
काठमाडौं । गएको वर्ष असोजमा परेको अविरल वर्षासँगैको बाढी र पहिरोले नदी आसपासका बस्ती डुबायो । उपत्यका जोड्ने बीपी राजमार्गमा गएको पहिरोले सडक अवरुद्ध मात्रै भएन पुल–पुलेसाहरू बगाए ।
कोसी नदीबाहेक सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेका सहायक नदी र खहरे खोलालेसमेत बितन्डा मच्चायो । काभ्रेको रोशी खोलामा आएको बाढीले पनि उसैगरी बितन्डा मच्याएको थियो । रोशी खोलाको बाढीले नमोबुद्ध नगरपालिकाको वडा–६ र रोशी गाउँपालिका–७ मा जोड्ने झोलुंगे पुल पनि बगायो ।
त्यही बगाएको पुल खोलाबाट निकालेर कवाडीका रुपमा बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेमा दुई भारतीय नागरिक र दुई काभ्रे रोशी गाउँपालिकाकै छन् । पक्राउ परेका जितेन्द्र पासवान र मन्टुकुमार कवाड व्यवसायी हुन् ।
यसरी नै पक्राउ परेका अन्य दुई जनामा मनबहादुर तामाङ र रमेश लामा टिपर चालक हुन् ।
रोशी खोलाले बगाएको पुलका सामग्री बा २ ख ४००१ र बा ५ ख ४६२६ नम्बरको टिपरमा लोड गरेर ल्याउँदै गर्दा काभ्रे प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा नमोबुद्ध नगरपालिकाको वडा–६ का वडाध्यक्ष टिकाबहादुर केसी र रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतमकै अनुमतिमा पुलको सामग्री निकालेर बिक्रीका लागि लोड भएको खुलेको हो ।
केसी नेपाली कांग्रेस र गौतमबाट माओवादीबाट निर्वाचित वडाध्यक्ष हुन् ।
नमोबुद्ध नगरपालिका– ६ का वडाअध्यक्ष केसीले पत्रमा लेखेका छन्, ‘‘नगरपालिका–७ र गाउँपालिकाको–६ मा पर्ने पुल बाढीका कारण क्षति पुगेको र पुल पुनः प्रयोगमा आउन नसक्ने र पत्रु सामानहरू सम्बन्धित निकायबाट बिक्री गर्न लागिएकाले ढुवानीमा सहजीकरण गर्दिन निवेदन प्राप्त भएकाले नगरपालिकादेखि बनेपासम्म ढुवानीमा सहजीकरण गर्दिन सरोकारवाला सबैमा सिफारिस साथ अनुरोध छ ।’’
प्रहरीले अनुसन्धानका क्रममा सिफारिस गर्ने र खोलाबाट पुलका सामान निकालेर ढुवानी गर्नेबारे अनुसन्धान गर्नुपर्ने देखिएको काभ्रे प्रहरीका डीएसपी मिमबहादुर घलेले जानकारी दिए ।
उनले भने, ‘‘सुरुमा हामीले पुलका सामग्रीसहित चार जनालाई पक्राउ गरेका थियौं । तर, अनुसन्धानका क्रममा वडाअध्यक्षमाथिसमेत अनुसन्धान गनुपर्ने देखिएपछि रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोककुमार गौतमलाई पनि पक्राउ गरेका छौं ।’’
उनका अनुसार, नमोबुद्ध नगरपालिका–६ का वडाध्यक्ष केसीमाथि समेत अनुसन्धान भइरहेको छ । तर, उनी सम्कर्पविहीन भएको काभ्रे प्रहरीका एक अधिकारीले बताए ।
काभ्रे प्रहरीले पक्राउ अनुमति लिइसकेको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पनि कार्यपालिकाबाट निर्णय गर्न नसकेको विषयमा वडाध्यक्ष आफैँले निर्णय गरी पत्र दिएको जानकारी दिए ।
‘‘पुल बाढीले बगाएको हो । त्यो दुवै पालिका जोडिएका कारण लिलाम गर्न प्रक्रिया गाह्रो थियो । तर, वडाध्यक्षहरू आफैँले पत्र दिएको देखिन्छ । बाँकी त अनुसन्धानले के देखाउँछ,’’ रोशी गाउँपालिकाका अध्यक्ष लामाले भने ।
नमोबुद्ध नगरपालिकाका मेयर कुङसाङ लामाले पनि नगरपालिकाको निर्यणबेगर वडाध्यक्ष आफैँले पत्र काटेको बताए ।
उनले भने, ‘‘यो प्रक्रियामा नगरपालिको कुनै भूमिका छैन । वडाध्यक्षले पत्र काटेको देखिन्छ । बाँकी कानुनी प्रक्रिया अनुसार उहाँहरूलाई के कारबाही हुन्छ । हामीले जान्ने कुरा होइन ।’’ पक्राउ परेकाहरूविरुद्ध प्रहरीले सार्वजनिक सम्पत्ति चोरीको कसूरमा अनुसन्धान थालेको छ ।