![ज्ञानू पाण्डेका दुई कविता](https://12khari.top/uploads/posts/gyanu1627697225.jpg)
विडम्बना
जीवको हत्केलामा
आफ्नै मुटुको रगतले
कोरेकी थिई उसले
आफ्नो भाग्यरेखा
पचेन
दैवलाई पचेन
भेल पसाइदियो त्यसमा
सललल्ल बगेर गयो रङ
मेटियो रेखा
पानीमा कोरिएको अक्षरसरी
छिनको छिनमै हरायो खुसी
आफ्नै आँखाअगाडि
ऊ हेरेको हेर्यै भई
रोक्न सकिन/छेक्न सकिन
आँसुको धारा अविरल बगाएर
सिर्जना गर्न सकिन उसले
अवरोधका लकिरहरू
निस्तेज पार्न सकिन उसले
दैवी भेलको बेगहरू
नियतिका अविजित–अविजित खेलहरू
मात्र भिजिरही
मात्र रुझिरही
रगतको आँसु
चुपचाप चुपचाप
मात्र पिइरही
पिइरही
थोपा थोपा चोरेर समय
आफ्नै आयुको अञ्जुलीबाट
सिँचेकी थिई उसले
उद्यान आफ्नो सपनाको
रचेकी थिई उसले
सुन्दर कविता आफ्नो जीवनको
पचेन
दैवलाई पचेन
आँधी चलाइदियो/हुरी उडाइदियो
तासको घरसरी
छिनभरमै भत्कियो भर
भताभुंग भयो मनको बस्ती
ऊ हेरेको हेर्यै भई
बचाउन सकिन/जोगाउन सकिन
देखाएर आफ्नो शक्ति
लेखान्तलाई मेटाउन सकिन
मात्र भत्किरही
मात्र चोक्टिरही
भागको दुःख
चुपचाप चुपचाप
मात्र ऊ दुखिरही
दुखिरही
विडम्बना !
भत्काउन उसको भर
चोक्ट्याउन उसको खुसी
दैवले अरू कसैलाई होइन
उही पात्र खटाइदियो
जसलाई ऊ जीवनमा
सबैभन्दा बढी माया गर्थी
आफैँलाईभन्दा बढी
जसलाई ऊ विश्वास गर्थी
आफैँलाईभन्दा बढी विश्वास गर्थी
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
० ० ०
जीवन
देखेँ देखेँजस्तो लाग्छ
हेर्न केही भ्याइँदैन
प्रश्नैप्रश्न जताततै
उत्तर कतै पाइँदैन
भिडहरूमा एक्लो एक्लो
आफैँलाई आफू नौलो
जीवन खोइ यो कस्तो कस्तो ?
घरी केही हो कि जस्तो
घरी यो केही पनि होइनजस्तो ।
अन्त्यपछिको सुरु हो कि
सुरुबाटै अन्त्य हो यो
अनिच्छाको प्राप्ति हो कि
प्राप्तिको इच्छा हो यो
कहिले अत्यासको भिरजस्तो
कहिले उत्साहको उकालो यो
जीवन खोइ यो कस्तो कस्तो ?
घरी केही हो कि जस्तो
घरी यो केही पनि होइनजस्तो ।
हाँस्न खोज्दा आँसु झर्छ
पुछ्न खोज्दा रसाउँछ
तड्पाउँछ÷बिझाउँछ
भाग्न खोज्दा पच्छ्याउँछ
कहिल्यै तृप्त नभइने
जिजीविषाको शूलजस्तो
जीवन खोइ यो कस्तो कस्तो ?
घरी केही हो कि जस्तो
घरी यो केही पनि होइनजस्तो ।
अभिशाप हो स्वतन्त्रताको
कहाली आफ्नै चेतनाको
अरोजाइको रोजाइ योे
जिम्मेवारीको कबुलजस्तो
न खा’को विष हो यो
न ला’को प्रीत हो
नजन्माको सन्तानको
मायामोहको रित हो यो
जीवन खोइ यो कस्तो कस्तो ?
घरी केही हो कि जस्तो
घरी यो केही पनि होइनजस्तो ।
(विशालनगर, काठमाडौं ।)