काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका क्रममा एक सहभागीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दोस्रोपटक सोमबार सात दिनको म्याद थपिएको छ । काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान गरिरहेको छ । पीडित युवतीले सामाजिक सञ्जालमार्फत आठ वर्षअघिको घटनाबारे खुलासा गरेकी थिइन् ।
सोही भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो । बलात्कारसम्बन्धी मुद्दामा एकवर्षे हदम्यादका कारण पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद लिइएको छ ।
पाण्डेविरुद्ध अर्की नाबालिगले पनि यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन् ।
पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि सफलताको पार्टी दिने भन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।
तत्कालीन समयमा आफ्नो उमेर १६ वर्ष रहेको बताउने युवतीले पटक–पटक आफूमाथि ‘ब्ल्याकमेल’ गरेर बलात्कार गरेको आरोप लगाएकी छन् ।
प्रहरीले घटनामा नाम जोडिएका सबैसँग सोधपुछ गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले पूर्वमिस नेपाल माल्भिका सुब्बासँग पनि बयान लिइसकेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार घटना पुरानो भएकाले अनुसन्धानमा केही कठिनाइ भइरहेको छ । प्रहरीले बलात्कार प्रमाणित गर्ने परिस्थितिजन्य प्रमाण संकलन गरिरहेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।
एक अधिकारीले भने, “तत्कालीन समयमा सौन्दर्य प्रतियोगितामा सहभागीदेखि अहिले विदेशमा रहेकाहरूसँग पनि सोधपुछ गरिरहेका छौँ । सूक्ष्म रूपमा अनुसन्धान गर्दै छौँ । कतिपय व्यक्तिका बयानले पनि अनुसन्धानलाई सहयोग पुर्याइरहेको छ ।”
पाण्डेले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।