काठमाडौं । टिम जतिसुकै बलियो होस् । कुनै पनि प्रतियोगितामा कुनै पनि टिमलाई पहिलो खेल निकै कठिन हुनेगर्छ । माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिपमा सबभन्दा सफल टिम भारतले आज बंगलादेशविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्दैछ ।
भारतका प्रशिक्षक इगोर स्टिमाचले पनि बंगलादेशविरुद्धको खेल सहज नहुने बताएका छन् । बंगलादेशविरुद्धको खेलअघि प्रशिक्षक स्टिमाचले भने, “बंगलादेश परिचित प्रतिद्वन्द्वी हो । हामी उनीहरुलाई सम्मान गर्छौं । बंगलादेशलाईमात्र होइन । हामी प्रतियोगिताका सबै टिमलाई सम्मान गर्नेछौं । सबैको जित्ने सम्भावना समान छ । र प्रतियोगितामा पहिलो खेल सधैं कठिन हुनेछ ।”
भारतले सबभन्दा धेरै सातपटक प्रतियोगिताको उपाधि जितेको छ । बंगलादेशले २००३ मा साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । बंगलादेशको यो दोस्रो खेल हो । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो । बंगलादेशले पेनाल्टी अवसरमा गोल गर्दै तीन अंक जोडेको थियो । तर, श्रीलंकाका प्रशिक्षक आमिर एलगिचले रेफ्रीको निर्णयबारे प्रश्न गरेका थिए । भारतका प्रशिक्षक स्टिमाचले पनि श्रीलंकाका एलगिचले जस्तै रेफ्रीको निर्णय सही नभएको टिप्पणी गरेका थिए ।
तर, बंगलादेशका प्रशिक्षक ओस्कार ब्रुजनले साफ च्याम्पियनसिपमा आफ्नो बलियो टोली भएको बताएका छन् । उनले भारतविरुद्धको खेलका लागि आफ्ना सबै खेलाडी तयार रहेको बताएका छन् । भारतका कप्तान सुनील क्षेत्रीले देशका लागि खेल्ने प्रत्येक खेल जित्नका लागि खेल्ने बताए । उनले बंगलादेश सहज टिम नभए पनि आफूहरु जित्नकै लागि खेल्ने बताए ।
“मैले देशका लागि १०० भन्दा धेरैै खेल खेलिसके । अर्को १०० खेल खेल्ने अवस्था छैन । र, अब मैले देशका लागि खेल्ने कुनै पनि खेल हार्न चाहन्न,” १६ वर्षदेखी भारतको राष्ट्रिय टिममा भएका क्षेत्रीले भने, “हामी आफ्नो गल्ति सक्दो कम गर्नेछौं । हामी सतप्रतिशत दिएर खेल्छौं । आज गल्ति गर्ने छुट हामीलाई छैन ।”