दाङ । दाङ प्रहरीले छुट्टाछुट्टै दुईवटा ‘अप्रेसन’बाट कस्तुरीको बिना र तीनवटा चितुवाको छालासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय घोराहीमा पत्रकार सम्मेलनमा एसपी सुरेश काफ्लेले घोराही उपमहानगरपालिका–१५ शहिद गेट स्थित होटेल टुडे प्लाजाबाट कस्तुरीको बिनासहित दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा घोराही ७ का ३३ वर्षीय मोहन बुढा र प्युठानको प्युठान नगरपालिका–१ का २२ वर्षीय मदन केसी छन् ।
गोप्य सूचनाको आधारमा आइतबार बेलुका चार बजेतिर होटेलमा बसिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद कस्तुरीको बिनाको तौल ३१ ग्राम २०० मिलिग्राम रहेको छ ।
यसैबीच, प्रहरीले दाङको लमही नगरपालिका–९ बाट तीन थान संरक्षित तथा लोपउन्मुख वन्यजन्तु चितुवाको छालासहित थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ का २० वर्षीय बिमल औजी, सोही ठाउँका २८ वर्षीय प्रदीपकुमार बिक र २० वर्षकै हेमन्त औजी रहेका छन् ।
उनीहरूलाई शनिबार साँझ अमेलियास्थित चेक पोस्टबाट पक्राउ गरिएको हो ।