site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्नी
SkywellSkywell

प्रमिलाको कौसीबाट प्रायः काठमाडौं सहर जम्मै देखिन्छ– धरहरा, घण्टाघर, टुँडिखेल, रानीपोखरी...। एकनाससँग कौसीबाट हेरिरहँदा उसलाई कहिलेकाहीँ यस्तो पनि लाग्छ, मानौँ ऊ एकदम अग्ली हुँदै गइरहेकी छ । धेरै बेरसम्म एकै ठाउँमा हेरिरहन नसक्ता ऊ दृष्टि फेर्छे । टाढा–टाढाको पहाड, त्यसको शिखर, त्यहाँबाट उसको आँखा थाकेर तल ओर्लिन्छ । तल, टुँडिखेल, हरियो चउर । फेरि घण्टाघर, फेरि धरहरा !

गमलाको बोटलाई हातले किचिकिची चलाउँदै प्रमिला सोचिरहेकी छ । सोच्तासोच्तै अचानक उसलाई थाहा हुन्छ, भर्खरका बोटबिरुवालाई हातले छोइरहँदा मरेर जाने सम्भावना हुन्छ । र, ऊ गमलाबाट हात हटाउँछे । उसको चेहरा कतै अल्झेको देखिन्छ ।

केही दिनअघि सावित्रीले उसलाई जुन कुरा सुनाएकी थिई, त्यो कीराजस्तै उसको मनभित्र पसेर चलिरहेछ, उसलाई खाइरहेछ ।

KFC Island Ad
NIC Asia

सावित्री र राधा उसका सहेलीहरू हुन् । एक दिन दुवैजना उसको घरमा आई धेरै बेरसम्म बसेर गफैगफ गरी गएका थिए । हासखेल, ठट्टा त्यस दिन खुब चलेको थियो । राधाले त्यो दिन प्रमिलालाई हैरान पारेकी थिई । छिनछिनमा खिल्ल हाँस्तै उसलाई काउकुती मात्र लगाउने गर्थी । सावित्रीचाहिँ एउटै कुरालाई दोहर्याई–दोहर्याईकन भनिरहेकी थिई । उसलाई कसैले हासखेल, ठट्टामा भाग लिएको अहिलेसम्म देखेको छैन होला । मानौँ, ऊ हाँस्नै जान्दिन कि जस्तो पनि लाग्छ । गराइ पनि एक तमासको हुन्छ । कुरैकुरामा त्यो दिन उसले यौटा अचम्मको कुरा सुनाई । कुरा थियो, उसको दाजुले बाहिर स्वास्नी राखेको । आजकाल उसको घरमा यही चर्चा छ रे । उसका आमा–बाबुले हार खाएर उसको दाजुलाई भनि पनि सके रे– त्यसो हो भने घरैमा ल्याए भइहाल्यो नि ।

कुरा गर्दा आवाज मसिनो र कहिलेकाहीँ त सुनिन पनि मुस्किल पथ्र्यो । तर, सावित्रीलाई चाहिँ आफ्नो दाजुले बाहिर स्वास्नी राखेको छ भन्ने कुरामा पत्यार लागेको छैन । जहिले पनि बाहिर जानु र रातमा कहिलेकाहीँ धेरै नै अबेर आउनुबाट उसको दाजुलाई घरमा सबैले पक्का बाहिर स्वास्नी राखेको छ भन्ने कुरा अड्कलम ात्र लगाएका हुन् । तर, के जसले अड्कल गर्यो, त्यो साँच्चै हुन्छ र ? उसलाई त पत्यार लाग्दैन । त्यसैले आजकाल उसलाई दाजुमाथि साह्रै नै माया लागिरहेछ ।

Royal Enfield Island Ad

सावित्रीको कुरा सुन्दा प्रमिलालाई छिनछिनमा झर्को पनि लागेको थियो । एउटै कुरोलाई ऊ कैयौँ ढंगले भनिरहेकी थिई । प्रमिलालाई सुन्न मन नलागे पनि सुनिरहेकी थिई ।

तर, यस कुराले प्रमिलाको मनभित्र एउटा गहिरो आकार–प्रकार खिच्तै गइरहेको थियो । दाजुले बाहिर स्वास्नी राखेको छ भन्ने कुराबाट जसरी सावित्रीलाई चाहिँ दाजुमाथि माया उब्जेको थियो, ठिक त्यसको उल्टो प्रमिलालाई उसमाथि रिस उठ्न गएको थियो । अझ गहिरिएर भन्ने हो भने ‘सावित्रीको दाजुले बाहिर स्वास्नी राखेको छ’ भन्ने कुराभन्दा पनि ‘स्वास्नी राख्नू’ यो शब्दबाट उत्पन्न जुन प्रकारको चित्र हुन्छ र जो बलजफ्ती उसको मस्तिष्कमा प्रवेश गर्न खोजिरहेछ, त्यससँग ऊ उसै दिनदेखि लड्न थालिसकेकी थिई । र, आजसम्म पनि उसको यो लडाइँ चलि नै रहेको छ । ऊ जतिपल्ट त्यस चित्रलाई पछार्थी, उति नै पटक चित्र फेरि नवीन रूप लिएर उसको शिरमा चक्कर लगाउन आइपुग्छ । चित्रमा प्रायः यस प्रकारका प्लेटहरू देखा पर्छन्– कहीँ लोग्नेमान्छेले स्वास्नीमान्छेलाई थिची–थिची मारेको..., कहीँ घोडाको काठी बनाएर उसमाथि चढ्दै दगुरेको... र कहीँचाहिँ यसै पनि चिटिक्क–चिटिक्क चिमट्नको लागि औँला लुकाउँदै ल्याएको...!

प्रमिलाको सानो खाने मुख खुम्चिन्छ । ऊ बराबर आङ बटार्न थाल्छे ।
स्वास्नी राख्ने भन्ने कुरै उसका लागि गलत, एकदम गलतजस्तो लाग्छ । तर, जुन दिन सावित्रीले उसको दाजुले बाहिर स्वास्नी राखेको कुरा सुनाएकी थिई, त्यस दिनदेखि प्रमिलालाई उसको दाजुमाथि रिस मात्र उठिरहेछ । त्यसो त न उसले देखेकी होस् न त चिनेकी नै होस् उसलाई । सावित्रीको दाजुको केवल काल्पनिक अनुहार बनाएर ऊ एकान्तमा उसलाई कोपर्ने गर्छे । यसको सिलसिलामा आजकाल उसलाई सावित्री पनि मन पर्न छाडिसकेकी छ । दाजुमाथि माया गर्ने भएकी सावित्री !

सहसा जाँचको सम्झनाले प्रमिला झस्किन्छे । उसको जाँच ख्याक बनेर नजिक–नजिक आइरहेछ । हातभरि किताब लिएर ऊ फेरि माथि कौसीमा पुग्छे । तर, कौसीमा पनि आजकाल उसलाई नरमाइलो लाग्छ । वाक्क–वाक्क आउन खोज्छ, हीरामायाको दृश्य देखेर ।

ऊ जब कौसीमा पढ्न बस्छे, त्यस बखत अगाडि घरको कौसीमा हीरामाया एक प्रकारले नांगैजस्ती भएर घाममा तेल लगाइरहेकी हुन्छे । तेलले च्याट्च्याट्ती परेको मैलो आङ घाममा फर्काएर ऊ टल्काइरहेकी हुन्छे । प्रमिलालाई मनमनै उसको आङमा गोबरले हिर्काइदिउँजस्तो लाग्छ । उसलाई पक्का थियो, एक दिन उसको हीरामायासँग नपरी छोड्दैन । नभन्दै परि पनि हाल्यो ।

हीरामाया साबिकबमोजिम तेल लगाइरहेकी थिई । प्रमिला किताबमा आँखा गडाएर कुराहरू सम्झिने कोसिस गरिरहेकी थिई । ऊ जति पढ्दै जान्थी, उति बिर्संदै पनि । त्यसैले ऊ बारम्बार पढेको कुरालाई दोहोर्याई मात्र रहेकी थिई ।

मध्याह्न भइसकेकोले घामको आँच पनि कडा हुँदै गइरहेको थियो । यस्तैमा अचानक हीरामाया जुरुक्क उठेर आधा आङ कौसीको डिलबाहिर पारी कराउन थाली, “बाबु, ए बाबु !” उसको बाबु कहीँ खेलिरहेको हुँदो हो, किन सुन्थ्यो र । तर, हीरामायाले बोलाउन छोडिन । अब ऊ एक सुरमा चिच्याहटलाग्दो आवाजले कराउन थाली, कराइ नै रही । धोती उसको कम्मरबाट फुस्कन आँटिरहेछ ।
उसलाई यसको परवाह छैन । ऊ केवल कराइ नै रहेकी छ । एक टंकारसित आइरहेको झिँझोलाग्दो आवाज सहन नसकेर प्रमिलाले प्वाक्क भनी, “छि, के कराइरा त्यो...।”

हीरामाया झस्की । किनकि, ऊ एकसुरमा आफ्नो छोरालाई बोलाइरहेकी थिई । तेल र घामले टल्केको उसको अनुहारमा चिट्चिट पसिना उम्रियो । एकदम जवाफ दिन थाली—
“तिमीलाई के त..., कान बन्द गर न... के तिम्रो घरबाट कराएको छ र ? आफ्नो घरबाट कराउन पनि नपाउनु, बड...कराउँछु त यी...,” यति भन्दै फेरि उही आफ्नो सुरमा हीरामाया कराउन थाली, “बाबु, ए बाबु !”

प्रमिलालाई वाक्क लाग्यो । जुरुक्क उठेर तल कोठामा गई । झ्यालनिर बसेर ऊ फेरि किताब पल्टाउन थाली । उसको जाँच नजिक–नजिक आइरहेछ । छिनछिनमा फेल हुँला कि भन्ने डरले उसलाई खान्छ । त्यसैले सम्पूर्ण ध्यान खिचेर ऊ पढ्नमा मन डोर्याउँछे । तर, एक छिनपछि उसको मन उसबाट फुत्केर कता–कता पुग्छे, कता–कता— सावित्रीको दाजुले बाहिर राखेको छ रे...स्वास्नी राख्नु !

आजकाल किन उसलाई यी सब कुरोमा मन नपरीकन पनि लाग्नु परिरहेछ । के ऊ यसलाई बिर्सन सक्तिन ? यसलाई नसोची रहन सक्तिन ? फेरि, एकैछिनमा उसको दिमाग थाक्छ । किताबबाट आँखा हटाएर अनायास ऊ झ्यालबाहिर हेर्न थाल्छे, हेर्दाहेर्दै उसलाई निद्रा लागेजस्तो हुन्छ । ऊ निदाउँछे ।

प्रमिलालाई भर्खरै दिउँसो देखेको सपना सम्झँदा यस्तो लाग्छ, मानौँ ऊ कुनै भयानक खतराबाट उम्केर आएकी छ । सपनामा उसले आफूलाई यौटा अँध्यारो ढुसी परेको छिँडीमा पाएकी थिई । ऊ भाग्न चाहन्थी, तर बाटो कतै पनि थिएन । यौटा सानो आँखीझ्याल– माकुराको जालोले बेरेको, त्यहाँबाट आउने धमिलो उज्यालोमा उसले यौटा तेजिलो छुराजस्तो आकारको कुनै चिज देखेकी थिई । डरले ऊ चारैतिर रँगमगिई । अनि, के भएर हो, बेलुनजस्तो ऊ हप्प उडी । उड्दा उसको सास कसैले अँठ्याएको जस्तो भएको थियो । खस्ता ऊ ब्युँझी ।

बाहिर पानी परिरहेको हुन्छ । प्रमिला फेरि पढ्नको लागि किताब पल्टाउँछे ।
प्रमिलाकी आमालाई थाहा छ कि आजकाल प्रमिलाको जाँच आइरहेछ । ऊ हमेसा किताब लिएर पढ्न बसिरहन्छे । यस्तो बखत छोरीलाई कुनै काम लगाउनु प्रमिलाकी आमालाई ठिक लाग्दैन । तर, आज उसलाई प्रमिला पढिरहेकी भए तापनि उसकहाँ नगई भएको छैन ।

हातमा चिठी लिएर प्रमिलाकी आमा कोठाभित्र आई । चिठी प्रमिलाको बाबुले पठाएको रहेछ, जो धेरै दिनदेखि निजी कामले कलकत्ता बसिरहेको थियो । चिठीमा अरू कुराका अतिरिक्त एक ठाउँमा यस्तो लेखिएको थियो, जसलाई पढेर प्रमिलाको मनमा के, किन भन्ने प्रश्न एकसाथ उठ्न थाल्यो । चिठीमा लेखिएको थियो–
‘प्रमिलाको कानपासा, सारी र अन्य चाहिनेजति सामानहरू किनिसकँे, केही छुट भएको छ भने लेखी पठाऊ । अब चाँडै नै त्यसतर्फ हिँड्नेछु...।’

प्रमिलाले प्रश्नचिह्न मुद्रामा आमाको मुखतिर हेरी । ऊ सायद सोधिरहेकी थिई– यो सब के हो ? ऊ फेरि सम्झिन खोज्छे— के उसले बाबुलाई यी सब कुराको लागि भनेकी थिई ? अथवा के उसको बाबुले जाँदा यी सब कुरा ल्याइदिन्छु भनेको थियो उसलाई ? फेरि, किन त उसको लागि यी सब कुरा आइरहेछन् ? उसको कौतूलमा शंका उब्जिन्छ । तर, शंकाको अर्थ उसलाई स्वयम् ठिक थाहा हुँदैन । त्यसैले चिठी फुत्त फ्याँकेर आमालाई भन्छे, “ऊ लिनुस् ।”
“अहिले नै सब कुरा तिमीलाई किन थाहा पाउनुपर्यो, अहिले पढ, पछि भनुँला ।”

एक्कासि “भन्नुपर्दैन” भन्ने शब्द प्रमिलाको मुखबाट करेन्टतुल्य निस्क्यो । मुस्कुराएको चेहरा देखेर त्यस बेला उसलाई उसकी आमा अत्यन्त कुटिल राक्षस्नीजस्ती लाग्यो ।

आमा बाहिर गइसकेपछि प्रमिलाले जुरुक्क उठेर जोडसित ढोका लगाई । अलि पर पुगेकी प्रमिला फर्केर फेरि ढोकामा आई । आग्लो लगाइसकेपछि उसले लामो सास फेरी । पढ्न बसी । किताबका पन्नाहरू छिटो–छिटो पल्टाउँदै गई ।

यता केही दिनदेखि प्रमिला राधाको घरमा पढ्न जाने गरेकी छ । आफ्नो घरमा बसेर उसलाई पढ्न सकुँलाजस्तो लागेन । भात खाइसक्नासाथ हातभरि किताब बोकी ऊ राधाको घरतिर जान्थी । त्यहाँ उनीहरूको बीच पढाइ मात्र हैन, केही गफ पनि चल्थ्यो । जसको लागि रोज आखिरमा दुवैजना भोलिदेखि गफ नगर्ने भनी किरिया खान्थे । तर, गफको सूत्र कता–कताबाट आइ नै हाल्थ्यो ।

संयोगबस त्यो दिन राधाकहाँ सावित्री पनि आइपुगेकी थिई । प्रमिलालाई उसको चेहरा देख्नासाथै मनमा लागिसकेको थियो, अब कुनै न कुनै नौलो कुरा उसले सुनाउछे । त्यस दिन प्रायः धेरै बेर गफ नै चल्यो । कुरैकुरामा सावित्रीले फेरि उही कुरो ल्याई, उसको दाजुले बाहिर स्वास्नी राखेको । तर, यस सिलसिलामा अरू दिनको अपेक्षा उसले यौटा साँच्चिनै नयाँ कुरा सुनाई । जसले गर्दा प्रमिलालाई त्यस ठाउँमा धेरै बेर बस्न मन लागेन । ऊ राधाको घरबाट निस्की । सावित्रीले नौलो कुरोमा भनेकी थिई–
‘उसको दाजुले बाहिर स्वास्नी राखेको नै रहेछ । उसलाई त पत्यार लागेको थिएन, तर उसको दाजुले अस्ति घरैमा ल्याइसक्यो । उसलाई भाउजू भन्न अलि गाह्रो परिरहेछ...। तर उसकी भाउजू उसलाई माया गर्छे...।’
सावित्रीलाई माया सिवाय केही चाहिँदैन । हमेसा बूढीमाउजस्ती भएर ऊ सबैबाट माया बटुल्न खोज्छे ।

प्रमिला घर फर्किरहेकी छ । उसको हिँडाइबाट थाहा हुन्छ कि ऊ ज्यादै अधीर भइरहेकी छ । हातभरिको किताब उसलाई सधैँको भन्दा गह्रौँ लागिरहेछ । घर आइपुग्नु केही वरै एक ठाउँमा उसको खुट्टा मर्किन्छ । जसले गर्दा उसको शरीरको सन्तुलन बिग्रेर हातका जम्मै किताबहरू भुइँमा छरिन्छन् । ऊ एक छिनसम्म सरमले भुतुक्कै हुन्छे । चारैतिर एकपल्ट सर्र हेरेर ऊ धमाधम किताब टिप्न थाल्छे ।

यसको भोलिपल्ट प्रमिलालाई उसकी फुपूबाट थाहा हुन्छ कि भित्र–भित्र उसको बिहेको तयारी हुँदै छ । फुपू उसलाई ज्यादै माया गर्छे । प्रमिलालाई पनि आफ्नी आमाभन्दा फुपू मन पर्छ । तर, जब उसलाई फुपूले उसको बिहेको कुरो सुनाएकी थिई, त्यस बखत उसलाई फुपूदेखि पनि रिस उठ्यो । उसलाई लाग्यो, चारैतिरबाट उसमाथि अप्रत्याशित रूपले षड्यन्त्र चल्दै छ । यस षड्यन्त्रमा उसलाई लाग्छ, उसकी फुपूको पनि जरूर हात छ ।

यही सिलसिलामा पछि–पछि जब घर–छिमेकीका आइमाईहरू उसलाई जिस्क्याउन आउँथे, प्रमिला उनीहरूलाई कहिले फर्केर गाली गर्थी, कहिले त अगाडि जे फेला पर्यो टप्प टिपेर हिर्काइ नै दिन्थी । मानिसहरू बिनासित्ति उसलाई नचाहिँदो कुरा गरी सताइरहेछन् ।

एकबाजि यस्तै ख्यालख्यालमा उसले एउटी आइमाईलाई लोहोरोले हिर्काइदिएकी छ । एउटा ठूलै काण्ड चलेको थियो । त्यसपछि पनि आइमाईहरूले उसलाई जिस्क्याउन छोडेका त छैनन्, तर अलि टाढै रहेर प्रमिलालाई जो पनि बौलाही बनाउन चाहन्छन् । उसलाई एक छिन पनि चैन र आराम भनेको छैन ।

हावा, पात, रुख, मानिस यहाँसम्म कि उसका आमा–बाबुपर्यन्त उसको विरुद्धमा छन् । उसलाई यस घरबाट निकाल्नको लागि हुनसम्मको कोसिस भइरहेछ । उसलाई यहाँबाट धकेल्न मानौँ, पहाड ठाउँ सरेर आइरहेछ । सारा दुनियाँ मतलबी र घनघोरको जाली हो । यौटा लोग्नेमान्छेको स्वास्नी बनाउन उसको वरिपरि यत्रो जालोमालो फैलिरहेछ । ऊ के कसैकी स्वास्नी बन्न सक्छे ?

‘स्वास्नी राख्नु...सावित्रीको दाजुले स्वास्नी राखेको छ’ एकाएक प्रमिलालाई उक्त कुराको सम्झना हुन्छ । सम्पूर्ण पुरुष रूप सावित्रीको दाजु हो । के ऊ कसैकी स्वास्नी बन्न सक्छे ? यो प्रश्न उसको अन्तरमा ध्वनित हुन्छ । ठूलो अजंगको खण्डहरबाट मानौँ, ऊ एक्लै कराइरहेकी छे, चिच्च्याइरहेकी छे, के ऊ कसैकी स्वास्नी बन्न सक्छे भन्या ? उही आवाज प्रतिध्वनित हुन्छ, उसको हृदय पूर्ण रूपले ढाक्छ ।

किताब हेर्दाहेर्दै प्रमिलाको आँखा एक वाक्यमा अड्याअड्यै छ । उसको ध्यान लंगडो मानिसको चालझैँ प्रतीत हुन्छ । वरिपरि छरिएका किताबहरू थपाथप खप्टिदै ढ्याम्म टेबुलमाथि राख्छे ।

त्यस बेला रातको अनौठो सन्नाटा फैलिरहेको हुन्छ । प्रमिला एकफेरा झयालबाहिर हेर्छे । केही टाढा लठ्ठामा बत्ती बलेको छ । त्यसको मुनि भुइँमा धमिलो प्रकाश छरिएको शून्य छ । बाटो सुतेको जस्तै देखिन्छ । यस्तैमा परबाट त्यस पखालिएको रातमा घण्टाघरको पौने बाह्र बजेको आवाज संगीतमय लहरमा पिरोलिएर आउँछ । पानीको शेष थोपा घरको छाना, काप–कापबाट तप्किरहेछ । त्यसमा पनि एक ताल र सन्तुलन छ ।

दिनभर अशान्त क्षुब्ध रहेको प्रमिलाको मनलाई अहिले, यस बखत केही चैनजस्तो मिलिरहेछ । यद्यपि, उसलाई पनि थाहा छैन रातको यस सुनसान प्रहरमा ऊ एक्लै झ्यालबाट के हेरिरहेकी छ, कसलाई हेरिरहेकी छ, किन हेरिरहेकी छ ?

प्रमिलाको हृदयमा उठेको अनेकौँ खलबली अहिले एक सुर र लयमा आइरहेछ । उसलाई आफूप्रति मोह बढ्दै छ । ऊ झ्यालबाट हेरिरहेकी छ, एकनाससँग । दिनभर उसको वरिपरि साँपतुल्य फण उठाइरहने षड्यन्त्रका लहराहरू अहिले निदाएका छन् । ऊ बच्न चाहन्छे । कसैकी ऊ स्वास्नी बन्न सक्तिन । के ऊ सक्छे ? असहाय भावनाले कहालिएको उसको अन्तरलाई रातको यस सुनसान चकमन्न वातावरणले अंगालो मार्छ । ऊ सक्तिन, कसैकी स्वास्नी बन्न ऊ सक्तिन । उसको मनमा सहसा यौटा अनौठो विचार उठ्छ, भागुँ कि...!

अनायास फर्केर ऊ कोठाभित्र हेर्छे । कोठामा ढोका लगाएको छ र आग्लो पनि । ऊ फेरि झ्यालबाहिर हेर्छे, पहिलेको जस्तै ।

यस्तैमा, घण्टाघरले ठिक बाह्र हानेको आवाज सुनिन्छ । आवाज सिद्धिएपछि एक छिनसम्म वातावरणमा कम्पन रहिरहन्छ । त्यो केही मधुर र साथै आशंकायुक्त प्रतीत हुन्छ । त्यसपछि रात हद सन्नाटामा पुग्छ । प्रमिलाको सोचाइमा झन्–झन् तीव्रता र वेग आउन थाल्छ । उसलाई निद्राले पट्ट छोएको छैन । झ्यालबाट उसैगरी हेरिरहेकी छ ।

प्रमिला बिस्तारै ढोका खोलेर बाहिर निस्कन्छे । भर्याङ ओर्लँदै जान्छे । जब ऊ बाहिर सडकमा आइपुगी, त्यहाँ अत्यन्त सन्नाटा छाएको थियो । लामो सास फेरी अनि खास्टोले आफ्नो पूरा आङ ढाकी । ऊ हिँड्न थाली, उसको हिँडाइको गति यति नरम छ कि वरिपरि सुतेका कुकुरहरूले पनि चाल पाएनन् ।

प्रमिला अब सडकको बीचबाट हिँड्न थालिरहेकी छ । रातको सन्नाटामा उसलाई डरको किञ्चित अनुभव छैन । निर्भीक एवम् सन्तुलित चालमा ऊ हिँडिरहेकी छ । कहाँ जान लागेको छु भन्ने कुराको फिक्री उसलाई अलिकति पनि छैन । मानौँ, उसको जाने ठाउँ ठिकठाक छ, पहिलेदेखि नै बन्दोबस्तसहित छ ।

बीच–बीचमा कता–कताबाट लाटोकोसेरोको आवाज ‘चिर्र–चिर्र’ आउँछ । प्रमिलाको आङ सिरिङ्ङसम्म त गर्छ, तर हिँड्न छोडेकी छैन । त्यसैगरी जसरी रातको घडी, पला, प्रहर गइरहेछ । बाटोमा जहाँ–जहाँ बिजुलीको लट्ठा आइपुग्छ, त्यहाँ प्रमिला एक छिन टक्क अड्छे । अगाडि टाढा लट्ठामा बलेको बत्ती देखेर ऊ फेरि हिँड्छे । उसको चेहरा, शरीर र त्यसको चालमा कुनै विरोध छैन । तर, मनमा खेलिरहेका मिहीन कुराहरू साना–साना कीटाणुझँै बनेर उसको मनलाई कुटुकुट खान थाल्छन् । जसको फलस्वरूप उसलाई छिन–छिनमा टक्क रोकिनुपर्ने अवस्था आइपर्छ ।

को होला त्यो आइमाई...? तर, जो होस्... त्यो मूर्ख हो... सावित्रीका दाजुको त कुरै भएन... एक नम्बरको बदमास...दुष्ट !
अहिले प्रमिलालाई सावित्रीको दाजुको कुरा सोच्नु परिरहेछ । सावित्रीले भनेकी थिई, उसको दाजुले बाहिर स्वास्नी राखेको रहेछ, अब त घरमा ल्याइ पनि सक्यो ।

प्रमिला फेरि यो पनि सोच्छे कि उसलाई आखिर के मतलब यी सब कुरामा..., बिनसित्ति किन ऊ यसबाट दुःख पाइरहेकी...के ऊ यी सब कुरालाई नसोची रहन सक्तिन ?

प्रमिलालाई केही रिंगटाजस्तो लाग्छ । तैपनि, ऊ हिँडिरहेकी छ । यस्तैमा अचानक खुट्टाको औँलामा ठेस लागेर उसलाई नअडी हुँदैन । अड्छे, बिजुलीको लठ्ठाबाट आएको प्रकाशमा ऊ आफ्नो गोडाको औँला हेर्छे, सुम्सुम्याउँछे ।

साँच्चिनै, अब ऊ थाकिसकी । उसको शरीर, मन दुवै भागलाई विश्रामको आवश्यकता परिसक्यो । प्रमिला आफूमाथि सोच्छे, उसलाई यौटा गुँड चाहिएको छ । जहाँ ऊ सुरक्षित रहन सकोस्, चराको जस्तै, कसैले पनि नदेख्ने । यौटा यस्तो स्थान चाहिएको छ, जहाँ ऊ कीला गाडिएझैँ रहन सकोस् । उसको संवेगशील हृदयमा अकस्मात् धक्का लाग्छ । उसको मन एकदम हच्किन खोज्छ । के ऊ यस सुनसान रातमा निरुद्देश्य हिँडिरहेकी छ ? के उसको जाने ठाउँ कतै छैन ? ऊ कहाँ गइरहेको छ ?

सम्पूर्ण रातको खोक्रो अन्धकार प्रमिलालाई प्रतीत हुन्छ– ऊ ठूलो खोलोभित्र परिरहेकी छ । केही घबडाहट र भित्रभित्रको बेचैनी चुँडालेर ऊ जुरुक्क उठ्छे । पछिल्तिर फर्केर हेर्छे, ऊ टाढा आइपुगी । के ऊ फर्कन सक्छे ? प्रमिलाको मनले न यसलाई स्वीकृति दियो न त पूर्ण रूपले इन्कार नै । ऊ एक छिनसम्म संज्ञाहीन भएर उभिरही । यत्ति नै खेर घण्टाघरको आवाज संगीतमय रूपमा बोल्छ । दुई बज्छ ।

प्रमिला अगाडि नै बढ्छे, ऊ आफूलाई फर्काउन सक्तिन । छिन–छिनमा सिरसिर हावाको तीव्र लहरले उसको शरीरलाई छुन्छ, तर कँपाउन सक्दैन । उसलाई न जाडो न गर्मी वा कुनै प्रकारको वेगले पनि हल्लाउन सकेको छैन । अब ऊ टुंडिखेलको चउरबाट हिँड्न थालेकी छ ।

प्रमिला दायाँ–बायाँ, अगाडि कतै नहेरी केवल माथि आँखा लगाएर हिँडिरहेकी छ ! माथि आकाश छ । झुम्म उप्सेका ताराहरू फूलजस्ता देखिन्छन् । प्रमिलाको मनमा विचित्र खालको अनुभूति र कल्पना पाक्न थाल्छ । ऊ जति–जति हेर्दै जान्छे, उति–उति आकाश तलतल आइरहेको उसलाई भान पर्छ ।

त्यस नीरव रातमा आत्मसात्को भावनाले धकेलिएर आकाश टुँडिखेलको मैदानमा ओर्लिरहेछ । चारैतिरको छेउबाट उसको आलिंगनबाहु फैलिरहेछ । प्रमिला किन त्यसरी तल्लीन भएर हेर्दै गएकी ? यसरी माथि–माथि हेर्दा अँध्यारोमा कहीँ धक्का लाग्ला अथवा लडुँला भन्ने कुराको आशंका उसको चेहरामा कत्ति पनि छैन । माथि हेर्ने हो भने उसले हिँड्न छोडिदिनुपर्छ । या हिँड्ने हो भने माथि हेर्न छोड्नुपर्छ । तर, प्रमिला ऊ त उही पहिलेकै जस्तो माथि हेरिरहेकी छ र साथै हिँडि पनि रहेकी छ ।

बरु, एक कुरा उसमा अहिले केही नौलोजस्तो देखिएको छ । त्यो हो पहिरो, जुन रूपमा सिधा आङ फुकाएर ऊ हिँडेकी थिई, अहिले त्यस्तो छैन । ऊ केही खुम्चिएकी छ, उसको शरीर छिन–छिनमा गुजुमुजुक्क पर्छ । माथिबाट झ्वाट्ट केही खसेर लाग्ला भन्ने आशंका उसको मनमा मूर्खतापूर्ण ढंगले आइरहेछ । यद्यपि, उसलाई थाहा छ, माथि आकाश छ, अरू केही छैन । त्यसो त आकाश खस्न सक्तैन भन्ने कुरा पनि उसलाई थाहा नभएको हैन ।

टुँडिखेलको छेउ आइपुग्न शेष बाँकी छ । प्रमिला माथि हेर्दै गएकी छ । उसको हिँडाइको दिशा हेर्दा अब ऊ निश्चय नै झुलेको तारमा अल्झिने सम्भावना छ । उसको सम्पूर्ण स्थिति उही छ । केवल हिँडेर ठाउँ छोड्दै गएकी छ, यही यौटा नौलो छ ।

तर, भयो अर्कै । उसको शरीरभर बिजुलीको गतितुल्य यौटा तिखो लहर उठ्यो । जब उसको जिउको अत्यन्त रोमाञ्चकारी अंगमा धक्का लाग्न पुग्यो, उसले उत्तिखेरै जमिनमा हेरी अनि आफ्नो अगाडिको चिल्लो रूख, जहाँ उसको छाती जुध्न पुगेथ्यो ।

त्यस एक क्षणको तिक्ततामा उसको मुटु ढक्क फुलेको थियो । भित्रको आशंका मेट्न बिस्तारै उसले रूखलाई छोई, जसलाई एक छिनअघि मात्र उसले यौटा मान्छे भनी ठानेकी थिई ।

मान्छे..., लोग्नेमान्छे, जसभित्रबाट ठसठसी साँढे–साँढेको गन्ध आउँछ । अनि, अचानक प्रमिलालाई याद आउँछ, उसको बिहेको कुरो ! घरमा उसको बिहेको भित्रभित्र तयारी हुँदै छ ।

उसको बिहेबारे घरमा उसलाई कसैले पनि भनेका छैनन् । उसका आमा–बाबु सब चुप छन्, था’नपाजस्तै गरिरहेछन् । उसकी फुपू हो, जसले उसलाई उसको बिहेको कुरो सुटुक्क सुनाएकी थिई । उसको फुपू पनि गजबकी छिन् । उनलाई हरेक गोप्य कुरो थाहा छ । रहस्य कोतर्न उनी खुब जान्दछिन् ।

आफ्ना छिमेकी, इष्टमित्रकहाँ हुन लागेको सानोभन्दा सानो कुरो पनि उनलाई थाहा नभई छोड्दैन । उनको अरू काम पनि त के छ र । एक्लो जिउ, पोइले छोडिगएको सम्पत्ति छँदै छ । खायो अनि यस्तै कुराहरू खोतल्न थाल्यो । मानिस भन्छन्– उनी बाह्र वर्षको उमेरमै विधवा भएकी थिइन रे । अहिले उनी पचास वर्षकी भइसकिन् । तर, उनलाई बढी नै भनेर कसैले ठम्याउन सक्तैन ।

जुन दिन प्रमिलालाई उसकी फुपूले बिहेको कुरो सुनाएकी थिइन्, त्यस बेला फुपूको अनुहारमा अत्यन्त रहस्यपूर्ण मुस्कान फुटेको थियो । मानौँ, उनलाई हुन लागेको यस बिहेमा अपार हर्ष र खुसी लागिरहेछ । किन ? उसलाई केको खुसी ? प्रमिलालाई त्यस बेला फुपूको मुखदेखि घिन लागेको थियो । उसकी फुपू आफ्नै बिहे हेर्न लागेको जस्तो खुसी थिइन् । आखिर उनलाई उसको बिहेबाट खुसी उठ्ने किन ? के उनले त जोड गरेकी छैनन् उसकी आमालाई ? के उसकी सोझी आमा फुपूको हाहामा लागेर नै उसको बिहेको तयारी गर्न लागेकी त होइन ?

आमा आखिर आमै हुन्छन् । कमसे कम उसको आमा उसमाथि यस्तो निठुरी काम गर्न सक्छे ? के आमालाई छोरीको माया हुँदैन ? जे होस्, उसकी आमा निर्दोष छ, माया भएकी नै छ । सोझी छ, त्यसैले अरूको हाहामा लाग्छे...उसकी फुपू, जसलाई आफ्नै बिहे गर्न मन छ, गर्दिहुन्, तर अरूको बिहेबाट आनन्द लिन उनलाई कसले सिकायो ? किन उनलाई यसबाट आनन्द मिल्छ ? के उनको हृदय पापी हैन ? के उनी आफ्नो पापी हृदयलाई कहिल्यै देख्न सक्तिनन् ? के प्रमिला देखाइदिन सक्छे ? तर, अब त उसकी फुपूले परिस्थिति नै यस्तो ल्याइदिसकिन्, जसमा या उसले खुसीराजी कुनै लोग्नेमान्छेको स्वास्नी बन्न मञ्जुर गर्नुपर्यो या त झुन्डिएर अथवा हामफालेर मर्नुपर्यो...
कसैको स्वास्नी बन्नु– यो त प्रमिलाबाट हुनै सक्तैन । यस कारणले पनि हुन सक्तैन कि दुष्ट फुपूको मुराद पूरा हुन दिन चाहन्न ।

बरु ऊ...
प्रमिला वाग्मतीको पुलनिर आइपुग्छे र अहिले ऊ किनारैकिनारबाट हिँडिरहेकी छ । रातको सन्नाटा उत्तिकै छ, दुई–चार दिन उताको अघोर वर्षाले गर्दा वाग्मतीको पानीमा धाराहरू उठिरहेछन् । पानीको त्यस संवेगशील गतिले प्रमिलाको मन हल्लाउन थाल्छ । ऊ किनाराको एक डिलमा बसेर हातले पानी खेलाउन थाल्छे ।

धेरै बेरसम्म व्यग्रतापूर्वक कुनै कुरालाई सोचिरहँदा प्रमिलाको चेहरा सोह्रिएर जान्छ । उसको अनुहारमा छाएको निस्तब्धता ज्यादै मौन छ, शान्त छ । केवल ऊ आफ्नो मनलाई खन्दै गइरहेकी छ । मानौँ, आफूलाई कुनै खाल्टोभित्र पुर्न पाए पनि हुन्थ्यो भन्ने विचार उसमाथि अनौठो रूपले आइरहेछ ।

बाहिर हेर्दा ऊ ज्यादै मौन छे, शान्त छे, पानीमा औँला खेलाइरहेकी छे । एक्कासि उसको मुखबाट ‘नाइँ’ भन्ने शब्द कुँडिएर आउँछ !
प्रमिला फेरि सोच्न थाल्छे ।
आखिर उसकी फुपूलाई उसको बिहे गराएर फाइदा के छ ? यसबाट उनले के पाउँछिन् ? के उनले धर्म पाउँछु भन्ठानेकी छिन् ?

प्रमिलाको मन फाट्न थाल्छ । नजानी नजानीकन ऊ भित्र–भित्रै फुपूलाई सराप दिइरहेकी छ । छल र कपटले बुन्दै ल्याएको जालमा परेकी प्रमिला–ऊ जति–जति सोच्तै जान्छे, उति–उति उसको मन असहाय भएर कहालिन्छ । अब उसको मन प्रतिक्षण दुर्बल हुँदै गइरहेछ । आफूमाथि अनायास ऊ दया थुपारिरहेकी छ । उसलाई समस्त वस्तु खल्लो र निःसार प्रतीत हुन्छ । जीवनको निरर्थकता र ऊ आफ्नो बाँच्नुको व्यर्थतापर्यन्त थाहा पाउँछे । उसको हर सोचाइमा अब विरागले छुन थाल्छ । आफ्नो अस्तित्वको मोह र अनुरागमा बाँच्तै आएकी प्रमिला, अहिले ऊ आफ्नो अस्तित्वलाई नष्ट गर्ने विचारले कत्ति पनि हडबडाएकी छैन । उसमा आत्महत्या गर्ने भाव जागरूक हुन थालिरहेछ ।

पानीबाट उसको हात हटेर अघि नै गुजुमुज्जिसक्यो । धुम्म एकनासले ऊ वाग्मतीको वेगलाई हेरिरहेकी छ । चारैतिर शून्य, निस्तब्ध उत्तिकै सुनसान छ ।

त्यस रातको वातावरण जसमा केही बेरअघिसम्म हावाको गति एउटै सन्तुलन र प्रकारमा थियो, अब त्यसमा अहिले केही परिवर्तन आउन थालिरहेछ । के बिहान हुन लागिरहेछ ? बिहानको कल्पना प्रमिलाको लागि दुःखद लाग्छ । भोलि, पर्सि, निपर्सि जति हुन्छन्, ती सब उसलाई सताउने समयबाहेक केही हुने छैनन् । के ऊ भोलि बिहानसम्म पर्खिन सक्छे ?

घण्टाघरबाट चार बजेको आवाज आउँछ । अब बिहान हुनलाई धेरै बेर बाँकी छैन । त्यसो त अहिले उज्यालो भइसकेको छैन । रातको अन्धकार नै बाँकी छ । सुनसान छ, उत्तिकै चकमन्न पनि । भोरको प्रहार खुल्ने तयारी मात्र भइरहेछ । प्रमिलाको मनबाट त्यस रातको अन्धकारप्रति रहेको मोह छुट्न खोज्छ । आउन लागेको बिहान, जसद्वारा चारैतिर उज्यालो छरिन्छ, त्यस बखत के ऊ सबै थोक हेरिरहन सक्छे ? उज्यालोमा हुने सम्पूर्ण मिथ्या, जालझेल, कपट, षड्यन्त्र...उफ् के ऊ सबै टुलुटुलु हेरिरहन सक्छे ? ऊ निसासिएर मर्दिन ? अबदेखि निःसार संसारलाई ऊ हेर्न सक्तिन...हेर्न पनि चाहन्न ।

प्रमिला यथावत् किनारमा गुजुमुज्जिएर बसेकी छे । वाग्मतीको पानी अघिजस्तै वेगले बगिरहेछ । भोर हुनहुन आँटेको छ । प्रमिलाको मन छिन–छिनमा आफूबाट हुत्तिन्छ, यद्यपि उसको शरीर जहाँको तहीँ नै छ । यस्तैमा झ्वाम्म प्रमिला हामफाल्छे, हामफालेको कल्पना गर्छे ।
त्यस बखत उसको दुवै हातको पन्जा ढुंगालाई मिचिरहेकै हुन्छ । ऊ झन् जमिनमा टाँस्सिएर बस्छे । 
“को हँ...?”
प्रमिला बस्याबस्यै झसंग हुन्छे । यत्तिका बेरसम्मको सुनसानबाट उसलाई यो आवाज सुन्दा ज्यादै नौलो लाग्छ ।

प्रमिला फर्केर पछाडि हेर्छे । एउटी बूढी आइमाई ऊनजिक आएर उसलाई नियालेर हेर्न थाल्छे । 
“किन नानी..., यस्तो बेला किन यहाँ एक्लै बसेकी... के भो...?”
त्यस बूढी आइमाईको बोली–वचनमा अगाध माया उम्रेको देखिन्छ, मानौँ ऊ प्रमिलालाई धेरै दिनदेखि चिन्दछे, उसलाई राम्रै गरी जान्दछे ।
“केही होइन...यसै...,” प्रमिलाले अन्कनाउँदै केही शब्द बोली ।
त्यसपछि बूढी आइमाईले प्रमिलाको आङ, पाखुरा, शरीरको सबै अंग राम्रो गरी सुम्सुम्याउन थाली । मानौँ, ऊ प्रमिलाको जाँच गरिरहेकी छ ।

“के भो... कसले के गर्यो नानीलाई...?” बूढी आइमाईले फेरि सोधी ।
आफूप्रति बारम्बार सोधिएको यस प्रकारको प्रश्नबाट प्रमिलाको मनमा त्यस बूढी आइमाईउपर सद्भावनाको अपेक्षा केही क्षोभ पैदा हुन थाल्छ ।
आङलाई यता र उति सारी, बूढीको हात हटाउने चेष्टा गर्दै उसले भनी–
“केही होइन... तपार्इं को...” 
“मेरो घर ऊ... त्यै हो नानी...”
अलि पर हातले देखाउँदै बूढीले भनी, “नानीले मलाई नचिनेर के, मैले चाल पाइहालेँ... बेइमान छोडेर गएछ... यो आजकालका लफंगाहरू रसबस गर्न जान्दैनन्... यौटा काइदा–कदर पुर्याएर पो !”
“छि, तपार्इं त... के कुरा गर्या त्यो... छोड्नुस्,”  प्रमिलाले बीचैमा बूढीको हात आफ्नो पाखुराबाट हटाउँदै भनी ।

अन्धकार र उज्यालोको त्यस दोसाँधमा बूढी आइमाईको अनुहार खिस्स हाँसेको देखिन्छ । बूढीको त्यस प्रकारको हाँसोले प्रमिलाको मनको जम्मै कुरा खोलेर ट्वाल्ल हेरिरहेको प्रतीत हुन्छ ।

प्रमिला आङको पछ्यौरा मिलाउन खोज्छे । भित्रभित्रै प्राणको बाजी लगाएर ऊ आफ्नो मनको पिँधलाई ढाक्न खोजिरहेकी छे । तर पनि छिन–छिनमा उसलाई छ्वास्स नांगो भएँ कि भन्ने आशंकाले भुतुक्कै पारिरहेछ ।

प्रमिला बलपूर्वक त्यहाँबाट जुरुक्क उठ्छे । बूढी आइमाईले फेरि एकपल्ट पाखुरा समात्न खोजेजस्तो गरी भनी, “नानी...ऊ... त्यै हो मेरो घर... आज नभए भोलि... भोलि नभए पर्सि, जहिले आए पनि हुन्छ... नानीलाई दुःख हुने किसिमको म गर्दिनँ, के नि...।”

अब प्रमिलालाई त्यहाँ उभिरहन पनि मुस्किल परिरहेछ । त्यस बेला भोर भइरहेको हुन्छ । रातको रङ अत्यन्त खल्लो चालले फिक्का हुँदै गइरहेछ । कता–कताबाट चराहरूको आवाज फाट्टफुट्ट सुनिन थाल्छ । हावा एकदम चिसो भएर बहिरहेछ । बिहानको प्रहरले छोइसक्यो भने पनि हुन्छ ।

प्रमिला पाइला चाल्न थाल्छे । तर, उसलाई कँपकँपी हुन्छ । कुनै अपराधीको जस्तो ओर्लेको उसको चेहरामा आशंका र भय स्पष्ट छ । ऊ भित्तैभित्ताबाट हिँडिरहेकी छ । उसको खुट्टा छिन–छिनमा मर्कला–मर्कलाजस्तो हुन्छ । बाटोमा देखिने मानिसको मुख ऊ हेर्न सक्तिन । कहिले माथि, कहिले तल भुइँमा हेर्दै ऊ लम्किरहेकी छे । मानुँ, उसको आँखालाई उज्यालोले अल्मल्याइरहेछ । तर, ऊ लम्कि नै रहेकी छे । किन लम्किरहेकी छे, कहाँ लम्किरहेकी छे ? किन हड्बडाएकी ऊ चोर्नीजस्ती, कुनै अपराधिनीजस्ती । के उसले कुनै अपराध गरेकी छ ?

तर, वास्तवमा अहिले ऊ केही पनि सोचिरहेकी छैन । मन शून्य, एकदम शून्य छ । त्यहाँ यौटा कुरा पनि छैन । यति अहिले ऊ बाँच्न चाहन्छे । अनि, यस्तो लाग्छ– उसको बाँच्ने ठाउँ पनि ठिकठाक छ ।

गत रात जुन बाटो गरी प्रमिला आएकी थिई, उही बाटोबाट फर्किरहेकी छ । उसको मनमा घर चाँडो पुग्ने लालसा तीव्र रूपले बढिरहेछ । हिँड्दा–हिँड्दै छिन–छिनमा ऊ सपनाबाट ब्युँझेसरी झस्किन्छे– रातभरि ऊ घरबाट बेपत्ता भएकी छ ।

(पोषण पाण्डे–तीर्थ सदनको स्वीकृतिमा प्रसिद्ध कवि÷कथाकार पोषण पाण्डेको ‘आँखीझ्याल’ कथासंग्रहको अर्को कथा । यस कथासंग्रहका सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।) 

हर्के तामाङको संस्मरण

तस्बिर

युवतीको छल

प्रेम र घृणा

छाया

भिनाजुको स्वेटर

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro