site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
सिड्नीमा गुन्जियो ‘यो मन त मेरो नेपाली हो’

सिड्नी । अष्ट्रेलियास्थित सिड्नीको प्रतिष्ठित भेन्युका रूपमा चिनिएको आईसीसीमा शनिबार अबेर रातिसम्म नेपाली झन्डा र ‘यो मन त मेरो नेपाली हो’ गीतले गुन्जायमान भयो । करिब ४५ सय सिड्नीबासी नेपाली चन्द्रसूर्य अंकित झन्डाले भरिभराउ थिए । आईसीसीमा नेपाली सांगीतिक समूह १९७४ एडीको ‘यो मन त मेरो नेपाली हो’, ‘गुराँसै फुल्यो’, ‘छुँदैन तिम्रो मायाले’, ‘सम्बोधन’जस्ता कर्णप्रिय आवाजले दर्शकलाई झन्डै मध्यरातसम्म जुरुक्कै पारेको थियो । 

नेपाली सांगीतिक समूह १९७४ एडी आफ्नो ३०औँ वर्षगाँठ मनाउने क्रममा सिड्नी आइपुगेका थिए । लामो समयपछि पुनः एकतामा बाँधिएको ब्यान्डले आफ्ना नयाँ पुराना गरी करिब डेढ दर्जन गीत पस्केको थियो । यो सांगीतिक समूहले आफ्नो तीन दशक यात्रालाई भव्य र सभ्य मनाउने क्रममा विश्वव्यापी भ्रमणको दौरान अमेरिकाबाट सुरु गरेर अस्ट्रेलिया रोजेको हो । 

गत मे र जुनमा अमेरिकाबाट सुरू भएको ब्यान्डको यात्रा शनिबार अस्ट्रेलियामा समापन गरेको हो । सिड्नीको दर्शक र माया देखेर भक्कानिएको एड्रियन प्रधानले विभिन्न आरोह र अवरोहपछि ३० वर्षको आफ्नो यात्रामा सिड्नीको उपस्थिति र मायाभाव कहिले नभुल्ने बताए । “हाम्रा गीत सुनेर संगीतसँग जीवन जोडिएका प्रशंसकको यस्तो माया र साथले हामी नतमस्तक भएका छौँ,” प्रधानले सुनाए । 

ब्यान्डका मेन भोकलिष्ट फिरोज स्याङ्देनले दर्शक स्रोताको माया र स्नेहसँगै आफूहरूले मञ्चलाई भरपुर सदुपयोग गरेको बताए । यो आफनो समूहको अविष्मरणीय क्षणका रूपमा रहेको समेत उल्लेख गरे ।  

कुनै पनि नेपाली ब्यान्डले आईसीसीमा प्रस्तुति दिएको यो पहिलोपटक हो । ब्यान्डका सदस्यहरू संजय श्रेष्ठ, मनोज केसी र निराकर याकथुम्बाले नेपाल र विश्वभर फैलिएका नेपाली स्रोतामाझ संगीत क्षेत्रमा पहिचान बनाउन पाउनु सफलताको विषय भएको बताए । 

चिनिएको नाम र ब्यान्ड हो– १९७४ एडी । केही समय छुट्टिएर पुनः एकाकार भएको यो समूहको गीत संगीतप्रतिको लगाव र लोकप्रियता थप चुलिएको छ । करिब एक दशकअघि मुख्य गायक फिरोज स्याङ्देन अचानक अमेरिका जानु र लगत्तै अर्का गायक एड्रियन प्रधान समेत अनुपस्थित भएपछि ब्यान्डका प्रशंसकहरू निराश भएका थिए ।  गीत गाउने दुवै गायक साथमा नभएपछि ब्यान्डमा केही खल्लोपन देखिएको थियो । फिरोज र एड्रियन गायक मात्र नभई सर्जक पनि थिए । सन् २०१९ मा समूहका पाँचैजना पुराना सदस्य फिरोज, एड्रियन, निराकार याक्थुम्बा, मनोज केसी र सञ्जय श्रेष्ठ फेरि ब्यान्डमा सामेल भएपछि यसले पुर्नताजगी पाएको थियो ।

आयोजक रोटेपिङ इन्टरटेन्टमेन्टका रोशन भट्टराईले आफूहरूले पहिलोपटक सिड्नीको आईसीसीमा कार्यक्रम आयोजना गरेको र यो पूर्ण रूपमा सफल भएको बताए । “कुनै पनि नेपाली ब्यान्डले यो भेन्युमा कार्यक्रम गरेको पहिलोपटक हो । करिब पाँच हजार दर्शक क्षमताको उक्त हल पूरै भरिनु हाम्रो र नेपाली गीत संगीतको लागि खुसीको कुरा हो,” उनले भने ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro