site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिम्याट खाता नहुने र नवीकरण नगर्नेको बोनस सेयर कहाँ जान्छ ?

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्नेहरूको संख्या बढ्दो छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, अनलाइन युजरनेम लिएर धितोपत्र कारोबार गर्नेको संख्या गत वैशाख मसान्तसम्म २२ लाख १६ हजार २४७ पुगेको छ ।

उक्त अवधिसम्म मेरो सेयर खाताको संख्या ५३ लाख २२ हजार ९६९ पुगेको छ । त्यस्तै हितग्राही (डिम्याट) खाताको संख्या ६२ लाख ७२ हजार ३५१ पुगेको छ ।

तर, प्राथमिक र दोस्रो बजारमा सेयर खरिद गरेर दैनिक कारोबार गर्नेहरूको संख्या पनि अत्यधिक छ । कतिपयले धितोपत्रमा पैसा हालेका भएपनि त्यो धितोपत्र जम्मा हुने डिम्याट खाता खोलेका हुँदैनन् । यसका साथै डिम्याट खाता भएकाहरूले पनि समयमा नवीकरण गर्न भुलेका हुन्छन् । यसरी खाता नखोल्दा र नवीकरण नगर्दा उनीहरूलाई कम्पनीले दिने बोनस र हकप्रद सेयर त्यत्तिकै खेर गएका हुन्छन् ।

हकप्रदको हकमा आफ्नो हक लाग्ने भए पनि समयमै जानकारी नपाउँदा र प्राविधिक कारणले यस्तो सेयर खरिद गर्न पाउँदैनन् । 

तर, बोनस सेयर भने उनीहरूकै नाममा रहन्छ । प्राविधिक कारणले गर्दा आफ्नो नाममा सेयर छ भनी कतिपयलाई थाहा नै हुँदैन । यसरी सेयरधनीलाई थाहा नहुँदा पनि कम्पनीले सेयर रजिष्ट्रार्डलाई यस्ता लगानीकर्ताको सेयर सुरक्षित राखिदिन भनेको हुन्छ ।

आफ्नो सेयर खोजी गर्न नआएसम्म यी सेयर कम्पनीले सुरक्षितसाथ राखिदिने सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्य बताउँछन् । उनका अनुसार, सेयरधनीको नाममा भएका सेयर कसैले केही गर्न सक्दैन । लगानीकर्ताहरूले डिम्याट खाता नवीकरण नगर्दा तथा पुराना लगानीकर्ताले डिम्याट नखोल्दा यस्ता सेयर थुप्रिएर बसेका हुन्छन् ।
 
उनले बाह्रखरीसित भने, “तर, खाता नवीकरण गरेर वा डिम्याट खोलेर कम्पनीमा सम्पर्क गरी सेयर रजिष्ट्रार्ड कार्यालयमा गए भने उनीहरूको सेयर डिम्याट खातामा आउँछ ।”

यसरी नगद लाभांश र बोनस सेयर नलिनेहरू धेरै हुन सक्छन् । तर, उनीहरूको नाममा रहेको सेयर २० औं वर्षसम्म सुरक्षित राखिन्छ । नगद लाभांश वापत दिइएको रकममा  ५ वर्षसम्म दाबी गर्न कोही नआए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था गरिएको छ । 

एनएमबी क्यापिटलका सीईओ दीपेश कुमार वैद्य पनि यस्ता सेयर कम्पनीले नियुक्त गरेका सेयर रजिष्टार्डले राख्ने गरेको बताउँछन् । आफ्नो सेयर दाबी गर्न आए कम्पनीले उनीहरूले उपलब्ध गराएको डिम्याट खातामा उपलब्ध गराइदिने उनको भनाइ छ ।

बोनस सेयर नलिएकाहरूलाई लिन बेला बेला कम्पनीले सूचना जारी गरिरहेको हुन्छ । आफ्नो सेयर पाउन बाँकी छ भनेर कतिपयलाई त थाहा नै नहुने हुँदा विविध कम्पनीका यस्ता सेयर कम्पनीमा रहेने नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुली पनि बताउँछन् । 

पराजुलीका अनुसार, यस्ता सेयर खोजी गरिदिन भन्दै कहिले काहीँ नेप्सेमा लगानीकर्ता आउने गरेका छन् । तर, सम्बन्धित कम्पनीमा सम्पर्क गरेर यस्ता सेयर आफ्नो डिम्याट खातामा ल्याउन सकिने उनको भनाइ छ ।

“समयमा डिम्याट खाता नवीकरण नगर्दा सेयरधनीहरूले पाउने बोनस सेयर कम्पनीकै सेयर रजिष्टार्ड कार्यालयमा रहेको हुन्छ,” उनले भने, “कतिपयलाई त २÷४ कित्ताको वास्ता नहुन पनि सक्छ । यस्ता २÷४ कित्ता सेयर धेरै कम्पनीका सेयरधनीको बाँकी हुन सक्छ ।”

धेरै कम्पनीको यसरी भुलेका सेयर हिसाब गर्दा हजारौं कित्ता हुन सक्ने उनको भनाइ छ ।  हाल नेप्सेमा सूचीकृत २७२ कम्पनी छन् । यी कम्पनीको दैनिक कारोबार हुन्छ । कतिपयले त यस्ता कम्पनीका सेयर किनेर मात्र राखेका हुन्छन् । यस्तो अवस्थामा आफूले पाउने सेयर पनि वर्षाैदेखि नपाएको हुन सक्छन् ।

बेला–बेला कम्पनीले सूचना जारी गर्दा आफूले पाउने सेयर खोजी गर्न आउने पनि गरेका छन् । 

के हो डिम्याट खाता र मेरो सेयर ? 

मेरो सेयर भनेको सीडीएससीले विकास गरेको प्राथमिक सेयर (आईपीओ) खरिद गर्ने सफ्वेयर हो । यहाँबाट आईपीओमा अनलाइन आवेदन दिन, डिम्याट खातामा भएको आफ्नो सेयर संख्या र पोर्टफोलियो हेर्न सकिन्छ ।

डिम्याट खाता भनेको आफूले दोस्रो बजारमा किनेको र प्राथमिक बजारमा किनेको सेयर राख्ने खाता हो । यो मर्चेन्ट बैंक र ब्रोकरमा खोल्न सकिन्छ । डिम्याट खाता, मेरो सेयर, बैंक खाता र नेप्सेले सञ्चालमा ल्याएको टीएमएस एक अर्कामा लिंक भएका हुन्छन् । 

त्यसैले सेयर खरिद गर्दा पैसा बैंकमा आउनले आईपीओ भर्दा बैंकबाट पैसा काट्ने गर्दछ । 

यसरी एक अर्कामा लिंक हुँदा सेयर खरिद–बिक्री गर्नेहरूलाई सहज भएको छ । अनलाइन कारोबार हुनुभन्दा पहिले लाइन लागेर ब्रोकर कम्पनीमा सेयर खरिद–बिक्री गरिदिन आग्रह गर्नुपर्ने व्यवस्था थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro