काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग स्पष्टीकरण सोधेका छन् । मन्त्री आलेले निगम प्रमुख अधिकारीले निगमको एउटा ट्विनेटर जहाज भाडामा दिएको विषयमा स्पष्टीकरण सोधेको बताए ।
“उहाँले एउटा ट्विनेटर जहाज निजी कम्पनीलाई भाडामा दिएको हुनाले के कति कारणले दिएको हो भनेर स्पष्टीकरण सोधेको हो,” उनले बाह्रखरीसँग भने । जहाज भाडामा दिने र दिएको विषयमा मन्त्रालयलाई कुनै जानकारी नगराइएको उनले बताए ।
यता, निगम स्रोतको दाबीअनुसार नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा पहिलो उडान सुरु गर्दा मन्त्रीका व्यक्ति नपरेकाले त्यसको रिसमा स्पष्टीकरण मागिएको हो ।
गत शुक्रबार काठमाडौंबाट रियाद उडेको निगमको पहिलो उडानमा दुई दर्जन बढी व्यक्तिलाई निगमले सित्तैमा रियाद लगेको थियो ।