site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अस्पतालबाहिरकी नर्स, जो संक्रमितका घरघरमै पुगेर दिन्छिन् निःशुल्क सेवा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नर्स भन्नेबित्तिकै अस्पतालका इमर्जेन्सीदेखि ओपीडी अनि प्रत्येक वार्डमा बिरामीको हेरचाह गरिरहेका सेतो एप्रोनमा सजिएका नारीको आकृति आउँछ, सबैको आँखामा । तर, समाजमा यस्ता नर्स पनि भेटिन्छन्, जो निःशुल्क र निस्वार्थ सेवाकै कारण समुदायको आँखामा सजिएका छन्, अस्पतालभन्दा बाहिर रहेर ।

शरीरमा टाउकोदेखि खुट्टासम्म ढाक्ने पीपीई सेट, ब्यागमा फस्ट एड बक्स र केही मेडिकल सामग्रीहरु अनि यात्राको साथी स्कुटर । यसरी सुरु हुन्छ बागलुङकी नितु खड्काको दैनिकी ।

बागलुङको रामरेखामा रहेको घरबाट बिहानै निस्किएर उनी नगरपालिकाभित्रका घरघरमा पुग्छिन्, कोभिड संक्रमित खोज्दै । आफ्ना नियमित बिरामीसँगै दैनिक तीनदेखि चारजना नयाँ बिरामीले फोन गर्छन् । छेउमा पुगेर नितु ढाडस दिन्छिन् । त्यसपछि औषधि र थप उपचारको सल्लाह दिन्छिन् उनी ।

Prabhu Bank
Agni Group
NIC Asia

बागलुङमा  कोभिड संक्रमित बढ्दै गएपछि यसरी घरघरमा पुगेर निःशुल्क परामर्श र उपचारमा खटिएकी नितु पेसाले कम्युनिटी नर्स हुन् । अहिले बागलुङ नगरपालिकाभित्र उनले सेवा दिइहेका आठजना संक्रमित छन् । नितु प्रत्येक बिहान या साँझ उनीहरुलाई एकपटक भेट्न पुगेकै हुन्छिन् ।

यसबाहेक जिल्लाबाहिरका संक्रमितलाई फोनमा परामर्श दिनु, टाढाटाढाका संक्रमितलाई अनलाइन परामर्श दिनु, आफ्ना बिरामीको नियमित फलोअप गर्नु, औषधिको व्यवस्थाका लागि जिल्लाभित्र र बाहिरका विशेषज्ञहरुसँग कुराकानी गर्नु अहिले नितुले कोभिड संक्रमितका लागि छुट्ट्याएको   विशेष समय हो ।

Global Ime bank

निःशुल्क सेवा किन ?
कोभिड संक्रमणको दर उच्च हुँदै गएपछि अस्पतालमा बेड र जनशक्तिको अभाव भएको खबरले नितुको मनमा एउटा प्रश्नले जरो गाड्यो, ‘अस्पताल पुगेकालाई त स्वास्थ्यकर्मीले दिने सेवा छँदै छ । तर, होम आइसोलेसनमा बस्नेको स्वास्थ्यको हेरचाह कसले गर्ने ?’ यही सोचाइले उनलाई संक्रमितसम्म पुर्‍यायो र संक्रमितको मनोविज्ञानसँग जोड्यो ।

संक्रमितको छेउमा जाँदा उनी अस्थायी पीपीई सेट लगाउँछिन्, जुन बिरामी आफैँले दिने गरेका छन् । नितु कम्तीमा आधा घण्टा एउटै बिरामीसँग बिताउँछिन्, मनोवैज्ञानिक परामर्श दिन्छिन् । कोभिडसँगै अन्य रोग भएका बिरामीलाई नियमित औषधिबारे सुझाउँछिन् अनि ‘केही परे फोन गर्नु है’ भन्दै बिदा हुन्छिन् ।

समुदायमा सन्तुष्टि
कम्युनिटी हेल्थमा स्नातक गरेकी नितुले बागलुङकै ताराखोला गाउँपालिका अस्पतालमा एक वर्ष काम गरिन् । अस्पतालमा रहेर काम गर्दाको पेसागत दायित्व छुट्टै हुन्थ्यो । तर, समुदयमा पुगेर काम गर्दाको सन्तुष्टि त्योभन्दा धेरै माथि भएको अनुभव नितु सुनाउँछिन् ।

“जहाँ जसरी आबद्ध भए पनि नर्स भएर हामीले दिने आखिर सेवा नै हो । तर, स्वतन्त्र रुपले समुदायमा काम गर्दाको सन्तुष्टि बेग्लै हुँदोरहेछ । कोभिड संक्रमण भएका बिरामीलाई हामीले दिने मनोवैज्ञानिक परामर्श मात्रैले पनि ठूलो औषधिको काम गर्दोरहेछ । धेरैजना त रोगले भन्दा पनि मनोवैज्ञानिक कारणले थलिएको देखेँ,” उनले भनिन्, “यही कुराले पनि मलाई उहाँहरुसँग नजिक हुन झनै जरुरी लाग्यो । यसरी काम गर्दा समाजलाई राम्रोसँग बुझ्ने मौका पनि पाएकी छु । यो कामले मलाई धेरै कुरा सिकाएको छ ।”

यसअघि पनि सन् २०१८ मा उनले आफ्नो नगरमा हरेक घर फस्ट एड बक्स अभियान चलाइकी थिइन् । कुनै पनि स्वास्थ्य समस्याको प्राथमिक उपचार घरमै होस् भन्ने उद्देश्यले चलाइएको अभियानले नितुलाई बागलुङमा कम्युनिटी नर्सको रुपमा स्थापित हुन ठूलो भूमिका खेलेको थियो ।

परिवारको हौसला
विश्वभर फैलिएको महामारी, अस्पतालहरुमा उपचार संकटका बेला घरघरमा संक्रमित भेट्न जाने नर्स । यही प्रसंगलाई जोडेर समाजमा गन्यमान्य भनिएकाहरुबाटै आलोचना नभएको होइन, नितुको । संक्रमणका हिसाबले घरमा जोखिम नभएको पनि होइन । १०० वर्ष पुगेका हजुरबा, सानी भदैनी, बुवा, आमा अनि भाइबुहारीको एकै भान्सा छ खड्का परिवारमा । तर, अप्ठ्यारो परिस्थितिमा समाजलाई गर्ने सेवामा न नितुले सम्झौता गरिन् न परिवारका सदस्यले अवरोध नै । जब जब घरका सबैले नितुले गरिरहेको काममा साथ र हौसला थप्छन्, आलोचना झिनो लाग्छन् नितुलाई ।

कामअनुसारको पारिश्रमिक र सम्मान हुनुपर्छ 
राज्यले नर्सिङ पेसालाई दिएको स्थान र सेवा–सुविधामा अहिले पनि चित्त बुझेको छैन नितुलाई । नर्सिङ पेसामात्रै नभइ सेवा पनि हो । त्यसैले पनि उनीहरुलाई कामअनुसारको पारिश्रमिक र सेवाअनुसारको सम्मान राज्यले दिनुपर्ने उनको बुझाइ छ ।

नेपालमा नर्सहरुको संघर्षलाई उनी आफ्नै अनुभवसँग यसरी जोड्छिन्, “पीसीएल नर्सिङ सकेपछि कामका लागि म धेरै अस्पताल धाएँ । स्वयंसेवकको रुपमा काम गर्न धेरैले अफर गरे । तर, सेवाअनुसारको पारिश्रमिक दिन कोही तयार भएनन् । नर्सहरुको यही यथार्थलाई लिएर सन् २०१७ तिर हामी आन्दोलनमा पनि उत्रियौँ । तर, उपलब्धि चित्तबुझ्दो भएन । त्यसयता आफैँ आत्मनिर्भर हुनपर्छ भन्ने अठोट लिएर विभिन्न संघ–संस्थामा आबद्ध भएर समुदायमा काम गर्न थालेँ । अहिले आएर अस्पतालबाहिर पनि नर्सको आत्मनिर्भर बन्ने ठाउँ रहेछ भन्ने महसुस भएको छ र यही अनुभवले आफ्नो पेसाप्रति गौरवान्वित पनि बनाएको छ । बरु, यो महामारीको समयमा नर्सहरुको भूमिका देखेर राज्यले अब नर्सको महत्व बुझ्छ कि ?” 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC