काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको नयाँ मिति प्रस्ताव गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका विषयमा निर्वाचन आयोगले दलहरूसँग छलफलपछि आयोगले निर्वाचनको नयाँ मिति प्रस्ताव गर्न लागेको हो ।
आयोगले यसअघि नै सरकारसमक्ष वैशाख २२ गते स्थानीय तह निर्वाचन गर्न प्रस्ताव गरेका थियो । तर, सरकारले मिति घोषणा नगरेपछि आयोगले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने १७ दलसँग छलफल गरेका थियो । छलफलपछि आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आयोगले सरकारसमक्ष स्थानीय तह निर्वाचनको नयाँ मिति प्रस्ताव गर्ने जानकारी दिए ।
“आयोगले राजनीतिक दलहरूसँग छलफल गरेपछि उहाँहरूले अत्यन्तै रचनात्मक सुझाव दिनुभएको छ,” आयोगका प्रवक्ता पौडेलले भने, “अव छिट्टै आयोगले सरकारसमक्ष स्थानीय तह निर्वाचनको तिथि प्रस्ताव गर्ने छ ।”
पौडेलले दलहरूसँगको छलफलमा प्रमुख आयुक्तले केही धारणा राखेका पनि जानकारी दिए ।
“स्थानीय तहको निर्वाचनको विकल्प छैन, समयमै गर्नुपर्छ,” प्रमुख निर्वाचन आयुक्तको भनाई उद्धृत गर्दै प्रवक्ता पौडेलले भने, “कानुनबमोजिम आयोगलाई प्राप्त १२० दिन घर्किरहेको छ, माघको पहिलो हप्तासम्म मिति घोषणा गर्नुपर्छ भन्नुभएको छ ।”