site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
छवी/शिल्पा विवाद के हो ? भन्छिन्– जति सहनु सहेँ, अब म त्यो ‘नर्क’मा फर्किन चाहन्न 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जीन्दगीको गोरेटोमा यदि बक्र रेखाको यात्रा तय हुँदैनथियो त यतिबेला सम्भवतः नायिका शिल्पा पोखरेल चलचित्रमा व्यस्त हुने थिइन् । समकालीनलाई भ्याइनभ्याइ रहेको यो समय उनी पनि व्यस्त रहनेथिइन् भन्ने अनुमान लगाउँदा अतिशयोक्ति नहोला ।

तर, नसोचेको बक्र रेखा भेटियो । जुन रेखा नचाहेरै पनि छिचोल्नु नै छ उनलाई । केही समय यता शिल्पालाई नेपाली चलचित्रबाट खासै अफरहरु आइरहेका छैनन् । कारण छवी ओझा नै भएको उनको ठम्याइ छ । 

“शिल्पालाई लिने हो भने हामीलाई चलचित्र वितरण गर्न अलि गाह्रो होला बाबु भनेर उहाँ (छवी ओझा)ले मलाई अफर गर्ने निर्माताहरुलाई भन्ने गर्नु भएको रहेछ, अनि मलाई कुन निर्माताले अफर गर्ने आँट गर्छ,” शिल्पा बाह्रखरीसँग दुःखेसो पोख्दै भनिन्, “पछिल्लो समय मलाई चलचित्रका लागि अफर नआउनुको कारण छवी नै हो । चलचित्र वितरण नगर्ने धम्की दिएर मलाई नलिन निर्माताहरुलाई भनिरहनु भएको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समय केही सञ्चारमाध्यममा आफ्नो चरित्र हत्या हुनेगरि आएका समाचारहरु पनि छवीराज ओझाकै कारण आएको शिल्पाको दाबी छ । “अहिले जहाँ–जोबाट मेरो चरित्र हत्या गर्ने समाचार आइरहेको छ । त्यो छवीजीको आग्रहमा आएको छ । उहाँहरुको सम्बन्ध र उठबस कस्तो छ मलाई थाहा छ,” शिल्पा भन्छिन्, “अहिले मेरो चरित्र हत्या गर्ने पत्रकारसँग मलाई चिनाउँदा उहाँले तिमी गलत नै छौ भने पनि तिमीलाई सही बनाएर प्रिजेन्ट गराउने काम उहाँले गराउनुहुन्छ भनेर चिनाउनु भएको थियो ।”

शिल्पा आफ्नो चरित्र हत्या गर्ने पत्रकार भनेर नामै लिन्छिन्– प्रकाश सुवेदीको ।   

Global Ime bank

अहिले दुईवटा भोजपुरी चलचित्र ‘जय शम्भू’ र ‘प्रेम गीत–२’मा अभिनय गरेर नेपाल आएकी शिल्पाले अर्को भोजपुरी चलचित्रमा पनि काम गर्ने कुरा भइरहेको छ । भोजपुरी फिल्मको आइटम गीतमा आफ्नो अभिनय हेरेर त्यहाँका निर्माताहरुले आफूलाई चलचित्रमा ब्रेक दिएको शिल्पा बताउँछिन् । “यहाँजस्तो सम्बन्ध र तिकडम त्यहाँ हुँदोरहेनछ । क्षमताका आधारमा कामको मूल्यांकन र अफरहरु आउँदोरहेछ,” उनी व्यङ्यमिश्रित भावमा भन्छिन्, “फिल्मको टिजर र ट्रेलर हेरेर अर्को चलचित्रका लागि निर्माताहरुले अफर गर्छन् । तर, म स्थापित भइसकेको नेपाली फिल्म इस्डस्ट्रीमा अहिले मलाई किन अफरहरु आइरहेका छैनन् भन्ने सबैलाई थाहा छ, यहाँ क्षमता र प्रतिभाभन्दा अक्सर तिकडम चल्छ ।” 

बेला–बेलामा आइरहने पारिवारिक उल्झनले तनाव झेल्नु परिरहेको उनी बताउँछिन् । समस्याहरु समाधानतर्फ उन्मुख होलान् र काममा केन्द्रित हुन पाइएला भन्ने अपेक्षा गरे पनि त्यसको ठिक विपरीत अनावश्यक कुराहरुले अवरोध खडा गरिरहेको उनको बुझाइ छ ।

“दुई वर्षदेखि अदालतमा केस चलिरहेको छ । सीधा लाइनमा हिँडिरहन्छुभन्दा पनि नचाहिने कुराहरु बीचबीचमा आइरहेका छन्,” उनी भन्छिन्, “मलाई डिस्टर्ब गराउन खोजिएको हो । मेरो क्यारेक्टर खराब हो भनेर देखाउने खेल भइरहेको छ ।”
श्रीमान् छवी ओझासँग डिभोर्सको प्रक्रिया अगाडि बढाएपछि उनी अहिले धेरैसँग भेट्दिनन् । कारण, एकातिर करिअरको तनाव छ, अर्कोतर्फ मुद्दा लम्बिएको लम्बिएै छ ।

छवीसँग पनि उनले भेटेकी छैनन् । अदालतमा जाँदा देखादेख भए पनि आफूलाई भेट्न र बोल्न मन नलाग्ने गरेको अन्तरचाह उनी सुनाउँछिन् । 

आफ्नै खुसीले गरेको त्यो विवाह

“मैले आफ्नो मर्जीले बिहे गरेको थिएँ । तीन वर्षसम्म म जसरी पिल्सिएर, दबिएर बसेँ त्यो मलाइ मात्रै थाहा छ । जति पीडित भए पनि म बस्नै पर्ने वाध्यता थियो,” शिल्पा आफ्नो भोगाइ सुनाउँछिन्, “हामी जति नै डेभलप भयौं भनेर भने पनि हाम्रो समाजमा नारीलाई हेर्ने नजर त्यही पुरानै छ । सम्बन्ध बिच्छेद गरेर बसेको महिलालाई हेर्ने दृष्टिकोण त्यही नै छ, जुनसमय हाम्रा हजुरआमाहरुको थियो ।”

सम्बन्ध विच्छेद गरेको महिलालाई हेर्ने दृष्टिकोण नकारात्मक छ भन्ने डरले नै तीनवर्षसम्म सहेर बसेको तर त्यसपछि भने नसकेर डिभोर्सको निर्णयमा पुगेको उनी बताउँछिन् । 

“सँधैं शंका, जोसँग काम गरे पनि शंका । उहाँले आफैं बोल्नु भएको छ, कसैकी श्रीमती अर्को व्यक्तिसँग नाचेर हिँड्छ भने कुन पुरुषले सहन सक्छ ?” सधैं शंकालु नजरले हेर्ने गरेको सम्झँदै उनी भन्छिन्, “टेलिभिजन कार्यक्रममा त्यसरी बोल्न सक्ने मान्छेले घरभित्र दुईजनामात्रै भएको अवस्थामा कुन तहसम्मको दुर्व्यवहार गर्छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।”

उनी अगाडि थप्छिन्, “उहाँ अफिस जानुहुन्थ्यो । म दिनभर घरै बस्थेँ । साँझ आएर भन्नुहुन्थ्यो दिउँसो को आएको थियो ? के गरिस् ? भनेरसम्म भन्नुहुन्थ्यो ।” 

तर, बुबाआमा र दाजुभाउजुले विवाह नगर भनेर सम्झाउँदा सम्झाउँदै पनि आफूले जबरजस्ती विवाह गरेकोमा पछुताउँदै शिल्पा भन्छिन्, “मैले सम्बन्ध विच्छेद गर्दा बुबाआमा र दाजुभाउजुले तैंले जबरजस्ती बिहे गरेकी त होस् नि भन्नुहुन्छ भनेर म तीन वर्षसम्म सहेरै बसेँ । तर, जब म सहन नसक्ने अवस्थामा पुगेँ, अब जसले जेसुकै भनोस्, कसैले साथ दियोस् अथवा नदियोस् म अब सँगै बस्नु हुँदैन । पुलिस स्टेशन जान्छु, उजुरी गर्छु भनेर हिम्मत गरेकी हुँ ।” 

