site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छविलालको बयान : रवि र जीबीले माइन्युटदेखि सहकारीको निवेदन र भौचरमा किर्ते गरे

काठमाडौं । सहकारी ठगीमा थुनामा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीले जीबी राई र रवि लामिछानेले सञ्चालकको माइन्युटदेखि नै किर्ते गर्ने गरेको खुलाएका छन् । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा छविलालले सेयर हस्तान्तरण गरेर आफू अमेरिका गएका बखत माइन्युटमा किर्ते हस्ताक्षर गरेको उल्लेख गरेका छन् ।

लगानी नथप्ने र घर धितो नराख्ने अडानपछि रवि समेतको आग्रहमा आफू सेयर हस्तान्तरण गरेर तीन महिनामै बाहिरिए पनि प्रक्रिया बाँकी रहेको भन्दै आफूलाई सात महिनासम्म कम्पनीका कतिपय गतिविधिमा संलग्न गरिएको उनको बयानमा उल्लेख छ । आफू अमेरिका गएका बखत कम्पनीको सदस्यको रूपमा किर्ते हस्ताक्षर भएको उनको बयानमा उल्लेख छ ।

“पछि अमेरिकाबाट फर्की नेपाल आएपश्चात पनि प्रतिवादी गितेन्द्रबाबु राई (जीबी)ले उक्त कम्पनीमा आफ्नो दायित्व यथावत् नै राखेको कुरा थाहा पाई सोबारे निजसँग सोधखोज गर्दा मलाई निजले तपाईंको केही कागजपत्रहरूमा हस्ताक्षर छुटेको छ भनि देखाई पुनः माइन्युट लगायतका कागजातहरूमा सहीछाप गर्न लगाएकोले मैले आफ्नो सहीछाप रहेको कम्पनीका कागजातहरू हेर्दा मेरो अनुपस्थितिमा प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेले मिति २०७७।०७।०४ गते कम्पनीमा बसेको बैठकमा गरिएको निर्णय माइन्युट लगायतका कागजातहरूमा मेरो कीर्ते हस्ताक्षर गरी कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यमा थप गर्ने निर्णय गरेको कुरा थाहा पाई निजहरूको गलत नियत बुझी उक्त दिनदेखि नै आफू निजहरूसँग बसी कम्पनीमा काम गर्नु हुँदैन भन्ने ठानी मैले निजहरूसँग सहकार्य गर्न छाडेको हुँ,” जोशीले बयानमा भनेका छन् ।

त्यसबाहेक आफूले सेयर पूर्ण रूपमा हस्तान्तरण गरिसकेपछि पनि सहकारीको ऋण आफ्नो नाममा लिएको कुरा उनले प्रहरीले लेजर देखाएपछि मात्र थाहा पाएको उल्लेख गरेका छन् ।

“मेरो नाउँ राखी खाता खोली कीर्ते कार्य गर्ने व्यक्ति पहिचान गरी आवश्यक कारबाही गर्न समेत माग गर्दछु,” छविले बयानमा भनेका छन् । उनले सहकारीको सफ्टवेयरबाट प्राप्त हुन आएको गितेन्द्रबाबु राईले विभिन्न क्लाइन्ट कोड प्रयोगरी एकपटक तीन करोड ४२ लाख ९८ हजार, भौचरमा उल्लेख भएको एक करोड १८ लाख २८ हजार, एक करोड ५० लाख, ५० लाख, ४० लाख र २५ लाख गरी गोरखा मिडियामा जम्मा गरेको पैसा जीबी र रविले नै लगेको हुनसक्ने छविलालको बयानमा उल्लेख छ ।

“गोरखा मिडिया नेटवर्क प्रा.लि. बाट छोटो समयमा आफू प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेको गलत नियत बुझी कम्पनी छाडी गएको हुँदा मलाई सो सम्बन्धमा कुनै चासो हुने कुरा रहेन,” छविलालले सहकारीको ऋण लिएको विषयमा बयानमा भनेका छन् । उनले आफूलाई थप लगानी नगर्ने भए हट्न भनेका रवि लामिछाने र जीबी राईलाई नै रकमको विषयमा जानकारी हुनुपर्ने बयानमा उल्लेख गरेका छन् । उनले आफ्ना नाममा जम्मा गरिएको पैसाका विषयमा समेत आफूलाई कुनै जानकारी नभएको उल्लेख गरेका छन् ।

“रकमको सम्बन्धमा निजै गितेन्द्रबाबु राई र रवि लामिछानेलाई नै थाहा हुनुपर्दछ” जोशीले बयानमा भनेका छन्, “मिसिलमा संलग्न निम्न नम्बरको चेकहरूबाट विभिन्न मिति र समयमा प्रतिवादी गितेन्द्र राई र रवि लामिछानेले आ–आफ्नो हस्ताक्षर गरी जम्मा नगद रु.९३,०६,६६० सहकारीको खातामा जम्मा गरिदिएको कुरा खुल्न आएको हुँदा गोरखा मिडियामा गैह्रकानुनीपूर्वक सहकारीबाट आएका रकमहरू निजै गितेन्द्रबाबु राई र रवि लामिछानेले नै लिएको हुनुपर्दछ ।”

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro