काठमाडौँ । केहीदिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेकाे भन्दै त्यसविरुद्ध प्रदर्शन भइरहेकाे छ । बिहीबार काठमाडौंको भद्रकालीमा नागरिक अगुवाहरूसहित बीपीमा अध्ययनरत विद्यार्थीहरूले प्रतिष्ठानविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा शिल्पी नाटकघरले गीत एवम् नाटकसमेत प्रस्तुत गरेको थियोे ।
करिब तीन सातादेखि हुँदै आएकाे विराेध प्रदर्शनकाे सम्बन्धित निकायबाट सुनुवाइ नभएपछि नागरिक अगुवाहरूले प्रतिष्ठानमा आन्दोलनरत पक्षको समर्थन जनाउँदै काठमाडौंको भद्रकालीबाट प्रदर्शन थालेका छन् ।
प्रतिष्ठानका कर्मचारीहरूले उपकुलपति लगायतका केही उच्च पदाधिकारीहरूले अनियमितता गरेको आरोप लगाउँदै प्रतिष्ठानको कार्यालय धरानमा तीन साता अगाडिबाट प्रदर्शन सुरु गरेका थिए ।
बिहीबार दोस्रो दिन पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनको समर्थनमा नागरिक आन्दोलन समूहले भद्रकालीमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले प्रतिष्ठान तथा विश्वविद्यालयलाई फुटबल नबनाऊ, हामीलाई चाहिन्छ विधिको शासन लेखिएका प्लेकार्ड बाेकेका थिए ।
तस्बिरहरू : हरिश जंग क्षेत्री/बाह्रखरी