नेपालमा हिरो र हिरोइन शब्द जसरी प्रयोग भइरहेको छ, यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छ । हामी हिरो र हिरोइन भनेर जसरी बुझिरहेका छौँ, यो नै गलत छ । वास्तवमा हिरो र हिरोइन भन्ने नै हुँदैन । चलचित्रमा काम गर्नेहरू कलाकार हुन् । राम्रो कलाकार, अब्बल कलाकार, राम्रो स्टन्ट दिने कलाकार हुन्छन् । कोही स्टार हुन्छन् अर्थात् चर्चाको शिखरमा हुन्छन् । कोही निकै धेरै ट्यालेन्ट हुन्छन् तर पनि उनीहरू मिडियामा खासै धेरै छाउँदैनन् ।
हिरो÷हिरोइन भनेको त कथाभित्रका पात्र हुन् । हाम्रो न्यारेटिभ नै गलत छ । हामी उनीहरूलाई हिरो/हिरोइनको आँखाबाट हेर्छौँ । वास्तवमा हामीले परिवर्तन गर्ने न्यारेटिभ नै यही हो । उनीहरू हाम्रा कलाकार हुन् । म निर्देशक भनेजस्तै उनीहरू कलाकार हुन् । कलाकार नायक वा नायिका अथवा महानायक वा महानायिका हुँदैनन् । नायक भनेको त्यो हो जसले नायकत्वलाई प्रतिनिधित्त्व गर्छ । नायकले असामान्य अवस्थामा समस्या समाधानका लागि काम गर्छ । परिवर्तन ल्याउन जसले संघर्ष गरेको छ वा गर्न सक्छ त्यो नायक हो । उदाहरणका लागि नेपालका लागि सन्दुक रुइत नायक हुन् । अनुराधा कोइराला नायिका हुन् । सपना रोकामगर नायिका हुन् । किनभने, उनीहरूले समस्या समाधानका लागि काम गरेका छन् ।
जसले परिवर्तनका लागि काम गर्छ, संघर्ष गर्छ र समाजमा परिवर्तनको ढोका खोल्छ ऊ नै नायक/नायिका हो । तर, हामी गलत न्यारेटिभको जगमा बसेर बोलिरहेका छौँ । गलत बुझिरहेका छौँ । कलाकारलाई नायक र नायिका भनिरहेका छौँ । हामी त नायक/नायिका र अन्य कलाकार भनिरहेका छौँ । यसले हामी कति गलत शब्दावली प्रयोग गरिरहेका छौँ भन्ने स्पष्ट पार्छ । न्यारेटिभमा नेपाली पत्रकारिता अहिलेसम्म अल्झिरहेको छ । यो गलत कथ्यमा हामी रुमलिरहेको उदाहरण हो ।
जब हामी कलाकारलाई नायक/नायिका मान्छौँ र कलाकारलाई गौण ठान्छौँ, यही नै समस्याको जग हो । जब कलाकारलाई हामी गौण मान्छौँ, त्यहीँबाट सिनेमाको कथा कमजोर हुन्छ । जहाँ पात्रलाई प्रमुख मानेर काम गरिन्छ, त्यस्तो चलचित्रको कथा राम्रो हुन्छ । पात्रलाई नायक मान्छौँ भने त्यो चलचित्र राम्रो हुन्छ । जबसम्म व्यक्तिलाई हामी नायक/नायिका भन्छौँ भने हाम्रो चलचित्र कसरी राम्रो हुन्छ ? अभिनय गर्ने व्यक्ति अभिनेता तथा अभिनेत्री हुन्छ । त्यसैले सबैभन्दा पहिला न्यारेटिभ नै परिवर्तन गर्नुपर्छ ।
हामी ठिक उल्टो बाटो हिँडिरहेका छौँ । हामी जुन बाटो हिँडिरहेका छौँ, जुन बुझाइ र न्यारेटिभलाई आत्मसात् गरिरहेका छौँ, यसमा परिवर्तन नभएसम्म हाम्रो चलचित्रको स्वरूप नै परिवर्तन हुँदैन । समस्याको जड नै नायक र नायिका हुनुमा हो ।
राजेश हमाल वा अर्को कुनै व्यक्तिलाई लामो समयसम्म काम गरेको कलाकार भनेर सम्मान गर्नुमा समस्या छैन । धेरै फिल्ममा अभिनय गरेको कलाकार भनेर सम्मान गर्दा आपत्ति हुँदैन । दयाहाङ राई र सौगात मल्ललाई राम्रो अभिनय गर्ने मल्टि ट्यालेन्टेड कलाकार भनेर भन्न सकिन्छ । यसो भनियो भने त्यो उहाँहरूको सीप र क्षमताको सम्मान हो ।
तर, नायक/नायिका त कथामा हुन्छ । यो न्यारेटिभसँग नेपाली चलचित्रको ठूलो समस्या छ । यसलाई तत्काल परिवर्तनको बाटो देखाउँदै त्यसतर्फ हिँडाउनु अहिलेको आवश्यकता हो ।
जसले नायक/नायिका भनेर बहस गरिरहेको छ, यो बहस गर्ने समूह सिनेमा बुझेको समूह होइन । सिनेमाको साहित्य बुझेको समूहले यो बहस गरिरहेको छैन । सिनेमाको साहित्य र भाषा जसले बुझेको छ उसले चलचित्रमा नायक र नायिका शब्दको प्रयोग गर्दै गर्दैन ।
यसले हामी सिनेमाप्रतिको बुझाइलाई लिएर कुन धरातलमा छौँ भन्ने स्पष्ट पारेको छ । कलाकार र पात्र छुट्ट्याउन नसकेकै कारण नेपाली चलचित्रको लामो इतिहास भए पनि अपेक्षित प्रगति हुनसकेको छैन । पात्र, कथा, कथ्य, द्वन्द्व नेपाली चलचित्रले प्रयोग गर्न थालेको भर्खर हो । दशकौँसम्म हामी सिनेमाको अज्ञानताभित्र रुमलियौँ । अहिले समाजले प्रयोग गर्ने शब्द र शब्दावली नै हाम्रो चलचित्रप्रतिको अज्ञानताको उपज हो ।
जो म नायक हुँ भन्छ, वास्तवमा ऊ नेपाली चलचित्रका लागि खलनायक हो । ऊ त कलाकार हो । उसले आफूलाई चिनाउनुपर्दा कलाकार भनेर चिनाउनुपर्छ । म सक्षम र दक्ष कलाकार हुँ भनेर आफूलाई चिनाउनुपर्नेमा नायक/नायिका हुँ भनेर चमकधमक पूर्ण व्यवहार गरिरहेको छ । र, यसमा रमाइरहेको छ भने यही नै उसको अज्ञानता हो । यही अज्ञानताको प्रतिफल हो नेपाली चलचित्र र यसको गुणस्तर । जसरी अहिले बहस भइरहेको छ, यसलाई चिर्ने भनेको ज्ञानले मात्रै हो । जुन बहस भइरहेको छ, यसको न कुनै अर्थ छ न यसले चलचित्र क्षेत्रलाई टेवा नै पुर्याउँछ ।
जुन दिन सिनेमाको ब्याकरण, संरचना र यसको भाषामा बहस सुरु हुन्छ त्यस दिन बल्ल नेपाली सिनेमाको विकास हुन्छ । त्यो समय अहिले भइरहेको को नायक र महानायक भन्ने बहस नै हास्यास्पद लाग्छ । हामी कस्तो अज्ञानतामा रमाइरहेका रहेछौँ भन्ने कुराको बोध हुन्छ ।
अहिले अग्रज मानिएको पुस्ताले जे बहस गरिरहेको छ, त्यसको शृंखला अहिलेको पुस्तामा पनि पुस्तातरण हुन थालेको छ । यो शुभसंकेत होइन । तर, स्टार भने कोही व्यक्ति हुनसक्छ । जसको समाजले चर्चा गर्छ ऊ स्टार हो । कोही पपुलर छ भने उसलाई मोस्ट पपुलर वा स्टार भन्न सकिन्छ । तर, यहाँ समस्या कथाभित्रको चरित्रलाई बाहिर ल्याएर सम्बोधन गर्ने र त्यही आत्मरतिमा रमाउनु हो । यो आत्मरति अज्ञानता हो । यो अज्ञानताको शृंखला अगाडि बढिरहेको छ ।
नेपाली चलचित्रमा ज्ञानमाथि लगानी छैन । ज्ञान हासिलका लागि गम्भीरता छैन । अज्ञानतामै रुमलिरहेका छौँ । यही अज्ञानताको फाइदा नेपाली सञ्चारमाध्यमले लिइरहेको छ । मिडियाले गलत शब्द प्रयोग गरिरहेका छन् । गलत न्यारेटिभ प्रयोग भइरहेको छ भन्न सक्नुपर्छ । चलचित्रको भाषाभित्र नपर्ने शब्द व्यक्तिलाई गुथाइरहेका छौ भनेर भन्न र प्रश्न गर्न सक्नुपर्छ । सिनेमाभित्रको शब्दलाई गलत ठाउँमा प्रयोग गरिरहेका छौ भनेर मिडियाले प्रश्न गर्नुपर्छ । तर, मिडिया कसले कसलाई महानायक र महानायिका दियो÷दिएन भनेर बहस गरिरहेका छन् । यसमा मिडियाको स्वार्थ छ । किनभने, यसमा भ्युअर्स छ ।
यी सबै कुरा अज्ञानताको उपज भएकाले सबैभन्दा पहिला चलचित्रकर्मीहरूले ज्ञानको खोजी गर्नुपर्छ । ज्ञानको विकास अथवा अध्ययनशील हुनुपर्छ । अन्यथा, यो समस्या रहिरहनेछ । यसका लागि सम्बन्धित शिक्षण संस्था आवश्यक हुन्छ । बौद्धिक वर्ग र पत्रकारहरूले यसलाई सच्याउनुपर्छ । यो भाष्य नसच्चाएसम्म कलाकार र पात्रबीचको फरक चलचित्रकर्मी र समाजले छुट्ट्याउन सक्दैन । तर, चलचित्र क्षेत्र अहिलेकै उल्झनमा रहिरहन्छ ।
(मनोज पण्डितसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीमा आधारित ।)