site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
न्यायको पर्खाइमा देशका कर्णधार  

कारागारमा थुनिएकी आमासँग रहेका बच्चा तथा अभिभावकविहीन बालबालिकाको सरोकार अन्तरसम्बन्धित विषय हुन् । ती आफ्ना कारण नभएर  आमाबुबाका अपराधको कारण कारागारमा बस्न बाध्य छन् ।
 
देशका विभिन्न कारागारमा ५ वर्षमुनिका र बाल सुधारगृहमा १८ वर्ष मुनिरहेका शारीरिक एवं मानसिकरूपले अस्वथ्य रहँदैआएका छन् । जेलमा एउटा कैदीले पाउने सिधा र तिनका नाबालक सन्तानले पाउने खुराक जीवन धान्ने मेसोमात्र हुने गर्छ । पोषिलो खाना र उपयुक्त वातावरण नपाएपछि उनीहरूको शारीरिक एवं मानसिक विकासमा समेत समस्या देखिएको छ । 

यसैसँगै मेरो सानो भोगाइ उल्लेख गरौँ । जनकपुर अंचल अस्पताल छेउमा ‘ग्लोबल रिच इन्टरनेनल नेपाल’ नामक संस्था २०५९/६० सालतिर स्थापना भएको थियो । यसले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीलगायत अन्य क्षेत्रका असहाय र महोत्तरी कारागारमा आमाबाबुमा आश्रित केही बालबालिकासमेत ८/१० जनालाई अभिभावकत्व प्राप्त हुने विश्वास लिइएको थियो । 

उक्त संस्थालाई आउने सहयोग अमेरिकन नागरिकबाट प्राप्त हुने गर्थ्यो । प्रमुख संरक्षकमा जनकपुर निवासी भरत केसी, मन्जु केसी, लक्ष्मीप्रसाद निराला (वकिल) स्थानीय साहु र चुडाबहादुर श्रेष्ठ (एस.एस.पी) आदि उक्त संस्थाका संरक्षक एवं सल्लाहकारका रुपमा रहेका थिए । प्रशासकीय प्रमुखको कामको जिम्मा मेरो काँधमा थियो । 

फुर्सदको समयमा पढाउने र बिरामी पर्दा डाक्टर एल.एन. शर्माको क्लिनिकमा निःशुल्क जचाउने खानपिन र जनसम्पर्क कायम गर्नुपर्ने तमाम काम मैले हेर्नुपर्थ्यो । विशेषगरी चुडाबहादुर श्रेष्ठ  र चेतना लुक्सान (मनोपरामर्शकर्ता) बराबर निरीक्षणमा आउने र सक्दो सहयोग गर्ने शुभचिन्तक अभिभावक हुनुहुन्थ्यो । चेतना लोक्सान त्यसबेला यातना पीडित सरोकार नेपालसँग आबद्ध हुनुहुन्थ्यो । 

केही महिनासम्म उक्त संस्था राम्रैसँग चल्यो । तर पछि संरक्षक परिवारहरूको लोभीपापी मनका कारण आश्रममा दूध, खाजा, तरकारी कटौती गर्ने हर्कत छोटो समयमै देखिन थाल्यो । क्रमशः बालबालिका उपेक्षाको सिकार हुन थाले । करिब ६/७ महिनापछि नै बालबालिकालाई अन्यत्र स्थानान्तरणको गाँइगुँइ चल्न थालेपछि मेरो मनमा विद्रोह जाग्यो ।

संस्थाको आन्तरिक बेथितिको भण्डाफोड गर्ने उद्देश्यले जनकपुरको स्थानीय पत्रिकामा लेखेर दिएँ । समाचार प्रकाशित भएपछि खलबल मच्चियो । त्यसैको पर्सिपल्ट मैले आफ्नो राजीनामा पत्र अध्यक्षलाई नदिएर समितिमा दिने हिसाबले जनकपुरका तत्कालीन (एसएसपी) चुडाबहादुर श्रेष्ठ (एसएसपी)को अफिस टेबुलमा छाडेर निस्केँ । 

त्यही दिन म पनि उक्त संस्थाबाट आफ्नो झोला बोकेर घर फर्कन लाग्दा मेरो मन रोएको थियो भने भर्खरै ल्याइएका ती बालबालिकाले गहभरी आँसु गर्दै बुबा नजानु ! नजानु ! भनेर बाटो छेक्दाको त्यो दृश्य अझै पनि मेरो मानसपटलमा ताजै छ ।
 
राणाकालीन जीर्ण कारागारका अग्ला पर्खाल, कडा अनुशासन, आर्थिक संकट, फरक स्वभाव, निश्चित क्षेत्र, बाहिरी संसारदेखि टाढा, विविध पृष्ठभूमिका अपराधीको भीड त्यसमाथि उँडुस, उपियाँ र लामखुट्टे आदिको सामना गरेर लामो सजाय अवधि कट्टा गर्नु निकै मुस्किल हुन्छ । यस्तो अवस्थामा आमासँगको शिशु, बालबालिका, अशक्त ज्येष्ठ नागरिक, सुस्तमनःस्थिति तथा दीर्घरोगीजस्ताको दिनचर्या झन् कति कठिन होला ?

कानुनको नजरमा दोषी या अपराधी भएपछि सजाय कट्टा गर्नुको अर्को विकल्प रहन्न । कम्तीमा यस्ता प्रकृतिका या विशेष अवस्थाका कैदीबारेमा न्यायमूर्तिहरूले निर्णय गर्दा सम्बन्धित अपराधीको वस्तुगत अवस्था र व्यवहारलाई विवेक प्रयोग गरेर हेर्न सक्नुपर्छ । कैदीहरूको मानवाधिकारको सुनिश्चितता कानुनी किताबमा मात्र होइन वास्तविक जीवनमा चरितार्थ भएमात्र सार्थक हुन्छ । 

पौष्टिक आहार खाने र झोला बोकेर स्कुल जाने उमेरमा जेलभित्रको यस्तो नियति भोग्न बाध्य गराउनमा कारागार नीतिमात्र होइन हाम्रो समाज पनि जिम्मेवार छ ।  आमाको अपराधमा बिचल्लीमा परेका सन्तानको हेरविचार गर्न उसका बाबु, नातेदार, इष्टमित्र तथा भरपर्दो संरक्षक अगाडि आएर जिम्मा लिन चाँहदैनन् । 

यस्तो अवस्थामा कारागार ऐन, २०१९ अनुसार उक्त बालबालिका लागि आफ्नो र भरपर्दो अभिभावक आमासँगै बस्न पाउने अधिकार एउटा सीमासम्म उचित देखिन्छ । जेल बसेकी आमाले सन्तानको जीवन निर्माण गर्न होइन तिनलाई स्तनपान गराउन, ममता दर्शाउन र ईश्वरको अगाडि हात फैलाएर याचनासम्म गर्न सक्छिन् । सन्तानको सुन्दर भविष्य निर्माण मायाले मात्र हुँदैन । त्यसभन्दा बढी पौष्टिक आहार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरन्जन तथा बालविकास अनुकूल वातावरणको आवश्यकता हुन्छ । 

समाजमा जसको कोही हुँदैन उसको अभिभावक राज्य हुने कानुनी प्रावधान छ । संयुक्त राष्ट्र संघको बालअधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले २०४७ भाद्र २१ गते विनासर्त अनुमोदन गरी बालअधिकारको क्षेत्रमा आफ्नो प्रतिबद्धता जनाएको छ । 

जन्म दिने आमाबाबुले बाटो बिराएको खण्डमा कर्म दिने संरक्षक राज्यको नेतृत्व गर्ने सरकार हो । विभिन्न कारणले बेसहारा बनेका तथा असहाय उपेक्षित सडक बालबालिका उचित रेखदेखको अभावमा कुपोषणको सिकार बन्ने, कुलतः र मानसिक दबाब झेल्नुपर्ने समस्यालाई उपेक्षा गर्न मिल्दैन ।

राज्य स्वयं अभिभावक बनेर यस्ता बालबालिकाको सर्वोत्तम हितमा गम्भीर निर्णय लिएको भए उनीहरू पनि भोलिका प्रधानमन्त्री, न्यायाधीश, वैज्ञानिक, सांसद, प्रशासक एवं सभ्य नागरिक हुनसक्थे । देशका कर्णधारहरूको बाँच्न पाउने अधिकार हुँदाहुँदै पनि जेलबाट आश्रममा अनि अर्को आश्रमबाट बालगृहको चक्कर लगाएर अरुको दयाक्रिपामा देशका कर्णधारले बाँच्नुपर्ने बाध्यताको अन्त्य हुन नसक्नु दुःखद हो । 

करिब सय वर्षपछि कैदीहरूको चाप घटाउन र केही सुधार थाल्ने दृष्टिले नेपाल सरकारले बाँके जिल्लाको गगनपुरमा खुला कारागार निर्माण कार्य सकिएको छ । त्यसैगरी नुवाकोटको विदुर नगरपालिकामा विशाल आधुनिक कारागारको निर्माण काम पनि लगभग सकिनै लागेको छ ।

सात हजार क्षमताको उक्त कारागार गृहमा तालिम केन्द्र भोजनगृह, खेलकुददेखि प्रजनन अधिकारसमेत रहने कारागार नेपालको आधुनिक कारागार हुनेछ । यस्ता आधुनिक कारागारमा सुत्केरी आमा शिशु बच्चा सुधारगृहका बालबालिका, दीर्घरोगी, सुस्त मनःस्थिति, ज्येष्ठ नागरिकजस्ता विशेष अवस्थाका कैदीलाई उच्च प्राथमिकतामा राखेर तत्काल स्थानान्तरण गरी मानवाधिकारको प्रत्याभूति गराउन जरुरी देखिन्छ  । 

वर्तमान गृहमन्त्रीले नेपालको कारागार सुधार, बाल सुधार गृहमा रहेका कैदी तथा थुनुवामा रहेकाको तमाम समस्याको समाधान गर्ने प्रतिबद्धता गर्नुभएकाले आशावादी बन्न सकिन्छ  ।
 
यहाँका कैदीले नर्वे, स्पेन, नेदरल्यान्ड या अष्ट्रेलिया सुविधा खोजेका छैनन् । नेपालको कारागारमा पनि समयसमयमा कैदी आमाबाबु र तिनका छोराछोरीसँगै बस्नेखाने, खेल्नेघुम्ने र मनोरञ्जन गर्ने, रमाउने, आमाबुबासँग सन्तानको स्पर्श गराउने, स्नेह दर्शाउने र निकट बनाउन बढीभन्दा बढी समय बिताएर छोराछोरीले आफ्ना कैदी आमाबाबुप्रति स्नेह र सकारात्मक सोचको विकास गर्ने वातावरण विकास होस् भन्ने हो ।  

कुनै पनि अपराधी पहिले मानव हो । कारागारभित्र रहे पनि उसको बोल्ने, उपचार गर्ने, आफन्तसँग भेट्ने, धर्म मान्ने आदि अधिकार सुरक्षित हुन्छन् । जेल पर्नुको अर्थ उसको सबै अधिकारको हरण हुने होइन । यसैले निःशुल्क कानुनी सहायता, मानवीय गरिमा, सुनवाइ आदिको ख्याल राख्न जरुरी छ ।

अतः कुनै पनि कैदीलाई एउटा संकीर्ण घेराभित्र बाँध्न खोज्नु भूल हुनेछ । हाम्रो समाजमा अपराधीलाई हेर्ने दृष्टिकोण नकारात्मक छन् । उसको दोषको प्रकृति नबुझी दृष्टिकोण बनाउनु एकांकी सोच हो ।   

जेल सजायको अर्थ व्यक्तिबो सुधार वा भुलसुधार हो । कुनैपनि कैदीले विगतमा गरेको कार्यप्रति पश्चाताप गर्नु या आफैँमा आत्मग्लानिको बोध गर्नु सामान्य जिन्दगीतिर फर्कनु हो । जेल भर्ने उद्देश्य कदापि हुनु भएन । 
अपराधमुक्त समाज निर्माण राज्यको प्रमुख दायित्व हुनाले परिवर्तित समयअनुरूपको कानुन र व्यवस्थामा देखिएका त्रुटि कमजोरी सच्याउन सरकारले साहस देखाउनुपर्छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro