site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
दहीचिउरे निर्णय : सुनको थालीमा खडगप्रसादलाई प्रधानमन्त्री पद

देशको भविष्यबारे सदाबहार चिन्तित हुनुहुन्छ, भेट्रान राजनीतिज्ञ विश्वबन्धु थापा । असार १८ का दिन एकाबिहानै ९७ वर्ष पुग्नुभएका थापासँग फोनमा कुरा गर्ने अवसर मिल्यो । उहाँले सुनाउनुभयो, “मध्यरात (१२ः१५ बजे) देशका दुई ठूला दलहरू एमाले तथा नेपाली कांग्रेस (कांग्रेस) बीच सहमति भएछ ।’’ 

पुष्पकमल दाहालको नेतृत्वको सरकार ढल्ने भयो । भर्खरै चार महिना गुजार्दै गरेको माओवादी–एमाले गठबन्धनको सरकार विघटनले उहाँलाई कुनै अचम्मित नतुल्याएको आभास मिल्थ्यो । 

बरु, देशका दुई ठूला दल मिलेर संयुक्त सरकार गठनका सम्बन्धमा उहाँको सरोकार थियो । 

Agni Group
NIC Asia

उहाँको मतमा दुई ठूला दलमध्ये एक दलको नेतृत्वमा गठनबन्धन सरकार निर्माण हुनुपर्छ । अर्को ठूलो दल विपक्षमा रहनुपर्छ भन्ने आशय बुझिने थियो ।

सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार तथा एमाले विपक्षी भूमिकामा रहे राष्ट्रलाई भलो हुने थियो । यही भावनाको अभिव्यक्ति संघीय संसद् सदस्य एवं कांग्रेस महामन्त्री गगनकुमार थापाले बारम्बार दोहोर्‍याउँदै आएका छन् । 

Global Ime bank

एक साताअघि भूषण दाहालसँगको टेलिभिजन अन्तरक्रियामा पनि तिनले कांग्रेस हालको अवस्थामा सत्तामा जानु हुँदैन भन्ने धारणा सार्वजनिक गरेका थिए ।  निःसन्देह प्रस्तावित कांग्रेस–एमालेको गठबन्धन लोकतान्त्रिक प्रणालीअनुरूप छैन । 

प्रतिनिधिसभामा दलीय उपस्थितिलाई जनादेश ठहर गर्न सकिन्छ । 

सरकार गठनपूर्व न्यूनतम सहमतीय नीति तथा कार्यक्रम तर्जुमा गरिनुपर्दथ्यो । त्यसका आधारमा सबैभन्दा धेरै (८८) सांसद संख्या भएको कांग्रेसको नेतृत्वमा उक्त नीति तथा कार्यक्रममा समर्पित दलहरू सामेल बहुमतीय सरकार गठन गर्नुपर्ने थियो । 

एमालेले कम से कम ‘कम्युनिष्ट’ बिल्ला पहिरेका अन्य दलहरूलाई समेटेर सशक्त प्रतिपक्ष दलको रूपमा प्रस्तुत हुनुपर्ने थियो । विडम्बना, कांग्रेसले पाएको सरकारको नेतृत्व गर्ने जनादेशलाई अवहेलना गर्दै आएको छ । 

पहिलो जनआन्दोलनको सफलतापश्चात् कांग्रेसले प्रदर्शन गर्दै आएको गुण विचित्रको छ । 

चरम सत्तामोह कांग्रेस नेतृत्वको चरित्रको अभिन्न अंग हुँदै आएको छ । निर्वाचन परिणाम जस्तो भए पनि उक्त उद्देश्य प्राप्तिका निमित्त कांग्रेस मरिमेटेर गरेर लागिपर्ने गर्छ ।

बहुमत प्राप्त गरेको बेलामा त्यही सत्तासंघर्षका कारण उसले पूर्णकाल शासन गर्न सकेको पाइँदैन । अल्पमतमा रहेको अवसरहरूमा उसले अन्य दलसँग सत्तासाझेदारी गर्दै आएको छ ।  विगतमा १८ वर्ष लामो लोकतान्त्रिक अभ्यासमा सत्ता साझेदारीका सर्तको पूर्ण पालना विरलै भएका छन् । 

माओवादीसँग गरिएका सहमतिहरू बालुवाको घरमा परिणत भएर कांग्रेसले पटक–पटक धोखा खाँदै आएको छ ।  जतिसुकै धोखा खाए पनि उसले माओवादीलाई सरकारको नेतृत्व सम्हाल्ने शुभअवसर भने दिँदै आएको छ ।

वर्तमान संसद्‌मा केवल ३२ सदस्य भएको माओवादीलाई सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसले दिएको थियो ।  प्रस्तावित नवगठबन्धनका निमित्त पनि कांग्रेसले एमाले नेतालाई सुनको थालीमा सरकारको नेतृत्व गर्ने अवसर दिँदै छ । 

सरकारको नेतृत्व गर्ने अवसर विपक्ष ध्रुवका राजनीतिक मूल्य मान्यता बोक्ने दल सुम्पेर नेतृत्व अवसरको अनिश्चित पालो ढुक्ने कांग्रेसी चरित्र बुझी नसक्नुको छ । त्यसैगरी, अर्को बुझी नसक्नु छ, षड्यन्त्र गरेर सत्ता प्राप्ति गर्ने यो दल कहिले पनि पछि नपर्ने । 

नेपाली इतिहासजत्तिकै पुरानो अनेकमध्ये एक विशेषता हो, राज्य सञ्चालनका निम्ति हुने षड्यन्त्र । राजाहरूले षड्यन्त्र रचेर अघिल्लो दिनसम्म बफादार कहलिएका सेवकको सफाय गर्दथे । 

वर्तमान नेपालका एक रचनाकार एवं बडामहाराज पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाह दरबारिया षड्यन्त्रको कोपभाजनमा मारिए । प्रधानमन्त्रीहरू भीमसेन थापा तथा तिनका भतिजा माथवरसिंह थापा पनि दरबारिया षड्यन्त्रको सिकार भए । 

राजारानीले प्रधानमन्त्री माथवरसिंह थापाको हत्या गर्न उनकै भान्जा जंगबहादुरलाई प्रयोग गरे । षड्यन्त्रको सफलतापश्चात् प्रधानमन्त्री पद टप्काएका जंगबहादुर राणाको शासन कालखण्डमा तिनको ज्यान लिने धेरै असफल षड्यन्त्र रचिए । 

राज्यव्यवस्था प्रणालीलाई आफ्नो नियन्त्रणमा राख्न तिनले राजालाई खोपाको देवता तुल्याइदिए ।  लमजुङ तथा कास्कीको राजा घोषित भएर श्री ३ महाराजको पदवी तथा जहानियाँ शासनको स्थापना गर्न तिनले धेरै षड्यन्त्र रचेका थिए ।

जंगबहादुरले स्थापना गरेको जहानियाँ शासन पद्धति तथा पारिवारिक रोलक्रमअनुरूप प्रधानमन्त्री नियुक्त भएका रणोदीपसिंह राणालाई तिनकै भाइ धीरशमशेरका १८ भाई छोरा मिलेर हत्या गरे ।  तिनले षड्यन्त्रकारीले जंगबहादुरका छोराहरूलाई समेत सफाय गरे । 

शमशेर खलकको तिनले स्थापना गरे । शमशेर खलकले पारिवारिक शासन पद्धति अपनायो ।  पारिवारिक रोलअनुरूप प्रधानमन्त्री पदमा नियुक्त भएका देवशमशेरलाई तिनकै भाइ चन्द्रशमशेरले षड्यन्त्र रचेर तिनलाई विस्थापित गरे र सत्ता हत्याए । 

२००७ सालको क्रान्तिले राणातन्त्रलाई विस्थापित गरे पनि षड्यन्त्र गरेर सत्तामा हाबी हुने प्रथाले निरन्तरता नै पायो ।  क्रान्तिपछि उदाएका नेताहरूलाई भिडाउँदै सत्ताको पकड बलियो तुल्याउन राजा त्रिभुवनले भारतीय सरकारको सहयोग लिए । 

तिनले जेठा छोरा महेन्द्रलाई आफ्नो उत्तराधिकारी हुनबाट वञ्चित गर्न उदीयमान राजनीतिक पात्रहरूको सहयोग खोजेका थिए ।

उता, राजा महेन्द्र त युवराजाधिराज हुँदादेखि नै षड्यन्त्र गरेर पितालाई नै पदच्युत गर्नेदेखि स्थापित हुँदै गरेका नेताहरूको राजनीतिक भविष्य समाप्त तुल्याउन अनेक षड्यन्त्र रचे । 

अन्ततोगत्वा तिनले जननिर्वाचित सरकारलाई सेना परिचालन गरेर विघटन नै गरिदिए । भर्खर पलाउँदै गरेको लोकतन्त्र ध्वस्त तुल्याउने प्रपञ्च रचे । यसै अभिप्रायमा तिनले आफ्नो नेतृत्वमा पञ्चायती प्रणाली सूत्रपात गरे ।

हेक्का होस्, आफ्नै नेतृत्वमा खडा गरिएको राजनीतिक प्रणालीमा आफैँले नियुक्त गरेका पात्रहरूलाई जुधाउने र मिलाउने कार्यलाई निरन्तरता दिए । कहिले तिनले सूर्यबहादुर थापालाई उचालेर डा. तुलसी गिरीलाई पन्छाउँथे । कहिले कीर्तिनिधि विष्टलाई उचालेर सूर्यबहादुर थापा पछार्थे । राजा वीरेन्द्रले पिताकै पदचिह्न पछ्याउने कार्य गरे ।
 
उदाहरणकै निमित्त तिनले घोषणा गरेको राष्ट्रिय जनमतसंग्रहलाई लिन सकिन्छ । सुधारसहितको पञ्चायत अथवा बहुदलीय व्यवस्था दुईमध्ये एक छान्ने अधिकार नेपाली जनतालाई दिएको तिनले घोषणा गरे । 

उक्त घोषणापश्चात् जसरी भए पनि पञ्चायतलाई विजयी तुल्याउने प्रपञ्च रचे, अनेक हतकन्डा प्रयोग गरे । 

जनमतसंग्रहमा पञ्चायतलाई जिताउन सक्ने व्यक्तित्व भएका जो कुनै समय तिनै राजाले जेल कोचेका सूर्यबहादुर थापालाई प्रधानमन्त्री पद सुम्पे । सूर्यबहादुर थापाले राजेच्छामुताबिक पञ्चायत पक्षलाई जिताए । राजाले तिनै सूर्यबहादुरलाई पञ्चायत विजयी भएको तेस्रो वर्ष नपुग्दै षड्यन्त्र गरेर निष्कासित गरे ।

पछिल्लो समय ज्ञानेन्द्र शाह कति षड्यन्त्रकारी थिए भन्ने त उनको प्रत्यक्ष शासनबाट प्रमाणित भइसकेको छ । दरबारद्वारा गरिएका षड्यन्त्रको एक उद्देश्य राजा सबैभन्दा शक्तिशाली छन् भन्ने जनविश्वास फैलाउनु थियो । 

तर, सोह्र वर्षयता राजा छैनन् । यद्यपि, सत्ता प्राप्तिका निमित्त हुने षड्यन्त्रका घटनामा कुनै फेरबदल आएको छैन । जसको प्रतिफल भनेको यस अवधिमा १३ सरकार गठन तथा विघटन भइसकेका छन् । 

यसपटक निर्वाचन परिणामपछि सत्तासाझेदारका विषयमा ‘गहन छलफल’ गर्दागर्दै ‘भात खाने’ बहानामा उछिट्टिएका संसद्को तेस्रो ठूलो दलका नेताले दोस्रो ठूलो तथा ‘कुनै पनि हालतमा पुराना दलसँग गठबन्धन’ नगर्ने प्रतिवद्धता जाहेर गर्ने दलको समर्थनमा प्रधानमन्त्री पद प्राप्त गरेको घोषणा गरे । प्रस्तावित ‘राष्ट्रिय सहमतिको सरकार’ गठन निर्णय ‘दही च्युरा’ खाँदाखाँदै भएको हो । 

प्रधानमन्त्री पद प्राप्त गर्न भात खानेले जुठो पुछ्न भ्याएका थिए या थिएनन् थाहा छैन । 

तर, ‘दही च्युरा खाने’ ले मध्यरात कुरेर घोषणा गरे, सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद्को सबैभन्दा ठूलो दलसँगको साझेदारीमा सरकारको नेतृत्व गर्ने । 

दही–च्युरा प्रकरणलाई धेरै पर्यवेक्षकले माथापच्चिसी गरेर खोतल्न थालेका छन् । चीनसँग हुन लागेको बीआरआई सहयोग आयोजना कार्यान्वयन तालिका निर्माण प्रक्रिया रोक्न दक्षिणी मित्रको इसारा । 

अमेरिकाले चिनियाँ गतिविधि रोक्न हस्तक्षेप तथा ईयूको संविधान संशोधनप्रतिको अभिरुचि आदि इत्यादि । आन्तरिक कारणहरूमा विषालु प्रकृतिका खड्गप्रसाद ओलीलाई पुष्पकमल दाहालले यताका केही दिनदेखि मुलायजा गर्न कन्जुस्याइँ गरे । 

उपप्रधान एवं गृहमन्त्री जो स्वयं सहकारी ठगी प्रकरणको अत्यन्त गह्रुँगो भारीले थिचिएका छन् । तिनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झैँ भ्रष्टाचारका फाइल खोल्न थालेको हुनाले भन्ने छ । 

पंक्तिकारको मतमा यो उथलपुथल एक अर्को षड्यन्त्रको परिणाम हो, जसको मूलकारण खड्गप्रसाद ओलीलाई प्रधानमन्त्री पद आसीन हुने चटारो तथा दही–च्युरा संवादका क्रममा पुष्पकमल दाहालले विगतका लगायत तात्कालिक वर्तमान कालखण्डमा भएका राष्ट्र हल्लाउने भ्रष्टाचार प्रकरणहरू गलैँचामुनि लुकाउने सामर्थ्यको अभाव भन्ने छ । 

'जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ' कथनलाई संस्मरण भने गर्दा प्रस्तावित गठबन्धन सरकारले पिँधमा पुगेको नेपाली नागरिकको नैराश्यताको भावनालाई हटाउँछ कि भन्ने शंकाको सुविधा मिल्छ । कता–कता आशा पलाउँछ । 

पहिलो त विगत १८ महिनादेखि जादु नम्बरका दाहालको सरकार सञ्चालन क्षमताको चरम अभाव हो । जसकाकारण देश आर्थिक राजनैतिक भुमरीमा फसेको छ । 

दोस्रो, डडेलधुराको रुवाखोलाबाट शिवपुरीको काखमा रहेको बूढानीलकण्ठ निवास बसाईं सरेका पाँचपटक प्रधानमन्त्री पद प्राप्त गरिसकेका कांग्रेस सभापति एवम् भावी प्रधानमन्त्रीका निमित्त आगामी साढे तीन वर्षको अवधि ऐतिहासिक अवसर हो । यो अन्तिम अवसरमा तिनले गर्ने कार्यले तिनको स्थान इतिहासमा सुरक्षित हुने अथवा मेटिने निर्णय हुनेछ । 

यदि, तिनको विगत (प्रथमपटक प्रधानमन्त्री हुनुपूर्व) लाई स्मरण गर्ने हो भने यसपटक तिनले सरकारको निगरानीको भूमिका खेल्दै गर्दा होस् अथवा सरकारको नेतृत्व गर्दा राष्ट्रवासीको हित तथा उन्नतिलाई मध्यनजर गरेर सरकार सञ्चालन कार्यमा अहम् भूमिका खेल्नेछन् । देसवासीका निमित्त तिनले धर्म नछाडेको खण्डमा राहत हुनेछ । विनाअवरोध आफ्नो उन्नति आफैँले गर्ने वातावरण सिर्जना गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu