काठमाडौं । अष्ट्रेलिया पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा एन्ड्रयु म्याकडोनाल्ड नियुक्त भएका छन् । सन् २०१९ देखि अष्ट्रेलियन प्रशिक्षण टोलीमा रहेर काम गरेका म्याकडोनाल्ड चार वर्षका लागि नियुक्त भएका हुन् ।
अष्ट्रेलियाका पूर्वअलराउन्डर म्याकडोनाल्डले जष्टिन लेंगरलाई प्रतिस्थापन गरेका हुन् । लेंगरले छोटो समयका लागि सम्झैता नवीकरण गर्न अस्वीकार गरेपछि पदबाट हटेका थिए ।
“यो अविश्वसनीय अवसर पाएकोमा खुसी छु । अबका दिन रोमाञ्चक हुनेछन्,” म्याकडोनाल्डले भने । उनी अष्ट्रेलियाले पाकिस्तान भ्रमण गर्दा अन्तरिम प्रशिक्षकको भूमिकामा थिए ।
अष्ट्रेलियाले दुई खेलको टेस्ट शृंखला १–० ले जितेको थियो भने तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले हारेको थियो । एक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल पनि जितेको थियो ।
म्याकडोनाल्डले यसअघि भिक्टोरिया र मेलबर्न रेनगाडेसको पनि नेतृत्व सम्हालेका थिए । उनले काउन्टी क्रिकेटमा लेस्टरशायरको पनि प्रशिक्षण सम्हालेका थिए । उनले अष्ट्रेलियाबाट चार टेस्ट क्रिकेट खेलेका थिए । म्याकडोनाल्डले घरेलु टोली भिक्टोरिया र इंल्यान्डको लेस्टरशायरबाट १३ वर्ष फर्स्ट–क्लास क्रिकेट खेलेका थिए ।
पूर्वप्रशिक्षक लेंगरको चारवर्षे प्रशिक्षणकालमा अष्ट्रेलियाले पुरुष ट्वान्टी–२० विश्वकपको उपाधि जितेको थियो । यस्तै, अष्ट्रेलियाले घरेलु मैदानमा इंग्ल्यान्डविरुद्ध एसेस टेस्ट शृंखला ४–० ले जितेको थियो । तर, पछिल्लो समय उनकोे शैलीप्रति खेलाडीहरूकोे असन्तुष्टि बढ्दै गएको बताइएको छ ।