पालना गर्नुपर्छ । यसमा प्राणी हिंसा नगर्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, झुठो नबोल्ने र नसालु पदार्थको सेवन नगर्ने कुराहरू पर्छन् । यसैगरी यस साधनामा त्रिरत्नहरूको पनि ज्यादै ठूलो महत्त्व छ । यी त्रिरत्न भन्नाले पहिलो बुद्ध, जसले बोधि वा तत्त्व ज्ञान प्राप्त गर्छन् । दोस्रो, धम्म वा धर्म जसलाई प्रकृतिको नियम अथवा निर्वाणको मार्ग भनिन्छ र तेस्रो संघ, जसलाई धर्म अनुकुल जीवनयापन गरी चित्तलाई निर्मल पार्न सक्षम व्यक्ति सम्झनुपर्छ ।
विपश्यनाको दैनिकीलाई ज्यादै सहज भने मान्न सकिँदैन । बिहानको ४ बजे दिनचर्या सुरु भई साँझको ९.३० बजे सकिन्छ । यस अवधिमा खाजा, खाना, चियापान र आरामलाई केही समय छुट्टयाई झण्डै १२/१३ घण्टा साधना गर्न, साधनासम्बन्धी जिज्ञाशा मेट्न र आचार्यको निर्देशन सुन्नमा समय बित्ने गर्छ ।
पहिलो दिनको साधना शरीर, श्वास प्रश्वास र चित्तमा बढी केन्द्रित रह्यो । अब हामी समाधिको अभ्यासतर्फ अघि बढ्दै थियौँ । श्वास प्रश्वासमा केन्द्रित रही चित्तलाई एकाग्र बनाउन कति कठिन र परिश्रम पर्दोरहेछ भन्ने जीवनमा प्रथमपटक अनुभव भयो । चित्त ज्यादै चञ्चल र अस्थिर छ भन्दा अत्युक्ति नहोला । छिनछिनमा बितेको समयका याद र आउने दिनका कल्पनामा डुबुल्की मार्न पुग्दो रहेछ । यस्ता सम्झना विशेषगरी रिस, आवेग, द्वेष, घृणा, रोमान्स, र रमाइला क्षणसँग सम्बन्धित हुँदोरहेछ ।
साधनाको पहिलो अभ्यास आनापानबाट सुरु भयो । नाकको मुनि माथिल्लो ओँठको माथि नाकको प्वाल बाहिर र नाकको भित्री भाग (ठूलो त्रिकोण) मा भित्र आउने र बाहिर जाने श्वासलाई जान्न सारा ध्यान केन्द्रित रह्यो ।
दोस्रो दिनको आचार्यको निर्देशन धर्म सम्बन्धमा रह्यो । शील धारण गरी चित्तलाई एकाग्र बनाउँदै प्रज्ञा प्राप्ति गर्नु र प्रकृतिको नियमको सहीरूपमा पालना गर्नु नै सच्चा धर्म हो भन्ने शिक्षा प्राप्त भयो । यसैगरी आनापानको समयमा मन अशान्त र अस्थिर भई संवेदना थाहा पाउन नसकिएमा वा समतामा बस्न कठिन भइरहेको अबस्थामा केही समय अलि जोड्ले श्वास फेरेर पुन: स्वाभाविक श्वासलाई निरन्तरता दिन निर्देशन भयो ।
तेस्रो दिनको साँझबाट आनापानको लागि सारा ध्यान ठूलो त्रिकोणबाट नाकको मुन्तिर माथिल्लो ओंठको भाग र नाकको प्वाल (सानो त्रिकोण) मा केन्द्रित गरी श्वास प्रश्वासको गति अनुभव गर्न र कुनै पनि संवेदना प्राप्त नभएमा बीस सेकेन्ड जति श्वास रोकी महसुस गर्ने निर्देशन भयो ।
