site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
मार्छ कि क्या हो यसले !
Siddhartha BankSiddhartha Bank

लौरो अर्थात् एक प्रकारले मानिसको सहारा । जब मानिसले आफ्नो बर्कत र बुताले आफ्नो शरीरलाई परिचालित गर्न सक्दैन, भारी बोकेर हिँड्न सक्दैन, बिसाएको भारी उठाउन सक्दैन, कुपोषणले ग्रस्त आमाहरू पिठ्युँमा आफ्ना बच्चा बोकेर हिँड्न सक्दिनन्, जीवन हारेर वा निस्तारण गर्न नसकेर खुट्टा लर्बरिएर गति नदिँदा, उसले सहारा खोज्छ । यसरी खोजिएका विविध सहारा मध्ये आफ्नै नियन्त्रणमा रहने भरपर्दाे साधन  लौरो हुने गर्छ, मानिसहरूको ।

शरीरलाई टेवा दिन होस् वा बोकेको भारी अड्याउन (तोक्मा)का लागि होस्, अथवा उकालोमा हिँड्दा शरीरले सहारा खोजेर होस् वा सामान्य सुरक्षाकै खातिर किन नहोस्, मानिसले आफ्नो हितको निमित लौरो प्रयोग गर्छन् ।

हिँडाइ मानिसको अनिवार्य पक्ष । हिँडेर नै त तेन्जिङ र हिलारीले सगरमाथा चढे । नहिँडे त जड पहाड भइहाल्छ नि मानिस । हो, सबैको हिँडाइको भिन्नता छ । उद्देश्य फरक छ । तर, मानिस हिँडिरहन्छ ।

Agni Group
NIC Asia

सदाझैँ आन्तरिक लेखापरीक्षणको काममा यसपटक मेरो रोजाइमा पर्यो, पोखरा र बागलुङ । प्रायः वर्षमा एकपटक पहाडी दुर्गम ठानिएका स्थान रोजाइमा पर्ने गरेका थिए, लेखापरीक्षणको क्रममा ।

सल्लेरी, नाम्चे, कालिकोट, जुम्ला, मुगु, सिमकोट, अछाम, बझाङ, बाजुरालगायत स्थान रोजिने गर्थे । ती ठाउँमा जानुको मज्जा नै बेग्लै थियो । भनौँ न, यी नेपालका साँच्चै सुन्दर पर्यटकीय स्थानहरू थिए ।

Global Ime bank

पोखरा त बारम्बार गएकै भएता पनि बागलुङ र म्याग्दीको रहर पुगेको थिएन । तातोपानी कुण्डको चाह त मनमै झुन्डिएकै थियो ।

सहकर्मी राजेश खनालजीको साथ मिल्यो । उनी मेरा असल मित्र हुन् । धेरैअघि हामी दुवै अनुसन्धान तथा तथ्यांक विभागमा सँगै थियौँ । अहिले अडिट विभागमा ।

बिहानै बुद्ध एयरको पहिलो उडानबाट पोखरा ओर्लियौँ । कृष्ण पाठक गाडी लिएर हामीलाई पर्खिरहेका थिए । ड्राइभर थिए रामचन्द्र थापा । निकै हँसमुख र मजाक गर्ने बानी थियो उनको ।

त्यसताका सुपरिवेक्षण कार्यालय पोखराको प्रमुख प्रदीपकुमार उपाध्याय सत्याल थिए । उनीहरूको सुपरिवेक्षण टोली पनि कुश्मा जाने भएकोले  हाम्रो सहयात्रा जुर्न पुग्यो ।

पोखरा पुगेपछि प्रदीप सरसँग तातो चियाको चुस्की उप्रान्त हामी बागलुङतर्फ लाग्याैँ । समय बिहान ८ को सेरोफेरोमा थियो ।

पोखरा–बागलुङ सडकको विन्ध्यवासिनी, सेती नदीको देब्रे भित्तो भएर हेम्जा हुँदै गुड्यौँ । सेती नदी आफ्नैपनमा बहिरहेको थियो, ओरालोतिर ।

बिहानीपखको समय भएकोले होला, बाटोमा खासै भिडभाड थिएन । केही साना गाडी गतिमान थिए । बाटो छेउछाउका ससाना झाडीबाट चराचुरुंगी चिरबिर चिरबिर कराइरहेका थिए ।

पहाडी सडक, घुम्ती र मोडहरूमा सूर्यका किरण छेलिने र देखिने क्रम दोहोरिँदो थियो । माथि माछापुच्छ«े हिमाल अस्तित्व बोकेर उभिइरहेको थियो । ड्राइभर थापा आफ्नै तालमा गुनगुनाउँदै गाडी हुइँक्याइरहेका थिए ।

हामी हेम्जा हुँदै नौ डाँडामाथि चढ्यौँ । नौ डाँडामा चलेको सिरिरिरी बतासको चिसोले मनको भित्री तहसम्मै छुन भ्यायो । घामका किरण न्यानो र सुनौला थिए । आकाश निर्मल, स्वच्छ र नीलो देखिएको थियो । बादलका सेता थेग्लाहरू पर क्षितिजमा अड्किएका जस्ता देखिन्थे । एक हुल काग कावा खाँदै क्षितिजको त्यो छेउसम्म उडेर गए । आँखाको सामर्थ्य घटेपछि ती विलीन भए ।

चिया र बिस्कुट खपत गर्यौँ हामीले नौ डाँडामा । नौ डाँडा एउटा सुन्दर र मनमोहक स्थान लाग्यो ।

नौ डाँडाबाट हामी भिरालो पाखो तथा नागबेली बाटोमा गुडुल्की खेलेझँै काँडे, लुम्ले हुँदै अगाडि बढ्यौँ । घुम्ती र मोड भेटिने र छोडिने क्रम नियमित थियो । बिब्ल्याँटो पाटो भएकोले घाम झुल्किन बाँकी नै थियो । घामका किरण पारि भित्ता र पाखाहरूमा सिलीलिली खेल्दै ओरालो झरिरहेका थिए ।

तल नदीको किनारको नयाँ पुल जहाँबाट बिरेठाँटीतर्फ जान सकिन्छ—लाई छोडेर मोदी खोला पुग्यौँ । मोदी खोला कलकल बगिरहेको तरंग प्रस्ट सुनिन्थ्यो । त्यहाँ पुग्दा नेपाल विद्युत् प्राधिकरण र निजी गरेर दुइटा विद्युत् उत्पादन परियोजनाका विषयमा प्रदीप सर जानकारी गराउँदै थिए । विद्युत् परियोजना हेरेर चुवातर्फ उक्लियौँ ।

चुवामा पुगेपछि कृष्ण पाठकले वारिपट्टि चुवामै कृष्णप्रसाद शर्मा र पारिपट्टि सिल्मीमा रामचन्द्र सुवेदीको घर देखाए । शर्मा र सुवेदी तिनताक बैंकको उच्च पदमा थिए ।

चुवापछि हामी दायाँ भित्तो हुँदै कुश्मा बजार पुग्यौँ । कुश्मा बजारमा निकै चहलपहल देखिन्थ्यो । पर्वत जिल्लाको आकर्षक भूगोलमा कुश्मा बजार बसेको थियो । पर्तिर रहेको कालीगण्डकी नदीमा नेपालकै अग्लो स्थानमा निर्माणाधीन झोलुंगे पुल र बन्जीजम्प गर्ने स्थान हेर्यौँ ।

कालीगण्डकी, जहाँका पत्थरहरू पानीको बहाव तथा प्रकृतिको राप र चापले सेपिएर, कुँदिएर सुन्दर शिला बनेका देखिन्थे । यिनै शिला शालिग्रामको नामले पूजा गरिन्छन् । कस्तो सुन्दर छ प्रकृतिको कला पनि, मानिसले यिनै प्राकृतिक सीपको अनुशरण गरेका होलान् सायद ! कालीगण्डकीको कञ्चन पानी बगिरहेको थियो, आफ्नै हतारोमा ।

कुश्मालाई देब्रे पार्दै हामी अगाडि बढ्याँै । एकलास अनकन्टारझैँ विरक्त लाग्ने उराठ छमर्के पाखाको छातीमाथिबाट अरमादी छिचोल्दै मालढुंगा पुग्याँै । सबै ठाउँ भनेजस्तो मनमोहक र सुन्दर कहाँ हुन्छ र ! प्रकृतिले नै राम्रो नराम्रो वा भनँु, भिन्नको अस्तित्व आफूसँगै बोकेर ल्याएको हुन्छ । मैले मनमनमै गमे ।

मालढुंगाबाट कालीगण्डकीको दायाँ भित्ता भएर नदीको किनारैकिनार बेनी जाने सडक छ । जहाँबाट धेरैअघि हामी रातको अँधेरोमा गएका थियौँ । मैले परसम्मै हेरँे, आँखाले भ्याएसम्म ।

हामी नदीको पुल तरेर बाँयापट्टिको आकर्षक मोड एक फन्को घुमेर बागलुङ बजार प्रर्वेश गर्याँै ।

बागलुङ बजार कालीगण्डकीको माथिसम्म भूतलमा अवस्थित सुन्दर बजार लाग्यो । फाँटिलो, समथर भुबनोट रहेको बागलुङ हेर्दा जति रमणीय थियो, गतिशील र चलायमानका हिसाबले भने सुस्त प्रायः थियो ।

माथिल्लो नाका बेनी, बीचको नाका कुश्माले पोखरासित सिधै सम्पर्क गरेको कारण यो छेउ परेर सुस्त भएको बजार भन्थे, स्थानीय मानिस ।

हो पनि, वास्तवमा मानव मस्तिष्कले ठिक ढंगले सबै अंगलाई नसमेट्दा वा नचल्दा शरीरका त्यस्ता अंगहरू पनि सुस्त बन्न पुग्छन्् । धरती, बजार, सहर र अन्य पनि त्यस्तै कार्य परिणतिले सुस्त बन्न पुग्दा रहेछन् । रूप पक्षभन्दा सार पक्षले गति निर्धारण गर्ने रहेछ । मेरो मनले रहस्य कोरल्यो ।

हामीले खाना खायौँ, मिठो स्वाद लिएर । भोकले नै स्वादको परिभाषा गर्दाे रहेछ । यहाँ पनि त्यही गर्यो, भोकले ।

खाना खाएर शाखामा पुग्यौँ । काम सुरु गर्यौँ । प्रदीप सरहरू केही समयपछि कुश्मा हुँदै पोखरा फर्किए ।

म र राजेश काममा भिड्यौँ । दिनभर काम गर्थ्यौँ । बेलुका अलिकति बिजुलीपानी नहाली सुत्नै नसकिने ! घर छोडेका लोग्नेमानिस प्रायः पिउन धेरै बहाना खोज्छन् । हामीले पनि थकानको बहाना खुब खोज्यौँ ।

शनिबारको दिन । शाखा प्रबन्धक कृष्ण शर्मालाई लिएर कालिका मन्दिर गयाँै । कालीगण्डकीको भित्तामा माथि जंगलको एक किनारामा अवस्थित यो मन्दिर कलात्मक र सुन्दर थियो ।

काली निकै शक्तिरूपा देवी हुन् भन्थे जान्नेहरू । शर्मा र राजेशले जुत्तामोजा खोलेर मन्दिर प्रवेश गरे । घुँडा टेकेर कालीदेवी मूर्तिका पाउमा शिर टेकेर नमन गरे ।

मैले भने बाहिरबाटै हेरिरहेँ । उनीहरू फर्किएर ढोकाछेउ आएर फेरि भित्रै फर्किएर के–के फुस्फुसाए । सायद केही मागे हुन् ! उनीहरू मेरो सम्मुख हुँदा पुजारीबाट दक्षिणामा साटेको रातो टीका निधारमा लगाएर निकै प्रफुल्ल देखिन्थे ।

मानिस आत्मिक रूपमा आफैमा निर्भर र विश्वस्त हुन नसक्दा अलौकिक शक्तिको भक्ति याचनामा लम्पसार पर्दछ । जब उसले आफ्नो मनोरथ पूरा गर्न लम्पसार कार्य सम्पन्न गर्दछ, ऊ आफूले निर्वाण प्राप्ति गरेको झँै ठान्छ, सायद !

यहाँ कृष्ण र राजेशको पनि त्यही अवस्था बोध गर्यो मेरो दिमागले । जहाँसुकैका मठ–मन्दिर, स्कुल–कलेज, वन–जंगल, पाखा–पर्वत, समतल भूभाग र नदी नै किन नहुन्, ती केवल प्राकृतिक वा भौतिक सम्पदा हुने गर्थे मेरा निमित्त । तिनकै बाह्य स्वरूपको सुन्दरतासित म रमाउने गर्थेँ ।

यहाँ यस मन्दिर अवलोकनपछि मेरो मनले गायो–
कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो,
कुन सामग्री पूजा गर्छाै साथ कसरी लाने हो ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘यात्री’ कविता साँच्चै गहन दार्शनिक लाग्छ मलाई । ज्यादै गहिरो भाव बोकेको छ यात्री कविताले ।

लेखापरीक्षणको काम तोकिएको समयपूर्व नै सिद्धियो । बिहान चिया खाएर सुरु गरिएको काम बेलुका ७ बजेसम्मै चल्थ्यो । यसरी एकलव्य भई काम गर्दा हाम्रो तोकिएको समय अलिकति उब्रिन्थ्यो ।

यहाँ पनि शुक्रबार एक दिन उब्रियो । शनिबार त यसै पनि छुट्टी नै हुने भइहाल्यो । त्यो समयको सदुपयोग गर्न हामी बेनी हुँदै म्याग्दीको तातोपानीमा डुबुल्की लाउन जाने गरी तयार भयौँ ।

त्यस क्षेत्रमा अलिकति फिल्ड निरीक्षणको समेत काम बाँकी भएकोले प्रबन्धक कृष्ण शर्मा पनि हाम्रो साथ लागे ।

हामी एउटा जीपमा बागलुङको माथिल्लो पाखो भएर कुँडुले, रत्न चौर, खबराको बाटो हुँदै बेनीतर्फ हिँड्यौँ । बाटो कच्ची र धुले थियो । जीपको अवस्था उस्तै खटारो थियो । हेर्दा तल छङ्गाछुर कालीगण्डकी देखिन्थ्यो । ड्राइभर मच्चाएर गाडी कुदाइरहेथ्यो । शरीर नै सिताङ हुन्थ्यो ।

हेरँे राजेशलाई । उनको अनुहार कहालिएर नीलोकालो भा’थ्यो । कृष्णको अनुहारमा पनि उस्तै । त्रासले ओठ कलेटी परेका ! आपसमा भन्न मात्र नसकेका हुन् । उनीहरू गाडीको सिट बेस्मारी समातेर सुरक्षित हुने  प्रयत्नमा देखिन्थे ।

कुँडुलेको पाखोमा जोडले घच्याक्क गर्दैै गाडी कोल्टे पर्यो । ड्राइभरले “लु बित्यो !” भन्यो । नीलो अनुहार पार्दै राजेशले हेरे । मेरो मुखबाट हठात् फुस्कियो, “मार्छ कि क्या हो यसले त !”

“दाइ, मलाई त यसले धेरैपटक मारिसक्यो । दाइलाई त भर्खर एकपटक मारेछ !” उनी अमिलो हाँसो हाँसे । हाँस्नलाई पनि भित्रले साथ दिनुपर्दाे रहेछ । सानो कुरामा पनि मस्तले हाँसेर उज्यालिने राजेशको अनुहार, यहाँ हाँस्दा चैँ ओइलाएको लालुपातेजस्तो भएको थियो ।

कृष्ण शर्मा यो बाटो पहिला पनि हिँडेको भन्थे, तर उनी पनि गरुडले देखेको सर्पजस्तो भएका थिए ।

मेरो आफ्नै पनि अवस्था उनीहरूको भन्दा भिन्न थिएन । तथापि, दाजु हुनुको भूमिका निभाइरहेको थिएँ, आफैँभित्र धेरैपटक चिसिएर ।

हामी हत्तपत्त गाडीबाट ओर्लियौँ । ओर्लियौँ के भन्ने, फाल हान्यौँ । सन्त्रास वा भयबाट मुक्ति खोज्यौँ । अलिअलि घुँडा पनि तछारिए छ । तैपनि जोगियौँ भित्तापट्टि हामफालेर ।

गोडा लगलग कामिरहेका थिए । आंठ कलेटी परेर सुकेका, दाँत किटिटिटी बजिरहेका । यो डर पनि कस्तो एकतमासको हुँदो रहेछ, जस्तै बहादुरलाई पनि सुकाइदिने । हिउँदको खहरेलाई झँै ।

धन्न गाडीलाई बाटो छेउको बुट्यानले रोकेछ । जीपको लाठी वा लौरो त्यो परिस्थितिले चुटिएको, कुटिएको, निमठिएको, बुट्यान हुन पुगेछ । हामीले तल हेर्यौँ, छङ्गाछुर कहालीलाग्दो कालीगण्डकीमा कसो शिला टिप्न नपुगेको । हुन सक्थ्यो हामी नै शिला बन्ने थियौ कि वा !

वस्तुभाउ चराउने गोठालालाई कराएर बोलाई गाडीलाई बाटोमा तेर्स्यायौँ, मुस्किलले धकेलेर ।

कृष्णले भने, “धन्न बाँचियो, हैट !”

मानिस आफ्नो जीवनयात्रामा यस्तै अनेकौँ बाधा–व्यवधान, अप्ठ्यारा–अड्चन व्यहोर्दै कतिपटक अर्काको हुँदै अनि फेरि आफ्नै बन्दै गुजार्छ जिन्दगी । हामी पनि यस्तै मानवयात्राका पथिक । चल्छ फेरि पनि हाम्रो यात्रा त्यसरी नै सधैँभरि ।

जेनतेन यही हालतमा परियोजना अवलोकन गर्दै हामी मध्याह्न १२ बजेतिर बेनी पुग्यौँ । बेनी पुग्दा लामो सास फेर्यौँ र जीप छोडिदियौँ ।

त्यसउप्रान्त चियापानी पिएर केही क्षण आराम गरेपछि बेनी शाखाका सहकर्मी वीरबहादुरलाई साथ लिँदै तातोपानी नुहाउन हिँड्याँै ।

सानो माइक्रो झैँ गाडीमा मानिसको घुँइचो, कुँडुलो । धन्न हामीचँै सिटमा थियाँै । कहीँ कतै केही देखिँंदैन थियो । चुब्रेली पुगेपछि एकजना महिला बडो सकससाथ गाडीमा चढिन् । उनको अनुहार बताइरहेको थियो, उनी भरखर हाइस्कुल प्रवेशको उमेरकी हुन् । तर, उनको पिठ्युँमा सानो शिशु थियो । लाहुरेले उताबाट ल्याइदिएको जस्तो, बच्चा बोक्न सजिलो हुने खालको ब्यागमा उनले सहर्ष बच्चा बोकेकी थिइन् ।

उनका हात फुटेर चरचर थिए । हातमा एउटा महँगो ब्याग पनि झुन्डिएको थियो । उनका आँखामा दृढता थियो । तर, मनमा ठूलो इच्छा लुकेको अनुभूत हुन्थ्यो । यिनका आमाबाबुले कलिलैमा यिनका सपना कुनै लाहुरेसित साँटिदिएछन् क्यारे ! यिनी त्यही सपनारूपी भरोसाको भारी बोकेर हिँडिरहेकी भान पर्थ्यो ।

यस्तै सपनाझैँ भरोसामा नेपाली चेली कलिलैमा कति साँटिएका छन् कति । पर क्षितिजपारिको घुर्मैलो उज्यालो हेरेर बिताउँछन् यिनीहरू, आफ्नो जिन्दगी । खै कहिले मूल्य पाउँछन् यी नारीले आफ्नो जीवनको !

मैले राजेशलाई हेरेँ । राजेशले आफू बसेको सिट छाडिदिँदै उनलाई भने, “बस्नुस् बहिनी यता ।” 
तिनले भनिन्, “म यसै ठिक छु दाइ ।” हुनसक्छ, जीवन भोगाइको सकसभित्र यो अप्ठ्यारो उनका निमित सहज नै थियो सायद !
वीरबहादुरले “यस्तै हो यतातिर, बोक्छन् आफ्नो जिन्दगीको भारी आफैँ” भन्दै मलाई हेरे ।

मलाई लाग्यो, कलिलैमा निमोठिएर बूढी भएकी बुट्यान हुन् यिनी पनि । हाम्री आमाहरूले पनि यस्तै जीवन त गुजारेका हुन् नि । झन् कति सकस थियो त्यसताका, आमाका मुखबाट सुनिन्थ्यो बेलाबेला ।

बच्चा बोक्ने यस्ता राम्रा साधन थिएन । डोको, कोक्रो वा ओढ्ने र मजेत्रोले पिठ्यु्ँमा बच्चा बोकेर हातमा लौरो टेकेर कति काम भ्याउँथे हाम्रा आमाहरू ।

हामी सिँघ पुग्यौँ । गाडी केही खुकुलो भयो । अलिकति फाँटिलो जमिन । सानो बस्ती । मैले चन्द्रशेखरको घर यतै कतै हो ? भनेर सोधेँ । वीरबहादुरले चन्द्रशेखरको घर देखाए । बाटै छेउमा तीनतले घर । ढुंगाले छाएको छानो । चन्द्रशेखर पनि हामीसँगै एउटै विभागमा थिए । उनी मेरा सहकर्मी मात्र थिएनन् । आत्माकै भाइ थिए । कतिपटक उनले मेरी आमालाई उपचारमा सहयोग गरेका छन्, छोराले झँै । आमा भन्नुहुन्थ्यो, “मेरो छोरो हो चन्द्रशेखर !”

यात्रामा अनेक रङ भोग्दै तातोपानी कुण्ड पुग्याँै । कुण्ड प्रवेश शुल्क तिर्यौँ । एक एकवटा लामा कट्टु किन्यौँ । अनि, तातोपानीमा विश्रान्त भयौँ ।

‘मानव तनको विकारले निकास पाउँछ तातोपानी कुण्डमा आहाल बस्दा’ भन्थे मानिसहरू । हामी पनि शारीरिक अन्तरक्रिया हुँदा सञ्चित विकार निवारण खातिर सहन सकिन्जेल डुब्यौँ तातो कुण्डमा ।

साँच्चै ! शरीर चंगा बनेको थियो तातोपानीले । त्यहाँ थुप्रै मानिसहरू टाढाटाढाबाट आएर साता दश दिन कुण्डमा बसेर निवारण गर्छन् रे, आफ्ना शारीरिक विकार । त्यस दिन पनि निकै मानिस कुण्ड शयनमा आनन्दित भेटिएका थिए ।

हाम्रो समयसीमा थियो । समयको एकएक मिनेट हिसाब गरेर गुज्रिन्छ सबै मानिसको जीवन । तातोपानी कुण्डमा आहाल बस्न जति नै लोभ लागे पनि समयसीमाले दिँदैन मानिसलाई । हामी पनि समयसीमासितै फर्कियाँै बेनी र गुजार्यौँ त्यो रात, खुब जमेर ।

बेनी, पुराणमा व्याख्या गरिएअनुसार जयन्ती, मंगला र काली तीन नदीको (त्रिवेणी) संगमस्थान । हाल जयन्ती लोप भएर मंगला म्याग्दी नामले र काली कालीगण्डकी नामले चिनिन्छन । यी दुई नदीको दोभान हो आजको बेनी ।

यहीँबाट मुक्तिनाथ (मुस्ताङ) जान सकिन्छ । मुक्तिनाथ मानिसहरूको तीर्थ गर्ने स्थान । मौसम मिलेर होला, तीर्थयात्रीहरूको निकै चाप थियो बेनीमा ।

यही स्थानछेउमा पुलह (पुलश्त्य) ऋषि आश्रम, ध्यानयोगको कुटी थियो भन्ने किंवदन्ती रहेको छ । हाल पुला नामले पनि सो स्थानलाई पुकारिन्छ ।

तिब्बतबाट निःसृत र धवलागिरिमिश्रित कालीगण्डकी र म्याग्दी नदी यो क्षेत्र सभ्यताका परिचायक ठानिन्छन् ।

भोलिपल्ट दिउँसो हामी पोखरामा थियौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २५, २०७८  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu