site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्र जोखिममा : युक्रेन युद्धको असर कि नेतृत्वको कमजोरी ?
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोभिडका कारण प्रभावित देशको अर्थतन्त्र थप चुनौतीपूर्ण अवस्थामा पुगेको छ । आन्तरिकसँगै रसिया–युक्रेन युद्धका कारण अर्थतन्त्रले थप चुनौतीको सामना गर्नुपरेको जानकारहरू बताउँछन् । 

बढ्दो आयात, घट्दो विदेशी मुद्रा संचिती एवं घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्यांकले अर्थतन्त्रका सूचकहरुको अवस्था राम्रो नभएको देखाउँछ । 

आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल वस्तु व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भई ८८० अर्ब ४९ करोड पुगेको छ । कूल वस्तु व्यापार घाटाको आँकडा पाँच महिनामा ७३५ अर्ब ४९ करोड थियो । आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भई ९९९ अर्ब ३४ करोड पुगेको छ भने यही अवधिमा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भई ११८ अर्ब ८५ करोड छ । जुन रफ्तारमा आयातको ग्राफ बढ्दो छ सोही रफ्तारमा निर्यात हुन सकेको छैन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उच्च आयातका कारण शोधनान्तर स्थिति नाजुक अवस्थामा पुगेको छ । ६ महिनामा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२४ अर्ब ९२ करोड बचतमा थियो । 

यस्तै घट्दो विदेशी सञ्चिती अर्को समस्या बनेको छ । २०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिती १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११६५ अर्ब ८० करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिती २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ पुस मसान्तमा १५.९ प्रतिशतले कमी आएर ९ अर्ब ८९ करोड कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ  क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिन्छ ।

Royal Enfield Island Ad

गत वर्ष पनि आयात बढ्दो क्रममै रहेको थियो । तर, विप्रेषण आप्रवाह घटेको थिएन, बढेको नै थियो । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई ४६८ अर्ब ४५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो । यो अर्थतन्त्रका लागि अर्को चुनौती भएको जानकार बताउँछन् । 

रसिया–युक्रेन युद्धका कारण इन्धनको मूल्य दिनप्रति दिन बढ्दो छ । यसले लागत बढाउँछ, जसको प्रत्यक्ष असर मूल्यवृद्धिमा पर्नेछ । अर्कोतर्फ रसिया–युक्रेन युद्धका कारण विद्युत् आपूर्तिसमेत प्रभावित हुने बताइएको छ । अहिले पनि नेपालले भारतबाट पिकमा ११ हजार मेगावाट आवर विद्युत् आयात गरिरहेको छ । विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार केही दिनअघिसम्म प्रतियुनिट विद्युत्को मूल्य ३ रुपैयाँ ५५ थियो भने अहिले ५ रुपैयाँ २५ पैसा पुगिसकेको छ । यो युद्धका कारण भारतबाट आयातित विद्युतको मूल्य थप बढ्ने उनले बताए । भारतबाट विद्युत् आयात नगरेसम्म आन्तरिक विद्युत् उत्पादनले मात्रै माग धान्दैन । विद्युत् प्रणालीमा ४५ प्रतिशतसम्म आयातित विद्युत् जोडिएको छ । 

यही युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै आयात बढ्दा यसको प्रत्यक्ष असर उत्पादन लागतमा पर्नेछ भने मूल्य वृद्धि नियन्त्रण बाहिर जानसक्ने विज्ञ बताउँछन् । 
रसिया–युक्रेनको युद्धका कारण हुन सक्ने असरलाई कम गर्न नसकिए पनि आन्तरिक समस्या समाधान गर्न समेत सरकार उदासीन बनिरहेको आरोप एमाले नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको भनाइ छ । “अर्थतन्त्रमा नयाँ–नयाँ समस्या आइरहेका छन् तर त्यसको समाधानमा सरकार गम्भिर छैन,” उनले भने । 

पूर्व गभर्नर नेपालका अनुुसार आयात बृद्धि, घट्दो विदेशी मुद्रा सञ्चिती र घट्दो रेमिट्यान्सका कारण अर्थतन्त्र अन्त्यन्त चुनौतीपूर्ण अवस्थामा पुगेको हो । 

“अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा छ किनभने ५० प्रतिशत र शतप्रतिशत मार्जिन राखेर ४७ वटा वस्तुलाई ‘कोड’ गरेर आयातमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आयो । विदेशी सञ्चितीमा असर परेकाले राष्ट्र बैंकले यस्तो निर्णय लिनुप¥यो,” उनले भने । 

विगतमा रेमिट्यान्स घटबढ भइरहने भए पनि विगत ६ महिनादेखि घट्दो दरमा रहेको उनले बताए । 

उनका अनुसार अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुग्नुको आन्तरिक कारण ब्याजदर नियन्त्रण गर्न खोजिनु एक हो । “घोषित रुपमा ब्याजदर नियन्त्रण गर्न खोज्दाको असर पनि बैंक तथा वित्तीय क्षेत्रमा देखियो”, उनले भने, “नेपालमा ब्याजदरमा नियन्त्रण गरिने रहेछ भने सन्देश गयो । सोही कारण विदेशबाट पैसा पनि आएन । नेपालीले पनि विदेशबाट पैसा पठाउन सक्थे सोही कारण पठाएनन् ।”

तर, पछिल्लो समयमा राष्ट्र बैंकले ब्याजदर खुला गरिदिएको छ । राष्ट्र बैंकको पछिल्लो निर्णय भने सही रहेको उनले बताए । “ब्याजदरमा नीति सुधार त गरियो तर बजारमा भएको पैसा अन्यत्र गयो, बजारमा पैसा भएन । यता, पुँजीगत खर्च छैन, पैसा कहाँबाट आउँने,?” उनले भने ।  
पूर्वअर्थमन्त्री पाण्डे बैंकहरुले ब्याजदरका कारण उत्पादन लागत उच्च हुने र त्यसले विदेशी उत्पादनसँग प्रतिस्पर्धा नै गर्न नसक्ने बताउँछन् । “एक त बैंकहरुले ब्याजमा ऋण दिन सकिरहेका छैनन् । बैंकहरु आफैंले १३/१४ प्रतिशतसम्म निक्षेप लिन थाले भन्ने छ । १३/१४ प्रतिशतमा लिएको कर्जा कति प्रतिशतमा ऋण दिने ? यतिमा लिएको कर्जाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्छ,?” उनले भने । उनले अर्थतन्त्रमा आन्तरिक समस्या आइरहेका बेला बाह्य समस्या पनि थपिएको बताए । 

“युक्रेन संकटले अर्थतन्त्रमा अर्को संकट पैदा गर्दै छ । इन्धनमा बढ्दो मूल्यले अर्थतन्त्र नराम्रोसँग प्रभावित हुने देखिन्छ । यही रफ्तारमा गयो भने पेट्रोल २०० रुपैयाँ पुग्छ भन्ने छ । ढुवानी लागत बढाउँछ । त्यसले सबै लागत बढाउँछ,” उनले भने । बाहिरी कारण मूल्य बृद्धि नियन्त्रण बाहिर हुन सक्ने उनले बताए । 

“आन्तरिक समस्या समाधान गर्न सकिरहेका छैनौं । बाह्य कारण थपिएको छ,” उनले भने । कोभिड १९ पछि पर्यटन क्षेत्रमा सुधार आउँछ भन्ने अपेक्षा पनि रसिया–युक्रेनका कारण प्रभावित हुन सक्ने उनले बताए । “कोभिड घट्दै गएपछि अब विस्तारै पर्यटन क्षेत्रमा सुधार आउँछ भन्ने विश्वास थियो । अब त्यो विश्वास पनि विस्तारै हट्दै जान सक्छ । किनभने रसिया–युक्रेनको युद्धले युरोपेली नागरिक विदेशी भ्रमणमा निस्कने सम्भावना धेरै कम छ । उनीहरु युक्रेनका जनतालाई सघाउनमै केन्द्रित हुन सक्छन्,” उनले भने ।  

पर्यटन क्षेत्रमा पनि सुधार नआउने, ब्याजदर पनि बढेर जाँदा हाम्रो प्रतिस्पर्धी क्षमता थप कमजोर बन्दै जान सक्ने पाण्डेले बताए । 

बाह्य क्षेत्रबाट हुने असरबारे केही गर्न नसकिए पनि आन्तरिक रुपमा देखिएका समस्या समाधानमा भने सरकारले ध्यान दिन जरुरी रहेको विज्ञ बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro