site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
फुटबलरदेखि पप–रकरसम्म

साथीहरूसँग फुटबल खेल्दाखेल्दै ज्योती (घिमिरे)लाई फुटबलको लतले समायो । त्यही लतले लय दियो । ‘बी’ डिभिजन क्लबमा छनोट भए । ३० को दशकमा आरसीटी अन्नपूर्ण प्रवेश गरे । मिडफिल्ड फुटबलमा उनको पोजिसन थियो । ०४२ को अन्तिमसम्म फुटबल खेलेका उनलाई राष्ट्रिय टोलीमा जान ज्यान (हाइट)ले धोका दियो ।

फुटबलमा रमाइरहँदा गीत–संगीतमा पनि उनको उत्तिकै दिलचस्पी थियो । हिप्पी कल्चरमा हुर्किएका काठमाडौंका अग्रज संगीतकर्मीहरू सिटी हलमा कार्यक्रम गर्थे । फुटबलबाट समय मिलाएर उनी सिटी हल पुग्थे । पैसा नभए पनि भिडभाडको फाइदा लुटेर सुटुक्क भित्र छिर्थे र धीत मरुन्जेल कार्यक्रम हेर्थे ।

गीतको भाव के हो, थाहा होस् वा नहोस् उनलाई गिटार मन पर्थ्यो । गिटारको ट्युनले हृदयको तार झंकृत हुन्थ्यो । पफर्मर (सिंगर)को एटिच्युडले आकर्षित गर्थ्यो । बेलबटम पाइन्टमा चार इन्चको हिल लगाएर जगल्टा फिँजाएर गिटारसँग स्टेजमा गिटारिस्ट खेलेको देख्दा ज्योती भुतुक्कै हुन्थे ।

Dabur Nepal
NIC Asia

गिटारले मन तानेपछि किन्नु त पर्यो, तर कसरी ? कारण, खल्तीमा पैसा हुँदैन थियो । घरमा कसैले उनलाई प्रोत्साहन गरेनन् । गरून् पनि किन ? आफ्नै आँखाले न्युरोड, झोछेँ र ठमेलमा हिप्पी कल्चर भन्दै गिटारमा भुलेर गाँजामा रमाउनेहरू देखेका थिए । कतै ज्योती पनि त्यही बाटो त हिँड्न खोज्दै छैन ? उनीहरू शंका गर्थे । भलै, त्यो बेला हिप्पी कल्चर पातलिँदै गइसकेको थियो । माइजूले भने ज्योतीको आकांक्षा बुझिन् । ०३८ सालमा २५० रुपैयाँमा चाइनिज गिटार किनिदिइन् ।

विष्णु श्रेष्ठ र सुदर्शन श्रेष्ठबाट उनले गिटारका तारहरूमा औँला कुदाउन सिके । केही रिदम र कर्डस प्रोगेसन सिके । ज्यान फालेर गिटार बजाए । एक वर्ष साथीहरूसँग गिटार सिकेका उनले अर्को वर्ष अरू साथीहरूसँग बजाए । थप अर्को वर्ष आफैँ अभ्यास गरेपछि गिटारबाट चित्तबुझ्दो ध्वनि निस्कन थाल्यो ।  

० ० ०

सहरमा गिटारका गुरु निकै थोरै थिए । मादल र सारंगीको समयमा गिटारका गुरु कम हुनु अस्वाभाविक थिएन । हार्मोनियम माइला र दार्जिलिङबाट आएका सिबी क्षेत्री गिटारका गुरु थिए । पछि भानु तण्डुकार थपिए ।

माइला र सिबीले नारायणगोपाल, प्रेमध्वज प्रधानलगायत धेरैका गीतमा गिटारमा आफ्नो शिल्प खन्याएका छन् । गिटार त उनीहरू सिकाउँथे, तर उनीहरूलाई तिर्ने फी ज्योतीसँग थिएन । जसले घर चलाउन ट्युसन पढाउँथ्यो, उसले त्यही पैसा गिटार सिक्न कहाँ खर्च गर्न सक्थ्यो र ? सकेनन् ।

त्यसैले उनी हरेक कन्सर्टमा पुगेर फ्रन्टमा उभिएर कसले कसरी गिटार बजाउँछ हेर्थे । “मनोरञ्जन लिने भन्दा पनि कसरी गिटार बजाउन सकिन्छ भनेर आइडिया चोर्ने मेरो ध्यान हुन्थ्यो,” ज्योती भन्छन्, “तर, एटिच्युड देखाउँदै पर्फम गर्दा कुन औँला कुन तारको कहाँ पुग्छ सधैँ किन देखिन्थ्यो र ?”

० ० ०

पछि इलेक्ट्रिक गिटार हात लाग्यो । त्यसपछि उनले रात–रातभर बजाउन थाले । हेडफोन कानमा लगाएर बजाउँदा अरूले नसुन्ने भएपछि ज्योतीलाई जति बेला गाए पनि हुने सुविधा प्राप्त भयो । गिटारलाई स्विट बनाउने ग्याजेटहरू थिएनन् । डिस्ट्रोसन गर्ने ग्याजेटहरू हुँदैन थियो । अभावै–अभावमा रहरले बजाउँथे उनी गिटार ।

तीन वर्ष गिटार सिकेपछि सन् १९८३ मार्च १०, ११ र १२ मा द ग्रयान्ड स्ल्याम ब्यान्डले सिटी हलमा स्टेज पफर्म गर्यो । ज्योतीको त्यो पहिलो कन्सर्ट थियो ।

राजीव उपाध्याय लिड भोकलिस्ट थिए । जो पछि पत्रकारिता हुँदै विश्व बैंकका जागिरे भए । राजीवले ७५ प्रतिशत र बाँकी २५ प्रतिशत ज्योतीले गाउने प्रि–प्लान थियो ।

अन्तिम दिन गाउँदा–गाउँदै राजीवलाई स्टेजमै करेन्ट लाग्यो । ठूलो भिड थियो । करेन्ट लाग्यो भनेर कन्सर्ट छोडे भिडले छोड्ने थिएन । करेन्ट लागेपछि राजीवलाई स्टेजबाट उपचारका लागि बाहिर निकालियो । राजीवसँगै गाउने भए पनि उनीजत्तिको स्वरमा उम्दा थिएनन् ज्योती । तर पनि सिचुवेसनसँग ट्याकल गर्दै उनले गाए । ‘हस्की’ स्वरमा उनको एटिच्युड मिसिए पनि क्राउड रमायो । “अगाडिको शब्द आउने तर पछाडिको नआउने । कति शब्द दोहोर्याएँ । कति अगाडिका शब्दलाई नै पछाडि गाएँ । कति एक्सन निकालेर शब्द स्किप गरे,” ज्योती जिन्दगीको पहिलो शो सम्झिन्छन्, “बुझ्नेले बुझे नबुझ्नेले एटिच्युड भन्ठाने । तर, हाम्रो पीडा कसले बुझ्ने ? स्टेजमा गाइरहेको थिएँ मनमा भने राजीवलाई के भयो भन्ने छटपटी थियो । धन्न करेन्ट लागे पनि ठूलो दुर्घटना भने भएन ।”

त्यो समय नेपाली पप कल्चर सुरु भइसकेको थिएन । जति पनि कन्सर्टमा रक ब्यान्डहरू गीत गाउँथे, अंग्रेजी गीतको कभर भर्सन गर्थे ।

केहीले आफ्नै कम्पोज त गर्थे, तर गाउन रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुपर्थ्यो । रेडियोलाई मन प¥यो भने ठिक छ, होइन भने सहभागी नै हुन पाउँदैन थिए ।

रेडियो नेपालमा भ्वाइट टेस्ट दिएर अनुत्र्तीण भएकाहरू कति त्यो बेला क्रान्तिकारीका गीत बजाउन जान्थे । “भ्वाइट टेस्ट दिएर पास नभएका केही सिनियरहरूले त्यो बेला स्टेजमा क्रान्तिकारी गीतहरू गाएको मैले देखेको छु,” ज्योती भन्छन्, “त्यसैले मलाई लाग्छ, कसैलाई मन नपरेको त्यही आर्ट मलाई एपिक लाग्न सक्छ । मलाई लाग्छ, आर्ट सधैँ स्वतन्त्र हुन्छ । यसमा बन्धन व्यर्थ हो ।” 

सिटी हलमा हुने कार्यक्रममा गाइने गीत सुरुमै अञ्चलाधीशको कार्यालमा लगेर सेन्सर गर्नुपर्थ्यो । उनीहरूले नगाउनू भनेका शब्दहरू हटाउनुपर्थ्यो ।

० ० ०

उचाइले फुटबलमा धोका दियो । घरको आर्थिक अवस्थाले गीत–संगीतको यात्रामा अवरोध खडा गर्दै थियो । मनले रोजेको गीत–संगीतको बाटो डोबाटोमा पुग्यो । ज्योतीले रोज्नैपर्ने भयो टेलिकमको जागिर ।

त्यसअघि, उनले ट्युसन पढाए । महिना मरिसक्दा पनि कति विद्यार्थी पैसा ल्याउँदैन थिए । घरमा पैसा चाहियो लौन विद्यार्थीलाई पैसा ल्याऊ भन्नु भन्थे । उनलाई मुखै फोरेर भन्न गाह्रो लाग्थ्यो । “मसँग गिटार सिक्न भनेर एक÷एक रुपैयाँका ढ्याके पैसा प्लास्टिकमा पोको पारेर लिएर आउँथे,” अभावका दिन सम्झिन्छन् ज्योती, “मजस्तै यिनीहरूलाई पनि अभाव होला भन्ने लाग्थ्यो । तर, मेरो आफ्नै टिठलाग्दो अवस्थाले लिनुपर्ने बाध्यता थियो ।”

अभावले जागिर चाहियो भनिरहेको थियो । लोकसेवा दिए । नाम निकाल्न सजिलो थिएन । कर्मचारी सञ्चाय कोष, त्रिभुवन विश्वविद्यालय, नेपाल आयल निगम, कृषि सामग्री संस्थानमा पनि परीक्षा दिए । तर, नतिजा सुखद आइरहेको थिएन । त्यही समय टेलिकमले डेढ वर्षको तालिममा राम्रो भए जागिर दिने सूचना निकाल्यो । आईएसी पढेकाले उनलाई प्लस पोइन्ट भयो । परीक्षा दिए, पास भए । ०३९ बाट टेलिकममा उनको जागिर सुरु भयो । 

० ० ० 

अन्तरहृदयमा गिटार थियो । परिबन्दले जागिरमा रमाऊ भनिरहेको थियो । दोस्रो विकल्प रोज्नै परे पनि उनले संगीतलाई मनबाट हटाएनन् । बचेको समयमा बजाउने र गाउने गरिरहे । गिटारको कुरा गरिरहँदा ज्योतीका दुई हात गिटार समाएको पोजिसनमा हुन्थे । औँलाहरू गिटारका तारहरूमा सलबलाएझैँ देखिन्थे । 

० ० ०

गीत–संगीत मनमा स्फटिकझैँ टाँसिएको थियो । निस्कनै नसक्ने लत लागिसकेकाले उनी सकेसम्म अफिसमा बिदा बस्दैन थिए । साथीहरू बिदा कसरी सक्ने भन्नेतर्फ लाग्थे । उनी सांगीतिक कार्यक्रम हेरेर बिदा बस्थे । अरू बिदाको पैसा लिन्थे । तर, ज्योती पैसा हैन बिदा बसेर गिटार र स्टेजमा रम्थे ।

चाहेको समयमा बिदा माग्नुपर्ने भएकाले उनी हाकिमको प्यारो बन्ने कोसिस गर्थे । काम पेन्डिङमा राख्दैन थिए । अफिसका साथीहरूसँग सौहार्दपूर्ण सम्बन्ध राख्थे । कारण, बेला–बेला फुत्त बाहिर निस्कँदा कुरा मिलाउने उनीहरू नै हुन्थे । 

बिहानको सिफ्टमा काम गर्दा दिउँसो २ बजे छुट्टी हुन्थ्यो । उनले धेरै समय यही सिफ्ट रोजे । पछि नाइट ड्युटी सुरु भयो । त्यो सिफ्ट उनको पहिलो रोजाइमा पर्यो । साँझ ७ बजे अफिस पुगेपछि भोलि बिहान ९ बजेसम्म ड्युटी हुन्थ्यो । त्यसपछि दुई दिन दिनभर छुट्टी । यही समय ज्योती गीत–संगीतमा रमाए ।

“यसरी मैले बिदा बचाएँ । बिदा बचेकै कारण सन् २००४ मा म दीप श्रेष्ठ दाइहरूसँग सांगीतिक टुरका लागि अमेरिका गएँ,” उनी यो सुनाइरहँदा सोही टुरका आयोजकले ‘आज (मंगलबार) साँझ ५ बजे अनामनगर, बसेरीमा पार्टी दिएको छ, पुग्नुपर्ने’ भन्दै घडी हेर्दै हतारिरहेका थिए ।

० ० ०

त्यो समय फाइभ स्टार होटेल केही सीमित ब्यान्डहरूले ‘कब्जा’ गरेका थिए । प्रिजम, डिलक्स, ब्रदर हुडलगायत ब्यान्डहरू फाइभ स्टार क्याप्चर गरेर बसेका थिए । कन्सर्टबाट आएको पैसाले पुग्दैन थियो । होटेलमा नियमित गाउने–बजाउने अरूकै कब्जामा ।

ब्यान्डमा रहेका साथीहरू कोही विवाह गरेपछि छोड्थे, कोही विदेश जान्थे । कोही जागिर खाने, निरन्तरता दिनै कठिन थियो । परिणामतः द ग्रयान्ड स्ल्याम टुटेपछि उनले द काठमाडौं क्याज ब्यान्डबाट गिटार बजाउन थालेका थिए ।

०४५ मा द लेजेन्डले ज्योतीलाई लिड गिटारिस्टका रूपमा बोलायो । उनले बजाउन थाले । भोकलिस्टको अनुपस्थितिमा गाउन सुरु गरे ।

०४९ मा प्रिजममा बोलाइए । यो ब्यान्डबाट पनि उनले लामै समय बजाउने र गाउने काम गरे । ज्योती सधैँ लिड गिटारिस्टका रूपमा स्टेज चढे । भलै, उनी रिदम र बेस गिटार पनि बजाउँथे । ड्रमरको अभावमा त्यो पनि बजाउँथे । 

० ० ० 

सुरुमा परिवारको अवरोध, पछि टेलिकमको जागिर । कपाल डेडलक बनाउन पाएनन् । जब परिवार बुझ्ने भएर अनुमति दिने चरणमा पुग्यो, उनलाई आफ्नै कपालले धोका दिइसकेको थियो । कपाल झरेर पातलो भइसकेको थियो । त्यसैले हिपहप पाइन्ट र डेडलक पालेर कन्सर्टमा गिटारका साथ एटिच्युड देखाउने उनको सपना अधुरै रह्यो ।

 ० ० ०

होटेलमा गाउँदा एक दिन एक विदेशीले सोधे, “तिमीहरूको आफ्नै गीत छैन ?”

हो त ! उनीहरू अंग्रेजी गीत गाउँथे । नेपाली गीत त प्रायः गाउँदै गाउँदैन थिए । कम्पोज नै खासै गर्दैन’थे । कारण, रेडियो नेपालले रक–पप गीत इन्टरटेन नै गर्दैन थियो ।

जब काठमाडौंमा निजी रेकर्डिङ स्टुडियोहरू खुले, तब पपगीतहरू गाउन सुरु भयो । भीम तुलाधर, सञ्जय श्रेष्ठहरूले पपगीत रेकर्ड गर्न थाले । उनीहरूका गीतमा गिटार बजाएका ज्योती ‘अब मैले पनि गाउनुपर्छ’ भन्ने निष्कर्षमा पुगेका थिए ।

०५७ सालमा पहिलोपटक उनले ‘दोर्दी’ नामक एल्बम निकाले । यो एल्बमबाट ‘मस्की मस्की...’,‘खलबल मच्चियो...’ गीत हिट भए ।

रेडियो, टेलिभिजनमा गीत बजे हिट, नभए गुमनाम हुने समय थियो । जागिरे भएकाले प्रोमोसनमा लाग्न सकेनन् । “रेडियो, टेलिभिजनले अन्तर्वार्ता लिन बोलाउँदा पनि जान पाइँदैन थियो । अन्तर्वार्ताका लागि दिउँसो बोलाउँथे, अफिस जानुपर्ने भएकाले जान पाइँदैन थियो,” समय अभावको क्षण सुनाउँछन् उनी ।

दोस्रो एल्बम थियो, इभोलुसन । ‘नशालु...’‘अन्जान तिमी...’ यो एल्बमबाट हिट भए । ‘नशालु...’ ले उनलाई फ्रन्टमा ल्यायो । दुई दशक लिड गिटार बजाएर पनि मासमा चिनिन नसकेका उनलाई गायक बन्नासाथ धेरैले चिन्न थाले । फलो गर्न थाले ।

० ० ०

पाँच वर्ष अगाडि छैमलेमा प्रेमध्वज प्रधानलाई ट्रिब्युट दिएका थिए ज्योतीलगायत केही साथीहरूले । ज्योतीले पनि गाउँदै थिए । गाउनु अगाडि प्रेमध्वजलाई भने– दाइ, तपाईंको सामुन्ने तपाईंकै गीत गाउनु सूर्यका अगाडि बत्ती बाल्नुजस्तै मात्रै हो, रिसानी माफ होस् । ज्योतीले गाए, गोरेटो त्यो गाउँको...।

जब ज्योतीले आफ्नो गीत गाएको प्रेमध्वजले सुने, भने– ज्योती, तिमीले ठिक गर्यौ । कस्तो राम्रो गिटार बजाएको हँ ! सबैले वान्स मोर भने । 

स्वास्थ्य अवस्थाका कारण प्रेमध्वज गाउन सक्ने अवस्थामा थिएनन् । तर, ‘म गाउँछु’ भन्दै उठे । ज्योतीले गिटार बजाएर साथ दिए ।

प्रसंग प्रेमध्वजको आयो । ज्योती ०५३ सालतिर फर्किए । प्रेमध्वजले पपगीत गाउने भए । ज्योतीले तीनवटा गीत कम्पोज गरिदिए । त्यही गीत प्रेमध्वजले आफू बित्नुभन्दा केही दिन अगाडि मात्रै सार्वजनिक गरे ।

“उहाँले आफ्नो जीवनकालमा अन्तिम गीत मेरो कम्पोजको रहेको सार्वजनिक गर्नुभयो । मृत्यु हुनुभन्दा केही दिन अगाडि मात्रै उहाँले त्यो गीत युट्युबमा राख्नुभएको छ । त्यो गीत नै उहाँले सार्वजनिक गरेको अन्तिम गीत बन्यो,” ज्योती भन्छन्, “उहाँले पपगीतको एल्बम निकाल्ने तयारी गर्नुभएको थियो । त्यसमध्ये एकजना मलाई छानेर तिमीले मलाई दुई/तीनवटा कम्पोज देऊ भन्नुभयो । मैले तीनवटा ट्युन पठाइदिएँ । उहाँले यो मन पर्छ भन्नुभयो । तर, पछि उहाँले निकाल्नु भएन । यद्यपि, जहाँ जहिले भेट हुँदा पनि ज्योती, मलाई यो गीत खुब मन परेको थियो भन्नुहुन्थ्यो ।”

बित्नुभन्दा केही दिन अगाडि प्रेमध्वजले ज्योतीलाई फ्रेन्ड रिक्वेस्ट पठाए । उनले फेसबुकमा भने, “ज्योती, मैले तिम्रो कम्पोज ‘यो माया दिँदै छु है...’ रिलिज गरेँ ।” ज्योतीले त्यो कम्पोज ०५३ सालमा गरेका थिए । 

० ० ०

पपले आधुनिक, आधुनिकले पप, लोकले दोहोरी, दोहोरीले लोकलाई अक्सर स्वीकार गर्दैनन् यहाँ । एकले अर्कोको उछितो काड्ने प्रवृत्ति हावी भएको समाज हो यो । तर, रक–पप जनाराबाट हुर्किएका ज्योती आफू म्युजिक लभर भएको बताउँछन् । त्यसैले उनी आधुनिक र लोक मात्रै होइन, भजन पनि सुन्छन् ।

यिनै ज्योती, जो अहिले रियालिटी शो ब्यान्ड च्याम्पियन नेपालको निर्णायकको कुर्सीमा बसेर देशभरबाट आएका ब्यान्डमध्ये को अब्बल भनेर खुट्ट्याइरहेका छन् । आफ्नो लामो अनुभवले सिकेका कुरा अनुजलाई सुझाउँदै छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro