site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली–बालेन सम्बन्ध : उपहारबाट सुरू, सञ्जालबाटै द्वन्द्व !
SkywellSkywell

काठमाडौं । १६ जेठ २०७९ बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएको जम्मा चार दिन पुगेको थियो । 

सहरभरी छाएका थिए बालेन । ठिक त्यहीबेला एमाले नेता शान्ता चौधरीले फेसबुकमा एउटा फोटो सार्वजनिक गरिन् । अनौपचारिक पहिरनमा देखिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित आफ्नो निवासमा बालेनलाई स्वागत गरिरहेका थिए ।

ओलीले बालेनलाई स्वागत गर्दै गरेको फोटो फेसबुकमा राखेर चौधरीले लेखिन्, ‘अर्थपूर्ण भेट ।’

Dabur Nepal
NIC Asia

बालेन काठमाडौं महागनरको मेयर निर्वाचित करिब टुंगो लागिसकेको थियो, तर मतगणना चलिहेको थियो– ठिक त्यही बेला हो बालेन ओलीलाई भेट्न बालकोट पुगेको ।

साँझको पाहुना बनेर आइपुगेका बालेनलाई ओलीले आफ्नो ‘सिग्नेचर’ पहिरनमध्ये एक रातो मफलर लगाएर स्वागत गरे ।

oli-balen-1st-bhet-1726572147.jpg
 

काठमाडौं महानगरका लागि एमालेले उमेदवार बनाएका केशव स्थापितलाई हराउँदै निर्वाचित भएका बालेनको ओलीसँगको भेटघाट त्यसपछि पनि जारी रह्यो । 

२०७९ कै असारको अन्तिमतिर बालेन आफ्नो टिमसहित फेरि ओली निवास बालकोट पुगे । बालकोटबाट ओलीले बालेनलाई रित्तो हात फर्काउन मनासिब ठानेनन्, तबला उपहार दिएर पठाए । बालेन गायकै भए पनि तबला उनको गीति जनराको वाद्य यन्त्र होइन ।

राजनीतिका पुराना खेलाडी ओली र भर्खरै राजनीतिक मैदानमा छिरेका बालेनबीचको यो सम्बन्ध सार्वजनिक रुपमै एकअर्कामाथि ‘आगो ओकल्ने’ तहमा पुग्छ भनेर सायदै कसैले कल्पना गरेका थिए । 

tabla-uphar-1726572164.jpg
 

ओली–बालेन प्रकरणले राजनीतिको पुरानो भनाइ सम्झाइदिएको छ– राजनीतिमा असंभव केही छैन ।

भेटघाट र उपहारबाट सुरु भएको ओली–बालेन सम्बन्ध यतिखेर आरोप प्रत्यारोपसँगै फेसबुक ‘अनफलो’ अभियानसम्म पुग्यो । 

राजनीतिको पुरानो अस्त्र मानिने आरोप प्रत्यारोपको यो खेल यतिमै कहाँ रोकिन्थ्यो र ओलीले २९ भदौमा ‘एउटा केटो’ भन्दै बालेनविरुद्ध ‘सम्पूर्ण अस्त्र प्रयोग गर्न’ कार्यकर्तालाई निर्देशन दिए । 

प्रधानमन्त्रीको कुर्सीमा बसेका ओलीलाई संघीय राजधानीका मेयरसँग ‘जुध्न’ ‘सम्पूर्ण अस्त्र प्रयोग गर्नुपर्ने’ अवस्था कसरी आयो ?

कहाँबाट चिसियो सम्बन्ध ?

काठमाडौं महानगरको मेयर निर्वाचित हुनेबित्तिकै बालेनले नक्सामा अन्डरग्राउन्ड पार्किङ भनिए पनि सुविधा उपलब्ध नगराएका व्यवसायिक संरचनामाथि आँखा लगाए । 

यस्ता भवनको पार्किङ खुला गर्न मेयर बालेन आफैँ डोजर लिएर पुगे । 

त्यही डोजरमा सवार भएर १२ मंसिर २०७९ मा मेयर बालेन थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्तीमा पुगे । बस्ती भत्काउन गएका महानगरका प्रहरी र सुकुम्बासीबीच घम्साघम्सी भयो । 

यो घम्साघम्सीबीच बस्ती नभत्काइ फर्कियो महानगर ।  त्यसपछि केपी शर्मा ओलीले बालेनको नाम नलिइकनै सुकुमबासी बस्तीमा डोजर नचलाउन भने । गरिबहरुमाथि अन्याय नगर्न भने ओलीले । ओलीलाई तुरुन्तै जवाफ फर्काए बालेनले । ओलीले सुकुम्बासीका नाममा राजनीति गरेको भन्दै ओलीमाथि फेसबुक स्टाटसबाट प्रहार गर्न थाले । 

पुराना नेताहरुले ‘इग्नोर’ गरेको सामाजिक सञ्जाललाई आफ्नो भोट बैंक बनाएर काठमाडौं महानगरको चुनाव जितेका बालेन आफ्ना कुरा राख्न त्यही सामाजिक सञ्जाल प्रयोग गर्छन् । 

१३ मंसिर २०७९ मा बालेनले लेखे– अधिकार सम्पन्न वाग्मती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ । तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन ।’

बालेनको आक्रोश यतिमै थामिएन– ‘सुकुम्वासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरुमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवस । तपाईंलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन । तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’

२२ असार २०८१ मा वाग्मतीमा आएको बाढीले सुकुम्बासी बस्ती डुबानमा पर्‍यो । बालेनले ओलीलाई कटाक्ष गर्ने मौका पाइहाले । उनले फेसबुकबाट ओलीलाई प्रहर गर्दै लेखे, ‘आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नुभयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

बालेन यतिमै रोकिएनन् । गिरिबन्धु टि–ईस्टेटको कुरा उप्काउँदै उनले ओलीमाथि कटाक्ष गरे– ‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईंले पचाउन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

गिरिबन्धु टि–ईस्टेको विषयमा ओली नेतृत्वको सरकारले गरेको निर्णय सर्वोच्च अदालतले उल्ट्याइदियो ।  त्यसयता निरन्तरजसो बालेन ओलीलाई ‘गिरिबन्धु’को प्रसंग कोट्याउँदै फेसबुकबाट जिस्काइरहन्छन् । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार हटेर ओली नेतृत्वमा सरकार बन्दा ओली र शेरबहादुर देउवाको तस्बिर फेसबुकमा राख्दै बालेनले लेखे, ‘यो समय गिरिबन्धु चियाको हो ।’

७ जेठमा ०८१ मा बालेनले फेसबुककमा गिरिबन्धु टि–ईस्टेटको जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीको लामो सूची सार्वजनिक गरे । 

balen-bidhya-sundar1-1722674556.jpg
 

जसमा पहिलो नम्बरमा थियो– ‘केपी ओली ट्रष्ट’ । बालेनले बारम्बार गिरिबन्धु टि–ईस्टेटको कुरा कोट्याइरहेपछि प्रतिनिधिसभाको आँगनमा पत्रकारले ओलीलाई २१ जेठमा बालेनको स्टाटसबारे सोधे । जवाफमा ओलीले झोक्किँदै भने, “बालेनलाई सोध्नुहोस् ।”

बालेनको सचिवालय स्रोतका अनुसार यतिञ्जेलसम्म ओली–बालेन सम्बन्ध निकै चिसो भइसकेको थियो ।

“उहाँ(ओली)ले जसरी संसद् भवनको आँगनमा बालेनलाई सोध्नुहोस् भन्नुभयो त्यो देखेपछि उहाँ बालेनसँग चिढिइसक्नुभयो भन्ने लाग्यो हामीलाई,” सचिवालयका ती सदस्य भन्छन् ।

प्रतिनिधिसभाको आँगनमा ओली झोँक्किने दिन बिहान बालेनले ओलीको नामै लेखेर फेसबुकमा ‘१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्याउनु होला माननीय केपी ओलीज्यू,’ लेखेका थिए ।

७ जेठमा बालेनले ओलीलाई गिरिबन्धुको नाम लिएर फेसबुकमा स्टाटस लेख्नुको कारण थियो न्यूरोडको फुटपाथ विस्तार अभियान । 

न्यूरोडको फुटपाट विस्तार गर्ने बालेनको योजनामा बाधक हुन पुगे महानगरको २२ नम्बरका वडा अध्यक्ष चिनिकाजी महर्जन ।  एमालेबाट निर्वाचित उनलाई ओलीले नै उचालेर न्यूरोडको फुटपाथ विस्तारमा बाधक बनेको बालेनको बुझाइ थियो । 

वडाअध्यक्ष उचालेर आफ्नो योजना रोक्न खोजेपछि बालेनले ओलीलाई गिरिबन्धु टि–ईस्टेटको झँटारो हाने । 

७ जेठमा बालेनले लेखेका थिए– ‘यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।’

महागनर कार्यपालिका र नगर बैठकमा पनि बालेनको वडा अध्यक्षसँग नोकझोँक चलिरहन्छ ।  १८ जेठमा २२ नम्बर वडाका वडाअध्यक्ष चिनिकाजी महर्जन र बालेनबीच कार्यपालिका बैठकमा ठूलै नोकझोँक चल्यो ।

न्यूरोडको सडक आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै सडक विभागले पनि फुटपाथ विस्तार गर्ने बालेनको योजनामा अंकशु लगायो ।  यति मात्र होइन सडक विभागले त आफ्नो क्षेत्राधिकारमा पर्ने सडक किनारमा विद्युत् खम्बामा आफ्नो नाम नै लेख्यो । 

फुटपाथ विस्तार अभियानमा बालेन एकैचोटी सडक विभाग र वडा अध्यक्षसँग आमनेसामने भए ।  वडाअध्यक्ष र सडक विभागबाट अवरोध भए पनि अदालत पुगेर बालेनले न्यूरोडको फुटपाथ विस्तार गर्ने आफ्नो योजना जारी राख्न पाए ।

२५ जेठमा चितवन पुगेर ओलीले बालेनलाई ‘झिँगा’को संज्ञा दिन भ्याए । 

बालेनले लेखिरहेका आफू लक्षित स्टाटसप्रति इंगित गर्दै ओलीले भने, “भैंसीको ढाडमा झिँगा बस्यो कि के बस्यो, थाहा पनि पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ, चार लात हानेँ भनेर ।”

यो संघर्ष किनारा लाग्नेबित्तिकै दुईवटा विषय फेरि आइपुगे । पहिलो, एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्माले बाल श्रम शोषण गरेको । 

दोस्रो, सर्वोच्चले भनेको काठमाडौं उपत्यकाका खोलाको नयाँ मापदण्ड । पछिल्लो समय यी दुई विषयलाई लिएर ओली–बालेन वाकयुद्ध चलिरहेको छ ।

शर्मालाई ओलीले जोगाएको आरोप !

काठमाडौं महानगरले एमाले नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्माको काठमाडौं बालुवाटारस्थित घरबाट १४ जेठमा एक बालिकाको उद्धार गर्‍यो ।

महानगरका अनुसार ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको सुनाइन् । 

बालिकाको भनाई  उद्धृत गर्दै बालेन सचिवालय भन्छ, “रेखा कुमारी शर्माले हातले, पाइपले र लाठीले कुट्ने गरेको कुरा बालिकाले सुनाइन् । शर्माको घरमा आएदेखि हालसम्म बालिकालाई आफ्नो घरिपरिवारसँग समेत भेटघाट गर्न नदिइएको रहेछ ।”

पूर्वप्रतिनिधिसभा सदस्य र वर्तमान प्रदेशसभा सदस्यको घरमा नै बालिकाको श्रम शोषण भएको ठहर गर्दै महानगर शर्माविरुद्ध उजुरी लिएर प्रहरीकहाँ पुग्यो । 

प्रहरीले उजुरी दर्ता गर्नु अगावै यो विषय रेखाकुमारी शर्मासम्म पुर्‍याएको आरोप लगाउँछन् मेयर बालेन । 

balen-shaha-1722518099.jpg
 

बालेनले फेसबुकमा लेखेका छन्– ‘जेठ २५ गतेदेखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसदविरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरी भन्दा अगावै निज रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाइन्छ ।’

बालिकाका बुबा कालिचरण चौधरीले २७ जेठमा महानगर विरुद्ध बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरे । 

