काठमाडौं । ०७४ फागुन एक साँझ दुर्गा प्रसाईंको घरमा थिए, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
तत्कालीन सत्ताधारी दलका दुई मुख्य नेतालाई प्रसाईंले आफ्नो घरमा ‘मार्सी’ चामलको भात खुवाए ।
ओली–प्रचण्ड आफ्नो भान्सामा ल्याउन सक्ने खुबिका प्रसाईं त्यतिखेर कथित ‘किङ्ग मेकर’ भए । प्रसाईंको दाबी पत्याउने हो भने त्यही भेटमा ओली र प्रचण्डबीच पार्टी एकता गरी ‘नेकपा’ बनाउने सहमति भएको थियो ।
तर, बोलीमा लगाम नलगाउँदा जुन घरमा उनले ओली–प्रचण्डलाई ‘मार्सी चामल’को भात खुवाएका थिए, त्यही घरबाट उनी पक्राउ परेका छन्, २०८१ असोज ६ मा ।
भक्तपुरस्थित त्यो घरबाट प्रसाईं नेताहरुको राजनीतिक जीवन सिध्याइदिने ‘युट्युबे’ धम्की दिइरहन्थे ।
भिड जम्मा पारी आफ्नो तागत देखाउँथे । आज त्यही घरमा प्रहरी पुग्दा उनी ढोका खोल्न डराए । तीन घण्टासम्म ढोका नखोलेपछि प्रहरी भर्याङ्ग लगाएर उनको घरको आँगनमा छिर्नुपरेको थियो । प्रहरीले उनलाई घरबाट तान्दै गर्दा उनी अनुनय गर्दै थिए, “अपराधीलाई जस्तो त नगर्नु न हौ ।”
युट्युब, फेसबुक र टिकटकका भिडियो फिडमा तथानाम भनिरहेको भेटिने प्रसाईं आजबाट भने हिरासतमा भेटिनेछन् । प्रहरीले पक्राउ गरी भ्यानमा हाल्दै गर्दा प्रसाईंले बोली रोकेनन्, “एक थोपो रगत हुञ्जेलसम्म केपी ओलीसँग लड्छु क्या ।”
मार्सीबाट राजनीतिमा पर्दापण
ओली र प्रचण्डलाई मार्सी चामलको स्वाद चखाएपछि सार्वजनिक वृतमा प्रसाईं ‘मार्सी’ कहलिएका थिए । उनकै कारण बजारमा मार्सी चामलको माग बढेको समाचार पनि आए ।
मेडिकल व्यवसायीको परिचय बनाएका प्रसाईं झापामा रहेको आफ्नो बीएण्डसी मेडिकल कलजेलाई सम्बन्धन दिलाउने बाटो खोज्दाखोज्दै राजनीतिको गल्लीमा छिरेका हुन् । अध्ययन नगरीकन मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्दै डा. गोविन्द केसी अनशनमा बस्न थाले । सरकारले केसीको माग पूरा गर्थ्यो, उता प्रसाईं छटपटिन्थे ।
लामै समयसम्म यो सिलसिला चलिरह्यो । प्रसाईंले केसी र उनका समर्थकलाई सार्वजनिक स्थलबाटै तथानाम गाली गरिरहे ।
चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने र उनीहरुले घुस मागेको आरोप लगाउन पनि पछि परेनन् प्रसाईं । यसरी आफूले मेडिकल कलेजको सम्बन्धन नपाउने ठानेपछि उनी राजनीतितर्फ सोझिए ।
तत्कालीन नेकपाका नेताद्वय ओली–प्रचण्ड रिझाउन लागे । मेडिकल कलेज सञ्चालन गर्ने उनको इच्छा कतिसम्म थियो भने प्रसाईंले पुराना मात्र होइन नयाँ राजनीतिक दलका नेतासँग पनि सम्बन्ध विस्तार गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ कसिलो सम्बन्ध बनाएका थिए । तर, प्रसाईंसँगैको घूस–संवादसँगै श्रेष्ठको सांसद पद गयो ।
राजनीतिको गोलचक्करबाट आफ्नो मेडिकल कलेजले सम्बन्धन नपाउने देखिएपछि २०७७ मा उनी सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतले मंसिर २०८० मा प्रसाईंको कलेजलाई सम्बन्धन दिने फैसला ग¥यो ।
यो फैसला आउँदासम्म प्रसाईंको मेडिकल व्यवसायीको परिचय फेरिसकेको थियो ।
उनले यतिखेरसम्म एमाले केन्द्रीय सदस्य बनिसकेका मात्र थिएनन् कि त्यो परिचय मेटाइसकेका थिए । सँगै राजा फर्काउने अभियन्ता, समाजसेवी, आन्दोलनकारी र राजनीतिक अभियान चलाउने व्यक्तिमा परिणत भइसकेका थिए ।
सभ्य समाजका लागि प्रसाईंको ‘उपद्रो’ पाच्य थिएन् । तर, युट्युब, फेसबुक र टिकटकका भिडियो फिडमा प्रसाईंकै हालीमुहाली थियो । समाजका लब्ध प्रतिष्ठित व्यक्ति, व्यापारी, उद्यमी, नेता, समाजसेवी, चिक्त्सिकको चरित्र हत्या गर्न कुनै कसर बाँकी राखेका थिएनन् ।
२०७५ मा प्रसाईंले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहमाथि बोलेको कुरामा कांग्रेसका सांसदले संसद्मा जरुरी महत्वको प्रस्ताव दर्ता गरी उनलाई कारबाही गर्न माग गरेका थिए ।
राजनीतिक संरक्षणको आड–भरोसा पाएका प्रसाईं अर्धस्वचालित हतियारसहितका अंगरक्षक राख्छन् । जहाँ गएपनि उनी आफ्नो साथमा एक हुल युट्युबर बोकेर हिँड्थेँ । र, जतिखेर जे मन लाग्यो, त्यही बोल्थे ।
अदालतको फैसलाले नेकपा विभाजन भएपछि एमालेतिर लागे प्रसाईं । विधान महाधिवेशन प्रतिनिधिबाट एमाले छिरेका प्रसाईं केन्द्रीय सदस्यसम्म भए । प्रसाईं जुन गतिमा एमाले प्रवेश गरेर केन्द्रीय तहसम्म पुगेका थिए, त्यही गतिमा एमालेबाट निस्कासित भए ।
रोचक त के थियो भने प्रसाईं पहिले विधान महाधिवेशन प्रतिनिधि भए, त्यसपछि उनले एमाले प्रवेश गरे । ७ कात्तिक ०७८ मा केपी शर्मा ओलीले नै उनलाई एमाले प्रवेश गराएका थिए ।
२०७९ को फागुनमा एमालेले उनलाई निष्कासन ग¥यो । पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर प्रसाईंले झापामा कार्यक्रम गरेको निहुँ पारेर एमालेले निष्कासन गरेपनि खास कारण थियो प्रसाईंको अनियन्त्रित बोली ।
कुनै समय ओलीलाई ‘हजुरबा’ भनेर सम्बोधन गर्ने प्रसाईं पछिल्लो समय उनै ओलीलाई ‘तथानाम’ भन्न थालेका थिए । २०७८ को असोजमा ललितपुरको गोदावरीमा भएको एमाले महाधिवेशन प्रतिनिधिको भेलामा प्रतिनिधि बनी प्रसाईं पनि छिरे ।
त्यतिखेर उनलाई कसले प्रतिनिधि बनायो भनेर एमालेभित्र गाईंगुई चलेको थियो । तर, ओलीलाई ‘हजुरबा’ सम्बोधन गर्ने प्रसाईंलाई प्रश्न सोध्ने कसको हिम्मत ! त्यसपछि प्रसाईं देखापरे, एमाले महाधिवेशन स्थल चितवनको सौराहमा । युट्युबरको हुल साथमा बोकेर हिँडेका प्रसाईंको ओलीसँग चित्त दुख्यो सौराहमा ।
ओलीले त्यतिखेर उनलाई केन्द्रीय सदस्य बनाएनन् । तर, ओलीले प्रसाईंको दुःखेको चित्तमा काठमाडौं फर्केर मल्हम लगाए केन्द्रीय सदस्य मनोनित गरेर । प्रसाईंको एमाले यात्राले २ पुस ०७८ मा फड्को मार्यो, यसदिन ओलीले उनलाई पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको उपप्रमुख बनाए ।
जसरी एमालेको पदीय यात्रा गरेका थिए, प्रसाईंले त्यही गतिमा उनले २०७९ को चुनावमा टिकट पाउने आश गरेका थिए । तर, उनले टिकट पाएनन्, फेरि चित्त दुख्यो प्रसाईंको ।
चुनाव सकिएको तीन महिनापछि प्रसाईंले एमाले आलोचक भएर निस्किए । ओलीको कटु आलोचना गर्न थाले प्रसाई । ०७९ को फागुनमा झापामा पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी श्रीमती कोमल शाह र छोरा पारससहित एउटै मञ्चमा देखिए, प्रसाईं ।
प्रसाईले त्यहाँबाट ‘राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महा–अभियान’ सुरु गरे ।
यो ‘महा–अभियान’ले बैंक, सहकारी, लघुवित्तबाट लिएको ऋण नतिर्न उर्दी जारी गर्न थाल्यो । प्रसाईंको यो महाअभियानको भ्रममा परेर ऋण तिर्नुपर्दैन भन्ने नसोच्नुहोला भन्दै राष्ट्र बैंकले सूचना निकाल्नुपर्यो ।
प्रसाईंको युवा दस्ता ऋण उठाउन आउने वित्तिय संस्थाका कर्मचारीलाई कालोमोसो दल्न थाल्यो । कतिपय ठाउँमा प्रसाईंको यो दस्ताका मान्छे पक्राउ परे ।
यही अभियानको आडमा प्रसाईंले ७ मंसिर २०८० मा काठमाडौंमा आन्दोलन सुरु गरे ।
राजधानीको केन्द्रबाट सरकारले उनको आन्दोलनलाई राजधानीको दक्षिण पश्चिम किनारा बल्खुमा पुर्यायो । तर, प्रसाईंको अनियन्त्रित भिड प्रहरीसँग जाइलाग्यो ।
ओली र एमालेमाथि निरन्तर बर्सिरहेका प्रसाईंलाई चिढ्याउने नियतसहित एमालेको युवा संघले पनि उपत्यकाको पूर्वी कुना तिनकुनेमा आन्दोलन गर्यो । यो आन्दोलनपछि घोषित रुपमै एमाले र प्रसाईं आमनेसामने भए ।
उनी २०८१ वैशाखमा इलाममा भएको उप चुनावमा प्रसाईं ‘नो भोट’को अभियान लिएर इलाम पुगे । सुँगुर बोकेर राजनीतिक दलका उमेदवारलाई ‘सुँगुर’सँग तुलना गरे प्रसाईंले । त्यसपछि प्रसाईंका आन्दोलन कहिले माइतीघर, कहिले बानेश्वर त कहिले भृकुटीमण्डपमा हुन थाले । व्यापारी, व्यवसायीमाथि अनेक लाञ्छना लगाएर भिड उत्तेजित बनाउन थाले प्रसाईं ।
आफ्नो अभियानको एक वर्षे पुगेको अवसर भन्दै १० फागुनमा प्रसाईंले भृकुटीमण्डपमा सभा गरे । ठूलो एलईडी स्क्रिनमा प्रसाईंले व्यापारी, व्यवसायी, नेताको तस्बिर देखाएर उनीहरुमाथि अनेक आरोप लगाए ।
सामाजिक अभियन्ता, नेता, व्यवसायी, पत्रकारलाई मनलाग्दी भन्नु त प्रसाईंको नित्य कर्म जस्तै भइसकेको थियो । शान्तिका नाममा जोडी परेवा उडाएर कार्यक्रम सुरु गर्ने प्रसाईंका अभिव्यक्ति र गतिविधि भने अशान्ति मच्चाउने खालका हुन्छन् ।