काठमाडौं । नेपालका कलाकार अभिनय गर्न पोख्त नरहेको निर्देशकहरुले बताएका छन् । निर्देशकद्वय नवीन सुब्बा र मनोज पण्डित पछिल्लो समय चरित्र निर्माणमा केही कलाकारले प्रयास गरे पनि त्यो पर्याप्त नरहेको बताउँछन् ।
चकलेटी भनिने नायकहरुले चरित्र निर्माणको प्रयास पनि नगरेको निर्देशक सुब्बा बताउँछन् । “चकलेटी भनिने हिरोहरुले क्यामेराअगाडि उभिने हो, राम्रो देखिने हो भन्नेलाई नै अभिनय ठानिरहेको अवस्था छ । तर, अभिनय भनेको चरित्र निर्माण पनि त हो,” उनी भन्छन्, “केहीले चरित्र निर्माण गर्न सुरु गरेका छन् । तर, त्यो पर्याप्त छँदै छैन । मनभित्रबाट चरित्र निर्माण गर्नुपर्छ आवरणमा मात्रै होइन ।”
कपाल खौरिएर मात्रै चरित्र निर्माण नहुने भन्दै मनबाट गर्नुपर्ने उनी बताउँछन् । “हाम्रोमा त्यो तहमा अभिनय भइरहेको छैन । कहाँ बनावटी र कहाँ वास्तविक अभिनय भइरहेको छ भन्ने कलाकारमा जानकारी हुनुपर्छ,” नवीन भन्छन्, “इरफान खानको जेस्चरमा भारतीय एक पत्रकारले लेखेको मैले पढेको थिएँ, इरफानले जवानीमा शरीर सीधा भएको तर उमेर ढल्किँदै गएपछि शरीर अलिकति अगाडि झुकेको बनाएका रहेछन् । तर, यो झट्ट हेर्दा होइन,मिहीनरुपमा हेर्दा मात्रै देखिन्छ । उसको चरित्रले एकदम धेरै चुरोट पिउँछ । युवा हुँदा उसको ओठ कलेटी परेको हुँदैन । तर, उमेर ढल्किँदै गएपछि ओठ कलेटी पर्छ र सुक्खा हुन्छ । त्यसलाई नदेखियोस् भन्नका लागि उसले जिब्रोले थुक लगाएर सुक्खापन लुकाउन खोज्छ । उनीहरुले यति डिटेलमा काम गरिरहेका छन् । तर, हामी त्यति गहिराइमा गएर काम गर्न सक्छौँ ?”
सुनील पोखरेल र अनुप बरालहरूको स्कुलिङबाट आएका दयाहाङ राई र सौगात मल्लहरुको पुस्ता र राजेश हमाल तथा भुवन केसीहरुको पुस्तामा फरक छ । सुनील र अनुपले सिकेको र उनीहरुसँग सिकेकाहरु चरित्र निर्माणमा केही काम गरिरहेका छन् । तर, यसमा पनि रिसर्च गर्ने काम भएको छैन ।
“दयाहाङले एउटा अन्तर्वार्तामा भनेअनुसार सेतो सूर्यमा उनले चरित्र निर्माणका लागि तत्कालीन समयका फोटोहरु एकदम धेरै हेरे । र, त्यहीअनुसार चरित्र निर्माण गरे रे,” नवीन अगाडि थप्छन्, “चरित्रले कस्तो लगाउँछ भन्ने कुरा बाहिर खोज्ने होइन । चरित्रभित्र खोज्ने हो । दयाले पनि चरित्र आवरणमा खोजिरहेको जस्तो देखियो, कुरा सुन्दा । अहिले सबैभन्दा राम्रो काम गर्ने भनिएका अभिनेताहरुले चरित्र बाहिर–बाहिर खोजिरहेका रहेछन् । सम्बन्धित ठाउँमा गए पनि यस्तो हुँदोरहेछ म पनि यस्तै गर्छु भन्नेमा पुगेका छन् । मिमिक्रीमा पुगेका छन् । अभिनय भनेको मिमिक्री होइन, अभिनय भनेको त बाँच्ने हो । स्क्रिप्टबाट चरित्र बाँच्ने हो । स्क्रिप्ट बाहिरबाट खोजेर हुँदैन । स्क्रिप्टबाहिरबाट चरित्र बाँच्दा समस्या भइरहेको छ ।”
जीवन जसरी बाँचिन्छ, त्यो चरित्र त्यहीँ खोज्नुपर्नेमा उनको जोड छ । “तपाईं दुःखी हुनुहुन्छ भने दुःखी रहेको क्षण कुन हो, चरित्रको दुःखको क्षण कुन हो,त्यो दुःखको क्षणलाई अनुभूत गर्नुपर्छ । अहिले हाम्रोमा दुःखी हुनुपर्यो भने त्यो चरित्र खोज्नलाई पशुपति आर्यघाट जाने, मरेका मान्छेहरुका आफन्त रोहिरहेका हुन्छन् । त्यसैलाई हेरेर रुने प्रयास गरिरहेको देखिन्छ । मृतकको आफन्तले जुन दुःखको अनुभूत गरिरहेको छ, त्यो हेरेका भरमा अभिनय गर्न सकिँदैन,” नवीन व्यंग्य गर्छन्, “त्यस्तो परिस्थिति आयो भने कति दुःखी भइन्छ, त्यसलाई सोचेर अनुभूत गर्ने हो । कुनै न कुनै व्यक्तिले जिन्दगीमा दुःख पाएको छ । त्यो क्षणबाट अनुभूतिहरु तान्ने हो । परिकल्पना गरेर चलचित्र निर्माण गर्ने भन्ने कुरा त पढिरहेकै होलान् । व्यक्तिको होइन, चरित्रको अन्तर अनुभूति आउनुपर्छ ।”
थिएटरबाट आएका कलाकारहरुले आफूले थिएटरमा गरिरहेको अभिनय नै चलचित्रमा पनि गरिरहेका छन् । तर, वास्तवमा थिएटर र चलचित्रको अभिनय फरक हुने उनको धारणा छ । थिएटरकै काम चलचित्रमा भइरहेको नवीन बताउँछन् । “थिएटरमा बक्स थिएटरमा काम हुन्छ । थिएटरमा लामो समय रिहर्सल हुन्छ । रिहर्सल लामो गर्दा त्यो मेकानिकल हुन्छ । थिएटरका अभिनेता तथा अभिनेत्रीहरुले चलचित्रमा पनि त्यही काम गरिरहेका छन् । त्यसो गर्दा एक्जाजरेट हुन्छ । हलमा रहेका दुई सयजनालाई देखाउने क्रममा पछाडि रहेको दर्शकलाई देखाउन मेरो इमोसन यो हो भनेर अभिनय गरिरहेका हुन्छन्,” उनी भन्छन्, “यो इमोसन क्यामेरामा लाउड देखिन्छ । सौगात मल्लको अभिनयको समस्या यही हो । लामो अनुभव भइसकेपछि समस्या पहिचान गरेर परिमार्जित हुनुपर्ने हो । अभिनेताहरुले बेलाबेलामा आफूलाई समीक्षा गरिरहनुपर्छ । किनभने, ऊ चलचित्रको मुख्य पक्ष हो ।”
अभिनयमा निर्देशकभन्दा कलाकार नै जिम्मेवार हुने उनी बताउँछन् । उनी निर्देशकले मुभमेन्ट पक्रिनुपर्ने तर कलाकारले नै त्यस्तलाई रिलमा उतार्नुपर्ने बताउँछन् । “अभिनय गरिरहेका बेला मलाई यो विन्दुमा चरित्र यो अवस्थामा पुग्छ, मलाई त्यो चाहियो भन्ने हो । तर, काम गर्ने त कलाकारले नै हो । चरित्रको विस्तृतिकरणमा जाने कलाकारले नै हो,” नवीन भन्छन्, “हाम्रोमा निर्देशक कलाकारको पछाडि बसेर अब यो डाइलग बोल, आँखा यतातिर हेर भनेर सिकाइरहेको हुन्छ । यो कहाँबाट नेपाली निर्देशकले सिके मलाई थाहा छैन । यो निर्देशन नै होइन । यसो गर्यो भने अभिनय मेकानिकल भएर जान्छ । अभिनेतालाई छोेडदिनुपर्छ । खोज्ने अभिनेताले हो । निर्देशकले कति विस्तृतिकरण खोज्छ, मैले कति दिनुपर्छ, त्यसको त्यो तयारी र क्षमता अभिनेतामा हुनैपर्छ ।”
नेपालमा निर्देशकले कलाकारबाट अभिनय निकाल्नै नसकेको धेरैजना बताउँछन् । नवीनचिमोट्दा कति दुख्छ, त्यो दुखाइको अनुभूति अभिनेताले दिने हो, निर्देशकले होइन भन्छन् । “निर्देशकले त रेञ्ज बताउने मात्रै हो । त्यसको स्केल कलाकारले नै दिने हो । यसमा पनि विविधता ल्याउन सक्नुपर्छ,” उनी भन्छन्, “अभिनेताहरु हरेक चलचित्रमा दोहोरिरहेको देखिरहेको छ । कारण, उनीहरुमा विविधता छैन ।”
आवरणलाई नै चरित्र भन्ने गरिएका कारण अभिनयमा समस्या देखिएको उनको दाबी छ । सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीले चरित्र निर्माणमा केही काम गरिरहेको तर त्यो पनि पर्याप्त नरहेको उनी बताउँछन् । विपीनले चरित्रमा केही राम्रो गरे पनि दिगोपन भने नदेखिएको नवीन बताउँछन् ।
निर्देशक मनोज पण्डित नेपालमा अभिनयका विषयमा सैद्धान्तिक बहस नै नभएको बताउँछन् । कलाकारमा वैचारिक बहसको अभावका कारण पात्रको चेतना, मनोविज्ञान र परिस्थितिको अध्ययन नगरी चरित्र खोज्ने प्रयास भइरहेको र यही नै कमजोरी भएको उनी बताउँछन् । “मेथोडमा बसेर कलाकारले अभिनय गरिरहेको छ । भावनात्मक पक्षमा प्रवेश गर्यो भने अभिनय हुन्छ भन्ने बुझाइका कारण आवरणमा दारी–जुँगा काट्ने वा पाल्ने, मोटाउने वा दुब्लाउने, कपाल काट्ने काम कलाकारले गरिरहेको छ,” मनोज भन्छन्, “आवरणमा चरित्र देखियो भने दर्शकले बुझ्छन् भन्ने छ । तर, मुख्य कुरा विचार हो । विचार निर्देशित भएपछि सच्चा अभिनय हुन्छ ।”
नेपाली कलाकारहरु जसलाई अहिले राम्रो अभिनय क्षमता छ भनेर भनिएको छ, उनीहरुले पनि सतही रूपमा मात्रै काम गरिरहेको मनोज बताउँछन् । पात्रको ज्ञान र मनोविज्ञानमा काम गर्नुपर्नेमा भावनात्मक पक्षमा मात्रै केन्द्रित हुने गरेको उनको भनाइ छ । “आवरणले दर्शकलाई भावनात्मक बनाइदिन्छ भनेर त्यसमा केन्द्रित हुने गरेको छ । यो त अभिनयको सानो अंश मात्रै हो । सौगात, दयाहाङ, विपीनलगायतले सतहमा मात्रै काम गरिरहेका छन् । तर, राम्रा निर्देशकसँग काम गर्ने वातावरण हुँदा उनीहरुले केही राम्रो काम पनि गरिरहेका छन्,” मनोज भन्छन्, “उनीहरुको अधिकांश काम हेर्दा उनीहरुले ठगिरहेका छन् भन्न पनि मिल्छ । निर्देशकले झक्झक्याएको अवस्थामा केही काम गर्छन् । निर्देशक हेरेर काम गरिरहेका छन् । अल्छी भइसकेको मैले देखेको छु । निर्देशक र प्रोजेक्ड हेरेर क्यालकुलेटेड भएर काम गरिरहेका छन् । आफ्नो क्षमताप्रति इमानदार नभएको देखिएको छ ।”
क्यामेरा र दर्शकअगाडि उभिएर गरेको प्रस्तुति नै अभिनय भन्ने बुझाइ नेपालमा रहेको उनी बताउँछन् । अहिलेका कलाकारहरुको अभिनयको परीक्षा लिने हो भने ९० प्रतिशत अनुत्तीर्ण हुने मनोजको दाबी छ । भलै, यसमा निर्देशकको पनि उत्तिकै दायित्तव रहेको उनको भनाइ छ । निर्देशकले आफूले खोजेको कुरा कलाकारलाई भन्न सक्नुपर्नेमा उनको जोड छ ।
पछिल्लो समय यथार्थवाद नै उचित हो भन्दै यसमा नेपाली कलाकारहरु केन्द्रित भएका छन् । यो मनोविज्ञानले पनि केही भ्रम सिर्जना गरेको मनोजको बुझाइ छ । “अभिनय भनेको पूर्ण यथार्थ हुँदैन । त्यही भएर नै अभिनय भनिएको हो । यथार्थलाई प्रतिनिधित्त्व गर्नु अभिनय हो । यसलाई छुट्ट्याउन नसक्दा समस्या भइरहेको छ,” उनी भन्छन्, “यथार्थ हुन र बन्न होइनm यथार्थगत चरित्र देखाउन अभिनय गर्ने हो । जबसम्म यथार्थको अनुभूत हुँदैन, त्यो अभिनय नै होइन ।”
अभिनय के हो भन्नेमा कलाकार मात्रै होइन, निर्देशक पनि स्पष्ट हुनुपर्नेमा मनोज जोड दिन्छन् । त्यसैले निर्देशक र कलाकार दुवै यसको जिम्मेवार भएको उनी बताउँछन् ।