site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिक्री नै नहुने नागरिक र वैदेशिक रोजगार बचतपत्र ‘डोम्स’मार्फत दोस्रो बजारमा कारोबार होला ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै ट्रेजरी बिल, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र ऋण सञ्चालन तथा व्यवस्थापन प्रणाली (डोम्स)मार्फत दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यो कार्यविधि जारी भएसँगै पुँजीबजारमा हुने सेयर कारोबारजस्तै बचतपत्रहरू पनि खरिदबिक्री गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको छ । 

तर, केही समयअघि कार्यालयले वैदेशिक रोजगारीमा गएकाहरूलाई डोम्समार्फत एक अर्बको बचतपत्र जारी गरेकामा पाँच करोडको मात्र माग भएको थियो । यसको मतलब डोम्सको बारेमा लगानीकर्ता त्यति अभ्यस्त छैनन् । तै पनि कार्यालय कार्यविधि नै जारी गर्दै दोस्रो बजारमा पनि यही सिस्टमबाट कारोबार गर्ने तयारी गरेको छ ।

कार्यविधिमा जे लेखेको भए पनि धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग मिलेर दोस्रो बजारको काम गर्ने गरी छलफल चलाइएको कार्यालय प्रमुख अमृत लम्साल बताउँछन् । उनका अनुसार, अहिले भने बजार निर्माता भनेर दिएका बैंक तथा रेमिट्यान्सबाट नै दोस्रो बजारको काम गराइने छ ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्राथमिक बजारमा नै डोम्समार्फत गत वैशाख २३ गतेदेखि जेठ २२ गतेसम्म एक अर्बको वैदेशिक बचतपत्र जारी गरेको थियो । तर, उक्त अवधिमा ४५ जनाले पाँच करोड १६ लाख २० हजारको बचतपत्र खरिदका लागि आवेदन दिएका थिए ।

डोम्स सिस्टमलाई अहिलेको सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले प्रयोगमा ल्याएको ‘मेरो सेयर’जस्तो बनाएर दोस्रो बजारको काम भने नेप्सेमार्फत गराउने कार्यालयको तयारी छ ।

Royal Enfield Island Ad

“अहिलेको कार्यविधि अनुसार हामीले डोम्स सिस्टमबाट प्रारम्भिक निष्कासन गर्ने र त्यहीबाट बेच्न सक्ने व्यवस्था गरिरहेका छौँ,” लम्सालले बाह्रखरीसित भने, “यो कार्यालयबाट आन्तरिक ऋणका लागि जारी भएका यस्ता औजारहरू तत्कालै बिक्री गर्न खोजे बैंकले नै खरिद गरिदिने व्यवस्था गरिएको छ । तर, केही समयपछि नेप्सेमार्फत नै हामीले यी कारोबारमा ल्याउने छौँ ।”

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई सरकारी ऋणपत्र तथा बचतपत्रको कारोबारका लागि बजार निर्माताका रूपमा इजाजत दिइने छ । 

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार डोम्स र इन्भेस्टर पोर्टलमार्फत गर्न सकिने व्यवस्था कार्यविधिमा राखिएको छ । नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीजस्तै नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र वा अन्य खालका ऋणपत्रको निष्कासन तथा सञ्चालनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘डोम्स’ र ‘इन्भेस्टर पोर्टल’ कार्यान्वयनमा ल्याएको हो ।

सरकारले आन्तरिक ऋण उठाउनका लागि प्रयोग गर्ने अर्को उपकरण ‘ट्रेजरी बिल्स’को दोस्रो बजार कारोबार पनि ‘डोम्स’मार्फत नै गर्न सकिने छ । विकास ऋणपत्रको दोस्रो बजार कारोबार निष्कासनपछि सूचीकरणका लागि नेप्सेमा पठाइने र नेप्सेमा सूचीकृत दलाल (ब्रोकर) कम्पनीमार्फत कारोबार गर्न सकिने व्यवस्था गरिएको छ । अहिलेलाई डोम्समार्फत नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र र ट्रेजरी बिल निष्कासन गर्ने र दोस्रो बजार कारोबार गर्ने गरिए पनि केही समयपछि ब्रोकर कम्पनीमार्फ नै गरिने लम्साल बताउँछन् ।

आन्तरिक ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले स्वीकृत गरेको वार्षिक कार्यतालिका तथा निष्कासन तालिकाअनुसार नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बन्द तथा निष्कासन गरिनेछ । गैरआवासीय नेपालीले पनि नागरिक बचतपत्र खरिद गर्न सक्ने छन् ।

“नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र खरिद गर्न चाहने व्यक्तिले पहिलोपटक इन्भेस्टर पोर्टलमा तोकिएको ढाँचामा विवरणहरू प्रविष्ट गरी रजिस्टर गरेर युजरनेम तथा पासकोड प्राप्त गर्न सक्नेछन्,” कार्यविधिमा भनिएको छ ।

यस्तो बचतपत्र निष्कासन गर्दा तोकिएको अवधिभित्र पहिलो निवेदकले पहिले पाउने प्रक्रियाबाट बाँडफाँट गरिने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको ब्याज अर्धवार्षिकरूपमा सोझै खरिदकर्ताको बैंक खातामा जम्मा गरिने छ । कार्यविधिमा यस्ता बचतपत्रको लागि निर्धारित ब्याजको हिसाब गर्दा तीस दिनको एक महिना र ३६० दिन बराबरको एक वर्ष मानी गणना गर्नुपर्ने व्यवस्था गरिएको छ । 

ब्याज भुक्तानी हुने मितिको एक कार्यदिन अगाडिदेखि भने दोस्रो बजार कारोबारबाट बचतपत्रको स्वामित्व हस्तान्तरण गर्न पाइने छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट जारी हुने बचतपत्रको बिक्री एजेन्टका रूपमा निश्चित प्रकृतिका कम्पनीलाई इजाजतपत्र दिन सकिने व्यवस्था पनि कार्यविधिमा राखिएको छ । 

“कार्यालयले बैंकबाट विप्रेषणका लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी र मनी ट्रान्सफर कम्पनीले बिक्री एजेन्टका रूपमा कार्य गर्न चाहेमा इजाजत दिन सक्नेछ,” कार्यविधिमा भनिएको छ । 

तर, कार्यविधिअनुसार अहिले काम गरिने भए पनि दोस्रो बजारको काम अहिलेकै अवस्थामा नहुने लम्साल बताउँछन् । धितोपत्र दोस्रो बजारको काम नेप्सेले गरेको हुँदा नेप्से र धितोपत्र बोर्डसँग सहकार्य गरेर नै एकै माध्यमबाट यस्ता सरकारी बचतपत्र दोस्रो बजारमा कारोबार गरिने उनको भनाइ छ । त्यसका लागि डोम्सलाई नेप्सेले सञ्चालन गरेको ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस)मा लिंक गरिने योजना रहेको पनि उनले बताए ।

सरकारी ग्यारेन्टी हुने भएकाले यस्ता लगानीका औजारहरू सुरक्षित हुने पनि उनी बताउँछन् । लगानीकर्ताले आफ्नो छनोटअनुसार लगानी गर्न पाउने हुँदा पनि यस्ता औजार नेप्सेमा नै सूचीकरण गर्नुपर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro