
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपालीलाई नागरिकता दिने कुरामा सरकार स्पष्ट हुनुपर्ने बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले ब्रिटिश गोरखा र एनआरएनएहरूलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाउनुपर्ने बताए ।
उनले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको तर विदेशी नागरिकलाई नेपालको नागरिकता दिन नहुने बताए ।
“हाम्रो चाहना पनि नेपाली नागरिक अनागरिक नहुन् । विदेशीहरूलाई खुला पनि नगरौँ भन्ने हो,” सभापति खतिवडाले भने, “त्यही धारणाका साथ त्यो विधेयक अघि बढाउने प्रयास गरेका छाैँ । हामी चाहे ब्रिटिश गोरखाका नेपाली नागरिक वा एनआरएनए नेपाली हाैँ । उहाँहरूको समस्या समाधान गर्न पनि सरकार अघि बढोस् ।” यसलाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा सरकारको धारणा आउनुपर्ने बताए ।
बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भएको छ । बिहीबारबाट दफावार छलफल हुने सभापति खतिवडाले जानकारी दिए । –न्युज एजेन्सी नेपाल ।