काठमाडौं । टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीमा रहेको नेपाली टोलीले बंगलादेशमा रहेको कृरा शिक्षा प्रतिष्ठानविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरज जितको छ । नेपाली महिला टोलीले तीन खेलको सिरिज २–१ ले जितेको हो ।
नेपालले तेस्रो तथा अन्तिम खेलमा प्रतिष्ठानलाई ७ विकेटले हराएको हो । कृरा शिक्षा प्रतिष्ठानको घरेलु मैदानमा सम्पन्न खेलमा प्रतिष्ठानले दिएको ५४ रनको सामान्य लक्ष्य १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि जोशीले अविजित १४ रन बनाइन् । त्यस्तै, सरिता मगरले अविजित १३ रन बनाउँदा काजल श्रेष्ठले १० बनाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कृरा शिक्षा प्रतिष्ठानले १६ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाएर ५३ रन बनाएको थियो । उसका लागि बोन्याले १७ रनको योगदान गरिन् । त्यसबाहेकका ब्याटरले दोहोरो रन जोड्न सकिनन् ।
बलिङतर्फ नेपालका लागि कप्तान रुबिना क्षेत्रीले चार विकेट लिइन् । उनले ३ ओभरमा मात्र ६ रन खर्चिन् । त्यस्तै करुना भण्डारीले २ विकेट लिइन् । त्यस्तै कविता कुँवर र सिता राना मगरले समान एक–एक विकेट लिइन् ।
नेपाली टिमकी कप्तान रुबिना ‘प्लेअर अफ दी सिरिज’ घोषित भइन् ।
सिरिजअन्तर्गत नेपालले पहिलो खेल २४ रनले जितेको थियो । तर, दोस्रो खेल ५ विकेटले हारेको थियो ।
नेपाली टिम बिहीबार नेपाल फर्किँदैछ । त्यसपछि नोभेम्बर १४ तारिखमा कतारससँग टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने प्रस्थान गर्ने तालिका रहेको छ । कतारमा नेपालले नोभेम्बर १६, १७ र १८ तारिखमा तीन टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।