site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजा महेन्द्र र रत्नको ‘डेटिङ स्पट’ थियो जय नेपाल सिनेमा हल
SkywellSkywell

काठमाडौं । ५० जना कर्मचारी, महिनाको ३० लाख रुपैयाँ सञ्चालन खर्च तर हलमा वर्षौँसम्म ताला झुन्ड्याएर राख्नुपरेपछि वि.सं. २००९ सालमा काठमाडौंको मुटुमा निर्माण भएको ‘जय नेपाल’ सिनेमा हल बन्द भयो । सञ्चालन खर्च धान्न नसकेपछि सधैँका लागि यो सिनेमा हल बन्द गर्ने निर्णयमा सञ्चालक पुगे ।

काठमाडौंका नागरिकलाई सिनेमा हेर्ने लत बसाउनेमध्येको एक यो त्यही सिनेमा हल हो, जसलाई तत्कालीन राजा महेन्द्र र रत्नराज्यलक्ष्मीले ‘डेटिङ स्पट’ बनाएका थिए ।

पहिलो श्रीमती इन्द्रराज्यलक्ष्मी शाहको निधन भएपछि उनकी बहिनी रत्नसँग नजिकिएका महेन्द्र उनलाई लिएर जय नेपाल हल पुग्थे । राजा आउने भएपछि पहिला नै खबर हुन्थ्यो । सुरक्षा व्यवस्था कडा पारिन्थ्यो । दरबारले भनेको समयका लागि ‘स्पेसल सो’ राखिन्थ्यो ।

KFC Island Ad
NIC Asia

“लाखौँ पर्ने सेन्ट्रल एसी थियो । १५ हजार पर्ने सिट थिए । डेढ वर्षदेखि बन्द हुँदा खिया लागेर सडे । थ्री फेजको बिजुलीको लाइन थियो,” जय नेपाल सिनेमा हलका सञ्चालक निर्मल प्रधान भन्छन् ।

जय नेपाल सिनेमा हल व्यवसाय मात्रै थिएन । यसमा पूर्वराजाहरूको सम्झना पनि जोडिएको छ । “महेन्द्र राजाको पहिलो श्रीमती बितेपछि अहिलेको मुमाबडामहारानीसँग उहाँ हाम्रो जय नेपाल हलमा सिनेमा हेर्न आएपछि लभ चल्यो । र, पछि विवाह भयो,” निर्मल भन्छन्, “राजा महेन्द्र जय नेपाल हलमा सिनेमा हेर्न आउँदा राजा महेन्द्रले लगाएको अत्तर दरबारमार्गसम्म मगमग बास्ना आउँथ्यो । जय नेपाल हल त एक हप्तासम्म मगमग बास्ना आउँथ्यो ।”

Royal Enfield Island Ad

महेन्द्रसँग दरबारका सदस्य र भारदारहरूसँगै सिनेमा हेर्न आउँथे ।

पछि भने दरबारमा नै सिनेमा हल बनाएर प्रोजेक्टरको व्यवस्था गरेपछि राजाहरू हल आउन छोडे । तर, जय नेपालमा आएका चलचित्रहरू निर्मल नै दरबार पठाइदिन्थे । तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्र भने जय नेपालबाट सिनेमा मगाएर दरबारमै बसेर हेर्थे ।

“परिवार बसेर सिनेमा हेर्ने भनेपछि दरबारबाट मान्छेहरू आउँथे । म फिल्म देखाइदिने प्राविधिकसहित फिल्म पठाइदिन्थेँ,” निर्मल भन्छन्, “त्यस्तो हल बन्द गर्नुपर्‍यो । दर्शकले हेर्ने चलचित्र हो, हल हेर्न आउने होइन । सिनेमा नभएपछि, बिजनेस नै नभएपछि हल बन्द गर्नुपर्‍यो ।”

जय नेपाल सिनेमा हलमा दैनिक चार शो चलाएर हाउसफुल हुँदा दैनिक १२ लाखसम्म पैसा कलेक्सन हुने गरेको निर्मल सुनाउँछन् ।

भावनात्मक रूपमा समेत जोडिएको हल बन्द गर्नुपर्‍यो । तर पनि निर्मल हारेका छैनन् । कोरोना संक्रमणको त्रास कहिले सकिएला र नयाँ मोडालिटीमा नयाँ हल ल्याउने वातावरण बन्ला भनेर बसेका छन् । “समय र परिस्थितिले साथ दियो भने जय नेपाल हल भएको ठाउँमा महल बनाएर टपमा सिनेमा हल बनाउने हाम्रो योजना छ,” उनी भन्छन्, “समयले साथ दियो भने पब्लिकमा लगेर दुई–चार अर्ब खर्च गरेर सुपरमार्केट र सिनेमा हल बनाउने योजनामा छु ।”

काठमाडौंको मुटु दरबारमार्गमा ६० आना जग्गामा रहेको सिनेमा हल केही महिनाअगाडि सधैँका लागि बन्द भएको थियो ।

कोरोनाका कारण बन्द हुने जय नेपाल सिनेमा हल एक मात्रै हल होइन । काठमाडौंमा मात्रै गोपीकृष्ण हलका चारवटा हल बन्द भए । पुतलीसडकमा रहेको कुमारी हल बन्द भइसकेको छ । बालाजुको गंगा चलचित्र मन्दिर र बौद्ध, टुसालको सिद्धार्थ चलचित्र मन्दिर बन्द भइसकेका छन् ।

चलचित्र संघका अनुसार हालसम्म नेपालभर २८ वटा चलचित्र घर बन्द भइसकेका छन् । यो बन्द हुने क्रम अझै रहने संघको भनाइ छ । “सरकारले कुनै पनि कार्यक्रम नल्याउने र कोभिड संक्रमणको त्रास यस्तै रहने हो भने सिनेमा हल बन्द हुनेक्रम अझै बन्द हुँदैन,” संघका महासचिव अशोक शर्मा भन्छन्, “कम्तीमा ४० वटा सिनेमा हल बन्द हुन्छन् ।” बिनाआम्दानी लामो समय सिनेमा हल राखिरहनुपर्दा सञ्चालकलाई घाटा हुने र कहिलेसम्म यस्तै अवस्था रहनेछ भन्ने निश्चित नहुँदा सिनेमा हलहरू धमाधम बन्द हुन थालेको उनको भनाइ छ ।

काठमाडौंको कुमारी हल बन्द भएपछि त्यहाँ अब कलेज सञ्चालन हुँदै छ । बन्द भएका हलहरू कतै घडेरीमा रूपमा बिक्री भइरहेका छन् भने कतै होटेल खोलिएको छ । अनिश्चितता बढ्दै जाँदा हलको विकल्प हल सञ्चालकले खोज्न थालेका हुन् ।

२८ सिनेमा हल बन्द हुँदा कति भयो घाटा ?
एउटा सिनेमा हल बनाउन औसतमा ६ करोड रुपैयाँ लाग्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउँछन् । एउटा सिनेमा हलमा ६ करोड लगानी हुँदा २८ वटा हलको लागत एक अर्ब ६८ करोड रुपैयाँ हुन्छ । यो लागत तथ्यांकानुसार हालसम्म एक अर्ब ६८ करोड रुपैयाँका हल बन्द भइसकेका छन् ।

कोरोना संक्रमण फैलिनुअगाडि नेपालमा १९३ वटा स्क्रिन थिए । १६ महिनादेखि यी हल बन्द छन् ।

२८ वटा सिनेमा हल बन्द हुँदा अब रिलिज हुने चलचित्रलाई ठूलो घाटा बेहोर्नुपर्नेछ । काठमाडौंकै कुमारी, जय नेपाल, गोपीकृष्णकै चारवटा हल बन्द हुनु मेकरका लागि पनि ठूलो घाटा हो ।

काठमाडौंमा मात्रै निर्मातालाई अब कति हुनेछ घाटा ?
सिनेमा घर बन्द हुनु हल सञ्चालकका लागि मात्रै होइन, निर्माताका लागि पनि ठूलो नोक्सानी हो । काठमाडौंको मुटुमै रहेर ब्रान्ड बनिसकेका जय नेपाल, कुमारी र गोपीकृष्ण हल बन्द हुँदा निर्माताहरूलाई ठूलो नोक्सानी हुने निर्देशक तथा कलाकारसमेत रहेका महासचिव शर्माको भनाइ छ ।

उनका अनुसार लगानी उठाएर केही आम्दानी गरेका चलचित्रका निर्मातालाई गोपीका गोपी, कृष्ण, राधा र मीरा हलबाट २०–२२ लाख, कुमारीबाट १५–१६ लाख र जय नेपालबाट ५–६ लाख रुपैयाँ प्रदर्शक (सिनेमा हल) र वितरकको सेयर कटाएर निर्माताको हात पर्थ्यो ।

ब्लकबस्टर चलचित्रबाट अझ धेरै रकम यी हलबाट निर्माताको खातामा पुग्थ्यो । “मसँग रहेको रेकर्डअनुसार चलचित्र छक्का पञ्जाबाट निर्मातालाई गोपीका बन्द भएका हलबाट करिब ५० लाख, कुमारीबाट झन्डै २५ लाख र जय नेपाल हलबाट करिब २२ लाख रुपैयाँ गएको थियो,”  उनी भन्छन्, “यो भनेको ब्लकबस्टर चलचित्रका निर्मातालाई करिब एक करोड घाटा हो ।”

निर्माताको हातमा यी हलबाट एक करोड पुग्दा ग्रस कलेक्सन कम्तीमा त्यसको तीन गुणा बढी हुन्छ ।

निर्देशक दीपेन्द्र के खनाल काठमाडौंको मुटुमा रहेका ब्रान्ड नेम बनिसकेका हलहरू बन्द हुनु मेकरका लागि सुखद नभएको बताउँछन् । दर्शकले मन पराएर एक/डेढ महिना चलेका चलचित्रलाई यी हलबाट औसतमा ५०–६० लाख रुपैयाँ आउने गरेको खनालको भनाइ छ ।

“जय नेपाल र कुमारी हलका दर्शक नै फरक थिए । होहल्ला गर्न मन नपराउने शान्त वातावरणमा चलचित्र हेर्न आउने स्वभावका दर्शकहरू आउने हल हुन् यी,”  खनाल भन्छन्, “यी हलमा आउने दर्शक अब कहाँ जान्छन्, बिग मुभिजमा जाने हुन् । तर, त्यहाँको सिट क्षमताले राम्रो चलचित्रलाई धान्दैन ।”

सहरका मुटुमा रहेका हलहरू बन्द हुँदा त्यसको असर आगामी दिनमा देखिने उनी बताउँछन् । यी हलका ठाउँमा अरू हल निर्माण नभएसम्म रिलिज हुने चलचित्रले ठूलो घाटा बेहोर्नुपर्नेछ ।

प्रतिशो सात हजार सिट गुमाउँदै निर्माता
अबको केही महिनामा कोरोनाको त्रास साम्य भएर सिनेमा हल खुले भने निर्माताहरूले प्रतिशो सात हजार सिट गुमाउनेछन् । २८ वटा स्क्रिनमा औसतमा २५० सिट हुँदा सात हजार सिट हुन्छन् । सात हजार सिटमा साढे १७ लाख रुपैयाँका टिकट बिक्रीमा रहन्छन् । यसको ५० प्रतिशत टिकट बिक्री हुँदा पनि करिब नौ लाख रुपैयाँ कलेक्सन घट्छ । तत्काल रिलिज हुने सिनेमाले यो घाटा बेहोर्नुपर्नेछ ।

१६ महिना हल बन्द हुँदा कति भयो चलचित्र क्षेत्रलाई घाटा ?
देशभर रहेका १९३ हल ०७६ चैतबाट बन्द छन् । बीचको केही समय ५० प्रतिशत अकुपेन्सीमा हल खोल्ने अनुमति पाए पनि धेरै सिनेमा हल खुलेनन् । यकिन तथ्यांक त सरकारसँग पनि छैन । तर, बन्द भएका सिनेमा हलले बेहोरिरहेको घाटा, बन्द भएका २८ वटा सिनेमा हलमा भएको लगानी र यो क्षेत्रमा रहेका श्रमिकले रोजगारी गुमाउँदा १६ महिनामा करिब १७ अर्ब ७१ करोड रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।

एक अर्बभन्दा धेरै लगानी ‘फ्रिज’ भएर बसेको छ भने सिनेमा हलमा रहेको १२ अर्ब लगानी जोखिममा छ ।

नेपालका १९३ सिनेमा हलमा प्रतिशो ७२ हजार सिट बिक्रीका लागि खुला हुन्छन् । प्रतिसिट औसत २०० रुपैयाँ मूल्य हुँदा एक शोमा एक करोड ४४ लाख रुपैयाँ बराबरका टिकट बिक्रीका लागि खुला हुन्छन् ।

दिनको एक शोको मात्रै हिसाब गर्दा प्रतिमहिना ४३ करोड २० लाखका टिकट बिक्रीमा रहन्छन् । प्रतिमहिना ४३ करोड २० लाखका सिट बिक्री हुँदा १६ महिनामा ६ अर्ब ९१ करोड २० लाखका टिकट बिक्रीमा हुन्छन् ।

दिनको तीन शोका दरले चलचित्र चल्दा १६ महिनामा २० अर्ब ७३ करोड ६० लाखका टिकट बिक्रीमा रहन्थे । “हल बन्द हुँदा यी सिट रन हुन नपाउनु भनेको घाटा नै हो,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल भन्छन् ।

औसतमा दैनिक ५० प्रतिशत टिकट बिक्री हुने वितरक तथा निर्माता अशोक शर्मा बताउँछन् । “५० प्रतिशत अकुपेन्सी हुँदा यो १६ महिनामा करिब १० अर्ब ३६ करोड ८० लाखका टिकट बिक्री हुन्थ्यो,” उनले भने । उनका अनुसार १६ महिनामा सवा १० अर्बभन्दा धेरै रकम चलचित्र क्षेत्रले टिकटबाट मात्रै गुमाइसकेको छ ।

प्रतिहल दैनिक खर्च औसतमा २५ हजार हुँदा १९३ वटा हल बन्द रहँदा हालसम्म दुई अर्ब ३१ करोड ६० लाख रुपैयाँ सिनेमा हलले थप गुमाउनुपरेको छ ।

६४ वटा चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् । यी चलचित्रको रकम फ्रिज भएको छ । अधिकांश चलचित्र कतै न कतैबाट ‘लोन’ लिएर बनेका हुँदा निर्माताहरूले ब्याज तिरेर बसिरहेका छन् । प्रतिचलचित्र औसतमा डेढ करोड रुपैयाँ लागत हुँदा ९६ करोड रुपैयाँका चलचित्र अलपत्र परेका छन् ।

यता, चलचित्र निर्माता संघले भने कोरोना संक्रमणको जोखिमका कारण चलचित्र रिलिज हुन नपाउँदा एक अर्ब ७५ करोड रुपैयाँ लगानी फ्रिज भएको दाबी गरेको छ ।

८२ वटा चलचित्रमा एक अर्ब ७५ करोड रुपैयाँ लगानी भएको संघका अध्यक्ष आकाश अधिकारीले बताएका छन् । उनका अनुसार ३५ वटा निर्माण सम्पन्न भइसकेका र पोस्ट प्रोडक्सनमा रहेका २२ तथा केही प्रतिशत छायांकन गर्दागर्दै रोकिएका २५ वटा चलचित्र गरी ८२ सिनेमामा लागानी भइसकेको छ ।

चलचित्र क्षेत्रमा रहेका १४ हजार श्रमिक १६ महिनादेखि बेरोजगार छन् । मासिक १५ हजार रुपैयाँ उनीहरूको तलब हुँदा तीन अर्ब ३६ करोड रुपैयाँ चलचित्र क्षेत्रका मजदुरले गुमाउनुपरेको बोर्ड अध्यक्ष दाहाल बताउँछन् ।

चलचित्र संघका अनुसार औसतमा एउटा सिनेमा हलको लागत ६ करोड हुन्छ । त्यसानुसार १९३ वटा हलमा ११ अर्ब ५८ करोड रुपैयाँ लगानी छ । १६ महिनादेखि यी हल बन्द हुँदा यो लगानी नै जोखिममा छ । २८ वटा सिनेमा हल बन्द हुँदा एक अर्ब ६८ करोड रुपैयाँ लगानीका हल बन्द भइसकेका छन् ।

सिनेमा हल बन्द हुँदा चलचित्र विकास बोर्डको आम्दानी शून्यमा झरेको छ । विदेशी भाषाका चलचित्र रिलिजबाट आएको ‘ट्याक्स’को केही प्रतिशत रकम नै बोर्डको आम्दानीको मुख्य स्रोत हो ।

बोर्ड अध्यक्ष दाहालका अनुसार बोर्डले वार्षिक सातदेखि १४ करोड रुपैयाँ आम्दानी गर्दै आएको थियो । तर, लकडाउनयता बोर्डको आम्दानी शून्य छ ।

सरकारसँग माग, होला त सम्बोधन ?
सरकारले कोरोना अतिप्रभावित क्षेत्रलाई सम्बोधन गरे पनि आफूहरूलाई बेवास्ता गरेको चलचित्रकर्मीहरूले गुनासो गर्दै आएका छन् ।

अधिकांश चलचित्रकर्मीले बजेटले चलचित्र क्षेत्रलाई अनुदान उपलब्ध नगराएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले यही असन्तुष्टि अघिल्लो सरकारका अर्थमन्त्रीसमक्ष राखेका थिए । तर, तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ‘अब समेट्ने’ आश्वासन दिएर फर्काएका थिए ।

चलचित्रकर्मीले नेपाल राष्ट्र बैंकसमक्ष पनि आफ्ना माग प्रस्तुत गरेका छन् । चलचित्रलाई प्रोजेक्ट लोन दिने व्यवस्था गरिदिन र हाल लिएको ब्याजमा छुुटको व्यवस्था गरिदिन राष्ट्र बैंकसमक्ष चलचित्रकर्मीले आग्रह गरेका छन् ।

पहिला लिएको लोनमा २ देखि ३ प्रतिशत ब्याज घटाएर ८ देखि ९ प्रतिशतमा झार्न र कोरोनाको समयावधिमा लिएको लोन २ देखि ३ प्रतिशतमा उपलब्ध गराउन चलचित्रकर्मीले माग गरेका छन् ।

“अतिप्रभावित क्षेत्रलाई ५ प्रतिशतमा दिने लोन अब २ देखि ३ प्रतिशतमा उपलब्ध गराउनुपर्‍यो भन्ने हाम्रो माग हो,” महासचिव शर्मा भन्छन्, “राष्ट्र बैंक सकारात्मक छ । अघिल्लो वर्ष पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत हाम्रा धेरै माग सम्बोधन गरेको थियो । यो वर्ष पनि माग सम्बोधन हुनेमा हामी आशावादी छौँ ।”

निर्माता संघले सहुलियत पुनर्कर्जा उपलब्ध गराउन माग गरेको छ । ८२ वटा चलचित्रमा एक अर्ब ७५ करोड रकम डेढ वर्षदेखि फ्रिज भएर बसेको भन्दै तत्काल सहुलियत कर्जा र अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइदिन राष्ट्र बैंकसमक्ष माग गरिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् ।

चलचित्र वितरक, प्रदर्शक तथा निर्देशक, निर्मातालाई ३–५ प्रतिशतमा सहुलियत कर्जा उपलब्ध गराउन माग गरेको उनले बताए । मौद्रिक नीति सार्वजनिक भएको छैन । यसमा आफ्नो क्षेत्र समेटिएला कि भन्ने विश्वासमा चलचित्रकर्मी छन् ।

आत्तिनु पर्दैन
धमाधम हलहरू बन्द भइरहे पनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । बन्द हुने क्रमसँगै नयाँ हल पनि निर्माण भइरहेकाले उनी आशावादी छन् ।

“कतै हल बन्द भइरहेका छन् भने कतै निर्माणको काम पनि भइरहेको छ । कालीमाटी र कीर्तिपुरमा हल बनिरहेका छन् । काठमाडौंबाहिर पनि सुविधासम्पन्न हल बनिरहेका छन्,” त्यसेले आत्तिनु पर्दैन । अब अवस्था सहज बन्दासम्म केही नयाँ हल पनि तयार भइसकेका हुनेछन् ।”

कतिपय प्रतिस्पर्धामा उत्रिन नसक्ने पुराना हलहरू बन्द भएको उनी बताउँछन् । सुविधासम्पन्न हलहरू खुल्नेक्रम बढ्दै जाँदा ती हलसँग प्रतिस्पर्धा गर्न नसक्ने हलहरू बन्द हुनु स्वाभाविक रहेको उनको भनाइ छ ।

अवस्था सहज हुँदा नै बन्द हुने अवस्थामा पुगेका हलहरू बन्द भइरहेको र अब त्यसका ठाउँमा नयाँ हल बन्ने सम्भावना पनि रहेको उनी बताउँछन् ।

विकल्पको खोजी 
नेपाली नेताहरूले चलचित्रलाई नबुझ्दा चलचित्रकर्मीहरूले उपेक्षित महसुस गरिरहेको कलाकार तथा निर्माता किरण केही बताउँछन् ।

“देशप्रति जिम्मेवार र परिपक्व नेता तथा नेतृत्त्व भइदिएको भए आज चलचित्र क्षेत्रमा पनि सरकारको दृष्टि पुगेको हुने र राहत प्याकेज यो क्षेत्रले पनि पाएको हुने थियो,” उनी भन्छन् ।

आफूले कतिपय चलचित्रकर्मी विस्थापित भएको र हुने क्रममा रहेको सुनेको भन्दै किरण अझै यस्तै अनिश्चतता रहने हो भने कहिलेसम्म कुर्ने भन्ने दोधारमा सिनेमा क्षेत्र पुग्ने बताउँछन् । त्यसैले ‘पर्ख र हेर’को अवस्थामा धेरै चलचित्रकर्मी रहेको उनको भनाइ छ ।

लोन लिएर चलचित्र बनाएका निर्माताहरू ठूलो मारमा परेको बताउँदै किरण भन्छन्, “चलचित्र कहिले रिलिज हुने, चले कसरी चल्ने, चल्छन् कि चल्दैनन् भन्ने अन्योल छ । राज्यले चलचित्रकर्मीले भोगिरहेको समस्यामा ध्यान दिनुपर्छ । लोनमा लिएर चलचित्र बनाउनेहरूलाई ब्याज छुट दिने हो वा घटाउने हो, यसमा हेर्नुपर्छ ।”

सिनेमा हल लामो समयसम्म बन्द भएर दर्जनौँ सिनेमा थन्किएर बस्दा पनि हलको विकल्प भने नेपालमा देखिएको छैन । डिजिटल प्लेटफर्म राम्रो विकल्प हुन सके पनि महामारीको यो समयलाई ‘क्यास’ गर्न नसकेको स्वयं चलचित्रकर्मीहरू नै बताउँछन् ।

“हरेक सम्भावना र विकल्पको खाजी तथा विस्तार अफ्ठ्यारो समयमा हुन्छ । नेपालमा पनि यो महामारीमा डिजिटल प्लेटफर्मको राम्रो सम्भावना थियो,” निर्देशक दीपेन्द्र भन्छन्, “तर, ठूलो लगानीमा डिजिटल प्लेटफर्म अहिलेसम्म पनि आउन नसक्नु भनेको यसको विकास र विस्तार पछि धकेलिनु हो ।”

हलको विकल्पका रूपमा यो महामारीमा विश्वका ठूला चलचित्र उद्योगले डिजिटल प्लेटफर्मलाई उपयोग गरे पनि नेपालमा भने यसको प्रयोग हुन सकेन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro