काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेसी, म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका मोहम्मद सालाहसहित ११ खेलाडी ‘उत्कृष्ट वर्ष खेलाडी अवार्ड’का लागि छनोट भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ ।
तीन जनाबाहेक गत वर्षको अवार्ड विजेता बायर्न म्युनिखका रोबर्ट लेवनडोवस्की, म्यानचेस्टर सिटीका केभिन डी ब्रुयना र चेल्सीका एन‘गोलो कान्टे, जर्जिन्हो पनि शीर्ष ११ भित्र परेका छन् ।
त्यस्तै, रियाल मड्रिडका करिम बेन्जेमा, बोरुसिया डर्टमन्डका फरवार्ड इर्लिङ हालान्ड र पीएसजीका काइलियन एमबाप्पे र नेइमार पनि शीर्ष ११ को सूचीमा छन् ।
म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला, चेल्सीका थोमस टुचेल, टोटनहमका एन्टोनियो कोन्टे, जर्मनीका हान्सी फ्लिक, इटालीका रोबर्टो मान्सिनी, अर्जेन्टिनाका लियोनल स्कालोनी र एट्लेटिको मड्रिडका डिएगो सिमोनी उत्कृष्ट प्रशिक्षकको सूचीमा परेका छन् । मान्सिनीले इटालीलाई २०२० को युरोपियन च्याम्पियनसिपको उपाधि जिताएका थिए ।
लिभरपुलका एलिसन बेकर, चेल्सीका इडुवार्ड मेन्डी, लेस्टर सिटीका कास्पर स्चमेइकल, जर्मनी तथा बायर्नका म्यानुएल निउर र पीएसजी तथा इटालीका लियानलुइगी डोनारुमा उत्कृष्ट गोलकिपरका लागि मनोनयनमा परेका छन् । विजेताको घोषणा आउँदो जनवरी १७ तारिखमा हुनेछ ।