काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत ‘स्ट्याग गोल्बल च्याम्पियन्स लिग – सिजन टू’ हुने भएको छ ।
च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा असोज ७ देखि १२ गतेसम्म 'स्ट्याग गोल्बल च्याम्पियन्स लिग – सिजन टू' हुने भएको हो ।
प्रतियोगिताको मुख्य प्रायोजक तथा इक्युप्मेन्ट पार्टनरमा स्ट्याग गोल्बल प्रा.लि., इन्डिया रहेको छ । प्रतियोगितालाई आवश्यक पर्ने टेबल टेनिस टेबल, बल, स्कोर बोर्ड, तावेल बक्स, अफिसियल किटसहित सबै सामग्री स्ट्यागगोल्बलले प्रदान गर्ने छ ।
सहप्रायोजकमा अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष सुमन खड्गी र मेटल सेपर रहेको छ जसले प्रतियोगिताको कुल अनुमानित बजेटको २० प्रतिशत रकम (तीन लाख ९१ हजार रुपैयाँ) प्रदान गर्ने छ ।
ब्रोडकास्टिङ पार्टनरको रूपमा एक्सन स्पोर्टस र स्ट्रिम लिग रहेको छ । इन्टरनेट पार्टनरको रूपमा डिश होम फाइबरनेट छ ।
प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५५ हजार रुपैयाँ छ । यस प्रतियोगितामा प्रथम टिमले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । द्वितीय हुने टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । तृतीय हुने (दुवैसेमिफाइनलिस्ट) टिमले नगद पचास हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।