काठमाडौं । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औँ संस्करणका लागि सहारा यूकेले बिहीबार आयोजक सहारा क्लब पोखरालाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ ।
पोखरामा सहारा क्लब यूकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् ।
सहारा यूकले विगत ६ वर्षदेखि विजेता, उपविजेता, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्ट्राइकर, रक्षक, मिडफिल्डर, प्रशिक्षक, गोलकिपर र प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ खेलाडीलाई दिइने ट्रफी, मेडल, शिल्ड र नगद सहयोग गर्दै आएको छ ।
पोखरा रंगशालामा आउँदो माघ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक सहारा क्लबले कोरोना महामारीको कठिन परिस्थितिबीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर प्रतियोगिता सञ्चालन गर्ने अन्तिम तयारी रहेको जनाएको छ ।
प्रतियोगितामा साविक विजेता संकटा क्लब, मच्छिन्द्र क्लब, मनाङ–मर्स्याङ्दी क्लब, विभागीय टिम नेपाल पुलिस क्लब, एपीएफ, त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, थ्री स्टार क्लब, अमेरिकाको बीवाईएससी, मिनेसोटा र आयोजक सहारा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।