आचार्यबाट तीन प्रकारका सुतमयी, चिन्तामयी, र भावनामयी प्रज्ञाका बारेमा जानकारी भयो । सुतमयी प्रज्ञा भनेको पुस्तक पढेर वा अरूबाट सुनेको ज्ञान, चिन्तामयी प्रज्ञा भनेको आफैँले चिन्तन मनन गरेर बुझेको ज्ञान र भावनामयी प्रज्ञा भन्नाले व्यक्तिले आफ्नो अनुभवबाट हासिल गरेको ज्ञान सम्झनुपर्छ ।
कुन बिरामी डाक्टर कहाँ जचाउन गएपछि उसको जाँच गरी औषधी लेख्नु सुतमयी प्रज्ञा, पसलबाट औषधी किनेर ल्याउनु चिन्तामयी प्रज्ञा र औषधीको सेवन गर्नु भावनामयी प्रज्ञा हुन् । डाक्टरले औषधी लेख्दैमा वा पसलबाट औषधी ल्याउँदैमा बिरामी निको हुँदैन । रोग निको हुन डाक्टरको सल्लाहबमोजिम औषधी सेवन जरुरी हुन्छ । तसर्थ भावनामयी प्रज्ञा नै सहीरूपमा ज्ञानको प्राप्ति हो ।
समाधिको पहिलो तीन दिनको अभ्यासपछि चौथौ दिन विपश्यनाको दीक्षासँगै यसको तरिका सिकाइयो । यस प्रक्रियामा आफ्नो मनले टाउकाको सबैभन्दा माथिको भाग तालुदेखि क्रमश: खुट्टाका औँलासम्म र पुन: खुट्टाका औँलादेखि तालुसम्म शरीरको विभिन्न अंगप्रत्यंगको निरीक्षण गर्ने र शरीरमा हुने संवेदनालाई अनुभव गरिरहने कार्य पर्छ ।
निरीक्षणको क्रममा स्थूल, सूक्ष्म, प्रिय, र अप्रियजस्तो सुकै संवेदना भए पनि यसप्रति तटस्थ र समता भाव बनाइरहन जरुरी छ । सूक्ष्म तथा प्रिय संवेदनामा राग र स्थूल तथा अप्रिय संवेदनाप्रति द्वेषको भाव कदापि राख्नु हुँदैन । संसारमा हरेक कुरा अनित्य छ र यही अनित्य बोधको आधारमा तटस्थता र समता पुष्ट गर्दै रहनुपर्छ भन्ने विपश्यनाको मान्यता हो ।
सूक्ष्म संवेदना महसुस भएका अंगमा एकसाथ र स्थूल संवेदना उत्पन्न भएका अंगमा अलग अलग किसिमले निरीक्षण गर्नु आवश्यक हुन्छ । शरीरको कुनै पनि भाग नछुटोस् भन्नाका लागि एक प्रक्रियागत क्रम अपनाउने गर्नुपर्छ तर यो यन्त्रवत् हुन थाल्यो भने अभ्यासको तरिका पनि बदलिरहनुपर्छ । कुनै अंगमा संवेदना नआएमा केही समय रोकिई अघि बढ्नुपर्छ ।
पाँचौ दिनबाट बिहान ८-९ बजे, दिउँसो २.३०-३.३० बजे र साँझ ६-७ बजे गरी दिनको तीनपटक अधिष्ठान पालीमा अधिट्ठान (पाली भाषामा दृढ संकल्प)को अभ्यास सुरु भयो । यसको अर्थ शरीर, गर्धन र शिर सिधा राख्ने, आँखा बन्द गर्ने र शरीरलाई हलचल नगराई एक घन्टा स्थिर रही दृढ संकल्पका साथ ध्यान गर्ने भन्ने बुझाउँछ ।
छैठौं दिन ध्यान केन्द्रको बाहिर सूचना पाटीमा ‘जसरी सुवर्णलाई भट्टीमा हालेर शुद्ध बनाइन्छ, त्यसैगरी मानिस शुद्ध हुन पनि जल्न जरुरी छ‘ भनेर लेखिएको थियो । राग, द्वेष, आलस्य, उकुसमुकुस र शंका विपश्यनाको पाँचवटा शत्रु हुन् । त्यसैले यीबाट हामीले आफुलाई बचाई आफुलाई शुद्ध बनाउन आवश्यक छ । हामीबाट उत्पन्न हुने सबै संवेदना पृथ्वी, जल, वायु, र अग्निजस्ता चारवटा धातुसँग सम्बन्धित छन् । यी प्रत्येक संवेदनालाई भुक्त भावबाट नहेरी द्रष्टा भावबाट हेरिनुपर्छ भन्ने आचार्यबाट निर्देशन भयो ।
सातौं दिनबाट बिस्तारै साधनामा चित्त रमाउँदै गयो । हाम्रा सुख, दु:ख, आनन्द र पीडा सबै अनित्य भएकाले छोटो समयको लागि आउँछन् र जान्छन् पनि । श्रद्धा, पराक्रम, सजगता, एकाग्रता र प्रज्ञा विपश्यनाका पाँच मित्र हुन् । सबै धर्मका गुरुहरूले यिनीहरूलाई अँगाल्नाले नै मुक्ति पाएको उदाहरण आचार्यबाट व्यक्त भयो ।
रागले द्वेष र द्वेषले क्लेश बढाउने हुँदा राग नजागोस् भन्नेतर्फ हामी सबै सजग र सतर्क रहनु जरुरी हुन्छ । प्राकृतिक नियमका कारण हरेक वस्तु क्षणमै उत्पन्न हुने र निमेष भरमै नष्ट हुने गर्छन् । हामीले आफ्नो ज्ञानको विकास गरी वस्तुनिष्ठरूपमा अवलोकन गर्न सुरु गर्ने हो भने संस्कारको गुणात्मक वृद्धि रोकिँदै जान्छ र नष्ट हुने प्रक्रिया सुरु हुन्छ । त्यस पछिमात्र मुक्ति सम्भव छ भन्ने ज्ञान आठौं दिनमा प्राप्त भयो ।
दस दिवसीय शिविरको अन्त्यपछि गृहस्थ जीवनमा साधनालाई कसरी निरन्तरता दिने र यसलाई अझै कसरी परिस्कृत गर्दै लैजाने भन्ने विषयमा आचार्यबाट नवौं दिनमा निर्देशन भयो । यसै अवसरमा दश पारमिताको महत्त्वबारे पनि छोटकरीमा जानकारी गराइयो ।
दसौं दिन बिहानको विपश्यना साधनापछि आर्य मौन भंग भयो । सबै साधक/ साधिका एक अर्कासँग आआफ्नो परिचय र अनुभव साँट्न हतार देखिन्थे । तथापि ध्यानमा बाधा नपरोस् भन्ने उद्देश्यले ध्यान केन्द्र र यसको वरपर आर्य मौन निरन्तर कायम रह्यो । धेरै दिनसम्म नबोल्ने हो भने आफ्नो आवाज आफैँलाई नौलो लाग्दो रहेछ । केही समय स्वःस्फूर्तरूपमा दानको कार्यक्रम सम्पन्न भयो ।
दिउँसोको समयमा विपश्यनासम्बन्धी पुस्तक र जानकारीमूलक सामग्री स्टलमा राखिएको थियो । केही समयको अवलोकन पश्चात् आफुलाई रुचि भएका पुस्तक छान्ने र खरिद गर्ने कार्य भयो । साँझको ध्यानमा आचार्यबाट मंगल मैत्री ध्यानबारे जानकारी प्राप्त भई यसको अभ्याससमेत गरियो । विपश्यना ध्यानको अन्त्यमा साधक/ साधिकाले संसारका हरेक प्राणीहरूको सुख, शान्ति, कुशल, मंगल र कल्याणको कामना गर्दै मैत्री र करुणाभाव जगाउनु नै यस ध्यानको मुख्य उद्देश्य हो ।
एघारौं दिनको बिहानको साधनापछि ७.३० बजे विपश्यनाको दस दिवसीय शिविरको अन्त्य भयो । सबैले आफूले जम्मा गरेको सामान फिर्ता लिई केन्द्रमा बिताएका अविस्मरणीय पलहरूलाई मुटुमा सजाई धर्म आचरणमा रहने प्रतिबद्धताका साथ सजल नेत्रसहित बिदा भयौँ । हामी सबैले आआफ्नो जीवनमा धेरैथोरै सकारात्मक परिवर्तनको महसुस गरिसकेका थियौँ ।
आफैँ उत्प्रेरित भई दृढ निश्चयका साथ साधना गर्न आएका व्यक्तिहरूले मात्र विपश्यना साधनाको अभ्यासलाई निरन्तरता दिन सक्छन् । लहड र अरूको लहैलहैमा लागेर ध्यान गर्न आउनेले न ध्यानको महत्त्व बुझ्छन् न त यसबाट फाइदा नै लिन सक्छन् । विपश्यना ध्यानको दस दिने शिविर पूरा गरी पुन: साधनाको लागि आएका साधक र साधिकाले भने यसबाट पूर्ण लाभान्वित भई आनन्द अनुभव गरेको देखियो ।
विपश्यना साधना कुनै धर्म, सम्प्रदाय, जाति, लिंग र क्षेत्रसँग सम्बन्धित छैन । यसले हामीलाई सदैव सदाचारमा रहन प्रेरित गर्छ । मानसिक विकृतिलाई जरैबाट फ्याँक्न र आत्मविश्वास तथा धैर्यका साथ कठिनाइहरूको सामना गरी अघि बढ्न सिकाउँछ । तसर्थ हाम्रो दैनिक जीवनका हरेक क्षेत्र र विशेषगरी देशको विद्यमान परिस्थितिमा यस साधनाको सान्दर्भिकता अझै बढी अनुभव गर्न सकिन्छ ।
आज हाम्रो देशमा राजनीतिक अस्थिरता, भ्रष्टाचार र बेरोजगारी व्यप्त छ । नेतृत्ववर्ग जनताप्रति उत्तरदायी हुनुको सट्टा आफू, आफ्ना र आफ्नो दलको स्वार्थमा बढी तल्लीन देखिन्छन् । सबैजसो दलका समर्थकहरू आफ्ना नेताको देवत्वकरण र विपक्षीको राक्षसीकरण गर्न तल्लीन छन् । यस्तो अवस्थामा सकेसम्म नेतृत्व आफैँले र नसक्ने अवस्थामा भावि नेतृत्व तथा दलका युवा कार्यकर्तालाई एकपटक विपश्यना साधना गराउँदा चिन्ता र तनाव हट्न मद्दत पुग्छ । यसले आफ्ना विरोधीप्रति उत्पन्न हुने रिस, द्वेष र घृणा तथा समर्थकप्रति जाग्ने राग र आशक्तिलाई कम गरी तटस्थ र समता भावबाट व्यवहार गर्न र सही समयमा सही निर्णय लिन सक्षम गराउँछ ।
प्रशासन, लेखा तथा सुरक्षा लगायतविविध क्षेत्रमा कार्य गर्ने सरकारी कर्मचारीलाई विपश्यना साधनाले आफ्नो जिम्मेवारी र कर्तव्यबोध गर्न सिकाउँछ । यसले कुनै पनि समस्याको तार्किक विवेचना र विश्लेषण गरी समस्या समाधानको उत्तम उपायको खोजी गर्ने क्षमताको विकास हुन्छ ।
(यो लेख मेरो व्यक्तिगत अनुभवमा आधारित छ । विपश्यना ध्यानकेन्द्रमा रही दस दिने शिविरको अनुभव प्राप्त गरिसकेपछि मात्र ध्यानको अभ्यासलाई निरन्तरता दिन उपयुक्त हुनेछ ।)
( नेपाली सेनाका पूर्वरथी)