“बुबालाई प्रयोग गरेर रेखा कुमारी शर्माले नै मुद्दा हाल्न लगाएकी हुन्,” बालेन निकट स्रोत दाबी गर्दै भन्छ ।

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको मुद्दा खारेज गर्दै बालिकाका बुबा आमाले भेट्न पाउनेगरी महानगरले बालिकाको पालनपोषण शिक्षादीक्षा गर्नुपर्ने आदेश दियो । 

“सर्वोच्च अदालतमा बालिकाले आफ्ना बुबालाई पहिचान गर्न सकिनन्,” बालेन सचिवालयको दाबी छ, “त्यसपछि हामी रेखा कुमारी शर्माले बालिकालाई दास बनाएर राखेकी हुन भन्ने निष्कर्षमा पुग्यौं ।”

आफूविरुद्ध मुद्दा दायर भएपछि महानगरले पनि शर्माविरुद्ध बालबालिका ऐन र मुलुकी संहिताको हवाला दिँदै प्रहरीमा जाहेरी दियो ।

यो जाहेरी दर्ता हुँदै गर्दा शर्मा आफूलाई पक्राउ गर्न नहुने मागसहित निषेधाज्ञाको मुद्दा लिएर उच्च अदालत पाटन पुगिन् ।  ३२ जेठमा पाटन उच्च अदालतले शर्माको पक्षमा अन्तरिम आदेश दियो । 

त्यसपछि २३ साउनमा उच्च अदालत पाटनले शर्माको रिट खारेज गर्दै शर्मामाथि अनुसन्धान गर्ने बाटो खुलायो । शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने महानगरको दाबी छ ।  तर, प्रहरीले उनलाई पक्राउ गर्नुको सट्टा अनुसन्धान भइरहेको भन्दै टार्ने गरेको छ । 

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार महानगरको उजुरीपछि शर्मालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी माग गरेपछि अदालतले पक्राउ पुर्जी जारी भएन ।

उनी भन्छन्, “हामी दुईपटक पक्राउ पुर्जीका लागि गइसक्यौँ, अदालतले पक्राउ पुर्जी नदिएपछि हामीले त्यत्तिकै पक्राउ गर्न मिल्दैन ।”

प्रहरीको यो आलटालबीच १६ भदौमा बालेनले शर्माको फोटो फेसबुकमा राख्दै ओलीलाई सम्बोधन गर्दै लेखे– ‘वहाँ  हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा । वहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर, एकजना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाऊ भनेर भनी सकेको छ ।’

बालेन यतिमै रोकिएनन् उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै लेखे– सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू । सुशासन भनेको अदालतले नि समाऊ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बालशोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँसु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’

मेयर बालेनको यो फेसबुक पोष्टपछि एमाले कार्यकर्ता र एमाले समर्थकहरु बालेनविरुद्ध सामाजिक सञ्जालमा जाइलाग्न थाले । 

ओलीको बचाउ र बालेनमाथि आलोचना गर्न आइपुगे अनेरास्वयूविका केन्द्रीय अध्यक्ष समिक वडाल ।  यही बीचमा शर्माको तस्बिर राखेर प्रधानमन्त्री ओलीलाई प्रश्न गरिएको बालेनको पोष्ट फेसबुकबाट हट्यो । 

बालेनको पोष्टलाई ओली समर्थकले ‘रिपोर्ट’ गरेका कारण फेसबुकले हटाएको दाबी गरे ।  बालेनको फेसबुक पोष्ट नै हटेपछि बालेन समर्थक पनि के कम उनीहरुले प्रधानमन्त्री ओलीको फेसबुक अनफलो अभियान चलाए । 
हजारौंको संख्यामा ओलीको फेसबुक फलोअर संख्या घटाए बालेन समर्थकले ।

१७ भदौमा बालेनले रेखा शर्माको प्रसंग उप्काउँदै ओलीलाई विदेशी इसारामा चल्ने नेताको आरोप लगाए । 

शर्माविरुद्धको उजुरी प्रहरीले अगाडि नबढाएको प्रसँगसहित उनले लेखे– प्रधानमन्त्री खडगप्रसाद ओलीज्यू तपाईं आफ्ना कार्यकर्ताहरुलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला ।’

यतातिर शर्मालाई पक्राउ गर्नुपर्ने बालेनको अडानबीच अर्को झगडाको विषयमा थपिन आइपुग्यो उपत्यकाका खोला किनारको ४० मिटर क्षेत्र ।

नयाँ मापदण्ड के हो ?

सर्वोच्च अदालतले गतवर्ष ३ पुसमा गरेको फैसला कार्यान्वयन गर्न भन्दै महानगरले एउटा सूचना जारी गर्‍यो । सर्वोच्च अदालतले उपत्यकाका खोला किनारको मापदण्ड ४० मिटर हुनुपर्ने भनेर गरेको फैसलाको हवाला दिँदै महानगरले अबदेखि खोलाको ४० मिटर क्षेत्रमा नक्सा पास नगर्ने भन्दै निर्माण निषेधित क्षेत्र घोषणा गर्‍यो ।

यो सूचना आएसँगै एमाले समर्थकहरु बालेनको आलोचनामा उत्रिन थाले । महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यले महानगरले आफ्नो सूचना फिर्ता लिनुपर्ने भन्दै विरोध गरे । 

उनले भने, “काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका नदी किनारमा पहिलेको मापदण्डमा थप २० मिटरसम्म कुनै पनि संरचना निर्माण गर्न निषेध सूचना प्रकाशित गरेको हुनाले यसले असंख्य घर तथा जग्गा धनी जनताहरूलाई विस्थापित हुन बाध्य गर्छ । यस्तो सूचना तुरून्त फिर्ता लिनुपर्छ ।”

यो विवाद यतिमै रोकिएन । १० भदौमा एमालेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यस विषयमा ध्यानाकर्षण गरायो ।  सर्वोच्च अदालतको फैसला पुनरावलोकनको प्रक्रिया अगाडि बढाइदिन अनुरोध गर्‍यो एमाले जिल्ला कमिटीले ।

प्रधानमन्त्री ओलीलाई यस विषयमा ध्यानाकर्षण गराउन काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल नै पुगेकी थिइन् । 

यही विषयलाई लिएर उपमेयर सुनिता डंगालले मेयर बालेनको आलोचनासमेत गरिन् । १८ भदौको कार्यपालिका बैठकमा उपमेयर डंगोलले आफ्नै महानगरको सूचनाको विरोध गरिन् । उनले भनिन्, “जनता आतंकित त्रसित भएको महसुस गरेका छौँ हामीले । जनता महानगरमा आउने, ठाउँठाउमा विरोध गर्ने गरिरहेका छन् ।”

महानगरले जारी गरेको सूचना पुनर्विचार गर्नुपर्ने धारणा राखिन् उनले । 

आफूहरुले पनि महानगरको सूचना पढेरै जानकारी पाउनुपर्ने अवस्था आएको भन्दै उनले भनिन्, “यस्तो संवेदनशील कुरा छ, यति धेरै जनतासँग जोडिएको विषय छ । बोर्ड बैठक बसेर छलफल नगरी प्रमुखस्तरीय निर्णय भनेर सूचना जाने ? भनेपछि महानगर पालिकाको सबै जनाको निर्णय हो कि होइन ?”

उपमेयर नै बालेनको आलोचनामा उत्रिनु र प्रधानमन्त्री भेट्न गएर महानगरको निर्णयमा रोक लगाउन माग गर्नुलाई एमालेजनले आफ्नो सफलता ठाने । बालेन समर्थकले एमालेबाट बालेनमाथि चौतर्फी प्रहार भएको ठाने ।

सरकार र एमालेले खोला किनारको मापदण्डमा बालेनलाई दोषी देखाउन खोजेपछि बालेनले फेसबुकमार्फत् यस विषयमा दुईवटा प्रष्टीकरण लेख्नुप¥यो । २३ भदौ र २६ भदौमा बालेनले यस विषयमा प्रष्टीकरण दिए । सामान्यतः फेसबुकमा प्रश्न र आलोचना गर्ने बालेनले प्रष्टीकरण दिएको यो अनौठो घटना थियो ।

२३ भदौमा उनले महानगरविरुद्ध जनता उचाल्ने काम बन्द गर्न आग्रह गरे । 

महानगरले कसैको घर नभत्काउने बाचा गर्दै बालेनले लेखे– ‘तपाईंहरु न्याय खोज्नुहुन्छ भने काठमाडौ महानगरलाई गाली गरेर तपाईंले न्याय पाउनु हुन्न । तपाईंकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नु होला ।’

यसको तीन दिनपछि बालेनले फेरि फेसबुकमा यही विषयमा प्रष्टीकरण दिए । खोलाको मापदण्ड तयार गर्दा केपी शर्मा ओली नै प्रधानमन्त्री रहेको बताउँदै बालेनले फेसबुकमा लेखे– म काठमाडौं महानगरको मेयरमा उमेदवारी दिन्छु कि भन्ने तपाईंले थाहा पाउनुभन्दा पनि तीन वर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो ।’ 

सर्वोच्चले फैसला गर्ने समयमा प्रधानमन्त्रीदेखि महानगरका मेयरसम्म एमालेकै रहेको स्मरण गर्दै बालेन लेख्छन्– ‘प्रधानमन्त्री खड्गप्रसाद ओली, वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन । हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्नपर्‍यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्‍यो, अहिले हाम्रो दाउ अर्कै छ ।’

ओलीको ‘सम्पूर्ण अस्त्र’को प्रहार 

बालेनको फेसबुक र ओलीको कटाक्षको यो शिलशिला यहीँ समाप्त हुन सक्थ्यो । 

तर, २९ भदौ बाल दिवसको दिन बिहानै ९ बजेर २९ मिनेटमा बालेनले फेसबुकबाट प्रधानमन्त्री ओलीलाई व्यग्यंवाण हाने ‘पीडित बालिकाहरुले प्रम (खडग प्रसाद ओली)को कारण न्याय नपाएर मर्नुपरेको कारण बाल दिवसको शुभकामना दिन सकिन, सो शुभकामना स्वयम् प्रमज्यूलाई नै टक्राउन चाहान्छु ग्रहण गर्नुहोला ।’ 

भेरिफाइड फेसबुकबाट यस्तो लेखियो भने भेरिफाइड नभएको अर्को फेसबुकमा बालेनले लेखे– ‘नाबालिग कुट्नेलाई मेरो प्रधानमन्त्रीले जोगाउँछ ।’ 

प्रधानमन्त्री ओली पनि के कम । बाल दिवसको दिन दिउँसो एउटा कार्यक्रममा प्रधानमन्त्री ओलीको बालेनप्रतिको रिस पोखियो, “अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ ।”

बालेनसँग प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई मैदानमा उत्रिन दिर्नेशन दिँदै ओलीले भने, “निक्लिनुपर्‍यो नि मैदानमा, बोल्नपर्छ । आफूसँग भएका सम्पूर्ण अस्त्र प्रयोग गर्नुपर्छ ।”

२५ जेठमा चितवनबाट बालेनलाई ‘झिँगा’को संज्ञा दिँदै ओलीले भनेका थिए, “म कसैसँग अनावश्यक ढंगको विवादमा पर्न चाहन्नन्  ।”

आफ्नै वचन भुलेर ओलीले २९ भदौमा बालेनमाथि आक्रोश पोखे ।

ओलीले आफूविरुद्ध बोल्नेहरुमाथि जाइलाग्न निर्देशन दिएको यो पहिलोपटक होइन । 

यसअगाडि २०७५ मा बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय माग्दै भइरहेको आन्दोलनका बेला पनि ओलीले आफ्ना कार्यकर्तालाई विरोधीमाथि आरिंगाल जसरी जाइलाग्न भनेका थिए । 

सम्भावित हिंसा भड्काउने अभिव्यक्ति दिनमा बालेन पनि कम छैनन्, १६ भदौ २०८० मा बालेनकी श्रीमती सवार गाडी प्रहरीले रोकेको निहुँमा बालेनले फेसबुकमा लेखेका थिए– आजको लागि केही भएन, भोलिदेखि हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ।’ 

बिरामी श्रीमती सवार गाडी प्रहरीले रोकेको निहुँमा बालेनले यस्तो लेखेका थिए । पछि बालेनले यो पोष्ट डिलिट गरे ।

यही पोष्टको विषयलाई लिएर प्रचण्ड नेतृत्वको सरकारले बालेनलाई पक्राउ गर्न खोजेको कुरा जनमत पार्टीका अध्यक्ष सिके राउतले एउटा अन्तवार्तामार्फत् सार्वजनिक गरेका थिए । 

राउतका अनुसार प्रचण्डलगायत सबैले बालेनलाई पक्राउ गर्नुपर्छ भनिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले रोकेका थिए । 

अहिले पनि प्रधानमन्त्रीले बारम्बार बालेनमाथि शब्दवाण चलाएको कांग्रेसका केही नेतालाई मन परेको छैन । 

कांग्रेस नेता शंकर भण्डारीले ३० भदौमा एक विज्ञप्ति जारी गर्दै कुनै समस्या भएमा प्रधानमन्त्रीले अभिभावकत्व लिनुपर्ने र छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा प्रधानमन्त्रीले हुर्मत लिनेगरी बोलेको नसुहाएको बताएका छन् ।

तर, ओलीसँग छलफलमा बालेन सकारात्मक देखिँदैनन् । २३ साउनमा उपत्यका मेयर्स फोरमका पदाधिकारी प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । 

ओलीलाई भेट्न काठमाडौं महानगरबाट बालेन नभइ उपमेयर सुनिता डंगोल पुगेकी थिइन् । त्यसअघि प्रधानमन्त्री प्रचण्डसँगको उपत्यका मेयर्स फोरमको भेटघाटमा पनि बालेन उपस्थित थिएनन् ।

२३ साउनमा आफूलाई भेटन आइपुगेका उपत्यका मेयर्स फोरमका पदाधिकारीका अगाडि पनि प्रधानमन्त्री ओलीले बालेनको आलोचना गरे ।  उक्त भेटघाटमा ओलीले बालेनको नाम नलिए पनि उनले बालेनलाई संकेत गरेर बोलेको प्रष्टै थाहा हुन्थ्यो ।

उनले भनेका थिए, “हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन । सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।”

मेयर बालेनले प्रधानमन्त्रीलाई गर्ने प्रश्न र आलोचना तथ्यमा आधारित रहेको बालेन सचिवालयको दाबी छ । 

“मेयरले अहिलेसम्म प्रधानमन्त्री ओलीलाई व्यक्तिगत तहमा आलोचना गर्नुभएको छैन,” बालेन सचिवालय स्रोत भन्छ, “गिरिबन्ध टि–ईस्टेट अदालतले फैसला गरेको कुरा हो । रेखाकुमारी शर्मामाथि अनुसन्धान नगर्ने र पक्राउ नगर्ने प्रहरी, संघ सरकार अर्थात् प्रधानमन्त्री मातहत हो । आफ्ना मान्छे लगाएर न्यूरोडदेखि खोलाको मापदण्डका विषयमा निहुँ खोजेको त उहाँले नै हो ।”

प्रधानमन्त्री ओलीले मेयर बालेनलाई चिढ्याउने र जिस्काउनेगरी अभिव्यक्ति दिने गरेको र उनका समर्थकले सामाजिक सञ्जालमा बालेन विरुद्ध अभियान नै चलाउने गरेको बालेन टिमको दाबी छ ।  सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रदिप परियारको सरुवा गरेर उनको स्थानमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाइँलाई ल्याएको छ । 

८ महिनामै परियारको सरुवा गरिनुलाई पनि बालेन टिमले निको मानेको छैन । 

“सरुवा गर्ने अधिकार संघको भए पनि यसपटकको सरुवा भने प्रधानमन्त्रीले मेयरसँग प्रतिशोध साँध्न गरेका हुन्,” बालेन टिमको निष्कर्ष छ ।

प्रधानमन्त्री र मेयरबीच बिरलै यस्तो वादविवाद हुन्छ । चिसिएको यो सम्बन्धमा दूवै पक्षले आफू सही भएको दाबी गर्छन् । अन्तिममा बालेनले २ साउनमा लेखेको एउटा कवितांश–
‘सत्यको कुनै एउटा पहिचान,
कुनै नाम हुँदैन,
सत्यको कुनै दाम हुँदैन,
कुनै एउटा पहिचान,
कुनै एउटा काम हुँदैन । नाम हुँदैन
।’
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu