site stats
बाह्रखरी :: Baahrakhari
कला
दर्शक कमेडीबाट इमोस्नल सिनेमामा सिफ्ट

काठमाडौं । कुन समय कस्ता चलचित्र व्यापारिकरूपमा (बक्स अफिस)मा सफल हुन्छन्, भन्न सकिन्न । कुनै समय एक्सन, कुनै समय मेलो ड्रामा, कुनै समय कमेडी त कुनै समय हरर–थ्रिलर सिनेमा दर्शकले रुचाइरहेका हुन्छन् । बक्सअफिसमा अन्य जनराका चलचित्रलाई पछि पारिरहेका हुन्छन् ।

तर, यीमध्ये कुन जनराका चलचित्र कहिले दर्शकले रुचाउँछन्, यो भने निश्चित हुँदैन । नेपालमा पनि लामो समय मेलो ड्रामा चल्यो भने त्यसपछि एक्सन, कमेडी, सोसल ड्रामा चल्यो । 

अहिले नेपाली बक्सअफिसमा के चलिरहेको छ ? निर्देशक मनोज पण्डित विस्तारै कमेडीबाट दर्शक सोसल मेलो ड्रामातर्फ सिफ्ट भएको बताउँछन् । 

Argakhachi Cement Island Ad

“पछिल्लो दशक नेपाली चलचित्र उद्योगमा छक्का पञ्जा होस् अथवा कबड्डीका सिरिज, यी कमेडी सिनेमा थिए । यसमा दर्शक रमाए,” निर्देशक मनोज भन्छन्, “अहिले विस्तारै दर्शकको टेस्ट सिफ्ट भएको हो कि जस्तो देखिएको छ । अहिले इमोस्नल सोसल मेलो ड्रामा चलिरहेका हुन् कि जस्तो देखिन्छ ।”

पछिल्लो समय ‘बोक्सीको घर’, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’जस्ता चलचित्रमा दर्शकको चासो । हलमा चाप देखिएको छ । यी इमोस्नल सोसल मेलो ड्रामा हुन् । 

समाजको मनोविज्ञानअनुसार दर्शकको रुचि परिवर्तन हुने उनी बताउँछन् । केही समय अघिसम्म हलमा गएर हास्न चाहने दर्शक अहिले आफ्नो जिन्दगीसँग कतै न कतै मेल खाने विषयमा ‘सिफ्ट’ भएको उनको भनाइ छ । 

लभ मेलो ड्रामा, कल्चरल मेलो ड्रामा, सोसल ड्रामासहितको मेलो ड्रामा, सोसल इस्यू सेन्ट्रिक मेलो ड्रामालाई दर्शकले आफ्नो रोजाइमा पारिरहेको निर्देशक मनोज बताउँछन् । 

दर्शकको रुचि परिवर्तन हुनुलाई मनोज सोचाइमा आएको परिवर्तनससँग जोड्छन् । “टेस्ट सिफ्ट हुने कुरा व्यक्तिको सोचाइ अथवा समाजको चिन्तनमा आएको परिवर्तन पनि हो,” मनोज भन्छन्, “समाजको चिन्तनमा आएको बदलाब हो । जीवनको संवेदनशीलता सिनेमामा दर्शकले खोजिरहेका छन् भन्ने हो ।” 

रमाइलो कुराबाट संवेदनशील विषयको खोजीमा दर्शक पुगेको उनको तर्क छ । यो रोजाइ र चिन्तनले समाजको राजनीतिसहित अन्य पक्षमा पनि प्रभाव पार्ने उनको जिकिर छ । 

जिन्दगीका संवेदनशील विषयमा समाज केन्द्रित हुनु भनेको दर्शक आफ्नो जीवनलाई संवेदनशीलरूपमा हेरिरहेको छ र राज्यबाट सहज जिन्दगीको अपेक्षा गरिरहेको छ भन्ने बुझ्नुपर्नेमा उनको जोड छ । 

कमेडी सिनेमामा दर्शकको हस्तक्षेप हुँदा जनताका दुःख, पिर, वेदना, अभाव प्राथमिकतामा परिरहेको मनोजको भनाइ छ । 

अभिनेता खगेन्द्र लामिछानेले पनि कोभिडपछि मेलो ड्रामा दर्शकले रुचाइरहेको अनुभव गरिरहेका छन् । कोभिड अगाडिसम्म रियालिस्टिक सिनेमामा अलि बढी चासो देखिएकामा त्यसपछि दर्शकको रुचि सिफ्ट भएको उनको भनाइ छ ।

“हुन त एक्सन र कमेडी सिनेमाभित्र पनि मेलो ड्रामा हुन्छ । लार्जर देन लाइफ सिनेमामा मेलो ड्रामा देखियो भने त्यो हेर्न दर्शकले झन धेरै रमाइलो मान्छन्,” खगेन्द्र अगाडि थप्छन् । 

कुन समय कुन जनराको सिनेमा चल्छ र अब कस्तो खालको चलचित्र चल्छ भनेर नाडी छामेर यकिन गर्न भने नसकिने उनी प्रस्ट पार्छन् । 

तर, संसारभर नै मेलो ड्रामा रुचाइने जनरामा पर्ने खगेन्द्र बताउँछन् । बदिउडदेखि हलिउडसम्म मेलो ड्रामाको बक्सअफिस उच्च हुने गरेको उनको भनाइ छ ।

“संसारभर मेलो ड्रामा मजा मानेर हेर्ने जनरा हो । मान्छेले हलमा गएर जीवनभन्दा ठूलो र कल्पनाभन्दा बाहिरको सिनेमा हेर्न मन पराउने रहेछ,” खगेन्द्र भन्छन्, “हलमा रियालिस्टिकभन्दा पनि लार्जर देन लाइफ सिनेमा हेर्ने दर्शकको संख्या ठूलो छ ।” 

रियालिस्टिक सिनेमामात्रै राम्रो हो भनेर हेर्ने दर्शक पनि रहेको तर त्यसको संख्या सानो रहेको उनी प्रस्ट पार्छन् । ‘सुपर हिरो’ सिनेमा हेर्न रुचाउने दर्शकको संख्या सधैँ धेरै रहने र यस्ता चलचित्र रुचाइने गरेको उनी बताउँछन् । खगेन्द्र सिनेमा भनेको 'लार्जर देन लाइफ' नै हो भन्नेको संख्या धेरै हुने गरेको बताउँछन् ।

अभिनेत्री केकी अधिकारी हरेक दश वर्षमा सिनेमाप्रति दर्शकको टेस्ट फरक हुने बताउँछिन् । त्यसकै निरन्तरताको रूपमा अहिले कमेडीबाट दर्शक मेला ड्रामातर्फ सिफ्ट भएको उनको तर्क छ । 

समयसँगै दर्शक पनि परिवर्तन हुने र परिवर्तन भएको पुस्ताको रुचि पनि फरक हुने केकीको भनाइ छ । “दश वर्ष अगाडि बुवाआमासँग सिनेमा हेर्न गएको पुस्ता अहिलेको सिनामाको दर्शक हो । ऊ अहिले उमेरका हिसाबले अर्निङ र रेस्पोन्सिबल फेजमा पुगेको छ,” केकी अगाडि थप्छिन्, “दश वर्षपछि उसको टेस्टमा पनि परिवर्तन आइसकेको हुन्छ ।” 

केही समय अगाडिसम्म कमेडी सिनेमाको बजार धेरै थियो । बक्सअफिसमा कमेडी सिनेमा तुलनात्मकरूपमा सफल थिए । अहिले सोसल मेलो ड्रामा तुलनात्मकरूपमा सफल देखिएका छन् ।