शंका मात्रै होइन आफूविरुद्ध पटक–पटक हात उठेको उनी दाबी गर्छिन् । “म उहाँकै कलाकारिता फिल्डमा थिएँ त । पुरुष कलाकारसँग स्क्रिन सेयर गर्नुपर्छ भन्ने उहाँलाई थाहा थिएन ?,” शिल्पा प्रश्न गर्छिन्, “म हाम्रो समाजले पचाउनै नसक्ने लुगा लगाएर कहिल्यै हिँडेको थिइनँ । त्यस्तो समाज र संगतमा पनि थिइनँ, जसलाई हाम्रो समाजले राम्रो मान्दैन । तर, पनि सधैँ केका आधारमा शंका गर्नुहुन्थ्यो त्यो मलाई थाहा छैन । तर, उहाँ यतिसम्म नचाहिने शब्द प्रयोग गर्नुहुन्थ्यो, जुन यहाँ म तपाईंसँग बोल्न सक्तिन ।”

शिल्पाको दाबीलाई आधार मान्ने हो भने उनी र छवी घर खर्च आधि–आधि अर्थात् बराबर गरेर चलाउँथे । 

विश्वासमाथि कुठाराघात 

शिल्पा छवीको पहिलो श्रीमती होइनन् । तर, पनि उनले विश्वास गरिन् । त्यही विश्वासमाथि कुठाराघात भएको भन्दै उनी पछुताउँछिन्, “उहाँलाई चिनेकै कारण मलाई मेरो दाइ–भाउजुले धेरै सम्झाउनु भएको थियो, विवाह नगर भनेर । तर, मैलै मानिनँ । किनभने मलाई त्यो बेला जुन व्यवहार उहाँले गर्नुभयो त्यसमा मैले विश्वास गरेँ । त्यो नै मेरो ठूलो गल्ती थियो ।” 

शिल्पा फोटो पत्रकार विकास रौनियार र निर्देशक सम्झना रौनियारलाई दाइ–भाउजु भन्छिन् । “पहिला भाउजु रेखा (दिदी)थापा सँग नजिक हुनुहुन्थ्यो । उहाँले रेखा दिदीलाई छवीजीले गरेको व्यवहार थाहा थियो । मैले देखेको छु उसको व्यवहार ठिक छैन, बिहे नगर भन्नुहुन्थ्यो । तर, मलाई दशा लाग्न लेखेको रहेछ किन सुन्थेँ र । मैले त्यो बेला छवीजीले मलाई गरिरहेको व्यवहारमा विश्वास गरेँ ।” 

अन्तबाट आएको विवाहको प्रस्ताव स्वीकारिनँ 

शिल्पालाई विवाहका लागि हात माग्न घरमा केटाहरु नआएका होइनन् । दुई परिवारबीच राम्रोसँग गफ हुन्थ्यो । जब परिवारले केटा–केटी गफ गर भनेर छोड्दिन्थे । र, गफ सुरु गर्थे हरेक केटाको प्रश्न हुन्थ्यो– छवीसँग तपाईंको सम्बन्ध के हो ? 
एक होइन हरेक केटाले यही प्रश्न गरेपछि उनी निष्कर्षमा पुगिन्,  परिवारसँग हात माग्न आउँदा त प्रश्न गर्ने व्यक्तिसँग भोलि मेरो सम्बन्ध कसरी राम्रो होला ? अँह हुँदैन । त्यसैले मेरो नाम जोसँग जोडियो यसैसँग विवाह गर्छु ।

“त्यही बेला उहाँले मलाई बारम्बार बिहे गरौं भनिरहनु भएको थियो । अन्तर्वार्तामा उहाँले शिल्पाजीले मान्नुभयो भने म उहाँसँग विवाह गर्छु भनेर सार्वजनिक रुपमै भन्नुभएको थियो । छवीजीबाहेक अर्को मान्छेसँग विवाह गरेर गएको भए अझै नराम्रो हुन्छ भन्ने मैले सोचेँ,” उनी भन्छिन् ।

छवीले हात उठाए । शिल्पाले पुलिस स्टेशन जाने निर्णय गरिन् । तर,  आफन्तले के भन्लान्, ठिक्क पर्‍यो भन्ने हुन्कि साथ दिने हुन् । प्रहरी प्रशासनले के भन्ने हो, कस्तो व्यवहार गर्ने हो, साथ देला कि उल्टै मलाई गाली गरेर पो फर्काइदिने हो कि ! उनको मनमा अनेक तर्कना उठे । पुलिस स्टेशन जाने त उनले निर्णय गरिन् । तर, उनका खुट्टा काँपिरहेका थिए । 

जब शिल्पा पुलिस स्टेशन पुगेर आफूमाथि भएको कुरा राखिन्, प्रहरीले भन्यो– तपाईं गलत हुनुहुन्न भने पीडकलाई कारबाही हुन्छ ।

शिल्पाले त्यो बेला प्रहरीसमक्ष भनिन्, “तपाईंहरुले उहाँलाई कारबाही गर्नुपर्दैन । उहाँले प्रहरीसमक्ष आएर मैले गल्ती गरेँ भनेर माफी मागेमात्रै पुग्छ । उहाँका लागि सरी भन्नु नै ठूलो कुरा हो । उहाँले सरी भन्न सक्नुहुन्न किनभने उहाँमा ठूलो अहम् र घमण्ड छ । उहाँको मुखबाट सरी भनेको सुनेँ भनेमात्रै पनि म केस दर्ता गर्दिनँ । मिलापत्रमा साइन गर्छु ।”

अनपेक्षित रुपमा छवीले आइन्दा यसो गर्दिनँ भनेर माफी मागे । 

“जब माफी मागेर उहाँ बाहिरिनुभयो र त्यहाँ मिडियासामु उहाँले मैले यसो गरेँ, उसो गरेँ भनेर प्रस्तुत हुनुभयो । त्यतिबेला मलाई उजुरी फिर्ता लिएर गल्ती गरेँ भन्ने लागिसकेको थियो,” उनी भन्छिन्, “त्यो मेरो अर्को गल्ती थियो । त्यहीकारण अहिले ममाथि अनेक गेम भइरहेको छ । कसरी गेम खेलेर ममाथि प्रहार भइरहेको छ, यो सामान्य चासो राख्ने जो कोहीलाई थाहा छ ।”

कुनै पनि महिलाले आवेशमा डिभोर्स गर्दैन

कोही पनि महिलाले सामान्य अवस्थामा आफ्नो श्रीमानलाई छोड्न नसक्ने उनको अनुभूति छ । जसरी हरेक महिलाले एकैपटक म मेरो श्रीमान्लाई छोड्दिन्छु भनेर निर्णय गर्न सक्दैन त्यसैगरी आफू पनि अन्तिम अवस्थासम्म सहेर बसेको भन्दै उनी भन्छिन्, “आज सुध्रिन्छ कि, भोलि सुध्रिन्छ कि, भोलि राम्रो सम्बन्ध हुन्छ कि भनेर पर्खिंदा–पर्खिँदै तीनवर्ष बित्यो । तर, उहाँ सुध्रिनु भएन ।”

छवीप्रति शिल्पाको असन्तुष्टिको पहाड छ । शिल्पाले आफूमाथि भएको कुटपिटको उजुरी फिर्ता गरिन् । छवीले मिडियामा भने– हामी अझै पनि सँगै बस्न सक्छौं । 

तर, शिल्पा सम्झिन्छिन्, “मलाई उहाँले हात उठाउनु भयो । म घर छोडेर निस्किएँ । एक्लो महिला मन दुःखाएर घर छोडेर निस्किएकी छे  । मैले कुटेँ, घाँटी थिचेँ । टेन्सनमा निस्कएकी छे कहाँ गई, कहाँ बसी, के खाई, कस्तो अवस्थामा छे उहाँले केही मतलब गर्नुभएन । मेरो आमाबुवा काठमाडौंमा हुनुहुन्न भन्ने उहाँलाई थाहा थियो । तर, अहँ उहाँले मलाई खोज्नु भएन । मान्छेमा पछुतो भन्ने कुरा पनि हुन्छ जुन उहाँमा छैन । मेरो फोन उठाउने त कुरै छाडौं उल्टै मलाई फेसबुकबाट ब्लक गरिदिनुभयो ।” 
छवीले शिल्पाजी तपाईं आउनुस्, मेरो मनको अदालत छ भनेर फेसबुकमा लेखे । तर, शिल्पा भन्छिन्, “उहाँले मेरा लागि त्यो भन्नुभएको थिएन, मिडियाका लागि भन्नु भएको थियो । दर्शकका अगाडि आफू पोजेटिभ देखिन लागि भन्नुभएको थियो । किन पनि यो हो भने त्यसपछि उहाँ कहिले पनि मसँग राम्रोसँग बोल्नु भएको छैन ।”

अदालतमा भेट हुन्छ, तर बोलचाल हुँदैन । परबाट अनुहार त देखिन्छ तर शिल्पालाई बोल्न मन लाग्दैन । “म त्यस्तो नर्कबाट नस्किएँ बोल्न त के लामो समय हेर्न पनि सक्तिन । धेरैबेर हेरे माया लागेर फर्कौँला । अब फेरि म त्यो दमन सहन सक्तिनँ । एकचोटी लागेको बानी छुट्दैन भन्छन् । अब त्यो घरमा म जान सक्तिन । बदला लिने स्वभावको मान्छे भएकाले अब त्यो घरमा म गएँ भने जिउँदो रहन्छु कि रहन्न भन्ने निश्चित छैन । मलाई मेरो जीवनको माया छ,” उनी भन्छिन् । 

अहिले उनले छवीविरुद्ध दायर गरेको अंश तथा मानाचामल र डिभोर्सको मुद्दा विचाराधीन छ । 

लामो समय बितिसक्यो तर मुद्दा किनारा लागेको छैन । कारण छवीकी अर्की श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा दर्ता गराएकी छिन् छवी र शिल्पाविरुद्ध । शिल्पा आफूलाई छवीको श्रीमती हेमा छिन् भन्ने थाहा नै नभएको दाबी गर्छिन् । 

यसमा रेखा थापासँग भेटेर छवीबारे नबुझ्दा आफूले दुःख पाएको उनले अहिले अनुभूत गरिरहेकी छिन् । “सायद मैले त्यो बेला रेखा दिदीसँग भेटेर बुझ्नुपर्ने थियो, जुन मैले गरिनँ । त्यो नै मेरो गल्ती थियो । तर, रेखाले तँलाई यसो भनेको छ, उसो भनेको छ भनेर अरुले सुनाए पछि मलाई उहाँसँग भेट्न मन लागेन । भेटेको भए सायद अहिलेको अवस्था आउने थिएन,” शिल्पा पछुताउँछिन्, “रेखाकै कारण डिभोर्स भएको उहाँले भन्नुभयो । मैले त्यसैलाई विश्वास गरिदिएँ ।” 

हेमाले अंश लिएर छुट्टिएको भए पनि अहिले आफूलाई अफ्ठ्यारो पार्न उनलाई मुद्दा हाल्न छवीले नै लगाएको शिल्पाको दाबी छ । त्यो कागजात अहिले आफूले फेला पारेको उनी बताउँछिन् । “त्यो पेपर लुकाइएका कारण वहुविवाहको मुद्दा दर्ता भएको रहेछ । पहिला नै छुट्टिएर बसेको मान्छेले मुद्दा हालेको छ । अदालत गएर म साइन गरिरहेको छु । अदालतमा मुद्दा हालेको दुईवर्ष भइसक्यो । तर, मुद्दा हालेको दिनबाट आजसम्म हेमाजी एकदिन अदालत आउनु भएको छैन । यस्तो मुद्दा किन दर्ता भयो भनेर हामीले अदालतमा कुरा राखेका छौं,” उनी भन्छिन् । 

जीवन सँधैं सरल रेखामा कहाँ चल्दोरहेछ ? चल्दैन । त्यसैले त बक्र रेखाहरुको यात्रा छिचोलिरेकी छिन् शिल्पा । तरेलीहरुको कष्टकर यात्रमा रुमलिरहेकी छिन् । 

कल्पनासम्म नगरेको केसको प्रयास

आफन्तको आग्रहलाई बेवास्ता गरेर रोजेको मान्छेले दुःख दियो । उनी दुःख खेपिरहेकी छन् । सम्बन्ध विच्छेद त धेरैको हुन्छ । झगडा पनि सबैको हुन्छ । तर, त्योभन्दा पनि फरक पीडा आफूले भोगिरहेको उनी सुनाउँछिन् । 
जस्तै ? 

“कुमारी केटी भनेर विवाह गरेको, कुमारी केटी त होइन पो रहेछ । मलाई धोका भयो, कानुन बमोजिम न्याय पाउँ, यो विवाह बदर गरि पाउँ भनेरसम्म मैले कल्पनासमेत नगरेको केस गर्न खोज्नुभयो । तर, त्यो केस दर्ता भएन,” उनी भन्छिन्, “जिल्ला अदालतमा केस दर्ता नभएपछि उहाँ त्यही केस लिएर उच्च अदालत जानुभयो । त्यहाँ पनि दर्ता नभएपछि सर्वोच्च अदालत जानुभयो । सर्वोच्चले यस्तो केस हामी दर्ता गर्दैनौं भनेपछि यो मुद्दामा उहाँ चुप लागेर बस्नु भएको हो । यस्तो केस गर्ने मान्छेसँग म कसरी मिलापत्र गर्न सक्छु ।”

आफन्तको चित्त दुःखाएर, मन रुवाएर आफूले विवाह गरेको भन्दै शिल्पाले पटक–पटक दोहोर्‍याइन् । “मेरो विवाहको दिन मैले मेरो बुबाआमा र दाजुभाउजुलाई हात जोडेर मेरो खुसीका लागि विवाहमा आइदिनुस् भनेर हात जोडेर बिन्ती गरेपछि आउनु भएको थियो,” बोल्दै गर्दा शिल्पाको गला अवरुद्ध हुन्छ, “केहीबेर उनी रोकिन्छिन् र पुनः बोल्न थाल्छिन्, “तर, ममाथिको उहाँको व्यवहार र अहिले ममाथि दायर गर्न खोजेको मुद्दा हेर्दा मेरा आफन्तसामु मेरो अनुहार सँधैं अँध्यारो हुन्छ ।” 

सबै सम्पत्ति रोक्का गरिदिएको छैन

आफूले कहिल्यै पनि मलाई यति चाहियो र उति चाहियो भनेर ‘डिमान्ड’ नगरेको शिल्पाको दाबी छ । “उहाँ अहिले म नाङ्गै भएँ । साथीहरुसँग पाँच हजार, दश हजार मागेर गुजारा चलाइरहेको बताउँदै हिँड्नु भएको छ,” आफूले छवीको दैनिक आम्दानीको स्रोतमाथि रोक्का नगरेको प्रष्ट पार्दै शिल्पा भन्छिन्, “तर, उहाँको पैसा आउने ठाउँ कान्तिपुर फिल्म एकेडेमी, बैंक ब्यालेन्स, डीसीएन, एफडी कम्पनी, इटहरीको इलाइट सिनेमा हल, दमकको डि सिनेमा हल जहाँबाट उहाँलाई दैनिक आम्दानी हुन्छ । तर, हरेक व्यक्तिले गरि खान पाउनुपर्छ भनेर मैले मेरो अधिकार हुँदाहुँदै रोक्का गरेको छैन । मैले रोक्का गरेको भनेको भनेको जग्गाजमीन मात्रै हो ।” 

छवी आफ्नो वकिलसँग शिल्पाको मुद्दा फिर्ता गरिदेऊ भनेर आएको तर वकिलले नमानेको शिल्पा बताउँछिन् । 

“यसरी उहाँ धेरै ठाउँ उहाँ जानु भएको छ । सीधै मलाई भन्न नआउनु भएको मात्रै हो । धेरैलाई प्रयोग गरेर मेरो क्यारेक्टरमा दाग लगाउने काम गर्नु भएको छ,” उनी भिन्छन्, “के–के गर्नसक्नु हुन्छ गर्नुस्, म सोझो बाटोमा इमान्दार भएर हिँडिरहेको छु । म साधारण नेपाली महिला हुँ । म काम गरेर हिँड्दा पनि खाना पकाएर खुवाएकै थिएँ । विवाहित महिलाले गर्ने सम्पूर्ण काम गरेकै थिएँ । तर, अनावश्यक आक्षेप लगाउनु हुन्छ भने मलाइ भन्नु केही छैन ।”

यता, छवीराज ओझा भने धेरै कुरा बोल्न चाहेनन् । आफ्नो सबै सम्पत्ति रोक्का भएको बताउँदै उनले छोटोमा भने, “घरजग्गा मात्रै होइन सबै सम्पत्ति रोक्का छ । उहाँ के–के कुरा गर्नुहुन्छ, गर्न दिनुस् । मैले केही दिन अगाडि ग्ल्यामर गफमा जे–जति कुरा गरेको छु, मेरो भर्सन त्यही नै हो । अरु कुरा म केही गर्न चाहन्न ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC