site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तीन सय पटक किरिया बसेँ
Sarbottam CementSarbottam Cement

–अक्षर काका

जीवन आफैंमा ठूलो शिक्षालय हो । र त, केही मानिसहरू भन्छन्, पाठशालाको पढाइ अपूरो हुन सक्छ । यसकारण कि त्यहाँ जीवनी पढाइन्छ तर जिन्दगी सिकाइँदैन ।

हाम्रै आँखा वरिपरि त्यस्ता केही दृश्यालयहरू छन्, जुन विश्वका ठूला विद्यालयभन्दा कम छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै ठाउँ हो पाशुपत् क्षेत्रको भष्मेश्वर घाट– जहाँ रुवावासी, कोलाहल, सन्नाटा, धूवाँको मुस्लोलगायत जिन्दगीका उदेकलाग्दा दृश्यमात्र होइन, त्यहीँभित्र जीवन खोजिरहेका पात्रहरूको चाखलाग्दो कथा पनि भेटिन्छ ।

शव जलाएर जीवन चलाउने, बाँकी रहेका ठुटा ठेलागाडामा गुडाउँदै जिन्दगी धकेल्ने, चिता पखालेर सपना उजिल्याउने अनि बागमतीमा मिल्काएका शवका लुगाफाटा, चुनचाँदी र सिक्का बटुलेर भोक मेटाउने अनेक पात्रहरूको जीवनचर्याले भरिएको छ, भष्मेश्वर घाट ।
त्यही भीडमा भेटिन्छन् एक अर्का पात्र ।

Global Ime bank

सामान्यतयाः हिन्दू संस्कारमा मानिस जीवनमा दुई पटक किरिया बस्छ । एक पटक बाबु बित्दा, अर्को पटक आमाको मृत्यु शोकमा आशौच बार्छन् र काजकिरिया गर्न कोराभित्र बस्छन् । कोही–कोही तीन÷चार पटक पनि किरिया बसेका हुन सक्छन् । त्योभन्दा बढी शायदै कसैले काजकिरिया गर्नुपर्छ ।

तर, पशुपतिमा एकजना यस्ता पात्र भेटिन्छन्, जसले जीवनमा तीन सयभन्दा बढी पटक किरिया बसिसकेका छन् । काजकिरिया गरेरै जीवनको गोरुगाडा निर्निमेष गुडाइरहेका छन् ।

कोराभित्र बसेर जुठो बार्नु सजिलो काम होइन । आफ्नै मातापिता र आफन्तको काजकिरिया गर्नसमेत कतिपयलाई निकै गाह्रो हुन्छ । त्यसैले दशक्रियाअन्तर्गतको १३ दिनको मृत्युसंस्कार/अन्त्यसंस्कार छोट्ट्याएर पाँच÷सात दिनमै सक्ने कि भन्ने बहस पनि बेलाबखत हुने गर्छ ।
एक छाक अन्न खाएर नुनसमेत नखाई १३ दिनसम्म किरिया बसेर झन्डै २० वर्ष बिताएका ती पात्र कसरी ठोकिन आइपुगे यस्तो पेसामा ?

13578816_10154389715059880_486097869_n

१३ दिने काजकिरिया सकिएपछि अर्को कामको पर्खाइमा पुष्पराज आर्यघाटमा ।

० ० ०

कहिले हस्तिनापुरको राज, कहिले चपरीमुनिको बास ! यो आम मानिसहरूको नियति नहुन सक्छ तर यस्तै दुर्दशा बेहोर्न बाध्य भए मकवानपुर, आमभन्ज्याङ– ७ का पुष्पराज आचार्यले । बाबुको उच्च महत्वाकांक्षा, लालसा र यत्नबीच तालमेल मिलेको भए उनी शायदै पशुपतिको चिता कुरेर बस्नु पथ्र्यो र पेट दाम्रो पारेर जीवन उकास्नु पर्थ्यो ।

बाबुले बाटो बिराउँदा उनी आफैँ वृद्धाश्रम मात्र आइपुगेनन्, भएको एउटा छोरालाई पनि जीवनभर पशुपतिको पेटी ढुक्न बाध्य बनाइदिए । पुष्पराजका बाउ जुवातासका अम्मली थिए । जुवामा उनले धन–सम्पत्ति मात्रै होइन, जीवनै हारे । अन्नतः पशुपति वृद्धाश्रमको शरणमा आइपुगे र विसं. ०६१ सालमा भौतिक चोला बिसाए ।

13566194_10154389708539880_1543775916_n

पुष्पराज आफ्ना ७४ वर्षीय पिता गंगाधर आचार्य (निलो स्विटर)का साथ १५ वर्षअघि पशुपति वृद्धाश्रममा।

