site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरहरा सञ्चालनलाई लिएर महानगर र संघ सरकार आमनेसामने, हो चाहिँ कसको ?

काठमाडौं । संविधान दिवसको छेको पारेर संघीय सरकारले सर्वसाधारणका लागि धरहरा प्रवेश निःशुल्क गर्‍यो । तर, धरहरा सञ्चालन र व्यवस्थापन कसले गर्ने भन्नेबारे अझै टुंगो लागेको छैन ।

२०७२ को भूकम्पले धरहरा भत्किनुअगाडि धरहरा सञ्चालन र व्यवस्थापन काठमाडौं महानगरले गर्थ्यो । ०७२ मा भूकम्पले धरहरा भत्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मै बनाउँछु मेरो धरहरा’ अभियान थालेका थिए । १२ पुस २०७५ मा ओलीले नै धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए ।

शिलान्यास गरेको तीन वर्षपछि ११ वैशाख ०७८ मा ओलीले धरहरा पूर्णरूपमा तयार नहुँदै उद्घाटन गरे । अहिले पनि धरहरा खुला गरिए पनि  पूर्णरूपमा तयार भने भइसकेको छैन ।

Dharahara-(17)-1726665900.jpg
सर्वसाधारणलाई निःशुल्क प्रवेश खुला गरिएको धरहरा अहिलेलाई आफूले नै सञ्चालन र व्यवस्थापन गर्ने सहरी विकास मन्त्रालयको भनाइ छ । २७ भदौको मन्त्रिपरिषद् बैठकले तत्कालका लागि धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको छ ।

तर, काठमाडौं महानगर आफूले सञ्चालन र व्यवस्थापन गर्दै आएको धरहरा संघीय सरकारले चलाउन नहुने बताउँछ । ५ भदौमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह धरहरा महानगरले नै चलाउन पाउनुपर्ने माग बोकेर सहरी विकास मन्त्रालय पुगेका थिए ।

मेयर बालेनले सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई धरहरा सञ्चालनको जिम्मा महानगरलाई दिन आग्रह गरेका थिए । जवाफमा मन्त्री सिंहले धरहरा सञ्चालनको कार्यविधि बनाएपछि यस विषयमा निर्णय गर्ने बताएका थिए ।

तर, धरहरा सञ्चालनको कार्यविधि तयार नहुँदै २ असोजमा धरहराको दोस्रोपटक उद्घाटन गरियो । दोस्रोपटक उद्घाटन गरेको पछिल्लो दिन ३ असोजदेखि त सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइयो । धरहरा सञ्चालनको कार्यविधि तयार नभएकै कारण सर्वसाधारणका लागि धरहरा प्रवेश निःशुल्क गरिएको मन्त्रालय बताउँछ ।

Dharahara-(11)-1726665906.jpgमन्त्रालयका सचिव मणिराम गेलाल भन्छन्, "धरहरा सञ्चालनको कार्यविधि तयार नहुँदासम्म सहरी विकास मन्त्रालयले नै यसको व्यवस्थापन र सञ्चालन गर्ने छ । कार्यविधि नभएका कारण हामीले अहिलेलाई निःशुल्क गरेका हौँ," उनले भने । काठमाडौं महानगरलाई सञ्चालन र व्यवस्थापनको जिम्मेवारी दिने कि नदिने भनेर कार्यविधिले तय गर्ने उनले बताए ।

काठमाडौं महानगर भने आफ्नो अधिकार क्षेत्रभित्रको संरचना सञ्चालनका लागि आफूसँग समन्वय नगरेकामा आक्रोशित छ । यसअगाडि पनि धरहराको विषयलाई लिएर महानगर र संघीय सरकारबीच किचलो भइसकेको छ । न्युरोडको पार्किङ हटाएर महानगरले ०८० को माघदेखि धरहराको ‘बेसमेन्ट’मा रहेको पार्किङ निःशुल्क खुला गरिदियो ।

महानगरले धरहराको ‘बेसमेन्ट’को पार्किङ खुला गरेपछि रिसाएका ओलीले धरहरा काठमाडौं महानगरको नभएको बताउँदै बालेनको आलोचना गरेका थिए । "धरहराको पार्किङ कुनै पालिका विशेषको होइन, धरहरा त मेरो परिकल्पनामा डिजाइन भएको हो," १५ साउनमा ओलीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले धरहरा काठमाडौं महानगरको क्षेत्राधिकारभित्र नपर्ने बताए पनि कात्तिक ०५५ मा मन्त्रिपरिषद् बैठकले धरहरा ५० वर्षका लागि महानगरपालिकालाई जिम्मा लगाएको थियो । यही निर्णयलाई आधार बनाएर महानगरले धरहरामाथि आफ्नो स्वामित्व दाबी गरिरहेको छ ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धर प्रश्न गर्छन्, "संघ सरकार नै टिकट बेचेर बस्न चाहन्छ भने स्थानीय सरकारले के गर्ने ?"

Dharahara-(3)-1726665886.jpg२७ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, "धरहरलाई अन्तरिमरूपमा सञ्चालन गर्न अनुमति दिने । हामी छोटो समयमात्र चलाउछौँ, त्यसपछि व्यवस्थितरूपमा चलाउने निर्णय भएको छ ।"

धरहराको ‘बेसमेन्ट’मा महानगरले पार्किङ खुला गर्दा धरहराको निर्माण सम्पन्न नभइसकेको भन्दै महानगरलाई सहरी विकास मन्त्रालयले पत्र पठाएको थियो । जवाफमा मेयर बालेनले भनेका थिए, "उद्घाटन गरेको दुई वर्ष नौ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नुभएको थियो, ‘नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।"

प्रधानमन्त्री ओलीले धरहरालाई आफूले गरेको महत्त्वपूर्ण कामका रूपमा व्याख्या गरिरहेका छन् । ओलीले धरहरा संघीय सरकार मातहत नै राख्नुपर्ने भन्दै सचिवहरूलाई १५ साउनमा निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीको निर्देशन र २७ भदौको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सहरी विकास मन्त्रालयले हालका लागि धरहरा सञ्चालन तथा व्यवस्थापन गर्ने छ ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro