काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नै नेपालको कुल वैदेशिक व्यापार साढे १४ खर्ब नाघेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क सार्वजनिक गरेको छ ।
फागुन मसान्तसम्म नेपालको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड पुग्दा व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको छ । नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.१२ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटा ३४.५० प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा नेपालको कुल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७७ करोड रहेको थियो भने व्यापार घाटा ८ खर्ब ६३ अर्ब २१ करोड थियो ।
चालु आर्थिक वर्षको सुरुवातबाट नै उच्च रूपमा बढेको आयातले गर्दा निर्यातमा सुधारका बाबजुद पनि व्यापार घाटा चुलिँदै गएको हो । चालु आवको फागुन मसान्तसम्म नेपालको कुल वस्तु आयात १३ खर्ब ८ अर्ब ७३ करोड पुगेको भन्सार विभागले जनाएको छ । जुन गत आवको यही अवधिको तुलनामा ३८.६४ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा ९ खर्ब ४३ अर्ब ९९ करोडको वस्तु आयात भएको थियो ।
गत आवको ८ महिनाको तुलनामा चालु आवमा निर्यात ८२.९० प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएकोछ । फागुन मसान्तसमम निर्यात १ खर्ब ४७ अर्ब ७५ करोड पुगेको छ । गत आवको यही अवधिमा निर्यात ८० अर्ब ७८ करोड रहेको थियो।
नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमाफर्त आयातमा कडाइ गर्दा पनि माघ महिनाको तुलनामा फागुनमा आयात बढेको हो । माघमा १ खर्ब ४८ अर्बमा झरेको आयात फागुनमा बढेर १ खर्ब ६१ अर्ब २७ करोड पुगेको छ । यस्तै निर्यात माघमा १६ अर्ब ९ करोडको निर्यात भको भन्सार विभागको तथ्यांक छ ।
राष्ट्र बैंकले उच्च आयातले विदेशी मुद्रा सञ्चिति घटेर बाह्य क्षेत्रमा दबाब देखिएसँगै बाह्य क्षेत्र सन्तुलनका लागि आयात नियन्त्रण गर्न ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने सयौँ वस्तुको आयात गर्न एलसी खोल्दा नगद मार्जिनको व्यवस्था गरेको छ । यस्तै सुन आयातको काटा नै घटाएको छ भने चाँदी आयातमा कडाइ गरेको छ ।
अर्कोतर्फ आगामी असारबाट राष्ट्र बैंकले टीआर लगायत आयात कर्जाको जोखिम भार बढाउन निर्णय गरेर आयात कर्जामा लगानी गर्न बैंकहरूलाई निरुत्साहित गरेको छ ।
तर, पनि माघको भन्दा फागुनमा १३ अर्बले आयात बढेको भन्सार विभागको तथ्यांक छ ।