“हाम्रो पुस्ता महजोडीको कमेडी टेलिभिजनमा हेर्दै हुर्किएको हो । त्यसैले हामीले सिनेमा हलमा पनि कमेडी चलचित्र नै मन परायौँ,” केकी भन्छिन्, “अहिले हामीभन्दा पछिको पुस्ता आइसकेको छ, दर्शकका रूपमा उसले सोसल मेलो ड्रामा मन पराइरहेको छ ।”

अहिले मूलधारको दर्शकका रूपमा रहेको पुस्ताले क्लासिक विषय मन पराइरहेको उनको जिकिर छ । क्लासिक इस्यूमा सोसल ड्रामा नै पर्ने उनी बताउँछिन् । 

“अहिलेको पुस्ताले क्लासिक रुट नै हेर्न चाहिरहेको छ । आफ्नो रुट (जरो/इतिहास/पहिचान) के हो र कस्तो थियो भन्ने कुरा हेर्न चाहेको देखिन्छ,” केकी प्रस्ट पार्छिन्, “कतै नहेरेको र नदेखेको त्यसमा पनि आफ्नै समाजको कथा जसले पनि मन पराउँछ । अहिले आफ्नै समाजको कथा मन पराएको देखिन्छ ।” 

सोसल ड्रामा सधैँ सबैतिर मन पराइने जनरा भएको उनको भनाइ छ । विषयकेन्द्रित सिनेमा सधैँ दर्शकको रोजाइमा पर्ने गरेको केकी बताउँछिन् । 

“इस्यू सेन्ट्रिक सोसल ड्रामा सधैँ चल्छ । एकै प्रकारका सिनेमा लामो समयदेखि आइरहेका बेला सबैमा कनेक्ट हुने फरक खालको सोसल ड्रामा आएपछि त्यसलाई मन पराइएको हो,” केकी अगाडि थप्छिन्, “एकै प्रकारका चलचित्र आइरहेका बेला पूर्ण बहादुरको सारङ्गी, बोक्सीको घर, अञ्जिला धेरैले रिलेट गरेकाले चलेका हुन् ।” 

वितरक करण श्रेष्ठ सोसल ड्रामा पारिवारिक सिनेमा हुने भएकाले दर्शकको रुचि यस्ता चलचित्रमा हुनु स्वाभाविक भएको बताउँछन् । यस्ता चलचित्र लगातार आइरहेको र दर्शकले पनि मन पराइरहेको उनको भनाइ छ ।

“सोसल इमोस्नल मेलो ड्रामा भन्नबित्तिकै पारिवारिक सिनेमा हुन्छ । पारिवारिक सिनेमा भएपछि परिवारका बुवा, आमा, छोरा, छोरी सबै हेर्न जाने भयो,” वितरक करण भन्छन्, “केही समययता लगातार यस्तै सिनेमा आउँदा दर्शकले साथ दिइरहेको सत्य हो ।” 

पूरै परिवार नै चलचित्र हेर्न गएपछि त्यस्ता चलचित्र बक्सअफिसमा सफल हुने गरेको उनको भनाइ छ । 

कुुनै एउटा निश्चित वर्ग र समुदायलाई लक्षित गरेर बनाइएका चलचित्रका दर्शक पारिवारिक सिनेमाका भन्दा कम हुनु स्वाभाविक भएको उनको भनाइ छ । 

“एक्सन र कमेडी सिनेमा पनि नचलेका होइनन्, चलिरहेका छन्,” उनी भन्छन्, “तर, त्यस्ता चलचित्र पनि पारिवारिक हुनुपर्छ । पारिवारिक नभएर लक्षित वर्गका लागि मात्रै बनाइएको भए दर्शकको संख्या सीमित हुन्छ ।” 

मेलो ड्रामा व्यापारिकरूपमा सफल भइरहेका छन् भनिरहेका बेला केही एक्सन सिनेमा र कमेडी सिनेमाले पनि राम्रो व्यापार गरेको उनी बताउँछन् । तर, पछिल्लो समय बक्सअफिसमा तुलनात्मकरूपमा सोसल मेलो ड्रामा नै बढी सफल रहेको बक्सअफिस तथ्यांकहरूले देखाइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्