काठमाडौं । बबरमहलस्थित आर्ट काउन्सिलको भुईं तलाको प्रत्येक कोठामा रंगीबिरंगी ठूल्ठूला क्यानभासहरु सजिएका छन् ।
दुई जोर आँखा भएको बुद्धको पेन्टिङ छ । यो हेरेर जो कोही भ्रममा पर्न सक्छन् । किनभने, ‘द इलुजन एन्ड रियालिटी’ शीर्षकमा नैना शाक्यले कोरेको यो पेन्टिङले अवलोकनकर्ताको आँखामा भ्रम पैदा गर्छ । कारण, यसमा गौतमबुद्धको अनुहारको आँखा, आँखीभौँ, ओठ, नाक ‘डबल’ छ । झ्ट्ट हेर्दा बुद्धको आँखा दुईवटा हो कि चारवटाजस्तो लाग्छ । सम्भवतः अवलोकनकर्तामा यस्तो इलुजन पैदा गर्न सक्नु नै यो पेन्टिङ र यसका सर्जकको सफलता हो ।
“हजुरले यो पिक्चर हेर्नुभयो भने चारवटा आँखा हो कि भन्ने ‘इलुजन’ हुन्छ । बुद्ध धर्मको एउटा सिद्धान्तलाई मैले यो पेन्टिङमा उतारेकी छु,” शाक्यले भनिन्, “हामी जुन चिजलाई जस्तो छ, त्यसैगरी नहेरी ‘म’ र ‘मेरो’ भन्ने कोणबाट हेर्छौँ । जसले गर्दा दुःख पाइन्छ ।”
मञ्जुश्रीले काठमाडौं उपत्यकालाई तालबाट बस्तीमा परिणत गर्नुअघि यहाँ विपास्वी बुद्धले चमत्कारी कमलको फूल रोपेका थिए । त्यही कमलबाट निस्केको प्रकाशले स्वयम्भूनाथको उत्पत्ति भएको पौराणिक कथन छ । पुराणमा लेखिएका यिनै शब्दहरुलाई रश्ना श्रेष्ठले रङ र कुचीमार्फत क्यानभासमा उतारेकी छिन् ।
उनले ‘सात पाइला’ शीर्षकमा गौतमबुद्धले जन्मिनैबित्तिकै चालेको सात पाइलालाई चित्रण गरेकी छिन् । टेकिसकेको भुईंमा सुन्दर कमल फक्रिइसकेको देखिन्छ भने भर्खर पाइला सारेको ठाउँमा विस्तारै फक्रन खोजेको देखिन्छ ।
यस्तै, मीना नेवाले गुलाफको सुन्दरतालाई क्यानभासमार्फत जीवन्त बनाउने प्रयास गरेकी छिन् । “रातो माया, पहेँलो मित्रता र केयरको प्रतीक हो । त्यसैले कसैलाई गुलाफ दिँदै हुनुहुन्छ भने यसको रङको अर्थ बुझेर मात्रै दिनुपर्छ । अन्यथा, अर्थको अनर्थ हुनसक्छ भन्ने कुरालाई पनि देखाउन खोजेको हुँ,” उनले भनिन् ।
दुई ‘कान्छा’ कलाकारको कलाले पनि अवलोकनकर्तालाई मन्त्रमुग्ध बनाउँछ । ‘भुल्ने छैनौँ, हाम्रा यी स्रष्टाहरुलाई’ शीर्षकमा न्हुज: रायले नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरुको स्केच दुरुस्तै कोरेका छन् । उनको पेन्टिङमा स्वरसम्राट नरायणगोपाल, अरुणा लामा, अम्बर गुरुङदेखि पछिल्लो पुस्ताकी गायिका इन्दिरा जोशी पनि छिन् । अर्की ‘कान्छी’ कलाकार सुनीभा श्रेष्ठले महिलालाई केन्द्र बनाएर क्यानभास रंगााएकी छिन् ।
गैरकला पृष्ठभूमिका कलाकार
‘आर्टिस्ट ११’ शीर्षकमा जारी प्रदर्शनीमा राखिएका यी पेन्टिङहरु आर्टको औपचारिक अध्ययन गरेकाहरुले कोरेका होइनन् । उनीहरुको पृष्ठभूमि फरक छ । यहाँ कक्षा–११ मा पढ्ने १६–१७ वर्षको उमेर समूहदेखि ४५ वर्षसम्मका नवकलाकारको सिर्जना राखिएको छ ।
कलाकार जोडी एरिना ताम्राकार र आशा डंगोलले उनीहरुलाई स्थान दिएका हुन् । उनीहरु ताम्राकारकै विद्यार्थी हुन् । कोही चार–पाँच वर्षयता समय मिलाएर सौखको रुपमा चित्रकला सिकिरहेका छन् त कोही लकडाउनदेखि मात्र यता लागेका हुन् । उनीहरु सबैको यो पहिलो प्रदर्शनी हो । मार्च २० देखि सुरु भएको प्रदर्शनीमा ११ कलाकारको सिर्जना अवलोकन गर्न सकिन्छ ।