site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
रहर मात्रै हो, गुन्द्रुकको भाउमा बेचे अर्कै कुरा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । हिन्दी भाषामा नेपाली सिनेमा डब गर्न कठिन नरहेको तर भारतीय बजारमा प्रतिस्पर्धा गर्न भने सजिलो नहुने चलचित्रकर्मीले बताएका छन् । चलचित्रलाई भारतीय बजारमा पुर्‍याउन भन्दा पनि त्यहाँ प्रतिस्पर्धा गर्न कठिन रहेको चलचित्रकर्मीको निष्कर्ष छ ।

चलचित्र आफैँले बजार खोज्ने तर त्यसका लागि स्वयं चलचित्र नै अब्बल हुनुपर्ने निर्देशक हेमराज बिसी बताउँछन् । “चलचित्र भारतीय बजारमा पुर्‍याउन भन्दा पनि त्यहाँका चलचित्रसँग प्रतिस्पर्धा गर्न कठिन छ । अहिले सिनेमा हल मात्रै होइन, विभिन्न डिजिटल प्लेटफर्म छन् । डिस्टिब्युटरसँगको सम्बन्ध तथा अन्य चिनजानका आधारमा चलचित्र हिन्दीमा डब गरेर भारतीय बजारमा लगाउन सकिएला, तर ती चलचित्रले त्यहाँ प्रतिस्पर्धा गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा महत्त्वपूर्ण पक्ष हो,” हेमराज भन्छन्, “एकपटक नेपाली चलचित्र रिलिज भएपछि नेपाली चलचित्र राम्रो हुन्छ भनेर पुनः त्यहाँका दर्शक र डिष्टिब्युटरले खोज्नुपर्छ ।” यसका लागि चलचित्र नै बलियो हुनुपर्नेमा उनको जोड छ ।

नेपाली चलचित्र सीमित बजेटमा निर्माण भइरहेको भन्दै यही बजेटमा निर्माण भइरहेका नेपाली चलचित्रले भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने उनको निष्कर्ष छ ।

Agni Group
NIC Asia

भारतमै थुप्रै क्षेत्र र भाषामा क्षेत्रीय फिल्म उद्योग रहेको र तिनले पनि आफ्ना सबै भू–भागमा बजार नपाइरहेको अवस्थामा नेपाली चलचित्रले सहजै बजार पाउनेमा उनी शंका व्यक्त गर्छन् । बलिउड अभिनेता सलमान खानले केही दिनअघि दक्षिण भारतीय चलचित्रले बलिउडमा बजार बनाइरहेका बेला बलिउड चलचित्र भने किन दक्षिण भारतमा चल्दैनन् भन्दै प्रश्न गरेका थिए ।

त्यसैले भारतमा नेपाली चलचित्रको बजार खोज्न ठूलो मिहिनेत गर्नुपर्नेमा हेमराजको जोड छ । यसका लागि चलचित्रको बजेटसँगै क्वालिटी विस्तार गर्नुपर्ने उनको धारणा छ ।

Global Ime bank

“जसले अहिले भारतमा आफ्नो चलचित्र हिन्दीमा डब गरेर रिलिज गर्ने बताइरहनुभएको छ, उहाँहरूले पक्कै पनि तयारी गरेर नै भन्नुभएको होला । लामो होमवर्क र मिहिनेत गरेर मिडियामा आउनुभएको होला । त्यसैले पक्कै पनि उहाँहरूको कामले सार्थकता पाउला र हामी यही अपेक्षा पनि गरौँ,” उनी भन्छन्, “तर, हामीले जे बनाइरहेका छौँ र जस्तो चलचित्र बनाइरहेका छौँ, यी र यस्तै चलचित्र नै लिएर जाने हो भने सहज नहोला । सफलता नमिल्ला ।”

‘प्रेम गीत–३’ निर्माता तथा निर्देशक सन्तोष सेन लामो समयदेखि मुम्बई बसेर यो चलचित्र हिन्दीमा डब गराइसकेका छन् । उनी भारतमा यो चलचित्रको हल रिलिजका लागि डेट लिन अहिले पनि उतै छन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘प्रकाश’ पनि हिन्दीमा डब गर्ने निर्माण पक्षले बताइसकेको छ । सुरज पाण्डेको निर्देशन रहेको छायांकनरत चलचित्र ‘परस्त्री’ हिन्दीमा डब मात्रै होइन, हिन्दी भाषामा खिच्ने निर्माण पक्षले घोषणा गरिसकेको छ । भारतमा बजार खोज्न हिन्दी भाषामा डब गरिए सहज हुने उनीहरूको भनाइ छ ।

निर्देशक दिवाकर भट्टराई तत्काल नेपाली चलचित्र भारतीय बजारमा थिटएर रिलिजको सम्भावना निकै न्यून रहेको बताउँछन् । नेपाली चलचित्र हिन्दी भाषामा डब गरेर भारतमा रिलिज गर्ने प्रयास आफूले गरिसकेको भन्दै अहिलेकै नेपाली चलचित्रको गुणस्तर र क्वालिटी लिएर भारतमा बजार खोज्नु नै गलत भएको उनको जिकिर छ । “मैले यो प्रयास पहिला नै गरिसकेको छु । हिन्दीमा डब गरेपछि त्यहाँ रिलिज गर्न सकिन्छ कि भनेर मैले पनि मुम्बईका गल्लीमा थुप्रै जोर चप्पल फटाएको छु,” दिवाकर भन्छन्, “तर, सम्भव भएन । उनीहरूका आफ्नै चलचित्रको लामो लाइनअप हुन्छ । म गएको डिस्टब्युटरले ५६ वटा चलचित्र लाइनअपमा रहेको देखाएको थियो । उनीहरूकै चलचित्र थिएटर नपाएर रिलिज हुन पाउँदैनन् भने हाम्रा कमजोर चलचित्र कसले लिइदिन्छ ?”

साना र ‘बी’ ग्रेडका चलचित्र रिलिज हुने हलमा लाग्नु अलग कुरा, तर त्यहाँका मल्टिप्लेक्समा रिलिज गर्न तत्काल सपना नदेखे हुने उनको सुझाव छ । “जसको बजारमा राम्रो उपस्थिति छैन त्यस्ता साना–साना ओटीटीले दुई–चार लाखमा एउटा कन्टेन्ट थपिन्छ भनेर गुन्द्रुकको भाउमा किन्नु अर्कैै कुरा, तर अहिले ठूला मल्टिप्लेक्समा रिलिज सम्भव छैन,” उनी आफ्नो अनुभव सुनाउँछन्, “सिक्किम, दार्जिलिङ, असामजस्ता नेपालीभाषी रहेका ठाउँमा सरकारसँग सहकार्य गरेर एक/दुई शो लगाउन सकिन्छ । बाँकी अहिलेका लागि असम्भव प्रायः छ ।”

कमजोर कन्टेन्ट र स्टार फेस भ्यालुको अभावका कारण भारतीय बजारका थिएटर र त्यहाँका ठूला डिजिटल प्लेटमर्फ अहिले नै नेपाली चलचित्रका लागि उपलब्ध नहुने उनको बुझाइ छ । त्यहाँका स्थापित ओटीटीका लागि लक्षित गर्ने हो भने पनि त्यहाँका केही कलाकारलाई खेलाउनुपर्ने र राम्रा चलचित्र बनाउनुपर्ने उनी बताउँछन् । अहिले यी दुवै अवस्था नभएको सन्दर्भमा रहर मात्रै गरेर नहुने उनको तर्क छ । नेपाली चलचित्र कन्टेन्टका हिसाबले पनि बलियो नरहेको यथार्थ स्वीकार गर्न सक्नुपर्ने उनी बताउँछन् ।

राम्रो चलचित्र बनाउन सकेको अवस्थामा हिन्दीमा डब गर्न आवश्यक नरहेको दिवाकरको जिकिर छ । चलचित्र दृश्य र सबटाइटलका आधारमा मजाले बुझ्न सकिने भएकाले भाषाले फरक नपार्ने उनको धारणा छ । कन्टेन्टका हिसाबले बलियो भए जुनसुकै भाषाका चलचित्र विश्वभर हेरिने र हेरिरहेको सत्यतथ्यलाई नजरअन्दाज नगर्न उनको आग्रह छ ।

नेपालकै तराई र पहाडी भूभागमा नेपाली चलचित्रको बजार पुर्‍याउन/चलाउन नसकेको अवस्था रहेको भन्दै पहिला आफ्नै भूगोलमा चलचित्रको बजार विस्तार गर्नुपर्नेमा सबैको ध्यान खिचिनुपर्ने उनी बताउँछन् ।

आफ्नै चलचित्र हिन्दीमा पनि डब गर्ने तयारी गरिरहेका एक निर्देशक उक्त चलचित्र भारतीय बजारमा जान त्यति सहज नरहेको बताउँछन् । निर्माताको आग्रहलाइ स्वीकार मात्रै गरेको उनी सुनाउँछन् ।

“हिन्दीमा डब गर्दैमा भारतमा थिएटर रिलिज हुन्छ र त्यहाँबाट ठूलो रकम रिटन्र्स आउँछ भन्ने मलाई विश्वास छैन,” ती निर्देशक भन्छन्, “प्रोडुसरले भनेपछि गरौँ न त भनेर म तयार भएको मात्रै हो । यही मिहिनेत र कन्टेन्टले त्यहाँको बजारले विश्वास गर्छ भन्नेमा मलाई नै विश्वास छैन ।”

नेपाली बजेटमा नेपाली दर्शकलाई लक्षित गरेर तयार गरिएको चलचित्र भारतीय दर्शकले मन पराउँछन् भन्नेमा ती निर्देशकलाई विश्वास छैन । नेपालसहित भारत तथा अरू देशमा जाने हो भने त्यहीअनुसारको कन्टेन्ट तयार हुनुपर्ने उनको धारणा छ । दिवकारकै मतमा सहमत हुँदै उनी भन्छन्, “रहर मात्रै गरेर हुँदैन । हामीले जसलाई चलचित्र देखाउन लागेको हो, उसलाई मनपर्ने चलचित्र हुनुपर्छ । चलचित्रकोे ग्लोबल ल्याङ्ग्वेजमा ध्यान दिनुपर्छ ।”

अन्यथा, पब्लिसिटी स्टन्टबाहेक केही नहुने उनी सुनाउँछन् । केही मेकरले हिन्दी भाषामा डबलाई पब्लिसिटी स्टन्ट मात्रै बनाउने गरेको र केहीले भने भारतीय चलचित्रको बजार नै नबुझेको दिवाकर बताउँछन् ।

यता, लामो समयदेखि भारतमा आफ्नो चलचित्र लगाउन संघर्ष र मिहिनेत गरिरहेका सन्तोष सेनले भने हार खाएका छैनन् । आफ्नो चलचित्रले बलिउडको बजारमा नेपाली चलचित्रको ढोका खोल्नेमा उनी ढुक्क छन् । यसका लागि उनले ठूलो डबिङमा त्यहाँका पहिलो रोजाइका डबिङ आर्टिस्ट र प्राविधिक लिएर काम गरिसकेका छन् । यसमा उनले मोटो रकम खर्चिसकेका छन् ।

दिवाकर भने नेपाली निर्माताले भारतमा पब्लिसिटी गर्न अहिलेकै अवस्थामा नसक्ने बताउँछन् । बलिउडमा चलचित्र पब्लिसिटीमा त्यहाँका मेकेरले ठूलो रकम खर्चने गरेको भुल्न नहुनेमा उनको जोड छ । चलचित्र निर्माणको कुल लागतको २५ प्रतिशतसम्म रकम बलिउड निर्माताले पब्लिसिटीमा खर्चने गरेका छन् । त्यसैले तत्कालका लागि अहिलेका कमजोर नेपाली चलचित्रको बलिउड थिएटर यात्राको सपना नदेख्न चलचित्रर्मीहरू सुझाउँछन् । आफ्नो कन्टेन्टलाई मजबुत र खँदिलो बनाउनतर्फ केन्द्रित हुँदा राम्रो हुने दिवाकरको सुझाव छ ।   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu