काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले दसैँ अनावश्यक रूपमा हुने आशङ्का वा टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेतर्फ संवेदनशील रहन आग्रह गरेका छन् । दसैँको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति प्रतिवद्धता पनि जनाएका छन् ।
उनले चाडपर्वहरूले न्यायपालिकाको श्रीवृद्धिका लागि थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गर्ने छन् भन्ने कामना गरेका छन् ।
"चाडपर्वहरूमा अन्तर्निहित मान्यता र सन्देशअनुरूपको सोच, व्यवहार एवम् क्रियाशीलताबाट शान्त, समृद्ध तथा न्यायपूर्ण समाजको स्थापनामा समेत योगदान पुग्न सक्दछ । न्यायपालिकाको प्रमुखको हैसियतले नेपालको संविधानले आत्मसात् गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिबद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढतासमेत व्यक्त गर्दछु," उनले शुभकामना सन्देशमा भनेका छन् ।