फर्पिङ, गोपालेश्वरका रैथाने आचार्य हुन् उनी । पचासौं रोपनी जग्गा थियो । “बाउ सतमूल्याहा निस्के, रातदिन जुवातास खेल्नु पथ्र्यो,” उनी भन्छन्, “जुवातासको लतले धन त सकियो नै, फर्पिङको जायजेथा पनि रित्तियो ।”

डेढ–दुई वर्षका हुँदै आमा गुमाएका रहेछन् पुष्पराजले । “आमा बितेपछि त्यही शोकले हो कि के हो, बाबुलाई जुवाको लत लागेछ । “आमा बितेपछि कामको खोजीमा भारतको कलकत्ता जानुभएको थियो, त्यहाँ १०–१२ वर्ष बसेर आउनुभयो, फर्किंदा जुवा खेल्न सिकेर आउनु भएछ,” उनले थपे ।

उसै भनेको होइन– नखेल्नू जुवा र तास, धनको नाश जीवनको वनबास ।

नभन्दै उनको जिन्दगीमा पनि त्यस्तै भयो । धनसम्पत्ति जुवाको दाउमा राख्दाराख्दै जीवनको नाउ घोप्टियो र घाउ जिन्दगीभरि दुखिरह्यो । फर्पिङबाट उठिबास लाग्यो र उनीहरू विस्थापित भएर मकवानपुरको आमभन्ज्याङ पुगे ।

आमभन्ज्याङ पुगेपछि पनि बाबुको बानी छुटेन । त्यस्तैमा ०२६ सालको भेलबाढीले खेत बगाएपछि उनीहरूलाई ठूलो आपत आइलाग्यो । ‘जहाँ गहिरो, त्यहीँ पहिरो’ भनेजस्तै भयो र बाबुले घर छाडे । त्यसो त जुवाको लतका कारण आफन्तहरूले पनि ‘कि घर छाड, कि जुवा छाड’ भनेर सल्लाह दिइसकेका थिए ।

घर छाड्नु र जुवा छाड्नुमा कुनै भिन्नता थिएन । कारण उनको सर्वस्व गुमिसकेको थियो । र, रित्तिन बाँकी केही थिएन । त्यसपछि उनी मीत बुद्धिबहादुर थापामगरको साथ लागे र पशुपति आइपुगे । बाबु पशुपति आइपुगेपछि उनी पनि घरमा एक्लै बस्ने कुरा भएन । अलिअलि भएको खेतबारी र घर आफन्तको जिम्मा लगाएर उनी पनि काठमाडौं पसे । सुरुमा किरिया बस्नेको भान्छे लागेका उनी ०५० सालदेखि भने आफैं किरिया बस्ने थाले ।

त्यसभन्दा अघि उनी घर ढलान गर्न ढलान पाटीसँगै जान्थे । बालुवा चाल्ने र सिमेन्ट मुछ्ने काममा पनि केही वर्ष बिताए । तर, कतैबाट पनि उँभो लाग्ने छाँट नदेखेपछि उनी राजराजेश्वरीमा किरिया बस्न आइपुगे ।

वृद्धाश्रममा भएकाले सुरुमा बाबु र मीतबाबुले नै किरिया बस्ने र भान्छे लाग्नुपर्ने मान्छे खोजिदिने गरेको उनी बताउँछन् । “बुवाले सधैं यस्तो पानीआन्द्रेले यहाँ काम गर्न सक्दैन भन्नुहुन्थ्यो तर मीतबाले छोरालाई यतै राख्नुपर्छ भनेर उहाँले नै काम खोजिदिनुहुन्थ्यो । पछि बुवाले पनि मानिसहरूसँग सम्पर्क बढाउन थाल्नुभयो,” उनले सम्झिए ।

बिहेबारी पशुपतिपारि
‘भाग्य’ र अनुहार जहाँ गए पनि बदलिँदैनन् । नियतिले सानैदेखि हानेको झटारो पशुपतिमा आएपछि पनि कम भएन । सुरुमा उनले उदयपुर कटारीकी एक युवतीसँग आफ्नै राजीखुसीले विवाह गरेका थिए । युवतीको घरपरिवारसँग सल्लाह नभई बिहे गरेकाले युवतीका दाजुले केही दिनमै बहिनी फिर्ता लगे । त्यसपछि उनी विक्षिप्त बन्न पुगे ।

“जीवनभर नछुटिने वाचाकसम खाएर ल्याएकी जीवनसाथी मबाट अलग्याएर फिर्ता लगेपछि मेरो कलेजो काटेसरह भयो, त्यो घटनाबाट म निकै दुःखी भएँ र मेरो दुर्दशा झनै चुलियो,” उनले पीडा पोखे ।

13595797_10154389712859880_604961182_n

पुष्पराज तेस्रीश्रीमती जानकी र ३ महिनाकी छोरी शान्तीका साथ।

पशुपतिमा किरिया बस्थे र कहिलेकाहीँ टहलाउन श्लेषमान्तक वनतिर जान्थे । त्यस्तैमा अचानक एकदिन उनले गुह्वेश्वरी जाने उकालोमा एक युवती भेट्टाए । घर, थर, नाम र वतनसमेत बताउन नसक्ने हालतमा फेला पारेकी ती युवतीलाई उनले उपचार गर्नुपर्छ भन्ने ठाने र आफैंले उपचार गरे पनि । छ महिना उपचार गरेपछि उनको स्वास्थ्य अवस्थामा सुधार आयो, उनले होसको कुरा गर्न थालिन् ।

मानिसको मन न हो, बाटोमा अलपत्र परेको मान्छेलाई उपचार गरेर निको तुल्याउने मनकारी जीवनमा शायदै भेटिन्थे, उनले पाएकी थिइन् । आफूलाई जीवनदान दिने तिनै युवकसँगै जीवन बिताउँछु पो भन्न थालिन् ।

एक मनले सोचे– बाटामा भेटिएकी, के हो, कसो हो ? अर्को मनले भन्यो– दैवले तँलाई जुराइदिएको हो भने किन हात नथाप्ने ? त्यसपछि उनले बिहेको प्रस्ताव स्वीकारे । महोत्तरी बर्दिवासकी रहिछन् उनी । उपचार गरेर बिहेसमेत गरेकाले युवतीको घरपरिवार खुसी नहुने कुरै भएन ।
त्यो बिहे पनि सुखद् भएन । साइकलबाट सानैमा लडेकाले उनमा ठूलो मानसिक आघात परेको रहेछ । जति उपचार गरे पनि उनको व्यथा बल्झिइरह्यो । अलिअलि भएको पैसा पनि उपचार गर्दागर्दै सकिएपछि उनले हार माने ।

त्यस्तैमा एक छोरा र एक छोरी जन्मिए । उपचार गर्दा पनि केही सीप चलेन । लुगाफाटो फालेर बागमतीको किनारै किनार दौडिन थालेपछि उनी वाक्क भए र माइतीको जिम्मा लगाइदिए ।

केही समयअघि करेन्ट लागेर ससुराको निधन भयो । सुनेका छन्– पत्नीको मानसिक अवस्थामा केही सुधार आएको छ । स–साना बालबच्चा पनि भेट्न मन छ । उदेकलाग्दो पारामा सुनाए– जान त मन छ, खर्च छैन, कसरी जानू ?

नियतिको एकपछि अर्को झटारो सामना गर्दै थिए उनी । त्यस्तैमा फेला पारे तेस्री पत्नी । विडम्बना भनौं या प्रारब्धको खेल– त्यो बिहे पनि अघिल्लाभन्दा फरक भएन । ललितपुरकी युवतीसँग उनको तेस्रो घरजम भयो । सुरुमा राम्रै थियो । उनको मानसिक अवस्था पनि त्यस्तै निस्कियो र उनी प्रताडित भए । दुःख यत्तिमै सकिएको भए उनी खुसी पनि हुन्थे । त्यसबाट जन्मिएकी थिइन्, एक छोरी । उनी सात कक्षामा पढ्दै थिइन् । अचानक १३ पुगेर १४ नकाटेकी छोरीलाई अपरिचित युवकले भगाइदिएपछि उनी अहिले थप मर्माहत बन्न पुगेका छन् । भन्छन्, “अहिले कहाँ छे, के कस्तो अवस्थामा छे, कुनै अत्तोपत्तो छैन । न बेचिदियो कि ? माइती नेपाल र प्रहरी प्रशासनलाई भनेर खोजी गरिरहेको छु ।”

राणा परिवारदेखि मगन्तेसम्मको काजकिरिया
०५४ सालदेखि सुरु भएको हो पशुपति आर्यघाट सेवा समिति । त्यही समितिअन्तर्गत रहेर उनीलगायत अरुले व्यावसायिक रूपमै काजकिरिया गर्दै आएका छन् । घाट सेवा समितिले काजकिरियालाई चार किसिममा वर्गीकरण गरेको छ । पहिलो रही किरिया हो । ८ देखि १३ दिनसम्म बस्नुपर्ने यस्तो किरियाका लागि ६ हजार रुपैयाँ शुल्क लाग्छ । ठाडो किरियाको पनि ५ देखि ६ हजार रुपैयाँसम्म पर्छ । छोरो बनेर दागबत्तीसमेत दिने र किरिया बसेको चाहिँ १३ हजार रुपैयाँ लाग्छ ।

कहिलेकाहीँ उनीहरू किरिया बस्नेको भान्छे पनि लाग्ने गरेका छन्, त्यसको १३ हजार रुपैयाँ लिने गरेका छन् । घाट सेवा समितिले यी सबैमा १० प्रतिशत सेवा शुल्क काट्छ । पछिल्लो समय घाट सेवा समितिको सेवा–सुविधा चित्त नबुझेर व्यक्तिगत सम्पर्क र सम्बन्धमा किरिया बस्नेहरू बढेको पुष्पराजले बताए ।

उनी भन्छन्, “यहाँ किरिया गर्ने बाजेहरूको संख्या १२–१३ जना हो तर उनीहरूले सेवा–सुविधामा चित्त नबुझाएकाले आफैं मृतक परिवार खोजेर किरिया बस्ने पनि गर्छन् ।”

13595446_10154389707674880_460838001_n

१५ वर्षअघि क्रियापुत्री बस्ने तरखरमा पुष्पराज।

किरिया बस्ने नै पेसा भएपछि यसको बस्छु, त्यसको बस्दिनँ भन्न मिल्दैन । त्यसैले उनले राणा परिवार, उच्च खानदानदेखि केही नहुने परिवारको समेत किरिया बसेका छन् । राजा वीरेन्द्रका मावली खलक दीपकविक्रम शाहको समेत किरिया बसेको उनले सुनाए ।

“ठूला परिवारको किरिया बस्दा अतिरिक्त सेवा–सुविधा त केही पाइँदैन तर पनि कसै–कसैले खुसी भएर औँठी, थप पैसा पनि दिन्छन्,” उनले भने ।

राणा परिवारको काजकिरिया गर्दा ७० हजार रुपैयाँसम्म नगद र एउटा औंठी पाएको उनी सम्झिन्छन् । “बाहिरबाट हेर्दा फलानोले त किरिया बसेर कति कमाएछ जस्तो लाग्छ तर भित्रको दुःख त भोग्नेलाई मात्र थाहा हुन्छ,” उनले दुखेसो गरे ।

०५५ सालमा नेपालगन्जका जनक केसी भन्ने मृतकको किरिया बसे उनी । उनी रानीपोखरीमा हत्या गरेर फालिएको अवस्था फेटिएका जनकको पारिवारिक दुःख देखेरै किरिया बसेका थिए । “अलिकति पनि पैसा रहेनछ । भएको पैसा पनि सद्गत गर्दामै सकिएकाले किरिया कसरी गर्ने भन्ने अन्योलमा परिरहेका रहेछन्, मैले गरिदिएँ,” उनले त्यस बेलाको क्षण सम्झिए । पछि उनीहरूका आफन्तले नेपालगन्जमै भेटेर अलिकति पैसा दिएको उनले बताए ।

उनका अनुसार सनातन हिन्दू संस्कारमा काजकिरिया गर्नुजस्तो पवित्र कार्य अरु हुँदैन र छैन पनि । त्यसैले पैसा नकमाए पनि यसैमा खुसी छन् ।

० ० ०

काजकिरिया गर्दा धर्म हुने एउटा विश्वास त छ तर कोरा बस्न त्यति सजिलो छैन । एक छाक भात खाएर नुनसमेत नखाई झन्डै आधा महिना बिताउँदा उनी धेरै पटक कोराभित्रै बेहोस भएका छन् । कम रक्तचापका कारण समस्या निम्तिइरहन्छ । केही दिनअघि काभ्रेका हरि खनालको कम रक्तचापका कारण कोराभित्रै मृत्यु भयो । उनी पनि लामो समयदेखि राजराजेश्वरीमा किरिया बस्दै आएका थिए ।

त्यसरी काजकिरिया गर्दागर्दै कोराभित्रै निधन हुँदा पनि उनले केही सेवा–सुविधा नपाएको पुष्पराजले बताए । “यहाँ किरिया बस्न आउने ब्राह्मणहरू सबै खान नपुगेर, दुःख पाएर आएका त हुन् नि, खान–लगाउनको समस्या नभएको भए यस्तो दुःख गर्नु पर्थ्यो र ?” उनले मलिन अनुहार लगाए ।

त्यसरी किरिया बस्दा फलफूल, घ्यु, मरिच, अदुवा, कागती, काँचो केरा र (कसैकसैको) आलु खान मिल्ने चलन छ । त्यसका अरिक्त श्रेष्ठ थरबाहेक नेवारहरूको काजकिरिया गर्दा सिधे नुन खान पाइन्छ । कुमाइहरूको कात्यायनी विधिमा पनि सिधे नुन चल्ने उनले बताए । नत्र अधिकांशको मृत्यु आशौचमा नुन बन्देज छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७३  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सिफारिस
सम्पादकीय
कार्टुन
ICACICAC
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास